बुढानीलकण्ठ ११ कपन, काठमाडौंका कवि बिसुकुमार केसी निजामति सेवाको सहसचिव तहबाट अवकाश प्राप्त पूर्व कर्मचारी हुन् । हाल बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको अध्यक्ष एवम् नेपाली लेखक सङ्घको कोषाध्यक्षका रुपमा क्रियाशिल छन् । केही पेशागत, साहित्यिक तथा समाजिक संघ संस्थाहरूमा समेत आवद्ध रहेका कवि केसीका कविता संग्रह, राजिनामा प्रकाशित छ । गीत गजल र मुक्तकहरू पनि लेख्ने उनको भर्खरै अर्को कविता सङ्ग्रह पागल हुन कहाँ सजिलो छ र ? प्रकाशित छ । यसै कृतिमा आधारित भई कविसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र कविको जवाफ;
१, पागल हुन पनि कहाँ सजिलो छ र ? सङ्ग्रहका बारेमा छोटकरीमा बताईदिनुहोस् न । ?
– मैले विगत एक दशकमा लेखेका विभिन्न कविताहरु मध्यबाट ५६ वटा कविताहरु यस संग्रहमा समेटिएका छन्। सङ्ग्रहीत कविताहरुलाई विषय, भाव र प्रस्तुतिका आधारमा `जिन्दगी र जिन्दगीहरु’, `प्रकृति र परिवेश’, `समय र सन्दर्भ’ `समाज र सास्ती’, `आफु र आफन्तहरु’, `माया र मनहरु’, आदि ६ भागमा विभाजन गरेर प्रकाशित गरिएका छन्। यिनै उपशिर्षकहरुका बिषय वस्तुलाई
नविन बिम्व, शब्द संयोजनका साथ विविध शैलीमा आफ्ना भावनाहरु अभिव्यक्त गर्ने प्रयास गरेको छु। संग्रहका कविताहरूमा `पागल हुन कहाँ सजिलो छ र ?´ शिर्षकको एउटा कविताबाट नै संग्रहको नाम पनि जुराएको छु ।
मानिसहरु जिन्दगीदेखि दिक्क लागेपछि `बरु पागल हुन पाए पनि हुन्थ्यो’ भन्छन् तर भने जस्तो गरी पागल हुन पनि सजिलो छैन पागल हुन त झन कठिन र जटिल छ । `एउटा पागल अर्को पागल भन्दा विल्कूल फरक हुनुपर्छ, पागल त मौलिक हुनुपर्छ ´यही भाव छ यो शीर्षक कवितामा । यो कविता सङ्ग्रह शिखा बुक्सले हालै प्रकाशन गरेको हो र यो मेरो दोस्रो कविता संग्रह हो ।
२, कविता के हो? किन लेख्नु हुन्छ ?
