–हरिप्रसाद अधिकारी

यो कथा होईन, सत्य घटना हो ।
घटना हिजो आजको होईन, दुई चार दशक पुरानै हो ।
घटनामा संलग्न मानवपात्र बसाइँ सरेको कारण उसको अवस्था अज्ञात छ ।
घटनामा संलग्न पशुपात्र पनि उतिबेलै बेचिएको हुदा उसको अवस्था पनि अविदितै छ ।
त्यसैले तिनीहरु मरेबाचेको खुटखबर छैन बरु घटनास्थल र देखिसुनी जान्नेहरु जिउदैछन् ।
+ +  +
मेरो जागिरको समय अरु जागिरेको भन्दा फरक छ । दिउँसो ढीलो सुरु भएर राती पनि ढिलै सकिन्छ, तीनचार घण्टा ढीलो । राजधानीमा बसुन्जेल समयले खासै अप्ठ्यारो पारेन । सहरको सुगमताले आवागमनमा कठिनाई परेन । सवारी साधन नपाउदा पनि सडकको पेटिबाट बिजुली बत्तीको सहरामा हिडन कठिनाई थिएन ।
बन सकिएको कंक्रिटको जङ्लमा मानव भय बाहेक मानबेत्तर भय छदै थिएन ।
मधेशमा सरुवा भए पछि केही असहजता त थपियो तर उति उल्झन भने व्यर्होनु परेन । मधेशमा पनि बनको जङ्गल सकिदै थियो तर कंक्रिटको जङ्गल हुर्किसकेको थिएन । खोला फाँट तर्नुपथ्र्यो थोरै भए पनि अन्धबिश्वास, मानव र मानवेत्तर भय बाँकी नै रहेको बुझिन्थ्यो तर मधेशको बाटोमा साइकल चल्थ्यो । सिजन अनुसार हिलो र धूलो भए पनि रातको प्रथम प्रहरसम्म मान्छेहरु हिडिरहन्थे ।
चिसो मन बनाउदै डेरा पुग्न समस्या थिएन ।
पहाडमा सरुवा भए पछि आवागमनमा कठिनाई थपियो । अफिस र डेराको दूरी आधा घण्टाको हुदोहो । थोरै उकालो ओरालो, एउटा खोलो र अतिकती दम्स्याइलो बाटोमा जङ्गल पथ्र्याे । दायाँबायाँ गाउँ भए पनि जङ्गल अटुट थियो, बेसी देखि पातलसम्म । जङ्गलमा जनावार,तन्त्रमन्त्र र भूतप्रेत त थिए थिएनन् तर तिनको अस्तित्व र उपस्थिती स्वीकारिएको रहेछ गाउँघरमा । त्यसैले पनि हुनुपर्छ राती फर्कदा जानी,नजानी मन एकतमासको हुन्थ्यो ।
बनको बाघले नखाए पनि मनको बाघले खान खोज्थ्यो ।
त्यो दिन स–सानो जमघट थियो । खानपिन गर्दा ढिलै भयो । खानपिनले समय ढिलो बनाए पनि खानपिनलेनै मन आँटिलो बनाएको थियो । त्यहींआँटले रातमा डेरा पुग्न उक्स्याई रहेको थियो । खोला झर्दा नझर्दै मन चिसो हुन थाल्यो तर अजिङ्गरको आहारा दैवले पु¥याउछ भनेझै बाटैमा भेटियो मदन ।
अधेरी रात, जङ्गल भित्रको अध्यारो खोलो । खोलामा पस्ता नपस्तै मन झस्कियो । उकालोमा पनि त्यस्को झडका रोकिएन बरु वरिपरी स¥याक स¥याक आवाज आए झै लाग्न थाल्यो । हामी भूतप्रेतलाई कल्पना भन्थ्यौ तर जङ्गली जनावार कल्पना होईनन् । हाम्रो स्वर अलि ठूलो हुन थालेको थियो । श्वास बढेको र थकाई लागेको महसुस हुदै थियो । बाटो तेर्सिन थालेपछि शरीरले आराम चाह्यो । ढुङ्गामा बसेर मैले मदनलाई केही सुनाउन आग्रह गरे । उकालोको टाकुरामा प्रकृति पनि उसकै कुरा सुन्न खोजेझै सुसाउन छोड्यो, जङ्गल चकमन्न बने झै लाग्यो । आफनु स्मृतिपटमा संचित अतितलाई खोतल्दै मदन भन्न थाल्यो ।
+ + +
जन्तरे भन्थे सबैले उनलाई । उमेर अनुसार कसैले काका, कसैले बा, कसैले दाजु कसैले भाइको साईनो जोडथे उनको अगाडि पर्दा । हुन त हिजो आज जन्तरे पाउन कठिन हुन थालिसक्यो । केही बर्ष पछि शब्दकोषमा मात्र भेटिएला जन्तरे ।
जन्तरेको स्वभाव रमाईलो थियो । केटाकेटीसित प्रेम पूर्वक कुरा गर्थे, भन्थे हाम्रो भविष्य यिनीहरु नै हुन । हामीलाई भोलि कस्तो बनाउने यिनीहरुले नै निक्र्यौल गर्छन । ठूलासित आदरपूर्बक बोल्थे भन्थे हाम्रो अतित यिनीहरु नै हुन्, यिनकै जगमा आज हामी छौ । समकालिनसित रोमाञ्चक व्यवहार गर्थे भन्थे आज बनाउने आजकैले हो, आजलाइ सहज रुपमा लिनु पर्छ असज रुपमा होईन ।
भनिरहन्थे भूत, बर्तमान र भविष्यको निर्माता र अध्येता मान्छे हो ।
समाजका लागि जिउदाका जन्ती र मर्दाका मलामी मात्र थिएनन् दुःख सुखका सारथि थिए जन्तरे । भन्थे पनि मान्छे समाजका लागि पर्दा रथी नपर्दा सारथि बन्नु पर्छ । उनी घोडा चढथे । तिनताक सवारीको सहज साधन घोडा र ढुवानीको सहज साधन ढाकर थियो । जन्तरे भन्थे हाम्रो इतिहास गौरवशाली बनाउन घोडा र ढाकरले ठूलो सहयोग गरेका छन ।
हिजो आज जन्तरे र घोडा दुर्लभ छन, ढाकर पनि अस्ताउदो क्रममै छ ।
हामी हास्यौ र गम्भिर पनि बन्यौ । सुनसान जङ्गलमा हाम्रो हासो निकैबेर गुन्जिरह्यो र मौनता पनि छाईरह्यो । मदन भन्न थाल्यो, जन्तरेले पनि घोडा पालेका थिए । रातो पुँडे थियो उनको घोडा । कतै जानु पर्दा त्यही घोडामा चढेर जान्थे उनी ।
तिनताक जाने भनेकै सिमित ठाउँ हुन्थ्यो । वल्लो पल्लो गाउँ, जिल्ला सदरमुकाम, कोही कोही अञ्चल सदरमुकामसम्म पुग्थे । हुनेखाने कसैकसैले मधेशका मौजामा जग्गा जोडेका हुन्थे । तिनीहरु हिउँदका तीन चार महिना मधेशमा बिताउथे । पुँडेले पनि मधेश देखेको थियो । मुसुरी, खेसरी खाएको थियो । हरियो दुबोमा रमाएको थियो । पशुपतीको दर्शन सिद्राको ब्यापार भने झै कोही कोही तिर्थगर्न र अड्डा अदालतको काममा राजधानी पुग्थे । कोही भारत बर्षिय तिर्थहरुको यात्रा गर्थे । तर त्यस्तो यात्रामा पुँडे जादैनथ्यो ।
दिउसो पुँडे पगाहामा बाधिन्थ्यो ।
जन्तरे र पुँडेको धेरैजसो समय गाउँघरमै बित्थ्यो । दिनको दोस्रो प्रहरतिर जन्तरे पुँडेलाई तयार पार्थे । उसको जिउ सुम्सुम्याउथे, पुछ्थे । काइँयोले जगर कोरी दिन्थे । कहिले कहिले टाप, नालमा तेल घसिदिन्थे । कतै घाउखटिरा देखियो भने जडिबुटी लगाई दिन्थे । काटी,लगाम,तबेला सफा गर्थे । घाँसपानीमा जन्तरनीको पनि सहयोग हुन्थ्यो । यी बाहेक घरमा रिसल्ला,सइस कोही पनि थिएन ।
बाटोमा हिडदा,पगाहामा बाधिदा अरु घोडा देख्यो भने पुँडे उत्साहित हुन्थ्यो । घोडी देख्यो भने आकर्षित बन्थ्यो । सिजन अनुसारको खाना खान्थ्योे, खानामा नाकनिक थिएन ।
