– हरिप्रसाद अधिकारी

“सानुबाबु, नमस्कार,”
“हिजोसम्म चिन्नु हुन्छ कि भन्ने डरले भुटभुटिएर बिताएँ, आज चिनाउन नसकेको रापले पोलिरहेछ, थाहा छैन कहिलेसम्म यो रापले पिल्स्याउने हो वा यसैले जलाउने हो ।”
चिठीले म झस्किएँ, यति लामो जागिरको दौरानमा मलाई कसैले पनि सानुबाबु नामले सम्बोधन गरेको थिएन र मैले पनि कसैलाई चिनाएको थिइँन । यो नाम मेरो नितान्त पारिवारिक थियो ।अझै भन्नु पर्दा घरपरिवारका अग्रज र केही समकालीन सम्ममात्र सीमित थियो यो नाम ।
“मैले त हजुरलाई चिन्न कुनै मेहनत नै गर्नु परेन । हजुर सवारी भएको दिन कार्यालयमा राखिएको औपचारिक कार्यक्रममै कताकता शङ्का उब्जिएको थियो । हजुरको अगाडि पछाडि हरदम एकाध दर्जन मान्छे हुन्थे नै । ती मध्ये केही हजुरका झोला सुटकेश बोक्न तम्तयार रहन्थे । तर हजुरले आफ्नो झोला आफै बोक्नु भएको र झोला बोकेर सिंढी चढिरहँदा ममा भने कुनै संशय बाँकी रहेन बरु ऊ बेलाको याद झल्झली आइरह्यो ।”
मैले आफ्नो जीवनमा आफ्ना झोला पोका आफै उठाउने कोशिस गरिरहेँ । कसैले यसलाई बोझ उठाउने बानीको संज्ञा दिए, कसैले बाह्र वर्ष ढुङ्ग्रामा राखे पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै भने तर मैले यसलाई जिम्मेवारीको रुपमा ग्रहण गरेँ । चिठीमा कसले कुन वेलाको याद गरेको हो खुलेको थिएन । चिठीले मलाई कुत्कुत्याउन थाल्यो । मलाई साँच्चिकै नजिकबाट निहारिरहने को हुन सक्छ यो ? मैले चिठीको पुछारमा आँखा पुर्‍याएँ, अहँ त्यहाँ त मबाट भूल भएको भए अज्ञानता ठानी क्षमा दिनु हुनेछ भनी टुङ्ग्याएको रहेछ ।
“पहिलेका साबहरु हातमा औंठी र शरीरमा वस्त्र धारण गरे पनि सर्वाङ्ग नाङ्गा जस्ता देखिन्थे । कुरा काट्नेहरु तिनले दिमाग पनि धारण नगरेको बताउँथे । हुन त अपराधीले उन्मुक्ति वा निर्दोषले सजाय पायो भने त्यस्तो निर्णयकर्ता विरुद्ध कुरा काट्नेहरुले पनि कुरा काट्नकै निमित्त कानूनका दफा उपदफाहरु नपल्टाउँदा हुन् । ती साबहरु आफै मपाईंत्व ग्रहण गरेझैं गजक्क परेर हिँडथे । नमस्ते गर्दा हात उठाउन त परै जावस् जिउ हल्लाउन पनि अप्ठ्यारो मान्थे । सेवाको नाममा शासन गर्थे । जनताप्रति उत्तरदायी हुन नसक्ने मान्छे जनताको नजरमा गिर्दो रहेछ । त्यसैले ती कसैको मनमा बसेनन् । जसरी आएका थिए उसैगरी गए ।”
“त्यस्ता मान्छेहरु धेरै लेखपढ गर्दैनथे बरु अरुकै लेखनीमा भर पर्थे ।”
“हजुरको लेख्ने पढ्ने कलाले हिजो लेखिदिनेहरु आज सिकारु जस्ता देखिन्थे । हजुरको फरासिलो बोलीवचन र मिजासिलो स्वभावले एक वचन बोल्नकै लागि पनि मान्छेहरु नमस्ते गर्दै सडकमा निस्कन्थे । साँच्चै मलाई त त्यो वेला हजुरसित सिकिरहेको अनुभव हुन्थ्यो । भन्नेहरु भन्थे हजुरको बोलीमा जादू छ, पढाईमा जिज्ञाशा, लेखाईमा अनुसन्धान अनि समस्यामा समाधान ।”