– कविता के हो भन्ने जानेर कविता कविता लेखेको त हैन मैले । कवितालाइ अनुभूत गर्न सकिदो रहेछ तर परिभाषित गर्न चै गाह्रो लाग्छ मलाइ । तर पनि कविता अभिव्यक्तिको एउटा सशक्त र उन्नत माध्यम हो भन्न सकिन्छ । कविता चेतनायुक्त अनुभूतिको प्रकटिकरण हो सायद । यसमा अर्थ, भाव, रस र कला पनि उत्तिकै वजनदार भए कविता प्रभावशाली हुन्छ ।
म कविता लेख्छु भनेर योजना बनाएर कविता लेख्न सक्दिन तर कुनै कुनै बेला नलेखी धरै पाउदिन । हिडदा हिडदै काम गर्दा गर्दा गर्दै कविता आउँछ अनि टिपिहाल्नु पर्छ नत्र आकाशमा देखिने उल्का पिण्ड जस्तै विलाएर पनि जान्छन । कुनै कुनै कविताले भने पिछा गरेको गर्यै गर्छन । नलेखी सुख्खै हुन्न । हो कवितालाई पूर्णता दिने परिमार्जन गर्ने काम भने फुर्सदमा पनि गर्दछु । तर टिपोट भने अचानक नै गर्दछु ।
म कवि हुनकै लागि भनेर चाहिँ कविता लेख्दिन । मैले आफ्नो संग्रहमा पनि स्वीकारोक्ति गरेको छु कि म कवि होइन कविताको लेखनदास हुँ भनेर । जो कोहि मानिसलाई आफ्ना भाव पोख्न पाउँदा अभिव्यक्त हुन पाउँदा आनन्दको अनुभूति हुन्छ । मलाइ पनि मन विचार र चेतनामा आएका भावलाई पोख्न पाउँदा हलुको भए झै लाग्छ । यो पोखिने माध्यमका रुपमा कविता नै सजिलो, सहज र स्वादिलो पनि लाग्छ । अझ अरुलाई सुनाउँदा वाह भनिदिए भने त फुरुङ्गै परिन्छ । यस्तै यस्तै कुराले मलाई कविता लेख्न हौस्याएका हुन ।
३, तपाईँको यस कविता सङ्ग्रहभित्रबाट कुनै एक कविताको पृष्ठभूमि बताईदिनुस न् ।
– यस संग्रहभित्रका वा अन्य मेरा सबै रचनाहरूका केही न केही सन्दर्भ र पृष्ठभूमी अवस्य छन । कति भन्न सकिन्छ कति अमूर्त पनि छन । शुन्यमा त केही पनि सिर्जना हुन सक्तैन नि । (कति भन्न नमिल्ने पनि हुन सक्छन्) हरेक कविताका रचना गर्भमा कुनै सुचना वा समाचार, कुनै पात्र वा घटना, कुनै दृश्य वा परिवेश तथा चेतना र अनुभूति त हुने नै भए । मलाई यि कविताहरू पढदा ती कुराहरू `रिकल´ वा `रिप्ले´ भै हाल्छ्न ।
ती मध्य एउटा कविताका बारेमा मात्र भन्नू पर्दा `दशै´ कवितालाई नै लिउँ । मेरो गाउँ काठमाडौँको कपन हो । मेरो घरभन्दा अलि पर एउटा डाडो छ त्यसलाई शंकरे डाडो भन्दछन र यो सानो तर गोलोकार स्तुपा जस्तो छ । त्यसको टुप्पामा पिपलको रुख छ । हामी केटाकेटी हुँदा सबै मिलेर आफैले डोरि बाटेर त्यस रुखको एउटा तेर्सो परेको हाँगोमा पिङ हाल्दथ्यौ । यो चलन पहिले देखिनै थियो र पिङ खेल्न वरपर गाउँकाहरू समेत आउथें । एउटा मेला लागे जस्तै हुन्थ्यो । यो पिङको वरपर रात नै पनि विताउँथ्यौ हामी अनि चङ्गा पनि यतै वरपर उडाउथ्यौं । समय वित्दै गयो केही वर्ष पैसा उठाएर पिङ हाल्ने काम पछिकाहरूले गर्थे तर पिङ खेल्न आउनेहरू नै हराउँदै गए । अचेल त्यहाँ वडा कार्यालय बन्यो । न त पिङ न त चङा न त्यो हाम्रो वालापन रह्यो । त्यो दृश्य र सन्दर्भले चस्स पार्यो अनि दशैँका अरु पाटाहरू पनि केलाउँदा जे भाव आयो त्यो दशैं कविता बन्यो । यस्तै कथा र सन्दर्भ मेरा कविताहरूमा छन । भन्दै जाउला पछि पछि ।
४, बजारका हिसाबले त कविता सङ्ग्रह बिक्री हुँदैन् भन्छन् प्रकाशकहरू, पाठको भिड पनि आख्यानतिरै देखिन्छ । यसमा तपाईँको धारणा के छ ? यदि हो भने कमजोरी पाठकको कि कविको ?