+ +
जन्तरे त्यस दिन बिच्छेको घर पुगे । थाङ्रामा घोडा बाधे । काटी लगाम झिकेर तगारामा झुण्ड्याए । पँुडेले पनि आराम गर्ने मौका पायो । अगाडिका खुट्टा टेकेर पछाडिका खुट्टा तन्कायो, पछाडिका खुट्टा टेकेर अगाडिका तन्कायो, माथि उठायो, अनि ठूलो स्वरमा हिनहिनायो । सायद उसले बिच्छेकी स्वास्नीलाई म आए भनी जनाउ दिएको हुदो हो ।
बिच्छेकी स्वास्नी बाहिर निस्किई, पुँडेलाई घास हाली, जन्तरे भित्र पसे ।
ग्रामीण जीवन सरल थियो । गाउँमा धान मकै कोदो तोरी रोप्ने, उठाउने र समय समयमा गोडमेल गर्ने बाहेक एकहल गोरु, एकदुइ गाई बाख्रा खसी,कुखुराको स्याहार सुसार गर्ने बाहेक काम थिएन । हिउँदमा तिनलाई पनि फुकाएर चर्न छोडि दिन्थे, तिनको निगरानी गरे पुग्थ्यो । आफ्नो खेतबारीमा नउब्जने वा धेरै उब्जने बस्तु एक अर्कामा साट्थे । यस्तो सटही सरि वा दुने हुन्थ्यो । फुर्सदमा उमेर समुह र रुचि समुहको आधारमा मान्छेहरु जम्मा हुन्थे, तास खेल्थे, रक्सी पिउथे । जात्रा, पर्व, सामाजिक कार्यमा सवै समुहका मान्छे सहभागि हुन्थे । समाजमा नयाँ मान्छे भित्रियो भने वा समाजका मान्छे नयाँ ठाउँमा पुगे सम्बाद गर्थे ।
गाउँमा धेरै जसो नामले भन्दा साइनुले सम्वोधन गरिन्थ्योः काका भतिज, दाजु भाई, जेठो कान्छो आदि । बिच्छे लाई सबैले जेठो भन्थे उसकी स्वास्नीलाई बिच्छेकी स्वास्नी तर सामुन्नेमा पर्दा जेठीमा उमेर अनुसारको साइनु थप्थे, जेठी भाउजू, जेठी दुलही आदि ।
मान्छेको सम्बाद र सहकार्य देखेर घोडा रोमाञ्चित बन्थ्यो । मान्छे माया, कल्पना र बिश्वासमा अडिक देखेर छक्क पथ्र्याे तैपनि मान्छे र पशुमा एउटा समानता देखिन्थ्यो प्रजाति प्रति उत्सुकता र बिपरित लिङ्गीप्रति आकर्षण ।
जन्तरे नुन खोर्सानीको सितनसित रक्सी पिउन थाले र बिस्तारै मातिन पनि थाले । समय वितेको पत्तै भएन । रात परे पछि घोडा हिनहिनाउन थाल्थ्यो । आज पनि हिलिलिलि गर्यो, सायद रात पर्यो, घर जाउँ भनेको हुदोहो ।
रात छिप्पिसके पछि जन्तरे घोडा छेउ पुगे । सायद घोडा पनि निदाएको हुदो हो । पुँडे के गर्दै छस, सुतिस ? उनी राम्रोसित बोली रहेका थिएनन्,बर्बराई रहेका थिए । पुँडे हेरिरहेको थियो तगाराबाट काँटी ल्याउदा उनले राम्रोसित खुट्टा पनि टेकेका थिएनन् । काँटी कस्न पनि उनलाई सकस परिरहेको थियो । पुँडेले घुडा दोब्रायो, आफु होचो बनिदियो, लगाम बाध्न मुख खोलि दियो । जन्तरे बसे पछि मन्द मन्द गतिमा बाटो लाग्यो । उसले बुझि सकेको थियो ऊ दौडियो भने जन्तरे लडन सक्छन् ।
बिना स्वार्थ मानव पशुप्रति कति बफादार हुन्छ  ? त्यो त पुँडेले पनि अनुमानमात्रै लगाउदो हो तर पशु मानवप्रति कति बफादार हुन्छ भन्ने उदाहरण हुनसक्थ्यो त्यो ।
