कवि लीला अनमोल सञ्चार र साहित्यमा परिचित नाम हो । पूर्व बिर्तामोड झापामा बसोबास गरी साहित्यलाई मलजल गर्नमा उल्खेख्य भूमिका खेल्नुभएकी उहाँले कविता संग्रह (बासुरी ) २०६०, गजल संग्रह ( दुख्छ ) २०६३ प्रकाशित गरेनुभएको छ । राष्ट्रिय कविता महित्सव २०६७ मा प्रथम सहित बिभिन्न पुरस्कार तथा सम्मानले सम्मानित उनको हालै बजारमा कविता सङ्ग्रह अन्तिम कुमारी रात आएको छ । यसै कृतिमा आधारित रही सम्पादक जीवन खत्रीले उनलाई गरेका पाँच प्रश्न र उत्तर ;

१, अन्तिम कुमारी रात कवितासङ्ग्रह भित्र कस्ता कस्ता कविताहरू समेटिएका छन्? छोटकरीमा यसको परिचय गराईदिनुस न ।

– अन्तिम कुमारी रातमा समसामयिक विशेषहरुलाई नै आधार मानेर लेखिएका कवितामा छन् । जहाँ राष्ट्रियताको स्वच्छ प्रेम छ, राज्यमा नेतृत्वले गरेको क्रियाकलाप प्रतिको बिद्रोह छ, प्रेम छ, यौन छ, महिला समानता र पहिचानका कुराहरु छ्न , राजनीति खिचातानीको बिरोध छ आदि कुराहरु नै छन् ।

२, यहाँले २०६० सालमै बाँसुरी कविता सङ्ग्रह र ६३ सालमा दुख्छ गजल सङ्ग्रह प्रकाशित गर्नुभएको थियो । त्यसपछि यो तेस्रो कृति अन्तिम कुमारी रात हुन पुग्यो । यतिका समय (१८ वर्ष) पछि तेस्तो के बिशेष थप्न सक्नुभयो यो कृतिमा ? कि पुराना पाठकले पनि यो कृति खोजुन ।

–  खास भन्ने हो भने साहित्यले मानिसलाई सरल, नैतिकवान र आदर्श चरित्र निर्माण गर्न अभिप्रेरित गर्छ।  हामी लेखकले ब्यक्तिको सोच्ने तरिका (सकारात्मक सोच) लाई बदल्न सक्छौ।  साच्चै समाज बद्लिन चाहीँ मानिसको मनस्थिति बद्ल्नु पर्ने रैछ। प्रेम, करुणा , बिचार र सिद्धान्तमा उर्जा भर्ने काम कविताले गर्छ।कविताले मानिसलाई हास्न सिकाउछ, जीवन बाच्न सिकाउँछ। संघर्षको मैदानमा बिचलित नभै हिड्न सिकाउछ , अफ्ट्यारा जङ्घारहरुमा पनि भिड्न सिकाउछ। १८ बर्ष सम्म मैले यहि सिके र त्यहि लेख यो दौरानमा कविताभित्र।जीवनको परिपक्व भोगाइ छ अहिलेका मेरा कवितामा

३, यहाँले नेपाल प्रज्ञा प्रतिष्ठानबाट ६७ सालमा राष्ट्रिय कविता प्रतियोगितामा स्वर्ण पदक पाउनु भएको थियो । कवितामा बिशेष मानिने पुरस्कार पाएको कविबाट नेपाली कविताले अपेक्षा धेरै गरेको थियो होला, तर तपाईँ चुपचाप हराउनु भयो नेपाली कविताको मुलबाटोबाट । कवितालाई मैले अलि अन्याय गरेँ कि भन्ने लागेन? त्यसको क्षतिपूर्ति यो कृति हुन सक्ला?

– म सङ्ग्रहित रुपमा मात्रै आइन तर विविध साहित्यिक समारोहमा कहिले एकल वाचनमा त कहिले साहित्यिक बहसमा, कहिले रेडियो साहित्य प्रस्तोताका रुपमा त कहिले साहित्यिक सङ्गठकका रुपमा म सकृय भएरै रहिरहे, कविता न लेख्नु भनेको म नहुनु हो र निरन्तर लेखिनै रहे  केवल सङ्ग्रहको रुपमा चाहीँ भर्खर आयो। अझै यदि मैले साहित्यमा अन्याय गरेको ठहर्छ भने यस्को क्षतिपूर्ति यहि अन्तिम कुमारी रात हो।

४, तपाईँ सञ्चार क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । सञ्चारकर्म र साहित्यको सम्बन्ध के हुँदो रहेछ? दुवै विधामा भएको एक व्यक्तिलाई भिन्न भिन्न विधाले पुग्ने सहयोग र असहज हुने पाटाहरू के के हुन्?

बिगत २२ बर्षदेखि सन्चारकर्ममा छु, यो मेरो पेशा हो। यो पेशाले साहित्यलाइ अवरोध गरेको त महशुस छैन बरु थप साहित्यलाई उजिक्ल्याउन पूरा सहयोग गर्यो, मलाई साहित्यिक बहसमा उभिन निखार्यो। सञ्चार र साहित्य वास्तबमै एक अर्काका सहयोगी रहेछन् मैले यहि महशुस गरेँ

५, आजका पाठकहरूसँग किताबको विकल्पमा धेरै कुराहरू छन्, ती सबै विकल्प थाति राखेर एक काव्यप्रेमीले किताब किन पढ्ने ? अन्तिम कुमारी रातनै किन पढ्ने? 

– मैले माथि पनि भनेँ, साहित्यले मानिसको बौद्धिकतालाई अभिबृद्दी गर्दछ। विचारले प्रखर बनाउछ, भावुक र शृजनशिल बनाउँछ। जीवनलाई नजिकबाट बोध गर्ने कला सिकाउँछ। स्पष्ट बनाउछ। मानिसिक समस्यालाइ पराजित गर्न सहयोग पुर्याउछ । अझ कविता त त्यो औषधी हो जस्ले सेवन गर्यो उसले आनन्दको पराकाष्ठा महशुस गर्छ। अन्तिम कुमारी रातमा त्यही छ र पढिदिनुस् भन्छु पाठकहरूलाई ।

***

प्रतिक्रिया

सम्बन्धित खवर