
आख्यानकार शैलेन्द्र अधिकारी धादिङका स्थायीवासी हुन् । गजल, कविता र समालोचनामा कलम चलाउने उनी पेशाले अध्यापक हुन् । हालै उनको उपन्यास ‘अर्हत्’ प्रकाशित भएको छ । उनको यसअघि ‘निर्वेद’ (उपन्यास) ‘ब्रम्हास्त्र’ (कथासंग्रह) प्रकाशित थिए । अर्हत बुद्धको जीवनीको आधारभूमिमा आख्यानीकृत कृति हो । यसले पच्चीस सय वर्षअघिको समाज चिनाउँछ । यसै कृतिमाथि सम्पादक जीवन खत्रीले आख्यानकार अधिकारीसँग गरेका पाँच प्रश्न र उनको जवाफ:
१, अर्हत् कस्तो विषयको उपन्यास हो ?
अर्हत् सम्पूर्ण रूपमा बुद्धदर्शनमा आधारित उपन्यास हो । यस उपन्यासको वैचारिक आधार बौद्धदर्शन हो । बुद्धगाथा र बुद्धको धर्मोपदेशलाई अर्हत् उपन्यासमा आख्यानीकरण गरिएको छ । मैले यस उपन्यासमा छब्बिस सय वर्ष पहिलेको बुद्धकालिन समाज, तत्कालिन सामाजिक र राजनैतिक परिवेशको चित्रण गरेको छु । बुद्धसँग जोडिएका मिहिन विषयहरू अर्हत् उपन्यासमा आएका छन् । यो बुद्धकालीन समाजको ऐना हो ।
२, बौद्ध दर्शन समबन्धी धेरै किताबहरू छन्, ती पुस्तकहरूले कयौँ वर्षदेखि बुद्धगाथा भनिरहेका छन् ? फेरि अर्हत् लेख्नुपर्छ भन्ने किन लाग्यो ?
समयक्रममा बुद्धको जीवनीमाथि विभिन्न कोणबाट विभिन्न कृतिहरू लेखिएका छन् र लेखिँदै पनि जानेछन् । तर नेपालमा बुद्धलाई नै केन्द्रमा राखेर आख्यानको रचना अलि कम भएको छ । लेखिएकामा पनि अन्य कुनै न कुनै धर्म वा सम्प्रदायको सियाँलमा रहेर विवेचना गर्ने काम भएको छ । अझ नेपाली भाषामा बुद्ध कम लेखिएका छन् । अङ्ग्रेजी, नेपाल वा तिब्बती भाषामा अधिक बुद्धमाथि लेखिएका छन् र विमर्श पनि भएको छ । दर्शन मेरो रुचिको विषय हो । मैले बुद्धदर्शन पढ्दै जाँदा निश्चित समयमा पुगेपछि यसलाई आख्यानीकरण गरेर प्रस्तुत गर्दा आम पाठकका लागि रुचिकर र ग्राह्य हुन्छ होला भन्ने लागेपछि मैले यस विषयमा उपन्यास लेखेको हुँ ।
३, बुद्ध धर्म हो कि दर्शन, यो विषयमा अनेक मतभेद छन् । अर्हत लेख्नुअघि तपाईँले अध्ययन गर्नु भएका सम्बन्धित सामग्रीरहरूले निचोड के रहेछ ? यस कुइनेटोबाट अर्हत्लाई कतापटि तौल बढ्ला ? किन ?