चिठीले म रन्थनिएँ, कस्ले लेखेको हुन सक्छ यो ? करिब एक वर्ष त्यस दुर्गम जिल्लामा बसेर म आजै राजधानी फर्किएको थिएँ । टेलिफोन, बिजुली, सडकको पहुँच थिएन त्यो स्थानमा । राजधानीसित जोडने धूले विमानस्थलमा पनि घोषित अघोषित कार्य तालिका बनाउँदै वर्षमा आठ/दश पटकमात्र उडान भर्थे विमान कम्पनी । बिदाइ गर्न विमानस्थलसम्म निकै मान्छे जम्मा भएका थिए । बाटोमा पनि फूलमाला अबिर दिनेहरु निकै थिए । अचम्म के थियो भने त्यसरी उपस्थित हुनेहरुमा स्कूले बच्चाहरु पनि थिए । त्यसैमध्ये कसैले मेरो गोजीमा यो चिठी राखिदिएको हुनुपर्छ ।
अगाडि नपढी प्रेषक चिन्ने अवस्था थिएन ।
“सानुबाबु हजुरको कार्यशैलीमा असीमित क्षमता रहेछ । भोलि के हुने हो हजुर आजै देख्नु हुन्छ । त्यसैले त हजुर दिनको पहिलो प्रहरमै आजको काम सक्नुहुन्छ र दोस्रो प्रहरमा भोलिको तयारी गर्नुहुन्छ । हजुरको पहिलेदेखि लागेको यो बानी आजसम्म छुटेको रहेनछ । अन्यथा ठान्नुहुन्न भने कामको आधारमा मान्छेको मूल्याङ्कन सेवाग्राहीले गर्नुपर्दा यो जिल्लाका सरोकारवालाले हजुरलाई अब्बल रुपमा लिए भन्न म हिच्किचाउँदिन ।”
चिठीले अझै रन्थनिएँ म । मेरो पहिलेदेखिको बानी व्यहोरासित परिचित को हुन सक्छ यो ? कसैले मलाई जिस्क्याई रहेको त छैन । एकनाशले कुँदिए जस्ता सुन्दर अक्षरमा अगाडि लेखिएको थियोः
“सानोबाबु, हजुरको व्यक्तिगत जीवनमा चासो राख्ने मेरो उद्देश्य होइन । जीवन यापनको क्रममा धेरै आरोह अवरोह पार गर्नु पर्दोरहेछ सायद हजुरको जीवनमा पनि यस्तै यस्तै भयो होला । तर हजुरको विवाह कहिले भयो ? भाउजु कहाँ हुनुहुन्छ ? नानीहरु कति र कत्रा भए ? बुबा आमा कहाँहुनुहुन्छ ? यति जानकारी माग्नु गलत नहुन सक्छ । हजुर यहाँ बसुन्जेल सोध्ने मन हुँदाहुँदै पनि आँट गर्न सकिन । अधिकांश मान्छेले गफै गफमा आफनो घर परिवारको कुरा चुहाउने गरेको सुनिन्छ । यहाँसम्म कि गजक्क पर्ने ती साहबहरु नशाकै सुरमा भए पनि पारिवारिक कुरा ओकल्थे । तर अरुले मदिरा सेवन गर्ने समयमा हजुर लेखन अध्ययन गर्ने भएकोले होला पारिवारिक अवस्थाको भेउ पाउन सकिएन ।”
को होला यो, मानव जीवनमा आउने आरोह अवरोह भोगेको र मेरो व्यक्तिगत जीवनलाई समेत कोट्याउन चाहने ? मलाई चिनेर पनि मेरो अगाडि नपर्ने कारण के हुनसक्छ ? प्रेषक नारी हो वा पुरुष ? त्यो पनि छुट्टिँदैनथ्यो । वरिपरि हेरेँ कोही थिएन । चिठी पढ्न थालेँ सुन्दर अक्षरमा लेखिएको थियोः
“सानुबाबु एक महिना अगाडि बोक्सीको आरोपमा यातना व्यहोरेकी एक महिला उजुरी लिएर आएकी थिइन् । मान्छे अपरिचितै भए पनि उसको बारेमा सबैभन्दा धेरै खुल्दुली मलाई लागेको थियो । म हजुरको निर्णयको व्यग्र प्रतिक्षामा थिए । हजुरले पीडकलाई तत्काल कानूनको कठघरामा उभ्याउन गर्नु भएको निर्णयले मेरो त खुशिको सिमा नै नाघेको थियो । साँच्चै त्यो क्षण संसार जितेको महशुस भएको थियो मलाई । अपराधी जतिसुकै ठूलो छातामुनी घुस्रिए पनि अपराधको विज अपराधीसितै हुन्छ । अपराधी जोगाउने पनि अपराधको हिस्सा ठहर्छ । हजुरको त्यो निर्णयको सर्वत्र स्वागत गरिएको थियो । खासगरी युवा जमातले त्यो निर्णयको परिप्रेक्ष्यमा सडक नाटक, कवि गोष्ठी, भित्ते लेखन जस्ता जनचेतनामूलक कार्यक्रम नै संचालन गरेको थियो ।”
