
–हरिप्रसाद अधिकारी
उति सम्पन्न परिवारमा जन्मेको थिएन रामे । ऊ जन्मेको केही वर्षमै फेरि नआउने गरी बाबु गएको हुँदा बाबुको लाडप्यार पनि पाएको थिएन रामेले । उसका लागि देहातमा रहेको एक डेढ बिगाहा जग्गा, एउटा झोपडी र आमा मात्र छोडेका रहेछन् बाबुले यस संसारमा । त्यही जग्गा खनीखोस्री त्यही झोपडीमा आपूmलाई रित्याउँदै उसलाई समर्थ बनाएकी रहिछन् आमाले । कहिले–कहिले त भोकै बस्नुपथ्र्याे । कहिले खडेरीले सुकाउने, कहिले बाढीले डुबाउने । सहकालमा लुटपाटले जीउ जोगाउन गाह्रो अनिकालमा भोकमरीले बीउ जोगाउन गाह्रो भनिरहन्थिन् आमा । त्यै पनि गाउँको धुले स्कूल पास गरेर सहरको कलेजसम्म पढ्न भने पाएको रहेछ रामेले ।
गाउँले जगमा कोपिलिएर सहरे परिवेशमा फक्रिन पाएको रामेमा पनि चढ्दो उमेरसँगै वढ्दो सपना सजिनु अस्वभाविक थिएन । सुविधासम्पन्न सहरले उसलाई पनि मोहनी लगाउन थालेको थियो । तर सहरको भीडभाडमा बिरानिनुभन्दा आफ्नै थातथलोमा चिनिनु राम्रो भन्ने आमाको अर्तिलाई पनि काट्न सकेको थिएन रामेले । आमाकै आग्रहमा बिहावारी गरी गाउँमै रमेको थियो रामे ।
बाहिरवाट हेर्दा देखिने सहरिया सुख–सुविधा र त्यसका लागि आवश्यक पर्ने सम्पत्ति आर्जन गर्ने मोहसँग भने टाढिएको थिएन रामे । स्वदेशमा रोजगार नपाइने पाएको रोजगारले दुई छाक टार्न धौधौ पर्ने अवस्थासँग पनि अनभिज्ञ थिएन रामे । तिनताक विदेश गएर आउनेहरूलाई लाहुरे भन्ने गरिन्थ्यो गाउँ घरमा । उताको एक, यताको सय सुनेको थियो रामेले पनि । मेलापातमा सुनेका कुरा र हाटबजारका भट्टीमा लाहुरेहरूले बगाएको पैसाको खोलो देख्ता रामेलाई पनि गाउँमा अनौ ठेल्नुभन्दा विदेशमा जदौ ठोक्नु राम्रो भन्ने अभिलाषा सल्बलाउन थाल्यो । चौतारीमा घन्किएका दोहोरीले भन्दा भट्टीमा रन्किएका लैबरीले मन तान्न थाल्यो र विदेश जाने निर्णय ग¥यो रामेले ।
आमाको कोमल मनले रामेलाई विदेश जाने सल्लाह दिएन । बरु आफ्नै खेतबारी खनीखोस्री उब्जनी र आम्दानी बढाउने सल्लाह दियो । दुलही चाहिँ दुविधामा परी । एकातिर ऊ लोग्नेको साथ छोड्न चाहन्नथी । अर्काेतिर ऊ धन कमाएर फर्केको रामे र सुखी, सम्पन्न सहरिया जीवनको तुलना गर्थी । कहिले–कहिले रामे बाहिर जान्थ्यो । ऊ अधैर्य हुन्थी । आउने दिन औँला भाँचेर गन्थी । उसले कहिल्यै पनि एक हातका सबै औँला भाँच्नुपरेको थिएन । उसलाई थाहा थियो – उसका दुवै हातमा दश आँैलामात्र छन् । विदेश पठाउँदा त यी औँला कति भाँचिन्छन् कति ! त्यसको हिसाब ऊ राख्न सक्नेछैन ।
