✍️ सुरेश राई

भान्जीहरू बरन्डामा खेल्दै थिए । मेरी भान्जी र उसकी साथी कुसुम । म पनि घाम ताप्न भनेर बरन्डामा निस्किएँ हातमा पत्रिका लिएर । हेरेँ, दुबैजना सुँक्क सुँक्क गर्दै रहेछन् । मलाई देख्नासाथ हत्तपत्त आँसु पुछ्न थाले । सोधेँ “हैन के भो भान्जीहरूलाई ? किन रोएका ?” दुबैजना एक अर्कालाई हेर्दै लजाए । केही बोलेनन् । फेरि सोधेँ “हैन के भो ममीले गाली गर्नु भो हो ?” मेरी भान्जी चुपचाप मौन बसिरहिन् । बल्ल कुसुम भान्जी बोलिन्

“हैन हैन मामा कै हैन । हामी रुईरुई खेलेको के ! को छिटो रुन सक्ने भनेर कम्पिटिसन गर्या !”
“ए..त्यसो पो” अनि हामी तीनै जना गलल हाँस्यौं ।

मनमनै सोचेँ ! यी अबोध बालिकाहरू नक्कली रुनु पर्दा चाहिँ कुन दुःख सम्झेर आँसु निकाल्दा हुन् ?

फेरि यसो सम्झेँ । भोलि हुर्केर सक्कली ‘रुईरुई’को लागि यिनीहरूको जिन्दगी लामो बाँकी छ । सोचेर नमीठो लाग्यो । कास रोई रोई सधैँको लागि यस्तै एक खेल मात्र हुन्थ्यो…!

ठीक त्यही बेला पल्लो घरबाट छिमेकी आन्टी ह्वाँ ह्वाँ रोएको आवाज आयो । उहाँहरूको कलिलो छोरो बितेको हप्तौँ भइसकेको छ । आन्टी यसैगरी एक्कासी रुने र एक्कासी बर्बराइरहने हुनुभएको छ । यो भान्जीहरूको खेल जस्तो नक्कली ‘रुईरुई थिएन । यो एउटा आमाको हृदयभेदक सक्कली रोईरोई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर