सरस्वती प्रतीक्षा नेपाली काव्य र आख्यानमा चिरपरिचित नाम हो । पोखराकी स्थायीबासी प्रतीक्षा अखबारिय लेखन र साहित्यिक बहसमा खरो बोल्ने वक्ताका रुपमा समेत परिचित छिन् । पोखरेली युवा साँस्कृतिक परिवार , पूर्व अध्यक्ष रहेकी उनी, संरक्षण कविता आन्दोलन, सरुभक्त सरोकार केन्द्र लगायतका संस्थामा आवद्ध छिन् ।

दर्जनौँ पुरस्कार सममानले सम्मानित उनका यद्यपि प्रश्नहरू, कविता संग्रह,२०६२, बिम्बहरुको कठघरा कविता संग्रह, २०६६, बागी सारङ्गी कविता संग्रह, २०६९, नथिया उपन्यास, २०७४ प्रकाशित गरेकी उनको भर्खरै स्व उपन्यास प्रकाशित भएको छ । यही उपन्यासको सेरोफेरोमा सम्पादक जीवन खत्रीले उनीसँग गरेका पाँच प्रश्न र उनका जवाफ ।

१. स्व उपन्यासका बारेमा परिचय गराइदिनुस् न, जसलाई पढेर पाठकले यो उपन्यास छनौटका लागि सहयोग पुगोस् !

– आजको आधुनिक, उत्तर आधुनिक र उत्तरउत्तर आधुनिक समयमा कुनै स्रष्टाले आफ्नो कृतिको बारेमा पाठकलाई परिचय गराइरहनु पर्दैन । आजको समयमा पाठकहरु आफ्नो अभिरुचिका पुस्तकहरु छनौट गर्न सक्षम छन् । पाठकहरुको विवेकमा हर लेखकले विश्वास गर्न सिक्नुपर्छ ।उनीहरु के पढ्ने, के नपढ्ने भनेर आफ्नै विवेकले निर्णय गर्न सक्छन् ।अर्को कुरा, लेखक भनेको रचनाकार हो । लेखकको लेखनधर्म कृित सिर्जना हो । आजको व्यवसायिक र उपभोक्तावादी समाजमा वस्तु उत्पादन गर्ने उद्योग व्यवसायीहरुले आफ्नो वस्तुको गुणस्तरबारे विज्ञापन गर्छन् । उनीहरुको उद्घेश्य वस्तु विक्री गरी मुनाफा आर्जन गर्नु हुन्छ । तर सिर्जनात्मक लेखन उद्योग व्यवसाय होइन । यसैले म मेरो उपन्यासमा यस्ता कुरा छन् भनी विज्ञापनबाजी गर्न असमर्थ छु । आजको समयमा पाठकहरु आफ्नो अभिरुचिका पुस्तकहरु छनौट गर्न सक्षम छन् ।
इन्टरनेशनल स्ट्याण्डर्ड बुक नम्बर(आइ.एस.बि.एन.) नलिइ आफै प्रकाशन गर्ने पुस्तकको सूचिलाई छोडदा समेत वर्डसरेटेडका अनुसार एकबर्षमा लगभग ७ लाख किताब प्रकाशन हुने गर्दछन । यो आकँडा अनुसार एक दिनमा लगभग २००० किताब र एक घण्टामा लगभग ८३ वटा नयाँ किताब बजारमा गइरहेको देखिन्छ । यस्तोमा पाठकले आफ्नो रुचि र रुझानको किताब आफ्नै विवेकले छान्नेछन् भनेर लेखक मौन बस्नु नै उत्तम हो । जहाँ बोलीभन्दा मौनता सुन्दर हुन्छ, त्यहाँ मौनता साँध्नु नै प्रीतिकर हुन्छ ।

२. स्व उपन्यास पढेर पाठकहरुले सामाजिक सञ्जालमा आफ्ना पाठकीय धारण व्यक्त गरिरहेका छन् । तिनै धारणा मध्ये एक ‘हर्मन हेस्सेका बहुचर्चित उपन्यास सिद्घार्थको अद्यावधिक नेपाली संस्करण’ भनेको देखियो र तपाईले खुसी हुँदै मेरा लागि खुसीको कुरा भन्दै शेयर समेत गर्नुभयो । खासमा वर्षौ पहिले लेखिसकेको, अन्तर्राष्ट्रिय साहित्य बजारमा चर्चित कृति ‘सिद्घार्थकै अद्यावधिक संस्करण’ हो भने पाठकले त सिद्घार्थ नै पढे भैगो नि , हैन र ?