केही वर्षको दुःखले सँधै सुखी हुन सकिन्छ । ऊ मनलाई दह्रो बनाउँथी । उसका निकै जना आफन्त र परिचितहरू विदेश गएको सुनेकी थिई । आखिर यत्तिका मान्छे किन जान्छन् त विदेश ? राम्रै भएर त होला नि । स्वर्णिम कल्पना गर्दै आफै मन बुझाउँथी ।
लोग्नेको आग्रहको अगाडि टिकिन झुकी र विदा दिई ।
पैसा चाहिने भयो रामेलाई विदेश जान । भएको जग्गा बेच्ने फैसला ग¥यो रामेले । अग्रजको आर्जन आहुति दिन मानिनन् आमाले । वात्सल्य प्रेमले भतभतीनै पोलेको थियो आमालाई । छोराको सुखी गार्हस्थ्य जीवन हेर्न मन लागेको थियो आमालाई । कुलको दियो बाल्न र प्रतिष्ठा फैलाउन मन लागेको थियो आमालाई । पुर्खाको प्रसाद कर्म गरे यहीँ औलादौला हुन्छ– भनिरहन्थिन् आमा ।
पूर्वजले पूजा गरेको माटो र बलिदानी दिएको धरती कहिलै खेर जाँदैन । माटो जहाँको भए पनि माटो नै हो प्राणी माटोमा आउँछ र माटोमै जान्छ । माटोमा कर्म गर्नुपर्छ, माटोमै फल प्राप्त हुन्छ भनिरहन्थिन् आमा । तर रामेको चढ्दो उमेर र आमाको ढल्दो उमेरको विचार मिलेन बाझियो । दुलहीले पनि लोग्नेकै पक्ष लिई । रोएर ननिख्रिएको आमाको आँसु रोएरै थामियो । अलिकति बाँकी राखेर रामेले जग्गा बेच्यो ।आमाको हातको टीका र हृदयको आशीर्वाद थापेर रामे विदा भयो । आँसुका धारासँगै मूलद्वारसम्म आएर आमाले विदा गरिन् । बस चढ्ने ठाउँसम्म गएर दुलहीले पनि रुँदै विदा गरी । मुटुनै फुटेर निस्केको आमाको आँसुमा मातृत्वको पीडा र दुलहीको आँसुमा चाहिँ प्रणयको पीडा र भविष्य प्रतिको आकाङ्क्षा दुवै हुन सक्थ्यो ।
दिनहरू बित्तै गए । रामे विदेश पुग्यो । काम पायो काम गर्न थाल्यो । मिनेटमा सेण्ट र घण्टामा डलर, रामे समयमा बाँधियो । जति घण्टा उति डलर, मान्छे हो वा मेशिन, रामे डलरमात्र थन्क्याउँदै गयो । घरमा चिठ्ठी पठायो, फोन ग¥यो, सामान पठायो, पैसा पठायो तर रूपैयाँ पैसा वा मालसामानले आमाको मन किन भरिन्थ्यो र ?
ओरालो लागेको घाम विरक्तिएको मनको भरोसा हुँदैन भन्छन् । ढल्किदै गएको उमेर, रोगले च्याप्तै गरेको शरीर आमा रोगाइन् बिरामी परिन् र थला परिन् । रामेले पैसा पठायो उपचार गर्न अह्रायो तर पैसाले आयु किन्न पाइएन, औषधिले काललाई जित्न सकेन । वरत्र सन्तानको नाममा र परत्र ईश्वरको नाममा रामे ! रामे !! भन्दै विदा भइन् आमा यस संसारबाट ।
आज आउँछु भोलि आउँछु भन्दा भन्दै पनि आउन पाएन रामे । आमाको मृत्युको खवरले स्तब्ध भयो रामे । रोयो करायो सुर्तायो चिडियो र कुँढियो । निष्ठुरी विधातालाई गाली ग¥यो र आफँैले आफैँलाई धिक्का¥यो अनि आफैँले आफ्नो मन बुझायो । बाबुलाई देखेकै थिएन रामेले । बाबु भने पनि आमा भने पनि एउटै थिइन् । उनको पनि अन्तिम दर्शन गर्न सकेन रामेले ।
श्रमिक महिला थिइन् आमा, आफूले खाई–नखाई खुवाएकी थिइन् रामेलाई । भनिरहन्थिन्– खाएन भने आँत भरिदैन, खानु पर्छ । ग्रामीण महिला थिइन् आमा, कनिकुथी आफैँले साउ अक्षर चिनाएर शिक्षाको महत्व बुझाएकी थिइन् रामेलाई । भनिरहन्थिन्– धेरै पढेर ठूलो मान्छे हुनुपर्छ । सामाजिक महिला थिइन् आमा । सकी–नसकी सामाजिक शिक्षा दिएकी थिइन् रामेलाई भनिरहन्थिन्, समाजमा बसेर सेवा गर्नुपर्छ । धार्मिक महिला थिइन् आमा, जानी–नजानी नैतिक शिक्षा दिएकी थिइन् रामेलाई । भनिरहन्थिन्– सधैँ उपकारी बन्नुपर्छ । कर्मशील महिला थिइन् आमा, दश नङ्ग्रा खियाएर हुर्काएकी थिइन् रामेलाई भनिरहन्थिन्, संसार कर्मशीलको हो कर्म गर्नुपर्छ । सत्यवादी थिइन् आमा । रामेलाई थाहा थियो– जानी–नजानी कहिले कसैको असत् गरेकी थिइनन् आमाले भनिरहन्थिन्, संसारमा सत्यको जित हुन्छ सत्यवादी हुनुपर्छ ।
स्कुलबाट फर्केको रामे होस् वा गाईबस्तु चराएर फर्केको रामे, अँध्यारो अनुहार देखिन् भने भुट्भुटिन्थिन् आमा । सामान्य बिरामी प¥यो भने धामीझाँक्री बोलाउन दगुर्थिन् आमा । रात–रातभर जाग्राम बसेर सुश्रूषा गरिरहन्थिन् आमा । सहरका डाक्टरको टेलिफोन नम्बर पनि छिमेकीसँग लिएर राखेकी थिइन् आमाले । उनलाई थाहा थियो कहिलेकाहीँ साह्रो गाह्रो पर्नसक्छ ।
खुसीको हाँसो जीवन भर हाँसेकी थिइनन् आमा । रामेलाई थाहा थियो उसले दुलही भित्र्याएको दिनमात्र खुसीले हाँसेकी थिइन् आमा । आमाको त्यो हाँसोमा अतीतप्रतिको दायित्व र भविष्यप्रतिको जिम्मेवारी देखेको थियो रामेले । आमाको त्यो जिम्मेवारी र दायित्व अब आफ्नो काँधमा सरेको महसुस गरिरहेको थियो रामे । रामेलाई हेक्का थियो–अब उसलाई साथ दिने दुलही मात्र छ ।
रामेलाई विदेशिने सल्लाह दिएकी थिइनन् आमाले । रूपैयाँ–पैसाको मोह पनि पालेकी थिइनन् आमाले । सबैथोक होइन पैसा, राज्यको मोहोर ओहोर र दोहोर भनिरहन्थिन् आमा । न आङ ढाक्छ न भान्सामा पाक्छ । रुँदै गरेकी आमाको मुहार सम्झँदा मन चसक्क हुन्थ्यो रामेको । तर त्यही आमाले पनि छोडेर जाँदा साथमा रहन पाएन रामे । दबेको आँसुलाई बगाउँदै र बगेको आँसुलाई दबाउदै रामे पुनः मेसिन बन्यो । मिनेटमा बाँधियो, घण्टामा बाँधियो र विदा मिलाएर छिटै आउने आश्वासनमात्र दियो दुलहीलाई ।
