कवि तथा अनुवादक चन्द्र गुरुङ वि.सं. २०३१ साउन २१ गते माझगाउँ, मान्बु–६, गोरखा, नेपालमा जन्मेका हुन् । सेतुमाया गुरुङ, कुम्बासिं गुरुङका सुपुत्र गुरुङले नेपाल कमर्स क्याम्पस, मिनभवन काठमाण्डौँबाट स्नातक गरेका छन् । कविताकृति ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ विसं, माइ फादर्स फेस अङग्रेजीमा अनुवाद कृति सन् २०२०, जब एउटा मान्छे हराउँछ, कविता कृति वि.सं. २०७९ प्रकाशित छन् । उनले थुप्रै नेपाली कवितालाई हिन्दी भाषामा र हिन्दी लगायत अन्य विदेशी भाषाका थुप्रै कविताको नेपालीमा अनुवाद गरेका छन् ।
उनले भर्खरै जहाँ आमाहरू कहिल्यै निदाउँदैनन् प्यालेस्टाइनी कविहरूको अनुवाद गरिएका कविता कृतिहरू प्रकाशित गरेका छन् । यसै कृतिमा आधारित भई सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र गुरुङको जवाफ;
१. “जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्” अनुवाद कवितासङ्ग्रह भित्र कस्ता कस्ता कविताहरू समेटिएका छन् ? छोटकरीमा यसको परिचय गराईदिनुस न ।
लामो समयदेखि प्यालेस्टाइनी जनताले भोगेको पीडा र अनुभूत गरेको आसानिराश सबै त्यहाँका कविलेखकका सिर्जनामा स्पष्ट आइरहेका छन् । उनीहरूले ती भयावह अनुभवहरूलाई कविता, कथा र उपन्यासमा उतारेका छन् र विश्व समुदायसम्म आफ्नो कथा पस्किरहेका छन् । आफूहरूले झेल्नु परेको अपमान, छलकपट, उत्पीडन र अन्याय सबैलाई उनीहरूले सिर्जनात्मक रूपमा ल्याएका छन् । यसरी प्यालेस्टाइनी साहित्यमा उनीहरूको व्यथा स्पन्दित छ ।
यी कविताहरू आफ्नो मातृभूमिप्रतिको अगाध माया र जनताले भोगेको उत्पीडनको विरोधमा जन्मेका सङ्घर्ष र बलिदानको ऐना हो । प्यालेस्टाइनीहरूको सङ्घर्ष र योगदानको कथा हो । यी कविताहरूमा उनको भावना, आक्रोश र आसाहरू छताछुल्ल छन् । यी कवितामा उनको मुटु धडकिरहेको छ । उनीहरूको दिलमा उर्लिने व्यथाको सागर बनेका छन् यी कविताहरू । उनीहरूको सङ्घर्षको बलियो जरा जगल्टिएका छन् यी कविताहरूमा ।
यो कृति नेपाल र भारतबाट एकसाथ प्रकाशित भएको हो । यस सङ्ग्रहलाई भारतीय नेपाली भाषीका लागि दार्जिलिङ्को लाली गुराँस प्रकाशन गृह र नेपालको इन्डिगो इन्क प्रकाशन गृहले प्रकाशित गरेको छ ।
२. आजको समय कविताको भन्दा पनि बम गोला र बारुदको समयप्रतित हुँदैछ् । जहाँ बम गोला पड्केका छैनन् त्यहाँ पनि पड्कन तयार छन् । यसरी त संसारकै आमाहरू कसरी निदाउन सक्छन् र ? ती आमाहरू निदाउन सक्ने हुन कविहरूको भूमिका के के हुन् ?