यो दर्शन पनि हो र धर्म पनि हो । कहाँ मतभेद छ र ? आस्थाको हिसाबले यो धर्म हो र विचारको हिसाबले दर्शन । आजको समयमा यसको आयतन निकै फराकिलो र व्यापक छ । बुद्धले नै यो सद्धर्मको आयु सहर्ष वर्ष रहने कुरा गरेको भेटिन्छ । वर्तमान समयसम्मको यो निकै वैज्ञानिक र जीवनसँग जोडिएको धर्म हो । विचारको हिसाबले उत्कृष्ट दर्शन हो । र अर्हत् उपन्यासमा बुद्धदर्शन त आउकै छ, सँगसँग बुद्ध धर्म र भिक्षु सङ्घ कसरी स्थापना भयो भन्ने कुराको पनि यहाँ विशद चर्चा गरिएको छ ।
४, नेपाली समाजमा बुद्ध भनेकै गौतम बुद्ध हुन् भनेर बुझ्नेहरूको जमात ठूलो छ । तर बुद्धत्व प्राप्त गर्ने धेरै बुद्धहरू छन्, तिनीहरूलाई स्पष्ट पार्न र हामीले बुझेको गौतम बुद्धलाई नवीन ढङ्गले बुझ्न किन कठिन हो ?
समाजले बुद्ध भनेकै गौतम बुद्ध भनेर बुझ्नुलाई अतिशयोक्ति मान्नुपर्ने कुनै कारण छैन । किनकि वर्तमान समयको बुद्ध धर्म र दर्शनका प्रणेता गौतम बुद्ध नै हुन् । उनैको ज्ञानबाट यो धर्म र दर्शन अभिसिञ्चित भएको छ । उनीभन्दा अगाडि पनि अन्य बुद्धहरू थिए नै । तर उनीहहरूको कुनै चर्चा परिचर्चा भएन । किनकि उनीहरूले आफूले प्राप्त गरेको ज्ञानको प्रसार नै गरेनन् । आफूले बोधी प्राप्त गरे र आफूले मात्रै अर्हत् प्राप्त गरे । तर सम्यक सम्बुद्ध गौतम बुद्धले आफूले प्राप्त गरेको ज्ञानको प्रसार गरे । आम मान्छेले बुझ्ने भाषामा ज्ञान बाँडे । आफूसँगै अरूलाई पनि अर्हत् प्राप्त गर्ने मार्ग देखाए । त्यसैले उनको चर्चापरिचर्चा भयो । एक्लै बाँच्नु र अरूका लागि बाँच्नुको भिन्नता पनि यही होला सायद ।
५, यस अघि यहाँको दार्शनिक उपन्यास निर्वेद र कथासङ्ग्रह ब्रम्हास्त्र छापिए । त्यो अनुभव समेत समेटिएर लेखिएको यस कृतिले पाठकलाई के चिज नयाँ दिन सक्ला ?
मैले निर्वेद उपन्यासमा एक संन्यासीको विषय लेखेको थिएँ । निर्वेदको दार्शनिक धरातल वेदान्त दर्शन थियो । मान्छे कसरी जोगी बन्छ ? जीवनका के, कति र कस्ता ऊहापोहले मान्छेलाई जोगी बनाउँछ भन्ने विषयलाइृ केन्द्र बनाएर निर्वेद लेखियो । त्यसपछि मेरोे कथासङ्ग्रह ब्रह्मास्त्र बजारमा आयो । प्रयोगवादका लागि यो स्मरणीय छ । विसङ्गत समाज र चिन्तनका कुराहरू यस कथासङ्ग्रहमा केन्द्रीय कथ्य बनेर आएका छन् । मैले अघि नै भनेँ, अर्हत् उपन्यास बुद्धदर्शनमा आधारित छ । यसको केन्द्रीय कथ्य नै बुद्धगाथा र बुद्धको धर्मोपदेश हो । सिद्धार्थ गौतमको वाल्यकाल, शिक्षादीक्षा, विवाह, ज्ञानप्राप्ति, सङ्को निर्माण र ज्ञानको प्रसार, कपिलवस्तु राज्यको पतन बुद्धको महापरिनिर्वाण जस्ता अनेकन रुचिकर र नवीन विषय पाठकहरूले अर्हत्मा पाउनुहुनेछ । एक वाक्यमा भन्ने हो भने पाठकका लागि अर्हत् बुद्ध जीवनी र उनको धर्मोपदेश लगायतका बुद्धकालीन समयलाई बुझ्ने एक सरल आख्यानात्मक कृति हो ।
***
प्रतिक्रिया
-
४