धादिङ, मलेखुमा जन्मेकी निरु त्रिपाठीले भिक्टोरिया विश्वविद्यालय, मेल्बर्न, अष्ट्रेलियाबाट आमसंचार पत्रकारितामा स्नातकोत्तर गरेकी छिन् । भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतावासमा जनसम्पर्क अधिकृतको रूपमा कार्यरत उनी नेपाली टाइम्स मेल्बर्नकी सम्पादक पनि हुन्। विभिन्न पत्रपत्रिकामा समसामयिक / साहित्यिक विषयवस्तुमा कलम चलाइरहेकी उनी भिक्टोरिया विश्वविद्यालयबाट आउट स्ट्यान्डिङ कन्ट्रिब्युसन टु पोस्टग्राजुयट लाइफ अवार्ड-२०१५, भिक्टोरिया मल्टिकल्चरल कमिसनबाट सर्टिफिकेट अफ मेरिट इन द क्याटागोरी अफ मिडिया अवार्ड-२०१६, गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाबाट मिडिया पर्सनालिटी अफ दि इयर – २०१५ तथा प्रेसिडेन्टल अवार्ड-२०१९ बाट सम्मानित छिन् ।

पेरिस्कानो पहिलो उपन्यासको रुपमा केही अघि उनले सार्वजनिक गरेकी थिईन । यसै उपन्यास अन्तर्गत रहेर सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न ।

१, पछिल्लो समय बजारमा आएको यहाँक‍ो उपन्यास पेरिस्कानो । यो उपन्यासको बारेमा बताईदिनुस न ।

प्रेम, पीआर र परिस्थितीको शिकार भएकी एउटी युवतीको मार्मिक र अलौकिक प्रेम गाथा हो पेरिस्कानो । नेपाली समाजमा हुर्किएकी सुबलाले जीवनमा आउने अनपेक्षित घुम्तीलाई कसरी समाल्छे, कसरी उनको जीवनदर्शनको ग्रन्थ निर्माण हुन्छ र उनले प्रेमको दिव्य अवार कसरी भेट्छे भन्ने कौतुहल उपन्यासमा छ । पन्ध्र वर्षसम्म विदेशीभूमिमा संघर्ष गर्दागर्दै दिन गएको थाहा नभएको, पीआर र सिटिजन कुर्दा कुर्दै पन्ध्रवर्ष नेपाल फर्कन नपाएको त्यो दुखद परिस्थिती उपन्यासमा प्रस्तुत गरेको छ ।
विदेशमा उनको सपना कसरी बनिन्छ, कसरी भत्किन्छ अनि कसरी पूरा पनि हुन्छ भन्ने कुराको काल्पनिक तर सत्यसँगको स्पर्शी गाथा भेटिन्छ उपन्यासमा ।

२, यसमा विशेषगरि अष्ट्रेलियाको सेरोफेरोमा कथा बुन्नु भएको छ । तपाईँ आफैँ पनि अष्ट्रेलिया रहनु भएकोले कतै लेखककै कथा त हैन भनेर भन्ने प्रश्न पाठकसँग होला । आँशिक कथा हो भने पनि पाठकलाई शान्त बनाईदिनुस न ।
म पात्र भएर लेखेको कारण पाठकले यस्तो सोच्नु स्वभाविक हो शब्द मेरो हो, वाक्य मेरो हो, कल्पनाशीलता मेरो हो तर भोगाइ मेरो होइन । कतै पनि मेरो कथा होइन भनिरहँदा तर कसैको अझ धेरैको भने यो कथा हो यो प्रवासमा । मनु, पेरिस, समिर, रुद्र्
, नाम्चे, लाक्पा अनि अन्य पात्रहरुले धेरै अन्य वास्तविक पात्रहरुको प्रतिनिधित्व गर्दछ।

३, कथामा लगभग नायकको भूमिकामा छन् एक पात्र पेरिस । पेरिसका माध्यमद्वारा यौनलाई प्रेम सहित र प्रेम रहित गरेर छुट्याउनु भएको छ । नेपाली समाजले प्रेमरहित यौनलाई अझै पनि खुलेर समर्थन गर्दैन् । यसबाट यहाँले केही म्यासेज दिन चाहनु भएको हो? हो  कसरी ?

प्रेमरहित यौन पनि सम्मानसहित हुन सक्छ भन्ने सन्देश दिन खोजेको हो। यो जरुरी छैन कि हरेक यौनमा प्रेम होस् तर यो जरुरी छ कि हरेक यौनमा सम्मान होस्, सहमति होस् र धृणारहित होस् । हरेक प्रेममा यौन नहुन पनि सक्छ र हरेक यौनमा प्रेम नहुन पनि सक्छ ।

४, यहाँ नेपाल बाहिर हुनुहुन्छ । पैसा टिप्न जाने ठाउँमा शब्द टिपीहहनुभाछ । अखबारी लेखनमा पनि रमाईरहनु भाछ । कसरी सम्भव छ? के रहेछ लेखन? असल लेखन?

कस्तो राम्रो प्रश्न । म शब्द टिपेर हुर्केकी हुँ पैसा टिपेर होइन नि। पैसा मेरो लागि आवश्यक हो तर शब्द मेरो प्यास हो । त्यसैले पनि मेरो तिर्खा  पैसाले होइन शब्दले मेटाउँछ। मेरो शरीर नेपाल बाहिर भएपनि मन नेपालमा नै हुन्छ। म यहाँ मन भरी नेपाल बोकेर हिडिरहेकी हुन्छु लेखिरहेकी हुन्छु । म आजसम्म पनि सपना नेपालको नै देख्छु, नेपालीमा नै बोल्छु । लेख्न बस्दा म खाना विर्सन्छु। खाना खाँदै गर्दा शब्द फुर्यो भने मोबाइलमा भएपनि लेख्न थाल्छु । लेख्दै गर्दा म भित्र चित्त बुझ्दो शब्द आएन भने म प्रशव पीडाले जस्तो छटपटिन्छु । यो शब्दको वेथा महिनौ लाग्छ र एक दिन फ्याट्ट मनको चित्त बुझ्दो शब्दहरुको जन्म हुन्छ म लामो स्वास लिएर आनन्द लिन्छु ।यो नै लेखन रहेछ।म शब्द कोर्न समय छुटाउँदिन म शब्द जोड्न समय छुटाउँछु। सायद यो नै मेरो लेखनप्रति प्रेम हो र जब मानिस केही चिजलाई प्रेम गर्छ सबै कुरा सम्भव हुन्छ ।मेरो लागि मनभित्रबाट अन्तरकणबाट आएको सबै शब्दहरु नै असल लेखन हुन् ।

५, आख्यान लेख्न चाहने नया पुस्ता ऊ सुझाव चाहन्छ? तपाईँ सफल उपन्यासकार, के के सुझाव दिनुहुन्छ ?

आफ्नो रुचिअनुसारको प्रस्सत पुस्तकहरु पढ्न जरुरी छ। जति धेरै पढ्यो त्यति नै धेरै लेख्न सकिन्छ । जति राम्ररी पढ्यो त्यति नै राम्री लेख्न सकिन्छ। लेख दिमागबाट भन्दा पनि मनबाट लेख्नु पर्दछ । आफ्नो लेखाईमा विश्वास हुन जरुरी छ र धैर्यता पनि जरुरी छ। धैर्य र आत्मविश्वासले तपाईंलाई अझ उच्च लेखनमा  जान मद्दत गर्छ। रातारात लोकप्रियताको लागि भन्दा पनि आत्मासन्तुष्टितको लागि लेख्नु पर्दछ।यसरी मनले लेखेको राम्रो कृति जन्माउँदा कुनै न कुनै दिन त्यसले धेरैको ह्रदय छन्छ । अरु लेखकहरु प्रेरणाकोस्रोत हुनसक्नु हुन्छ तर उहाँहरु जस्तै दुरुस्तै बन्न र लेख्न जरुरी छैन। हरेकको आफ्नै मौलिकता, सृजना हुनजरुरी छ किनकि हरेक साहित्यकारको आफ्नै विशेषता हुन्छ ।

***

प्रतिक्रिया

सम्बन्धित खवर