आमाहरूले निदाउन पाउनु भनेकै शान्त र सुखीपूर्ण समाजमा हो । यस्तो समाजको निर्माणमा कविलेखकको भूमिका अवश्य रहन्छ । एउटा असल लेखककवि आफ्नो समय र समाजप्रति जिम्मेवार हुन्छ । उसले आफ्नो शक्तिशाली उपस्थिति दिनुपर्छ । समाज अव्यवस्था वा राजनैतिक उथलपुथलले आक्रान्त बनेको बेला अव्वल र शक्तिशाली काव्यरचना गरेर यस्ता उतारचढावपूर्ण र अप्ठयारो समयलाई सम्बोधन गर्नुपर्छ । कविलेखकले निकास दिने कोसिस गर्नुपर्छ । विश्व साहित्यमा विलियम ब्लेक, वाल्ट हिट्मेन, विलियम बटलर यीट्स, लाङगस्ट्न ह्यूज, माया एन्जेलो तथा वोले शोयिंका जस्ता कविले न्याय, समानता र सामाजिक सुधारको पक्षमा कविता लेखे । नेपालमा पनि गोपाल प्रसाद रिमालको ‘आमाको सपना’, भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरात पछिको सडकमा’ र श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’, जस्ता कविताले नेपाली समाजमा ल्याएको चेतना र सामाजिक रुपान्तरणमा कवि र कविताको भूमिका प्रष्ट पारिसकेका छन् ।
सचेत कविलेखकले आफ्नो वरिपरिको समाजमा भइरहेको अन्याय, अत्याचार र उत्पीडनको विषयमा लेख्नुपर्छ । सर्जकहरूले मानिसको हृदयभित्रबाट दया, माया र मानवता मर्न नदिन आफ्नो सिर्जनाले योगदान गर्छन् । एउटा शान्तिपूर्ण र सहअस्तित्वको बलियो जगमा उभिएको समाज निर्माणमा सर्जकको महत्वपूर्ण भूमिका रहन्छ ।
३. अनुवाद अपजसे काम भनेको पनि सुनिन्छ । सायद मूल कविले जे लेख्यो त्यही अनुवाद हुन नसकेर पनि होला । यहाँलाई अनुवाद गर्नुपर्छ भन्ने किन लाग्यो ? र यो अपजसबाट जोगिन के के गर्नुभयो कृतिमा ?
कविताको अनुवाद साँच्चै गाह्रो काम हो । अमेरिकी कवि रोबर्ट फ्रोस्टले भनेका छन् ,‘कविता त्यो हो जुन अनुवादमा हराएर जान्छ ।’ हरेक कविताको एउटा भित्री लय र संरचना हुन्छ । प्रत्येक शब्द शब्दमा सौन्दर्य लुकेको हुन्छ । अनुवादकले दोस्रो भाषामा अनुवाद गर्दा त्यो कविताको सुन्दरतालाई जोगाएर राख्न सक्नुपर्छ । धेरैले त कविताको अनुवाद नै हुनुसक्दैन पनि भनेका छन् । तर अनुवाद नगरी कविताको एउटा भाषादेखि अर्को भाषासम्मको यात्रा सम्भव पनि छैन । अहिलेको समयमा साहित्यलाई एउटा भाषा, समाज र परिवेशबाट अर्कोमा लानुको लागि अनुवादको ठूलो भूमिका छ । साहित्यको संसारलाई प्रकाशमय बनाउनलाई अनुवादले एउटा झ्याल खोलिदिन्छ ।
यसकारण कविता निरन्तर अनुवाद भइरहनुपर्छ ।
राम्रो अनुवादको लागि अनुवादकमा भएको भाषा, समाज, संस्कारसंस्कृतिको गहिरो ज्ञानले सहयोग गर्दछ । साथै, लेखक र अनुवादकबीचको सहकार्य तथा समझदारीले पनि उत्कृष्ट अनुवादमा मदद गर्छ ।
४. कवितालाई वर्षौँदेखि लेखीरहनुभाछ । यसअघि यहाँको “जब एउटा मान्छे हराउँछ”, “द फादर्स फेस” लगायत कृतिहरू प्रकाशित छन् । मुख्यत: कविताकै लागि लामो समय सोचिरहनुभाछ । खासमा कविता के रहेछ ?
