✍️ हरिप्रसाद अधिकारी

म सरासर आर्यघाटमा पुगेँ ।
म पुग्दा चितामा आगो दन्किदै थियो ।
छेस्का छेस्कि टिपेर अग्नीमा हुत्याएँ र मान्छे बसेतिर गएँ ।
छोराछोरी भावुक थिए । मलाइ देखेर भक्कानिए ।
कतिपय मलामी फर्कदै थिए । कतिपय आ-आफनो धुनमा मस्त । जन्मनु मर्नु सांसारिक नियम हो । एक दिन यसै गरि सबैले जानुपर्छ । म परिजनलाई सम्झाउन थालेँ । साइनो पारिवारिक नभए पनि मित्रता पारिवारिक थियो हामी बीच । मन र विचारले धेरैजसो सङसङै हुन्थ्यौ हामी । मन मिलेकोले विचार मिलेको थियो वा विचार मिलेकोले मन त्यो त खुलेको थिएन तर सम्बन्ध भने कहिल्यै खुकुलिएको थिएन बरु झन झन कसिलो बनेको थियो ।

लाग्दथ्यो सबै खाले साइनु भन्दा मित्रताको साइनु सहज हुन्छ । लास जलिसक्यो बाँकी रहेका मलामीले चिता पखाले । मैले आर्यघाटको खर्च हेरेर भुक्तानी गरि दिएँ । मोलमोलाइ नहुने त्यस खर्च विवरणको माथि नै लेखिएको थियोः– दाउरा चारमन ।
***
साँझपख अक्सर म त्यो भट्टीमा जान्छु । पहिले जाने क्रम पातलो थियो । केही दिन यता बाक्लिदै छ । मिलेसम्म कुनाको कुर्सीमा बस्छु । यसो गर्दा को को भट्टीमा छि-यो छर्लङ्ग देखिन्छ तर यो कुर्सीमा को बसेको छ हत्तपत्त देखिदैन । “रमिता हेर्नुको मजा नै बेग्लै” भने झै छ त्यो ठाउँ । साँझ नपर्दा युवा युवतीको आवागमन, साँझ छिप्पिदा जड्याहाको जमघट जस्तो छ त्यो पसल । साहूजी पुरानो परिचित त होईन तर जाने आउने क्रम बढेसगै घनिष्टता पनि बढेको थियो । म पुगे पछि आफै आईपुग्थ्यो । एकक्षण भलाकुसारी गथ्र्याे र वेटरलाई अहएर जान्थ्यो । बीचबीचमा पनि आई रहन्थ्यो ।

उस्को व्यवहार मित्रताको थियो वा ग्राहक पल्काउने चाल त्यो त उही जानोस् । त्यो साहूजी आज आएन । काउण्टरमा पनि थिएन । साहू नहुदा साहूनी हुन्थीन तर आज तिनी पनि देखिइनन् । म सहज हुन सकिन । कता गए होलान ? मनले खोजी रह्यो । वेटर आयो पहेल्चा पहेल्चा दात देखाउदै ङिच्च हास्यो तर फिटिक्कै बोलेन । उसलाई थाह थियो म उसको साहूको साथि ।

”गोपे खै ?” अलि धेरै पिएपछि म उसलाई गोपे भन्थे । आज नपिउदै लागेछ ।
“भर्खर आउनु भएको छ, कोठामा एक्लै हुनुहुन्छ ।”
म सोझै कोठामा पसे । उ घोप्टिएर बसेको रहेछ । मलाई देखेर सम्हालियो तर अनुहार उजिल्याउन सकेन् ।
“के भयो ?” मैले भूमिका बाधिन ।
“शरीर नाशवान छ,संसार अनित्य । क्षणभरको भोगाइमा लोभलालच व्यर्थ छ ।” उ त दार्शनिक पो निस्कियो ।
“सोझै भन न को गयो ?” उसको स्वर सुध्रिएन तै पनि भन्न थाल्यो ।
***
चतुरेको पसल तैले देखेकै हुनुपर्छ, मेरो प्रतिक्रियाको लागि उ रोकिएन, दाउरा बेच्ने पसल थियो उसको । रुखका जरा र हाँगा बेच्थ्यो ऊ । पहिले भारीको हिसाबले बेच्थ्यो, पछि किलोको हिसाबमा ।

को चतुरे ? मैले अनभिज्ञता जाहेर गरे, हत्तेरिका– उ फेरि भन्न थाल्यो आइतवारे चौक भन्दा पाँचसात घर पश्चिम मुल सडकमै जोडिएको फर्निचर पसलको मालिक । उसले परिचय गरायो र भन्न थाल्यो– बाँसको घेरावारा र फुसको छानो भएको घरमा दाउरा पसल थियो उसको । कहिले पातैसगका हाँगाबिँगा, कहिले माटैसँगका जराजुरी देख्न पाईन्थ्यो उसको पसलमा । चिरेका दाउरा भित्र राख्थ्यो । तिनताक बनपालेहरु पनि आक्कल झुक्कल देखिन्थे उसको पसलमा । तिनीहरु महको जोहोमा फूलमा आउथे कि उज्यालोको खोजीमा बत्तीमा त्यो त थाह भएन तर चतुरे भन्थ्यो माछा पानीमा नगएर कहा जावस त ? फुर्सदमा हामी साथै हुन्थ्यौ ।

एक दिन उसको पसलमा पुगेको झ्याल ढोका बनाउन थालेको रहेछ । भित्र ठूलै काठ मिल, सडकसित जोडिएको त्यो जग्गा पनि जोडेछ । जग्गा भरि काठ दाउरा र भुसको ओइरो । बधाई दिए प्रत्युत्तर कबिताबाट दियो
कर्मेन्द्रियहरु बाँधि इन्द्रियार्थहरु कन,
मनले सम्झने मुढ हो मिथ्याचार अर्जुन ।

साच्चै छोटो समयमा कलियुगको कृष्णझै शक्तिशाली बनेको थियो चतुरे । यहा छोटो समयमा धेरै चतुरेहरु कुवेर बनेका छन्, कुवेर बनेका चतुरेमध्ये कोही दुशासन बनेका छन कोही शकुनी जवाफ मसित पनि तयार थियो तर म बोल्न सकिन किनभने गोपे असहज थियो । अरुलाई चोटलाग्दा मलम पट्टी गर्नु पर्छ, नुनचुक छर्कने होइन जस्तो लाग्यो ।

अर्काे पटक पुग्दा अगाडि सटर बनाएछ, पछाडि ठूल्ठूला महल । दाउरा, काठमिल, झ्याल ढोका, फर्र्निचर, सजावट लगायतका काठसँग सम्वन्धित सामाग्रीहरुको पसल राखेछ । खुद्रा काममा झण्झट धेर कमाइ थोर भएकोले आजकाल होलसेल पनि गर्न थालेको छु भन्थ्यो ऊ ।
पछिल्लो पटक जङ्गल रिसोर्टमा भेट भएको थियो । खाईलाग्दा मान्छेसित बसेर पिउदै रहेछ ।

परिचय गरायो, बनसित सम्वन्धित रहेछन । कुराको सिलसिला पनि बन पैदावरसँग सम्बन्धित थिए । चतुरेले बस्न आग्रह गरेको थियो तर नवपरिचितहरुसँग सोझै भट्टीमा बस्नु चामलमा बियाँ जस्तो ठानी हतारको बहाना बनाएँ र कार्ड दिएर निस्किए । बाहिर रोकि राखेको महगो गाडि भने चतुरेकै हो भनि पत्ता लगाउन अप्ठ्यारो परेन ।

चतुरे र म धेरै पटक साथै हिडेका छौ । उसको एउटा अनौठो लत थियो । ठूलो रुख देख्यो भने उसले संसार भुल्थ्यो । जतिसुकै हतार भए पनि रोकिन्थ्यो । दुवै हात फैलाएर रुखलाई अगालो हाल्थ्यो, दुइ हातको भेट भएन भने फित्ता निकाल्थ्यो र नाप्न थाल्थ्यो । तल देखि माथिसम्म हेथ्र्याे, वरिपरी घुमेर हेथ्र्यो । दुइमनको शरीर डिलमुनि ओर्लदै र उक्लदै गथ्र्यो अनि स्यास्या र फ्याफ्या गथ्र्यो । जङ्गलमा छि¥यो भने उतै हराउथ्यो, लाग्दथ्यो उ रुख नापी रहेको छ र घुमिघुमि हेरि रहेको छ ।

भर्खरै सरुवा भएर आएका रेन्जर साबले एउटा निजीबन बिक्रिमा रहेको सुनाएका रहेछन । चतुरेले केही दिन पहिले मलाई सुनाएको थियो । साबले निजी बन भने पनि धनी रुखोपाखो जग्गा भन्थ्यो । जग्गा निकै छ तर ढाँड परेको, रुख बिरुवा कति छन गन्नु पर्छ उ पनि अस्पष्ट थियो । एउटै बस्तुलाई रेन्जरसाबले बन देख्नु र धनीले जग्गा देख्नुमा दृष्टि दोष थियो कि अरु केही ? त्यो त पहिल्याउन सकिएन तर हेर्ने भनेको आफनै आँखाले हो, चतुरे भन्थ्यो ।

जङ्गल रिर्सोटको खातिरदारी ढाँड परेको जग्गासितै जोडिएको हुनु पर्छ । चतुरेलाई के चाहियो, मलाई पनि जाउँ भनेको थियो तर मैले भ्याइँन । कामको सिलसिला नमिल्दा एउटै संसार पनि फरक जस्तो हुदो रहेछ । जग्गावाल बिदेशमा बस्छ उसलाई छिटो चाहिएको छ बिटो होईन, चतुरे हतारिदै थियो । हिजो बिहानै उ जग्गावालासित जग्गामा गएको रहेछ । म हिजो बाहिर थिए, आजै आएको ।

जग्गावालको भनाई अनुसार उसले जग्गैमा पुगेर जग्गा देखाएको रहेछ । जग्गा धेरै थियो, बिरुवा हुर्केछन र जङगल बनेको रहेछ । टाढैबाट हातको ईसारा गरि आफनो जग्गाको साध सिमाना पनि देखाएको थियो । यता त्यो खोला, उता त्यो खोल्सी, अगाडि र पछाडि त्यो डाडाको पानी ढलो । रुख बिरुवा कति छन्, कत्रा छन हिजोआज त मैले पनि देखेको छैन । नहेरि लिने हो भने बैना गरौ । अधिकृत वारेशनामा दिन्छु । हेरेर लिने हो भने साँझ छ बजे म यहि हुन्छु, आठबजे बस चढछु त्यो भन्दा अघि बसपार्कमा भेट हुन्छ । जग्गावाल जग्गामा बस्यो चतुरे जङ्गल पस्यो ।
दिन भरि हरायो जग्गावाल र छ बजे जग्गामा आयो तर चतुरे आएन । उसित जति समय थियो पर्खियो समय सिद्धिनासाथ उ बाहिरियो ।

जग्गावाल भन्थ्यो चतुरेका बारेमा धेरै मान्छेले धेरै अडकल लगाए, कसैले भने ठूलै महत्वाकाङ्क्षा बोकेर चतुरे जङ्गल पसेको थियो तर सोचेजति फाईदा नहुने देखेर उतैबाट गयो यता आएन । चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी जस्तो भयो चतुरे । कसैले अडकल काटे, जङ्गल भित्रका बन्य जन्तुले आक्रमण गरे र आउन सकेन । कसैले अनुमान लगाए भिरबाट लड्यो भिरको चिण्डो उधो न उभो दोमन भयो र आउन पाएन । चतुरेका बारेमा जसले जे अडकल काटे पनि उसको बारेमा म जति जानकार कोही छ जस्तो मलाई लाग्दैन, पुलुक्क हे¥यो गोपेले मित्रताको दरबिलो प्रमाण दिए जस्तो । प्रतिक्रिया दिन आवश्यक ठानिनँ मैले ।

मान्छे आफनै कुलतमा भुलिन्छ, चतुरे पनि भुलियो । उसले रुखलाई अगालो हाल्यो, फित्ता लिएर नाप्न थाल्यो । चोट लगाएर उमेर जान्न खोज्यो । रुख बिरुवा धेरै हुन सक्थे, जग्गाको क्षेत्रफल ठूलो थियो । खान पिउन पाएन, भोकायो र तिर्खायो पनि । छाती र पाखुरा दर्फराए, चोट्लाग्यो, हातमा ठेला उठे, पिँडुला फर्किए । चर्काे घामले डढायो र सुकायो पनि । उ रुख हेरि रहेको छ, अरु कति छन् अनुमान लगाउदै छ । एक भन्दा अर्काे ठूलो देखेर दगुर्दै छ, ससाना बिरुवा देखेर सुम्सुम्याउदै छ र बेलाबेला घडितिर पनि हेर्दै छ । चतुरेलाई थाहा छ जग्गाधनी आज बिदेश जादै छ फर्कने टुङ्गो छैन । आजको काम भोलीको लागि साच्नु हुदैन ।
रात रह्यो भने अग्राख पलाउछ ।

रुखसँग ठक्कर खादै, डिलमाथिबाट लडदै र जनावरसित भाग्दै छलिदै चतुरे घाइते भैसकेको थियो । भोक र प्यासले शरीर सुक्न थालेको थियो । समय ओरालिएको देखेर हतारमा दौडिन्थ्यो । फेरि अगाडि अग्ला सुरिला रुख देखेर रोकिन्थ्यो । समय बितेको सम्झेर बेस्सरी दौडन्थ्यो । श्वास वढेर गला अवरुद्ध हुन्थ्यो । यो जङ्गल उम्काउनु हुदैन, उसले मनमनै निर्णय गरेको थियो ।

उ जग्गावाललाई भेट्ने ठाउमा आईपुग्यो तर सात बजिसकेको थियो । एक घण्टा ठिलो भएछ । समयको महत्व सही समयमा समयले नै बताउछ । ऊ आत्तियो । उसले टाउकोमा हात लगायो, शरीरले आराम चाह्यो । उसले मनमनै भन्यो आराम फुर्सदमा गरौला । उसले बसपार्क सम्झियो यतावाट बसपार्क जाने सडक छैन, पैदलै हिडनु पर्छ । उ पहिले पहिले बस चढथ्यो । पैसा कमाउन थाले पछि बसपार्क जान छोड्यो । झल्यास्स भयो सम्झियो बस तोकिएको समयमा कहिलै छुट्दैन ।

जग्गा उम्काउनु हुदैन । भेटिहाल्छु उ हत्तारिदै दौडियो । सायद बाटोमा उसले रुखका जात सम्झियो, सख्या सम्झियो, उमेर सम्झियो, त्यसबाट हुने आम्दानी र खर्च सम्झियो । आम्दानी र खर्चलाई तराजुमा राख्यो । आम्दानीको तराजु जमिनमा धस्यो खर्चको तराजु आसमानमा चढ्यो । अझ दौडियौ–औलामा चोट थियो–सायद ठेस लाग्यो, एकदुइ बल्डयाङ् लड्यो तर हिम्मत हारेन बरु मुसुक्क हास्यो । एकघण्टाको दौडाईले एक युगलाई पुग्ने सम्पत्ति आर्जन हुन्छ निकै उत्साह थपियो र सकुन्जेल दौडियो नसक्ता पनि आराम गरेन घिस्रियो र आठ बजे पछि बसपार्क आईपुग्यो ।

नभन्दै उसको अनुमान सही निस्कियो । अरुलाई समयको पाठ पढाउने तर आफू समयको पालना नगर्नेहरुबाट संचालित बस भर्खरै सडकबाट गति लिदै थियो । उसको श्वास बढी रहेको थियो । शरीर उभिन सक्ने अवस्थामा थिएन ।

“गु…रु….जी…रो…क्…नु…स” जसोतसो बसको अगाडि उभिएर दुवै हात उठायो । बस चलिरहेको उसलाई हेक्का भएन । दुर्घटनाबाट त्रसित ड्राईभरले ब्रेक लगायो, ठूलो आवाज आयो । ब्रेकको आवाजतिर मान्छेको ध्यान एकिकृत भयो । जग्गाधनीले देख्यो र बसभित्रैबाट सोध्यो “के भयो ?” दुवै हात माथि उठाएको चतुरेको बोली निस्किन कठिन भयो, सास अझै बढेर आयो, छाती ढक्क फुल्यो, रिँगटा चल्यो “हु..न्…छ, म…कि…न्….छु” मधुरो हुदै गएको स्वरसगै चतुरे सडकमा पछारियो । पछारिदा पनि उसका दुबैहात टाउको माथिनै रहेछन । ट्राफिकले बस र मृतकको दुरी नाप्यो, चार फिट उसले आफ्नो नोटबुकमा लेख्यो । पत्रकारले भिन्न भिन्न कोणबाट फोटो खिच्यो । सडकमा रगत लत्पतिएको देखियो ।

आज चतुरेलाइ चारमन दाउराले पुगेछ ।

(कविडाँडा साहित्य समाज चितवनद्वारा पुरस्कृत कथा)

प्रतिक्रिया

सम्बन्धित खवर