– भन्नलाई अचेल यस्तै भन्छन । तर डेटामा भन्न चाहिँ उपलब्ध भए जस्तो लाग्दैन । अवलोकन गर्दा, चर्चा सुन्दा अनि मेरो अनुभव पनि कविता भन्दा आख्यानले नै अचेल बजार लिएको हो कि भन्न सकिन्छ । लेखन र प्रकाशन अब व्यवशायिक भै सक्यो र हुनु पनि पर्छ । यो एक किसिमले उद्यम नै हो । यहाँ सर्जकको जीवन यापन हुनुपर्छ, प्रकाशकको व्यवशाय चल्नु पर्छ अनि पाठकको धित मर्नु पर्छ । यसर्थ पाठकको रुचि र चाहना भन्दा विपरित कुनै पनि विधाका रचना व्यवशायिक रुपमा सफल हुन सक्दैनन । बजार भनेको माग आपुर्ती कै खेल हो । अहिले आख्यानका धेरै पुस्तकहरूले पाठकका रुचिलाई सम्वोधन गर्न सफल भएका छ्न । सायद आख्यान विधाका रचनाहरूमा कोरा तथा परम्परागत विषयवस्तु र शैली भन्दा अनुसन्धान मुलक, खोजमुलक, प्रयोगात्मक, नवीन विषय वस्तु लिएर आउन थालेका छन तर कविताजन्य विधामा यी कुराहरूका कमि छ्न । यसैले कविता बिधाका रचना र पुस्तकहरू कम खपत भएका होलान । कवितामा पनि नयाँ र प्रयोगात्मक काम गर्नेहरूका रचनाहरू चलेका छन । केही कविहरू सेलिब्रेटी भएर पनि देश विदेश दौडिरहेकाछन नि । मेरो निजि विचार हो यो। मैले चै बजार हेरेर संग्रह निकालेको होइन । पाठकहरूले माया गरिदिए भने जय जयकार गरौंला ।
५, हुन पनि सजिलो नहुने पागल तपाईँले भन्दै गर्दा कविहरू त पागलनै हुन्छन् भनिन्छ नि । तपाईं कवितामा पागल हो? र पाठकले यो सङ्ग्रह किन पढ्ने ?
कहावत छ कविहरू पागल हुँन्छ्न ।यो परम्परगत विम्व शतप्रतिसत लागू त नहोला । सिर्जनशिल, आविश्कारक, चिन्तक दार्शनिक आदि मानिसहरू संसारिक व्यवहार व्योहर्न गल्ती गर्ने र सानातिना कुरा भुलचुक गर्न सक्ने भएकाले यो कुरा अनौठो त होइन । हल्का पागलपनले नै `जरा हटके´ रचना पनि त दिन सक्छ । कुनै कुरा गम्भीर र गहिरो चिन्तन नगरी वाह भन्ने कृति पनि त आउन सक्तैन । यो कुरालाई यसरी नै बुझौ होला । जहाँसम्म मेरो कुरा छ म पनि कवितामा डुबि रहेको बेला त अलिअलि त्यसको मात लाग्दो रहेछ । मात लागेको बेला मान्छे बेहोसी पनि हुन सक्छ । भुलचुक पनि हुन्छ । त्यसैले कविता लेखी सके पछि भुलचुक माफ पाउँ भन्ने गरेको छु ।
भाव र विचारका साथ कवितामा अलिअलि मात हुन्छ हल्का हल्का नसा हुन्छ । त्यसैले त कविता पढन मज्जा हुन्छ नि होइन र ? मेरा कविता पनि केही त यी कुरा छन । आफैलाई पर्गेल्न, अरुलाई नियाल्न, विगतलाई सम्झन, आगतलाइ अन्दाज गर्न, प्रकृति र परिवेशलाई अवलोकन गर्न अनि समय र सन्दर्भलाई केलाउन मेरा कविताहरूले पाठकलाइ साथ दिनेछन भन्ने मैले अनुमान गरेको छु।
***
प्रतिक्रिया
-
४