अमेरिकी कवि मेरी होउ भन्नुहुन्छ कविताले हामी जीवित रहेको अनुभूति गराउँछ । एउटा सुन्दर कविताले हामीलाई जीवन र समाज बुझ्न सहज बनाइदिन्छ । यसरी कविता समाज बुझ्ने सर्वोत्तम माध्यम बनिदिन्छ । कवितामा जीवनका विविध रुप र रङ्ग अभिव्यक्त भइरहेका हुन्छन् । साथै, सामाजिक मूल्य र मान्यताको स्थापनार्थ पनि असल कविताको ठूलो योगदान छ । कविता हामी र हाम्रो जीवनसित जोडिएको हुन्छ ।
पृथ्वीमा मानव जीवनको सुरुवातसँगै कविताको यात्रा थालिएको लाग्छ । पछि भाषा र सभ्यताको विस्तारसँगै काव्यलेखनमा पनि विकास हुँदै गयो । यसप्रकार मानव सभ्यताको उत्थान र विकासमा कविताको महत्वपूर्ण भूमिका छ । जहाँसम्म मलाई लाग्छ एउटा सुन्दर कविताले कुनै पनि मान्छेको जीवनयात्रा फेरिदिन सक्छ । कवितामा यस्तो अपत्यारिलो ताकत छ ।
५. प्यालेष्टाइनी कविताहरू अनुवाद गर्दै गर्दा उनीहरूको लेखन र आजको नेपाली कविताको अवस्थाबीच के फरक पाउनुभयो ? कस्तो हुनुपर्छ समकालिन नेपाली कविताको अनुहार ?
फ्री (स्वतन्त्र) प्यालेस्टाइनको लागि सङ्घर्षको कथा एकसय साल भन्दा लामो भइसकेको छ । पहिलो विश्वयुद्धको समयमा प्यालेस्टाइनमा ब्रिटिसको शासन थियो । मे १४, १९४८ मा जब ब्रिटिस सेनाले यरुशलेमलाई छोडे, त्यही साँझ तेल अवीवमा इजरायली राज्यको स्थापनाको घोषणा भयो । जसलाई साम्राज्यवादी देशहरूले मान्यता दिइहाले । त्यसपछि लगभग दुई लाख प्यालेस्टाइनीहरू बेघर बनें । तबदेखि आफ्नो देश र भूभागको लागि प्यालेस्टाइनीहरूको सङ्घर्ष सुरु भयो ।
प्यालेस्टाइनी कविताले त्यहाँको जनताको राष्ट्रिय उत्साह झल्काउँछ । यी कविताहरू जीवनशक्तिले भरिएका छन् । महमुद दर्विश, फदवा तुकान, इब्राहिम तुकन, मोइन बेस्सिसो र कमल नासिर आदि आफ्ना प्रभावशाली प्रतिरोधी कविताका लागि विश्व प्रसिद्ध छन् । यी कविलेखकले घरबाट बेघर हुनुको पीडा, आफ्नो अस्तित्व बचाउनलाई गर्नु परेको सङ्घर्ष, आफ्नो देश र समाजमा फर्केर आउने चाहना, विगतको सम्झना र आक्रमणकारीप्रतिको आक्रोशलाई आफ्ना सिर्जनामा प्रमुख स्थान प्रदान गरेका छन् ।
प्यालेस्टाइनी र नेपाली कवितामा खासै भिन्नता छैन । यता, नेपाली जनताले पनि लामो समयदेखि यस्तै राजनैतिक र अन्य समस्याहरू भोग्दै आएका छन् । हामीसित पनि संघर्ष, क्रान्ति, युद्ध, विद्रोह, आक्रोश र परिवर्तनका कविताहरू छन् ।
प्रतिक्रिया
-
४