“झर्को मान्नु हुन्न भने एउटा सडक नाटकको सन्देश सुनाउने अनुमति चाहन्छु । पचास कि.मि.लामो सडक निर्माण हुने भएछ । त्यो सडकमा चारवटा बस्ती पर्दा रहेछन । एक कि.मि.मा फैलेको एउटा बस्तीका केही व्यक्तिले पर्खाल पेटी भत्किने हुँदा बाटोको चौडाई घटाई पाउँ भनी निवेदन दिएछन् । निर्णयकर्ताले सोही निर्णय गरेछ । आज उन्चास कि.मि. बाटो चौडा छ, एक कि.मि. साँघुरो । सोही कारण सडक अस्तव्यस्त छ । यात्रीहरु विकल्पको खोजीमा छन् । मान्छेहरु त्यो निर्णयकर्ताको परिचय खोजी रहेका छन । कतिपयले त उसको फोटो सहितको परिचय त्यही साँघुरिएको सडकमा सार्वजनिक गर्ने बताई रहेका छन । निर्णयकर्ताले सही समयमा सही निर्णय गरिदिएन भने सरोकारवालाले त दुःख पाउँदा नै रहेछन् । ढिलो चाँडो गलत निर्णय गर्ने निर्णयकर्ताले पनि जनस्तरमा नाङ्गिनु पर्ने रहेछ जस्तो लागिरह्यो ।”
“सानुबाबु, मेरो मनमा भने त्यो समयमा यस्तो निर्णय गरिदिने कोही भई दिएको भए त्यो गाउँले त्यति ठूलो क्षति व्यहोर्नु पर्ने थिएन होला जस्तो लागिरह्यो ।”
कुन समयको कस्तो क्षतिको कुरा हो यो ? अझै स्पष्ट हुन सकिनँ म, बरु थप उत्सुक बनेँ । के निर्णय तहमा बसेका निर्णयकर्ताहरु सही समयमा सही निर्णय गर्दैनन् ? मेरो मन फनफनी घुमिरह्यो ।
“सानोबाबु, हजुर र मेरो उमेर झण्डै उस्तै उस्तै छ । ओहोदाले मान्छे ठूलो सानो हुने भएपनि त्यो ओहोदा रहुन्ज्याल मात्र हो । उस्तै उमेरका मान्छेमा ओहोदाको जलप हटाइदिने हो भने ज्ञान, शिप वा अनुभवको लेपन मात्रै फरक पर्दो हो । त्यो लेपन पछि बाँकी रहने मानवीय मन भने उस्तै उस्तै हुँदो हो । त्यही कारणले सधैँ मेरो मनमा च्वास्स च्वास्स बिझाई रहने तर सबैसित कहन नसकिने त्यो मनको बहले हजुरको कर्मशिल समयको केही क्षण पाउने अपेक्षा गरी पुरानो घटना स्मरण गराउने कोशिसमा छु ।”
चिठीमा अगाडि लेखिएको थियोः–“ऊ वेला सुनहरी गाउँमा एउटा अप्रत्यासित घटना घटेको थियो । के त्यो घटनाले आज पनि हजुरको स्मृतिपटमा ठाउँ ओगटेको छ अथवा जीवन यापनको क्रममा झिनो मसिनो बनेर हरायो ?“
चिठीले म स्तब्ध भएँ । शरीरका रौं ठाडा भए, कहिले पनि सम्झन मन नलाग्ने तर वेला कुवेला आफै मनमा आई रहने त्यो घटना सम्झदा सधै द्रविभूत हुन्छु म । मान्छेको भिडभाड, अरुको कुरा सुन्न नचाहने जिद्दीपन अतर्कित तर्क । चिठीमा अगाडि लेखिएको थियो–”राडीमा बसेर मसमस राडी मल्दै राडीमा दुलो पारेर, मुख बिगार्दै र पाखुरा सुर्कंदै त्यो मान्छे बोल्दै थियो । उसका लाउकेहरु हो मा हो मिलाई रहेथे । के भनेको हो त्यो ?”