म हाँसे, मदन गम्भिर भयो ।
कहिले कहिले जन्तरे ढिलो तयार पर्थे । गन्तब्यमा पुग्न हतार हुन्थ्यो । हातमा लिएको छडीले पुँडेको साप्रामा हान्थे,ऊ दौडिन्थ्यो तर आज उनी छडी समाउने अबस्थामा पनि थिएनन्, पुँडे दौडियो भने अडिने अबस्थामा पनि थिएनन् ।
+ + +
तलाई कति बाध्नु पुँडे ? होस आज बाध्दिन । काँटी, लगाम,दाम्लो आज केही पनि चाहिदैन । आज आराम गर । उनले घास हालेर पँुडेलाई तवेलामा छोडिदिए । ला आज तलाई जितौरी । खुला छोडेको घोडाको अगाडि उनले एउटा नोट राखि दिए । सम्भवतः आज उनलाइ दाउ लागेको थियो र बक्सिस जितौरी बाढी रहेका थिए ।
अध्यारो र अर्ध बेहोशीमा त्यो नोट कतिको थियो उनलाई थाहा भएन ।
पैसा न खान मिल्छ न लाउन मिल्छ भने झै घोडाले त्यो कागजलाई एक पटक सुघ्यो र थुतुनो माथि उठायो,कुनै महत्व दिएन ।
मानविय भ्रममा मान्छे कसरी अल्झिएको छ मान्छेले पत्तै पाएन । मान्छे र पशुमा पाईने प्रजातिय अन्तर मदमत्त मान्छेले देख्ता पनि देखेन ।
सायद पुँडे, मान्छे र पशुले एक अर्कामा गर्ने बफादारीको अन्तर खोजी रहेको थियो ।
+ + +
जन्तरे ओछ्यानमा पल्टिए, पुँडे पनि निदायो । बिहान उठेर जन्तरे मन्दिर गए, अबाधित पँुडे उनको पछि लागेन । पुगिसरी आएको थियो पशुलाई । कुनै लोभ लालच थिएन, अतृप्त चाहनाको खोजीमा भौतारिनु पनि थिएन । कसैसित झै झगडा गर्नु पनि थिएन । बिहानभरि पूजापाठ गरेर दिनभरि नास्तिक बन्नु पनि थिएन, रातभरि सुरा सुन्दरीमा झुलेर बिहान आस्तिक बन्नु पनि थिएन बरु बाटोमा निस्कियो, स्वछन्द दौडियो, आफ्नो अर्काको छुट्याउनु थिएन, अगाडि जे भेट्यो चर्न थाल्यो, जिउ तन्कायो, अघायो, बिहान बित्यो । जन्तरे मन्दिर पुगे, होमहवन, पूजा गरे, पैसा चढाए, भोकाए, घर फर्किए  र खाना खाए ।
मान्छेले बली आहुती दिएको देखेर घोडा असमञ्जस्यमा पथ्र्याे । मान्छेको आशा र भरोसा देखेर चकित हुन्थ्यो त्यै पनि पशु र मान्छेमा अर्काे पनि समान आवश्यकता देखियो– भोजन ।
जन्तरे दिउसो कतै जान पुँडे बसे ठाउँमा आई पुगे । पुँडेको अगाडिको नोट जस्ताको तस्तै थियो । उसले पैसा चलाएको पनि थिएन,चढाएको पनि थिएन ।
पुँडे तैले पैसा चलाईनस ? जन्तरे हाँसे, आज त तँ बाधिएको थिईनस नि । ऊ हाँसेन बरु पिर्लिक्क हेर्योः सायद मानविय मिथकमा बाधिएको मान्छे बन्धनमा थियो कि मान्छेले बाटेको दाम्लो पगाहामा बाधिएको घोडा बन्धनमा थियो उनीहरुले छुट्याउन सकेका थिएनन्–मदन हास्यो, म गम्भिर भएँ ।
जवाफमा पुँडेले अगाडिका दुवै खुट्टा उचालेर हिलिलिलि गरिरह्यो । सायद ऊ मान्छे र पशु बिचको अन्तर मान्छेलाई नै सोधिरहेको थियो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर