
कवि/ गजलकार खिम केसी, घोराही उपमा १७ गुलरिया, दाङका स्थायी बासिन्दा हुन् । लुकबहादुर केसी/ लुमाकुमारी केसीका सुपुत्र केसीले औपचारिक शिक्षा स्नातकोत्तर गरेका छन् । हाल अमेरिका रहँदै आउनु भएका उहाँको पछिल्लो समय गजल सङ्ग्रह लोरी प्रकाशन भएको छ । यसैको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले उनलाई सोधेका पाँच प्रश्न र केसीको जवाफ ।
१, लोरी कृतिको बारेमा छोटकरीमा परिचय गराईदिनुहोस् न, जुन पढेर पाठकलाई यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।
– ´लोरी´सबै बिषय समेटेर लेखिको गजल सङ्ग्रह हो।खासमा मैले धेरै वर्ष कर्णाली र सुदुरका लगभग सबै जिल्लामा बसेर काम गर्ने मौका पाए। जब देश छोडेर परदेश आएँ त्यो ठाउँको कला, संस्कृति मनमा झ-झल्को बनेर आइरहँदो रहेछ। आफ्ना आफन्त र देशको माया परदेशमा झन् बेसि हुँदो रहेछ। ती सबै स्मरण र अनूभवको संगालो हो लोरी । कर्णाली भाषामै केही गजल छन् । म आमासँग बढि समीप छु यसको मतलब बा टाढा भनेको होइन। परदेशमा आफ्नो बच्चालाई हुर्काउँदै गर्दा कहिले बा र आमाको भूमिका एक्लै निभाउनु पर्छ बाध्यकारी भएर । त्यो परिवेशलाई सम्झेर लोरीको न्वारान भएको हो।
२. परदेशमा हुनुहुन्छ । घण्टाको हिसाबले पैसा छाप्न सकिन्छ । अझ कतिले त साहित्य र धर्म कर्म त बुढेसकालको समय बिताउने मेलो पनि भन्छन् । तपाईँ चाहिँ कसरी आकर्षित हुनुभो?
– हजुरको कुरा सहि हो। यता घन्टामा पैसा छाप्नेमा मात्र जोड गर्ने पनि भेटिन्छन् । घन्टै नहानेर अल्छी मान्ने पैसा सापटि मात्र माग्ने पनि भेटिन्छन् । त्यो नितान्त ब्यक्तिगत कुरा हुन् । निजि विचार हो। मेरो हकमा भने, म साहित्यको विद्दार्थी हो। मैले नेपाल हुँदा पनि पत्र-पत्रिकामा आफ्ना लेख रचना लेखिरहन्थे। त्यो कुरा यता आएर पनि निरन्तरता दिएको छु ।
३. परदेशमा बसेर लेख्नेहरूलाई घरदेशमा बसेर लेख्ने केही केहीले आरोप लगाउँछन्, ‘टन्न कमाउँछन्, चर्चाको रहर छिटो गर्छन् । मिडियामा पहुँच पनि राम्रै हुन्छ । सामाजिक सञ्जालमा रचना पोष्ट गर्यो, सतही रचनामा रमायो, गुदी हुन्न’ के यस्तो हुन सक्छ? परदेशमा बसेर लेख्नुहुन्छ यहाँ पनि । यहाँको धाराणा के छ?
– यो आरोप र प्रत्यारोप भन्ने जुनसुकै बिषय र क्षेत्रमा हुन्छ । यसको पछि दौडेर साध्य पनि छैन । परदेशमा बसेर पैसा कमाई गरेकै भरमा रहर मेट्ने, मिडियासँग सम्बन्ध राम्रो हुन्छ भन्ने कुरामा म पूर्ण सहमत छैन । यहाँ परदेशमा बस्ने नेपालीहरूमा साहित्यमा दख्खल भएका, त्यसमा समय दिएर लेख्ने नै धेरै हुनुहुन्छ। कहीँ कतै सतहीमा लेख्ने होलान् । नहोलान् भन्न सकिन्न । त्यो पनि सिक्ने समयको सुरुवाती दिन हुन् । पहिले लेख्ने सतहीमा नै हो । बिस्तारै लेख्ने क्षमता बढ्छ ।
मेरो हकमा भन्नुहुन्छ भने यसको पछाडि म कहिले लागिन र लाग्दिन पनि । रचना सन्देश दिने खालको हुन पर्छ। म नेपाल बस्दै लेख्ने मान्छे हो। झन्डै ५ बर्ष नयाँ युगबोध राष्ट्रिय दैनिकमा स्तम्भ लेखेँ ।
नागरिक पश्चिमेली, बाह्रखरी, सेतोपाटी, साहित्य पोस्टमा लेखेँ। म परदेश आएपछि पनि लेखिरहेको छु। भन्नेले के के भन्छन् । सुन्न हुँदैन भन्छु। राम्रो सोचेर लेख्ने हो। आफ्नो रहर लागेर लेख्ने हो।
४. गजललाई आयातित विधा भनेर खासै वास्ता नगर्ने एउटा जमात पनि छ । गजल यस्तै हुनुपर्छ भन्दै बहर र गैर्हबहरमा झगाडा गर्ने अर्को समुह पनि छ । फेसबुकमा रदिफ काफिया मिलेन भन्दै सिकाउने अनेकौँ छन् । उनीहरूलाई भन्नु के छ? र हुनुपर्ने गजल कस्तो हो ?
– आयातित विधा भन्ने हो भने यसको ब्याख्या गर्ने हो भने धेरै लामो हुन्छ। गीत,संगीत र साहित्यको जन्म एक ठाँउमा हुन्छ तर त्यसको प्रभाव र प्रख्यातीले गर्दा विश्वभर फैलिन सक्छ। यो आरोप लगाउने अरुलाई दोष लगाउने मान्छेको विशेषता नै हो तर त्यो राम्रो विशेषता त होइन पक्कै पनि ।
साहित्यमा त्यसमा नि गजलमा ठ्याक्कै यही लेखिन पर्छ भन्ने हार्ड एन्ड फास्ट नियम केही छैन तर सूत्रबद्धमा रुपमा हुन पर्छ । सहि काफिया र रदिफ प्रयोग भएको हुनपर्छ । सन्देश दिने हुन पर्छ।
५. लोरी नपढ्दा पाठकले के चिज छुटाउला? जसको कारण पाठकले पढ्न मन गरोस् । गजलकारका नाताले पाठकलाई भनिदिनुहोस् न ।
– सरल जन जीवनमा, समाजमा, राष्ट्रका बिभिन्न भागहरू र परदेशमा गइसकेपछि, परिवार, साथीभाइ, आफूले भोगेको अनूभवहरूको समग्र संगालो लोरी गजल सङ्ग्रह हो। एउटै सङ्ग्रहमा धेरै बिबिधता पाउनु हुन्छ।यो गजलमा हामीले सबै गजलमा illustration (चित्रबाटै ब्याख्या) देखाउन खोजेकौ छौं ।गजलको मर्मलाई सजहै बुझ्न सकिन्छ भन्ने हेतुले। त्यसैले लोरी एकपटक पढिदिनु होला।
***
प्रतिक्रिया
-
४