गजेन्द्र बुढाथ‍ोकी नेपाली आर्थिक पत्रकारितामा चिनाईरहनु पर्ने नाम होइन । पत्रकारिताका अलवा लेखनमा पनि उत्तिकै सक्रिय उनका अर्थिक सम्बन्धी दुई पुस्तक प्रकाशित छन् । भर्खरै उनको ऐतिहासिक विषयमा आधारित भई लेखिएको कृति जङ्गबहादुर इन इङ्गल्याण्ड प्रकाशित भएको छ । पूर्व प्रधानमन्त्री जङ्गबहादुर राणाको इङ्गल्याण्ड भ्रमणको दस्ताबेजको रुपमा रहेको यस कृतिले जङ्गबहादुर राणाको पालाको तत्कालिन नेपाललाई देखाउन महत्वपूर्ण हुने मानिएको छ । यसै कृतिमा आधारित भई सम्पादक जीवन खत्रीले लेखक बुढाथ‍ोकीलाई गरेका पाँच प्रश्न र उनका जवाफ;

१, जङ्गबहादुर इन इङ्गल्याण्ड यस कृतिको बारेमा छोटकरीमा बताईदिनुहोस् न ।

यो पुस्तकको कुरा गर्नुपर्दा नेपालका तत्कालीन प्रधानमन्त्री एवं कास्की र लमजुङका श्री ३ महाराज जङ्गबहादुर राणाले आजभन्दा १७५ वर्षअघि नेपालबाट इङ्ल्यान्ड अथवा बेलायत र फ्रान्सको भ्रमण गर्दाको पूर्ण यात्रा वृतान्त हो। यसलाई मैले यात्रा अभिलेख भन्ने गरेको छु। इतिहास अध्ययनको क्रममा हामीकहाँ या त इतिहासका रुपमा नीतिलाई सही राखेर लेखिएका केही तथ्यहरु अथवा बढी मात्रामा शासक, प्रशासक वा कुनै परिवेशको अत्याधिक प्रशंसा गरिएका वा अधिक निन्दा गरिएका सामग्रीहरू पढ्ने गर्दछौं । विश्वव्यापी ऐतिहासिक शोधका क्षेत्रमा एउटा विधा हुँदो रहेछ- जसलाई इतिहास अभिलेख भनिँदो रहेछ जसले जुन समयमा जुन घटनाक्रम भएको हो । त्यसलाई जस्ताको त्यस्तै पस्किने काम गर्दो रहेछ। त्यसपछिको वर्णन, व्याख्याहरु भनेको ती घटनाक्रमहरुको आधारमा रही गरिने विश्लेषणहरु मात्र हुन् । मैले यो पुस्तक जङ्गबहादुर राणाले काठमाडौँबाट सुरु गरी तत्कालीन इङ्ग्ल्याण्डको लण्डन र विभिन्न सहरहरूको भ्रमण सँगसँगै फ्रान्सको पेरिस र त्यस वरपरका विभिन्न सहरहरूको भ्रमण गर्दाका अभिलेखहरुलाई एकीकृत रुपमा पस्किएको विवरण हो।

 २, गजेन्द्र बुढाथोकी आर्थिक पत्रकारिताको एउटा सुपरिचित नाम । किताबै आउँदा पनि आर्थिक विश्लेषणकै यसअघि दुई ओटा प्रकाशित भएका र यस्तै किताब आउला भन्ने सोचेकाहरूलाई चकित बनाईदिनु भयो । ऐतिहासिक विषयपट्टी किताबै तयार गर्ने रहर कसरी जाग्यो?

आर्थिक पत्रकारिताको एउटा पाटोको रुपमा ऐतिहासिक आर्थिक विवरणहरू पनि अध्ययनका विषयवस्तु रहने गर्दछन् । नेपालको ऐतिहासिक आर्थिक व्यापारिक तथा वाणिज्यिक गतिविधिहरूको अध्ययन गर्ने क्रममा कौटिल्यको अर्थशास्त्रदेखि वर्तमान आधुनिक अर्थशास्त्रसम्म आइपुग्दा भएका विभिन्न घटनाक्रमहरूको अध्ययन गर्ने क्रममा राणा शासनकालमा देशको आर्थिक प्रणाली अध्ययन पनि एउटा पाटो रह्यो। यसै क्रममा सन् १८३० देखि नेपालको ब्रिटिस इन्डियासँगको वैदेशिक व्यापारको अध्ययनको क्रममा एकपटक जङ्गबहादुर राणाले लखनउ विद्रोह नियन्त्रणमा प्रमुख योगदान दिइसकेपछि हालको नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग फिर्ता लिएको इतिहासका प्रसङ्गहरूमा पढ्न पाइन्छ। त्यसै क्रममा जङ्गबहादुरले नेपालगञ्ज वरपर दुईवटा व्यापारिक मण्डीहरू स्थापना गरी ब्रिटिस भारतसँगको वैदेशिक व्यापार अगाडि बढाएको पढ्न पाएँ। यसले जङ्गबहादुरको अन्य पक्षमा पनि अध्ययन गर्ने क्रममा बेलायत यात्राको यो पुस्तिका तयार पार्न मलाई उत्प्रेरणा मिलेको हो।

३, जङ्गबहादुर राणाको तत्कालिन इङ्ल्याण्ड भ्रमणले नेपालले पाएको उपलब्धी र गुमाएका कुराहरू के के रहेछन?

जङ्गबहादुरको इङ्ग्ल्याण्ड भ्रमणलाई हामीले सापेक्ष रुपमा मात्र हेर्न हुँदैन। किनभने त्यसभन्दा अघि हिन्दुस्तान अर्थात् हाम्रो एसिया प्रशान्त क्षेत्रकै कुनै पनि बादशाह वा राजाहरू कहिल्यै घाम नअस्ताउने भनिएको भूभागमा पुग्नसकेको देखिँदैन । यस्तो अवस्थामा कोही विश्वकै सबैभन्दा ठूलो साम्राज्यमा पुगेर एउटा सानो हिमाली देशको प्रधानमन्त्रीले पाएको सम्मान आजसम्म यस भू-भाग राजा महाराजा वा शासक प्रशासकहरुले पाएको सम्मानमध्ये सबैभन्दा ठूलो सम्मानको रुपमा लिनुपर्ने हुन्छ । इङ्ग्ल्याण्डमा मात्र नभई जङ्गबहादुरले फ्रान्समा पनि उत्तिकै ठूलो सम्मान पाएका थिए भने बाटोमा पर्ने बन्दरगाहका विभिन्न देशहरुमा समेत उनको विशेष सम्मान गरिएको देखिन्छ ।

उपलब्धिको विषयलाई हेर्नुपर्दा जङ्गबहादुर बेलायतबाट फर्केर आएपछि सर्वप्रथम तीनवटा काम गरे। पहिलो उनले यो देशको वैधानिक कानुनका रूपमा मुलुकी ऐन जारी गरे । दोस्रो प्रशासनिक संरचनाहरूको रुपमा विभिन्न निकायहरु गठन गरे । तेस्रो र महत्वपूर्ण बेलायतको सैन्य प्रणालीलाई नजिकबाट अध्ययन गरेर आई नेपालको सैन्य संरचनामै परिवर्तन गरे । आजसम्म देशको वैधानिक कानुन त्यही मुलुकी ऐनमा आधारित भई चल्दै आएको हो र रक्षा मामिलामा त्यो बेला गठन गरिएका संयन्त्र अवधारणाले अहिलेसम्म केही विकसित संरचना हासिल गरेको देखिन्छ।

४, आना सुकामा चलेका नेपाली जनता बस्ने देशका प्रधानमन्त्री जङ्गबहादुर राणाले एउटी वेश्याका लागि करोडौँ खर्च गरे भनेर सुनिन्छ । यस विषयलाई किताबले संगालेका सत्यतथ्यहरू र नेपाललाई पुगेको क्षतिको चर्चा गर्न सकिन्छ कि? 

 

तपाईंले उठाउनु भएको सवाल एकदमै जायज सवाल हो। यहाँ लाउरा बेलको प्रसङ्गको विषयमा प्रश्न गर्न खोज्नुभएको हो । लाउरा बेल माथि जङ्गबहादुरले प्रत्यक्ष रुपमा दुई लाख ५० हजार पाउण्ड खर्च गरिएको भनेर विभिन्न तथ्यहरुले देखाएका छन् र त्यस विषयलाई पनि मैले सम्बोधन गर्ने प्रयास गरेको छु। लाउरा बेल मात्रै नभएर अन्य दुईजना बेलायती र फ्रान्सेली महिलाहरु माथि पनि जङ्गबहादुरले खर्च गरेका छन् त्यस विषयमा अधिक जानकारीका लागि जङ्गबहादुरको इङ्ग्ल्याण्ड भ्रमण नै अध्ययन गर्नु सुझाव दिन्छु। त्यति मात्र नभएर भ्रमणमा भएको समग्र खर्च अनि नेपालले इङ्गल्याण्डलाई कोसेली दिँदा निकै ठूलो छ।

५, तत्कालिन नेपाल र आजको नेपाललाई इङल्याण्ड र इङल्याण्डजस्तै विकसित र युरोपियन मुलुकहरूले हेर्ने नजरलाई तुलना गर्दा जङ्गबहादुर नै ठीक थिए कि भन्ने दृष्टिकोण पनि आउन सक्छ नि । हैन र? खासमा आजको हाम्रा कमजोरी के के हुन्?

यस प्रश्नको उत्तरमा पनि कुनै पनि समय सन्दर्भको कुरालाई हामीले सापेक्ष वा निरपेक्ष रूपमा हेर्नु हुँदैन। जङ्गबहादुरको शासनकाल अथवा आजभन्दा १७५ वर्ष अगाडिको युरोप अमेरिका र त्यहाँका शासकहरूको दृष्टिकोण र अहिलेको दृष्टिकोण फरक हुन सक्छ ।  विश्वको शासकीय प्रणालीमै यो १७५ वर्षको अवधिमा निकै धेरै परिवर्तनहरू भइसकेका छन्। त्यसैले सन् १८४० को ताका जङ्गबहादुरप्रति युरोपेली धारणा वा जङ्गबहादुरको शासन प्रणाली अथवा विश्वभरि रहेका शासकीय पद्धतिलाई अहिलेको सन्दर्भमा तुलना गर्न मिल्दैन । हाम्रा सन्दर्भमा राष्ट्रिय आवश्यकता प्राथमिकता र सार्वभौमिकताको विषयमा कसैले निरपक्ष वा सापेक्ष रुपमा गरेका बखानहरु भन्दा हामीले आफ्नो राष्ट्रिय पहिचान नै के हो भन्ने कुरा मूल रुपमा बुझ्नु जरुरी छ । नेपाल एक सार्वभौम देश थियो छ र रहन्छ। हाम्रो वास्तविकता यति हो। शासकीय प्रणालीमा हामीलाई चित्त बुझेन भनेरै त पटकपटक आन्दोलन र क्रान्तिहरू गरेका होइनौं र?

***

प्रतिक्रिया

सम्बन्धित खवर