निकै पैसा कमायो रामेले । धेरै पैसा पठायो पनि । जाँदा लागेको ऋण र भएको खर्च पनि उतिबेलै उकासिसकेको थियो रामेले ।
अब सहरतिरै घडेरी किन्न पर्छ, घर किन्नु पर्छ । दुलहीलाई बेलाबेला फोनमा भन्ने गथ्र्याे रामे ।रूपैयाँले सम्पत्ति किनिन्छ समय किनिन्न । अलि पछि त भन्न थालेकी थिई दुलहीले पनि ।
बँैसालु थियो रामे । उमेरको नसाले कहिले–कहिले गाँज्दथ्यो उसलाई पनि । हातमा पैसा र शरीरमा तागत थियो रामेसँग । बैँसको तिर्खा मेटाउन उद्यत देखियो रामे । उता फर्केपछि कसलाई पो के थाहा हुन्छ र ? कहिले– कहिले रमरम बनेको हुन्थ्यो रे रामे । तर घरमा रूपैयाँ–पैसा पठाउन भने छोडेको थिएन रामेले ।
बहेको पानी गएको जवानी फेरि फर्कदैन भन्थे । दुलहीको केही च्याँठ्ठिएको स्वरलाई भने अनर्थ मानेको थिएन रामेले । दुलहीले फर्कन धेरै आग्रह गरेकी थिई । सहरिया सुविधामा गाउँले सुविस्ता कहाँ पाइन्छ र ? अब त गाउँ पनि सहर बन्न सक्छ । सहरिया मोहले पनि छोड्न थालेको बुझिन्थ्यो दुलहीलाई । सम्पत्ति सुख भन्दा दम्पती सुख राम्रो । अलि पछि त झर्कन थालेकी थिई दुलही पनि । लाडिएकी थिई, घुक्र्र्याएकी थिई र बेलाबेला धम्क्याएकी पनि थिई तर विदा मिलेकै छैन भनिरहन्थ्यो रामे । अलि पछि त दुलहीको फोन पनि पातलिन थालेको थियो ।
रामेले हिसाब ग¥या,े अब त घरमा पठाएको पैसाले सहरमा घरजग्गा जोड्न पुग्छ आफूसँग भएको पैसाले गाडी आउँछ, स्वर्णिम कल्पना सँगाल्दै रामेले फर्कने निधो ग¥यो ।
रामे गाउँमा आइपुग्यो तर त्यहाँ गाउँ थिएन । गाउँ त सहर बनिसकेको रहेछ । आफ्नो घर कता पर्छ ? रामेलाई खुट्याउनै गाह्रो प¥यो । नजिकैको चिया पसलमा चिया खाइरहेको रामेले त्यहाँको जग्गाको मूल्य सुनेर छक्क प¥यो । पहिले आफूले बेचेको जतिमा त एक कठ्ठा पनि नआउने भएछ । अहिले उसले कमाएको जतिमा त बास बस्ने ठाउँ पनि नपाउने भएछ । रामे घर पुग्यो । वरिपरि बनेका महलहरूले उसको झुप्रो छोपिसकेका रहेछन् ।
मन अमिलो भयो रामेको । आमाको अनुहारको झल्झली झझल्को आइरह्यो रामेलाई । फुलेको कपाल, चाहुरिएको मुहार, थर्थरिएको शरीर, झुकेको कद, लठ्ठीको सहारा, सलेदो जस्तो मन ।
आइपुगिस् बाबै ! धमिला आँखाले निकै बेर निहालेर आमाको मायालु स्वरले बोलाएजस्तो लाग्यो रामेलाई । श्रीहीन दुलही उपेक्षित सालिकझै ठिङ्ग उभिए जस्तो लाग्यो रामेलाई । दुलहीसँग आँखा जुधाउन सङ्कोच लाग्यो रामेलाई । ग्वाम्लाङ्ग अँगालोमा बाँधिएर हराउन मन लाग्यो रामेलाई । हिक्का छोडेर आँसु रित्याउन मनलाग्यो रामेलाई । कसिलो माया साटेर चोखिन मन लाग्यो रामेलाई । तृषित नेत्रले हेर्दे लज्जालु दुलही भने भागे जस्तो लाग्यो रामेलाई ।
रामे आमाले आँसु बहाएको मूलद्वारमा पुग्यो त्यहाँ त ठूलो ताल्चा लागेको रहेछ । ताल्चालाई नजिकैबाट नियाल्यो–त्यो ताल्चामा त खिया लागिसकेको रहेछ ।
***
प्रतिक्रिया
-
४