– स्व प्रकाशित भएपछि सामाजिक सञ्जालमा पाठकहरुले दिइरहेका प्रतिक्रियाहरुमा एकदमै विविधता महसुस गरिरहेकी छु । म सबैखाले प्रतिक्रियाका लागि सबैप्रति आभारी छु । साहित्यमा नोबेल पुरस्कार प्राप्त लेखक हर्मन हेस्सेको उपन्यास ‘सिद्घार्थ’लाई स्मरण गरी कसैले ‘सिद्घार्थको अद्यावधिक संस्करण’ भनेपछि मैले त्यसमा दु:ख मान्नु पर्ने कुनै कारण देखिनँ । त्यो स्व उपन्यासप्रतिको प्रियताको अभिव्यक्ति मात्र थिएन, त्यो स्व उपन्यासप्रतिको प्रियताको पराकाष्ठा नै थियो ।
हर्मन हेस्से विश्वका महान् उपन्यासकार हुन् । सिद्घार्थ उनको सर्वाधिक चर्चित उपन्यास हो । गौतम बुद्घको समयको पृष्ठभूमिमा रचना गरिएको यस उपन्यासमा सिद्घार्थ नामका एक ब्राम्हण पुत्रको जीवनप्रतिको खोजयात्रा वर्णित छ । सिद्घार्थ र स्व बीचको उद्घेश्यमूलक समानता वा निकटता यही हो । यी दुबै उपन्यासमा जीवनप्रतिको खोजको एकैखाले अनुगुञ्जन छ । दुई उपन्यास बीचको समय, पृष्ठभूमि, सामाजिक वातावरण, चरित्रहरुका मनोदशा सबै फरक छन् । उदाहरणको रुपमा सिद्घार्थका बाबुआमा उनलाई अतिशय माया गर्छन् । सत्यको खोजका लागि गृहत्याग पनि बाबुआमालाई मनाएर, अनुमति लिएर गर्छन् । जोगी,तपस्वीहरुको संगतमा हिड्छन् । गौतम बुद्घलाई पनि भेट्छन् । सिद्घार्थको गोबिन्दसितको घनिष्ठ मित्रता, गणिका कमलासितको प्रेमसम्बन्ध, वासुदेव नामक् माझीसितको निकटता, बालक पुत्रसितको असहज सम्बन्ध र अन्त्यमा बालक पुत्रले उनलाई छोडेर जानु वा भाग्नुका प्रसंगहरु हर्मन हेस्सेको उपन्यासमा छन् । यो उपन्यास मुख्य रुपले प्राचीन हिन्दु एवं बौद्घ परम्पराका पृष्ठभूमिमा आधारित छ ।
स्वमा सप्तमको जीवनयात्रा सिद्घार्थको विपरित अवस्थाबाट शुरु हुन्छ । सप्तम शुरुदेखि नै बाबुआमासितको समस्याग्रस्त सम्बन्धमा छन् । उनले संघर्ष गरेर अध्ययन र व्यक्तित्व निर्माण गर्छन् । विभिन्न क्षेत्रहरुमा सफलता प्राप्त गर्छन् । प्रेमसम्बन्धमा पनि छन् । यति हुँदाहुँदै पनि उनीभित्र निरन्तर द्घन्द चलिरहन्छ । सधैं बेखुस रहिरहन्छन् । जटिल मानसिक–मनोवैज्ञानिक समस्याहरु उत्पन्न हुन्छन् । यसरी एक्काइसौ शताब्दीको पृष्ठभूमिमा घटनाक्रम अघि बढ्छन् ।
संक्षेपमा भन्दा सिद्घार्थको खोजको यात्रा पछाडि परम्परागत धार्मिकता छ । स्वमा सप्तमको खोजको पछाडि मनोवैज्ञानिकता छ । बुद्घलाई महान् मनोचिकित्सक र मनोविद् मानेर कथा अगाडि बढ्छ । स्व पढेका पाठकहरुले यी भिन्नताहरुलाई सहजै अनुभूत गर्छन् भन्ने मलाई विश्वास छ ।

३. बागी सारङ्गी लेख्ने एक युवा पुस्ताकी चर्चित कवि नथिया लेखेर उपन्यासमा प्रवेश गर्नुभयो । त्यसपछि फेरि उपन्यास स्व आइपुग्यो । उपन्यासकै कुरा कवितामा भन्न सकिन्न कि ? फेरि यहाँका कविता पनि खासै आएका छैनन् बरु फुटकर लेखहरु आउँछन् । आफ्ना पुराना विशेष गरी कविताका पाठक श्रोताहरुहरुलाई चटक्क भुल्न मिल्छ ?

– मेरो साहित्यिक जीवनको आरम्भ कविता लेखनबाटनै भएको हो । यद्यपि प्रश्नहरु, बिम्बहरुको कठघरा र बागी सारङ्गी गरी तीन वटा कविता सङ्ग्रहहरु प्रकाशित भएपछि म विशेष रुपले औपन्यासिक लेखनमा केन्द्रित भएकी हुँ तर कविता लेखनबाट विश्राम लिएकी होइन ।

