युवा कवि डिइबी सिकारू सोलुखुम्बु नेचासल्यानका स्थायी बासिन्दा हुन् । हाल दक्षिण कोरियामा बसगत ६ वर्षदेखि रहँदै आएका उनले  सि एम ए, स्नातक तेस्रो बर्षसम्म अध्ययन गरेका छन् ।
कविता लेखन र पठनमा रुची राख्ने उनको भर्खरै पहिलो कविता कृति यौवन हराएको मान्छे प्रकाशित भएको छ । यसै कृतिमा आधारित भएर सेतोमाटो आँगनका लागि कवि सिकारूसँग सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र कविको जवाफ ।

१, यौवन हराएको मान्छे कविता सङ्ग्रहको बारेमा परिचय गराईदिनुस न । 

सर्वप्रथम त यहाँलाई ह्रृदयतःआभार हार्दिक धन्यवाद! यो मौका जुराइदिनु भएकोमा। यौवन हराएको मान्छे कविता सङ्ग्रह समग्रमा आजको हामी नेपालीहरूले भोगि रहेको तितो यथार्थ हो। हामीले सानातिना कुरा भनेर खासै वास्ता नगरिने तर तिनै सानातिना भनिने कुराले ठूलो असर पार्ने कुराहरू नै यस सङ्ग्रहका कविताका मूख्य विषयहरू हुन्।

विशेष गरि जीवनजगत, अध्यात्म, प्रेम, समाज, देश, उत्प्रेरणा, विदेशका भोगाई लगायतका कविताहरू समावेश छन्। विशेष गरि पछिल्लो समयमा लेखिएका ४५ कविता सङ्ग्रहित छन्।

२, तपाईँ परदेशमा श्रम गर्दै हुनुहुन्छ । परदेशीहरू अधिकांशको यौवन श्रम गर्दागर्दै जान्छ । यो नाम छनोट गर्ने सोच कसरी आयो? 

यो पुस्तकको काम नै सोचे भन्दा अलि अगाडी नै गरियो। बिना पूर्वयोजना गरिएकाले यसको नाम जुराउन पनि अलि सकस नै भएको थियो। यो बाहेक अन्य २/३ वटा नाम पनि बिचार गरेको थिएँ। तर यही नाम अलि समय सान्दर्भिक र आफुसँग अलि नजिक झैँ लाग्यो। समग्रमा हामी नेपालीहरूले भोग्नु परेको अहिलेको तितो यथार्थ पनि यहि हो कि हामी परदेशमा गएर आफ्नो यौवन हराउनु पर्छ। आफु पनि यसमै गुज्री रहेको भएर पनि होला यही नाम ठिक जस्तो लाग्यो। अहिले विचार गर्दा अरु नै नाम राख्न पाएको भए अझ मौलिक हुन्थ्यो कि जस्तो पनि लाग्छ। हुन त यो नाम हाम्रो अहिलेको युगको ऐना नै हो भन्दा पनि फरक नपर्ला।

यही शीर्षकको एउटा कविता पनि यस सङ्ग्रहमा सङ्ग्रहित छ। जहाँ नेपाली युवाहरूले भोगी रहेको तितो यथार्थलाई कविताको माध्यबाट भन्ने कोसिस गरेको छु।

३, यहाँको पहिलो कृतिको रुपमा कविता सङ्ग्रह आएको छ । कविताप्रति यतिको म‍ोह किन? के रहेछ कविता?

