कवि/ गजलकार दीप दर्शन, नलगाड नगरपालिका १२ अवलगुर्ता जाजरकोटका स्थायी बासिन्दा हुन् । गंगाराम र धनकुमारी शाहीका सुपुत्र दीप बिशेषत कविता, गजल, मुक्तक, केस्रा, लगायतका बिधाका कलम चलाउँछन् हाल मलेसिया रहँदै आउनु भएका उहाँका प्रकाशित कृतिहरू : कालो बादल भित्रको चन्द्रमा गजलसङ्ग्रह २०६६, मेचीकाली संयुक्त गजलसङ्ग्रह, सृजनाका स्वरहरु संयुक्त गजलसङ्ग्रह, समुन्द्र दन्केपछि संयुक्त गजलसङ्ग्रह, ‘मियो स्तुप’ संयुक्त लघुकथा सङ्ग्रह हुन् । बिभिन्न पुरस्कार र सम्मान पाएका उनी अध्यक्ष उदाउदो तारा साहित्य समाज पेनाङ मलेसियाका अध्यक्ष, विश्व नेपाली साहित्य महासंघका केन्द्रिय सदस्य समेत हुन् ।
दीप दर्शनको पछिल्लो समय गजल सङ्ग्रह दुश्मन प्रकाशन भएको छ । यसैको सेरोफेरोमा रहेर सम्पादक जीवन खत्रीले उनलाई सोधेका पाँच प्रश्न र उनको जवाफ ।

१, दुश्मन कृतिको बारेमा छोटकरीमा परिचय गराईदिनुहोस् न, जुन पढेर पाठकलाई यस पुस्तक छनोटका लागि आफ्नो धारणा बनाउन सकुन ।

– यो एउटा गजल संग्रह हो । यसमा एकानब्बे वटा गजल रहेका छन् । यो संग्रह पढेर पाठकलाई पनि सकारात्मक धारणा आउने छ भान्ने आसा लिएको छु । मैले बुझाउनु पर्दा बिम्बमा प्रयोग गरिएको दुश्मन एक आफन्त हो । एक प्रेम हो । एक उर्जा हो । यसलाई यसरी नै बुझिदिन पाठकलाई अनुरोध गर्दछु ।

२, किताबको नाम अलि भिन्न रहेछ । मित्रहरू बनाउनु पर्ने बेलामा दुश्मन सम्झिनु पर्ने तेस्तो के पर्यो? नाम छनोटको राज बताईदिनुस न ।

– दुश्मन एउटा सामान्य बिम्ब हो । हर मान्छेको सफलताको पछाडि दुश्मनको महत्त्वपूर्ण भुमिका हुन्छ जस्तो लाग्छ । दुश्मन नभए मानिसले कुनै पनि काम सतर्क भएर गर्दैन भन्ने केही महसुस म आफैले गरेको छु । दुश्मन एक दृष्टिकोणले हेर्दा खतरा पनि हो र अर्को दृष्टिकोणले हेर्दा महत्त्वपूर्ण आधार पनि हो । मैले दुश्मनलाई जीवनको महत्त्वपूर्ण सफलताको मार्गदर्शनका रुपमा हेरेकोले पुस्तकको नाम दुश्मन नै छनोट गरे । यसमा दुश्मनलाई बिम्बका रुपमा मात्रै प्रयोग गरेको छु । त्यसैले दुश्मन गजल संग्रह पढ्ने पाठकलाई सजिलैसँग बुझ्न सकिन्छ जस्तो लाग्छ

३, परदेशमा हुनुहुन्छ । कमाउने उद्देश्यले जानुभएको । तपाईँ चाहिँ लेखन बिशेष गजल लेखनमा कसरी आकर्षित हुनुभो?

– हो म बिदेशमा कमाउन आएको हुँ । गजल लेखनले कमाइमा बाधा पार्ने कुरा त भएन ! मैले धेरै अन्तर्वार्तामा भनिसकेको छु । थुप्रै लेख रचनाको भूमिकामा लेखिसकेको छु । म सानैदेखि राजनीतिमा आकर्षित थिए । त्यस्तै खाले लेख, रचना लेख्न र पढ्न रुचाउथे । तर साहित्य बुझेपछि र परदेश पसेपछि राजनीति प्रती वितृष्ण जाग्यो । साहित्यमा रमाउन थाले ! लेख्न त कथा कविता गजल मुक्तक हाईकु पनि लेख्छु । तर गजल लेखनमा मात्रै आकर्षित भएको होईन ! संग्रहको रूपमा गजल आएको मात्र हो ।

४, गजललाई आयातित विधा भनेर खासै वास्ता नगर्ने एउटा जमात पनि छ । गजल यस्तै हुनुपर्छ भन्दै बहर र गैर्हबहरमा झगाडा गर्ने अर्को समुह पनि छ । फेसबुकमा रदिफ काफिया मिलेन भन्दै सिकाउने अनेकौँ छन् । उनीहरूलाई भन्नु के छ? र  हुनुपर्ने गजल कस्तो हो ?

– गजललाई आयातित बिधा भन्नेलाई म केही भन्न चाहान्न सहित्यका जुनसुकै बिधा कोहि कसले लेखेर आएको होला । कथा कुन देशमा पहिला लेखियो । कविता कुन देशमा पहिला लेखियो । खोजिनिधी नगरिएको मात्रै होला जस्तो लाग्छ । उदाहरणको लागि कविता कुनै देशले पहिला लेखिएको थियो अर्थात नेपाली भाषामा पहिला लेखिएको हो भनेर दाबी गरेर पुष्टि भयो विश्व साहित्यले कविता नेपालबाट आएको हो यो आयातित बिधा नलेखौं भनेर भन्दैन होला । यस्ता कुराको हामी पनि वास्ता गरौं भन्छु । बहर र गैरबहरको झगडामा मेरो वास्ता छैन । म कुनै पक्षमा छैन । फेसबुकमा राखेका गजलमा रदिफ काफिया मिलेन भनेर भन्ने साथीहरूको सुझावलाई सकारात्मक रूपमा लिन्छु ।गजल, गजल हुनुपर्छ । मैले जानेको यत्ति हो ।

५, दुश्मन नपढ्दा पाठकले के चिज छुटाउला? जसको कारण पाठकले पढ्न मन गरोस् । गजलकारका नाताले पाठकलाई भनिदिनुहोस् न ।

– दुश्मन पढेर पाउने नपढेर गुमाउने भन्ने केही छैन । यो एउटा गजल संग्रह हो । मैले जाने जति राम्रो लेखेको छु । जस्तो लाग्छ । कुनै न कुनै शेरमा तपाई आफुलाई भेट्नु हुनेछ । वर्षौं अघि लेखेका गजल पनि यो संग्रहमा छन् । हालसालै लेखेका नयाँ गजल पनि यो संग्रहमा छन् ।  त्यसैले गजल प्रेमी सबै पाठकले दुश्मन पढ्नु होस् पढेर सल्लाह सुझाव दिनुस् र कमिकम्जोरी भनी दिए सुधर्ने मौका मिल्थ्यो कि भन्ने चाहिँ लाग्छ ।

***

 

प्रतिक्रिया

सम्बन्धित खवर