लेखनका हिसाबले कविता मेरो पहिलो प्रेम थियो र यो नै अन्तिम प्रेमको रुपमा पनि रहिरहनेछ । आख्यान लेखे पनि कविताप्रतिको मेरो प्रेम र अनुरागमा कत्ति नि कमी आएको छैन । संख्यात्मक रुपमा थोरै कविता लेखेको भने सत्य हो । सबैकुरा योजना अनुसार नै गयो भने अबको मेरो किताब कविता संग्रह हुनेछ भन्ने पनि जानकारी गराउन चाहन्छु ।
जहाँसम्म उपन्यासको कुरा कवितामा भन्न सकिन्न भन्ने प्रश्न छ, मलाई यो प्रश्न नै सान्दर्भिक जस्तो लागेन । सिर्जनाको क्षेत्रमा जुन चिज जुन स्वरुपमा आउनु पर्ने हो, त्यही स्वरुपमा आउने गर्छ । मैले भन्न चाहेको कुरा कवितामै अटाउथ्यो भने उपन्यास लेखिरहने खाँचो नै कहिल्यै महसुस हुन्थेन शायद ।

४. स्व तिरै फर्कौ । स्व पढ्दा पाठकले सिद्घार्थलाई सम्झिने प्रसंग माथि नै आइसक्यो । जुन अन्तर्राष्ट्रिय बजारमा सजिलै र नेपाली भाषामा समेत पाइन्छ र यस्ता हजारौं कृति छन् । तर स्व नेपाली भाषामा आएको कृति । यो अन्तराष्ट्रिय बजारमा जान सक्छ ? स्वयं लेखकले त्यो लेभलमा आफ्नो कृति देख्नुहुन्छ ? समग्रमा विश्व साहित्यमा नेपाली कृतिको उपस्थिति कमजोर हुनु कसको कमजोरी ? तपाई लेखक पनि । लेखकको के कमजोरी थिए ? छन् ?

– तपाईले हर्मन हेस्सेको सिद्घार्थको कुरा गर्नुभयो । यदि यो उपन्यास पूर्वमा लेखिएको भए यति चर्चित हुने
थिएन । पूर्वमा हाम्रा ऋषिमुनिहरुदेखि गौतम बुद्घ, महावीरसम्म र त्यसपछि पनि जीवनसत्यको खोज गर्ने एक बलियो परम्परा छ । यस परम्परामा र्हुर्किएका पूर्वीय मानिसहरुका लागि ‘सिद्घार्थ’ नौलो कथावस्तु हुने थिएन । तर पश्चिमी जगतमा यो नौलो भयो । त्यसैले प्रसिद्घ भयो । पश्चिमी जगतमा प्रसिद्घ भएपछि हामी त्यसलाई ‘विश्वप्रसिद्घ’ सम्झन्छौ । यो पश्चिमी पूँजीवादी समाजले दिएको संस्कार हो । उपनिवेशवादी समयपछि पश्चिमी विश्वको प्रभाव हरेक क्षेत्रमा देखिन्छ । यो हामीमा जानी–नजानी हुर्केको वा तिनले थुपारिदिएको नवउपनिवेशवादी संस्कार हो ।

हाम्रो शासन व्यवस्था र प्रकाशन व्यवसायको सिमीतताले गर्दा हामी विश्वबजारमा पुग्न सकेका छैनौ, यो सत्य हो । विश्वबजारको कुरै छोडौँ, हामी छिमेकी देश भारतसम्म पनि पुग्न सकेका छैनौं ।

विश्वबजारमा पुग्न लायक स्तरीय कृतिहरु हामीसित प्रशस्त छन् । तर विश्वबजारमा पुग्नका लागि हामीसित आवश्यक सम्बन्धहरु र स्तरीय अनुवादका सुविधाहरु छैनन् । राष्ट्र बलियो भयो भने त्यो देशको साहित्यको पहुँच पनि बलियो हुँदोरहेछ । आफ्नो भाषामा लेख्ने जापानका हारुकी मुराकामी हुन् वा ब्राजिलका पाउलो कोयलो, लेख्नासाथ उनीहरुका किताब अंग्रेजीमा अनुवाद हुन्छन् । सही च्यानल मार्फत अन्तर्राष्ट्रिय बजारमा पुग्छन् । विश्वबजारमा हाम्रो देशको साहित्य पछाडि पर्नुको पछाडि साहित्य मात्र जिम्मेवार नहोला, हाम्रो देशको परिस्थिति र सीमा पनि जिम्मेवार होलान् । जुन देश नै हरेक कुरामा पछि परिरहेको छ, विश्वबजारमा त्यो देशको साहित्यको उपस्थिति लगभग शून्यको अवस्थामा छ भनेर असंतुष्ट भइ बसेर पो के गर्नु ? हामी बस् आशावादी हुनसक्छौं । नेपाली लेखकहरु पनि भविष्यमा विश्वबजारमा पुग्नेछन् भनेर आशा पालेर बस्न सक्छौं । निराशा पाल्दा केवल निराशा झ्याङ्गिन्छ । आशा पालौं, आशा पाल्दा आशासँगै सपना पनि त झ्याङ्गिन्छ ।

५. स्व नपढे पाठकले के छुटाउँछ?
– स्वको लेखक भएर स्व नपढे पाठकले के छुटाउँछ भनेर म कसरी भन्न सक्छु ? बरु तपाईले भन्नुहोस्–स्व नपढे तपाईले के छुटाउनु हुन्थ्यो ?

प्रतिक्रिया

सम्बन्धित खवर