कविताप्रति मेरो लगाव बाल्यकाल देखि नै हो। मलाई लाग्छ विद्यालयमा लय हालेर पढेका कुनै कविताले बाल मस्तिष्कमा छाप छोडेको होला सायद। कविताप्रति मेरो रूची बाल्यकालबाटै रहयो यद्यपि पछिल्लो केही बर्ष भने कविताबाट टाढा भैयो। कविताप्रतिको मोह त खै किन हो म पनि अनुत्तरित नै छु। पहिले देखिनै केही न केही गर्छु भन्ने हुटहुटी थियो तर के गर्ने भन्ने थिएन सायद त्यो बाटो यही थियो होला कि।

कविता यही हो भनेर त म भन्न सक्दिन। म पनि कविता खास के हो भन्ने कुराको खोजी मै छु। तर कविता गज्जब कुरा हो। साहित्यको गजुर हो। आजकाल मेरो लागि कविता सबैथोक भैसकेको छ। मेरो लागि कविता खुसी हो। आत्मसन्तुष्टि हो। खोज हो। साधना हो। अझ धेरैधेरै हो। सबैभन्दा मुख्य कविता आत्माको भाषा हो। आत्माको सफाई हो। दुखाइ कम गर्ने औषधी हो। पारासिटामोल हो।

४, एक नवीन लेखक/कविलाई सङ्ग्रह प्रकाशनको लागि प्रकाशनको झन्झट र आर्थिक लगानी पनि धेरैनै लाग्छ भन्ने सुनिन्छ । तपाईँको अनुभव कस्तो रह्यो?

यो त करेलाको तरकारी मीठो मानेर खाएको जस्तै प्रश्न हो।
प्रकाशनको लागि त्यति धेरै झन्झट त महसुस गर्नु परेन। कविता पठाइ सके पछि केही दिनमै काम सकियो। यसरी हेर्दा मलाई खास झन्झट भएन। आर्थिक लगानी चाहीँ हुने रहेछ। मेरो लक्ष्य कविताबाट कमाउनु थिएन।  लगानि भए पनि सन्तुष्ट नै छु। एउटा सानो परिचय बन्यो। एक पाइला जति हिँड्न सकेँ कि। साहित्यको महासागरमा एक थोपा जति योगदान दिन सकेँ कि जस्तो लाग्छ। मेरो लघुताभासमात्र पनि हुन सक्ला।

कविता लेखिरहँदा कवि हो कि जस्तो लाग्ने आफूलाई जब कविता सङ्ग्रह प्रकाशन भयो त्यस पछि कवि भन्दा बढी ब्यापारीवाला अनुभव हुने रहेछ। सबभन्दा तितो लाग्ने रहेछ यो बेला।यो मेरो काम होइन भन्न पनि नपाइने हो भन्दा पनि मनले नमान्ने। समग्रमा नौलो अनुभव भयो। धेरै कुराहरू सिक्ने मौका पनि जुऱ्यो।

५, यौवन हराएको मान्छेभित्रको तपाईँलाई मन परेको एक कविताको पृष्ठठभूमि बताईदिनुस न ।

खासमा पूर्वयोजना गरेर कविताको विषय लिएर कविता लेख्न म सक्दिन। जहिले जे फुर्छ त्यही लेख्ने हो। मैले कविता लेख्ने भन्दा कविताले मलाई लेखाउँछ। लेख्न घच्घचाउँछ। कहिले नदी जसरी कहिले बाढी जसरी आउँछ। म सकेसम्म टिप्ने कोसिस गर्छु। धेरै कविता टिप्न नसकेर उसै गएका अनुभव पनि धेरै छन्। धेरै जसो कविता काममा व्यस्त भएकै बेला फुरेका छन्।

कुनै पनि कविताको पृष्ठभूमि यही हो भनेर ठ्याक्कै भन्न म सक्दिन।मैले लेख्ने कविताहरू मेरो आफ्नै भोगाइहरू नै हुन् र ति भोगाइहरू बेलाबखत कविताको रूप लिएर ममा सवार गर्ने गर्छन् जस्तो मलाई लाग्छ। यसरी हेर्दा मेरा भोगाइहरू नै मेरा कविताका पृष्ठभूमि होलान् सायद।

फेरि पनि यहाँलाई हार्दिक धन्यवाद! नमस्कार! जय नेपाली साहित्य!

***

प्रतिक्रिया

सम्बन्धित खवर