त्यस्तै थियो त्यहाँको न्याय निरूपण । आफै बादी, आफै प्रतिबादी, अरुको जीवनमाथि सोझै निर्णय, सम्झिँदा सम्झिदै कहालिन्छु म ।
को हुनसक्छ यो ? जसले मेरो नसा नसामा घुमिरहने त्यो कालो छायाँलाई टपक्कै टिपेर ममाथि प्रहार गर्न खोज्दैछ । त्यति पुरानो कुरा यति टाढाको दुर्गम स्थलसम्म कसले लिएर आयो ? तिनताक पत्रपत्रिकाको पहुँच पनि थिएन । रेडियो पत्रकारहरु पनि गाउँमा पुगेका थिएनन् । चिठीको सिरानमा आँखा पुर्‍याएँ भुटभुटिएको र पिल्सिएको उल्लेख थियो । सुनहरी गाउँमा भएको त्यो घटनाको आज स्मरण गराउने मान्छे चिन्न नसकेकोमा मैले आफैलाई भुटभुटिएको र पिल्सिएको महशुस गर्न थाले ।
सुनहरी गाउँको पुछारतिर एउटा बस्ती थियो । बस्ती जङ्गलको मुखैमा थियो । एक प्रकारले गाउँतिर वन्यजन्तुको प्रवेश रोक्न र जङ्गलमा गाउँघरतिरबाट हुने अतिक्रमणको रमिता हेर्न बसेको चौकिदार जस्तो देखिन्थ्यो त्यो बस्ती । त्यही बस्तीको लालचनले बिहे गरेर ल्याएको थियो सरिना । गरिब परिवारमा भित्रिएकी सरिना भने अँधेरी रातकी नक्षत्र रहिछ । थोर बहुत पढेर संसार चिनेकी रहिछ । अलिकति ज्ञान शिप सिकेकी रहिछ । प्रकृति आफैले उसलाई अलिकति रुपरङ्ग दिएको रहेछ । उसको बोलीवचन र समाजसितको घुलमेल कदर योग्य थियो ।
त्यस बस्तीका मान्छेको दैनन्दिनी भनेकै ठूलाबडाको घरमा ज्याला मजदुरी गरेर पेट पाल्नु थियो । तिनीहरु नभए कथित ठूलाबडाको खेतबारी बाँझिन सक्थ्यो । बिहेबटुल रोकिन सक्थ्यो । पशु पालन नहुन सक्थ्यो । सविनाले पनि बिस्तारै गाउँले परम्पार धान्न थाली, सिप र ज्ञान बाँड्न थाली ।
तर श्रमिकलाइ दिने ज्याला दयाबकस जस्तो थियो, श्रमको मूल्य जस्तो होईन ।
मान्छेको शरीर अजम्बरी हुँदैन, कहिले घाम कहिले छायाँ भने झैं त्यो दिन बस्तीको सिरानतिरकी कमलरी पखालाले थला परिछ । सूर्यले उज्यालोमात्र दिँदैन उर्जा पनि दिन्छ भने झै सरिनाले नुन चिनी पानी मात्र खुवाउन लगाइन स्वास्थ्य चौकी लैजाने सल्लाह पनि दिई । आफूलाई टाठाबाठा ठान्नेहरुलाई पाच्य भएन । तिनीहरुले धामी झाँक्रीको सिफारिस गरे । सामाजिक परम्पराको दुहाई दिँदै भोग भाकल गराए । अस्पताल लान दिएनन् । सरिनाले बहस गरी भोग भाकल गर्दै गरौला रीतिथिति मान्दै जाउँला अहिले भने अस्पताल पुर्‍याउँ । तर मूर्ख बलवान भएको वेला सज्जन जोगिनु पर्छ भने जस्तो भयो गाउँ ।
चिठीमा अगाडि लेखिएको थियो–“कस्ता थिए होलान् सामाजिक अगुवा, विज्ञान र अज्ञानको द्न्द्वमा विज्ञानलाई छोड्ने, असल मनसाय राख्ने जो कोहीको विचार तोड्ने ।”
ढयाङ्ग्रो बजाउँदा पखाला रोकिएन, तन्त्रमन्त्रले कमलरीको ज्यान जोगिएन ।
गाउँमा विष वृक्ष रोपियो । नुन चिनी पानीमा बोक्सी मिसिएको भनिएछ । रोपिएको वृक्ष हलक्क बढ्न बेर लागेन । एकले अर्कोलाई कसैलाई नभन्नू है भन्दै सन्देश प्रवाह गर्न थाले । भित्रभित्रै भूसमा आगो लागिसकेछ । बोक्सीले राती बेसार पहेँलो देख्छन् । सरिना पनि राती बेसार पहेँलो देख्छु भन्थी, कुतर्क फैलाइएछ । साक्षी प्रमाण जुटाइएछ । केही मान्छेको अगुवाईमा गाउँ भेला डाकियो र सरिना बोक्सी भएको एकतर्फी निर्णय सुनाईयो । भेलामा बहस भने चर्को भएको थियो ।
“बहस चर्को हुने कारण हजुर पनि हो” – चिठीमा अगाडि लेखिएको थियो – “हजुरले त्यति अडान नलिएको भए धेरै कमलरी मर्ने थिए र धेरै सरिना बन्ने थिए ।” चिठीले म हैरान भएँ । मै माथि सर्वाङ्ग ढाकिएर मेरै आत्मकथा लेखे झै कस्ले लेखिरहेको छ यो ? फनफनी घुम्न थाल्यो मेरो परिवेश ।
अबुझ मान्छेको असूया निर्णयमा हामी सहमत भएनौ । सर्वसम्मत निर्णय हुन सकेन तर डरले हो वा करले ठूलो जमात हाम्रो विपक्षमा देखियो । हामी केही युवाहरु त्यसको विरुद्ध चट्टान जस्तै उभियौँ ।
चिठीमा अक्षरहरु थिचेर लेखेझैं देखिन्थे । सायद प्रेषकमा पनि क्रोधको ज्वाला दन्कँदै थियो । “हजुरको विद्रोही स्वर नगर्जिएको भए पल्लो गाउँबाट एक्लै आएकी म कि त अन्याय सहेर चुपचाप फर्कन्थें कि त लाठी उठाउँथे, त्यसको परिणाम के हुन सक्थ्यो ? आज अनुमान लगाउन सक्तिन ।” चिठीले म छाँगाबाट खसे जस्तो भए । करिना तिमीले आफूलाई नचिनाएर गल्ती गर्‍यौ । यो भन्दा बाहेक के भन्न सक्थेँ र म ?
करिना हाम्रो समुहमा खरो उत्रिएकी थिई । उसका प्रत्यक शब्दहरु धारिला र प्रहार चोटिलो थियो । एक त केटी त्यसमाथि पनि अर्को गाउँकी, तिनीहरु करिनालाई लखेट्न खोज्दै थिए तर आगाको ज्वाला समान थियो हाम्रो समुह र बल्दो अग्नि समान प्रस्तुत भई करिना । उसको शस्त्ररूपी तर्क काट्न सक्ने योद्धा र हतियार थिएन त्यो खिया लागेर भुत्तिएको बलमिचाहा समुहसित । भूत, प्रेत, बोक्सी, डङ्किनी, पिचास मिथक हो, अन्ध विश्वास हो, हामीले प्रतिवाद गरिरह्यौं । अब पनि यस्तै विश्वास पालेर प्रविधि नभित्राउने हो भने समाज रुपान्तरण हुन सक्तैन । हामीले जिरह गर्‍यौं तर पनि ठूलो जमातको अगाडि हामी युवा कर्द ठहरियौं । चिठीमा लेखिएको थियो– “समाजको निर्णय सामाजिक हुँदो रहेछ । सायद अबुझ मान्छेबाट गलत निर्णय नहोस् भनेर सामाजिक रुपान्तरण आवश्यक ठानिन्छ । मलाई लाग्छ हामीले समाजमा चेतना छर्न नै ढिलो गरेछौं ।”
सरिनालाई बोक्सी ठहर गरियो । उसको लोग्नेलाई बलजफ्ती बोक्सी भनाईने कागजमा सहि गराइयो । समकालीन समयकी आसलाग्दो नक्षत्र सरिना गाउँबाट निकालिई ।
“सरिना गाउँबाट ननिकालिएकी भए”– चिठीमा अगाडि लेखिएको थियो– “यतिन्ज्यालसम्ममा त्यो गाउँबाट अशिक्षा हराउन सक्थ्यो, गरिबीको रेखा मेटिन सक्थ्यो । माटोमा हालेको पानीले सृजना गर्छ बालुवामा हालेको पानीले आफ्नै अस्तित्व मेटाउँछ भनेजस्तो भयो गाउँ ।”
कहाँ गई होला सरिना ? हामी युवाहरु चिन्तित भयौ । खोज्दा बात लाग्ने डर, संरक्षण गर्दा बहिष्कृत हुने डर, तर हामीले हिम्मत हारेनौ हाम्रो नेतृत्व करिनाले लिई । केही दिन पछि नजिकैको जङ्गलमा मरेको अवस्थामा भेटिई सरिना । संवेदनसिल अङ्गहरुमा चोटपटक थियो रे । आत्महत्या होईन यो अनुमान सबैले लगाए तर मुख कसैले खोलेन । खोल्यो भने प्रमाण नपुग्ने डर । सुतेको विधि उठेन, उठ्यो भने सोझासिधातिरै तेर्सिने डरले कसैले ब्युँताउन चाहेन । हामीले भन्यौ कायरताका विरुद्ध वीरतापूर्वक बलिदानी । त्यो समुहले भन्यो मान्छेको रगत नपचेर बोक्सीको मृत्यु ।
चिठीमा अगाडि लेखिएको थियो– “कति दर्दनाक थियो घटना, परोपकारी मान्छे पिपासु ठहरिएको छ र यातनापूर्वक मारिएको छ, पिपासुहरु परोपकारी ठहरिएका छन् र अरुमाथि बक्रदृष्टि लगाई रहेका छन् । पीडक पक्ष शिर उठाएर घुमिरेको छ, पीडित पक्ष बोल्नधरी पाउँदैन । त्यो घटना पछि त्यसको विरुद्धमा बोल्नेहरुको लागि आफ्नै गाउँ बस्न लायक रहेन । सरिनाको पक्षमा बहस गर्नेहरु विस्तारै गाउँबाट पलायन हुन थाले । मलाई पनि सरिना बनाई दिने धम्की आउन थाल्यो, हजूरसित सम्पर्क गर्न खोज्दा हजुर पनि सहर पस्नु भएछ । मैले पनि गाउँ छोडें । आज पनि राती बेसार देख्ता झस्कन्छु, सेतो देखिदैन बेसार, राती पनि दिउँसो पनि पहेँलो देखिन्छ बेसार ।”
घटनापछि गाउँमा अविश्वासको लहर चल्यो । सरिनाको पक्षमा बोल्नेहरु आफूलाई असुरक्षित महशुस गर्न थाले । पढ्न जाने बहानामा म पनि सहर पसें । पछि सुनेँ घटना ब्युँतिदा गाउँमा वाल वृद्धबाहेक कोही थिएन ।
म पनि बेसार देख्ता टोलाउँछु, छेपारो होईन रहेछ बेसार

***

प्रतिक्रिया

सम्बन्धित खवर