– सुरेश राई

गीत १,
होला कोही दु:खी मै जस्तो त्यसैले मेरो गीत सुन्दियो
होला कोही प्रेमी मै जस्तो मेरो कहानीमा रोइदियो

कोही जोडी छुटेको देखेमा मन पोल्ने मान्छे परेँ म
दोभानमा दुई खोला भेटिँदा रमाउँदै खेल्न झरेँ म

संसारको हर प्रेम बाँचिरहोस् प्रार्थना सधैं गर्ने म
आफ्नै पो प्रेम असफल भैगो बाँचेर पनि मरेँ म
होला कोही दु:खी मै जस्तो त्यसैले मेरो गीत सुन्दियो
होला कोही प्रेमी मै जस्तो मेरो कहानीमा रोइदियो

भन्नुथ्यो तिम्लाई भनी गयौ, मानेनौं केही सुन्नलाई
आँखै अगाडिको तिम्रो बाटो सकिनँ छेक्न थुन्नलाई
लेखान्त भनूँ कि दुर्भाग्य भनूँ सम्बन्ध हाम्रो छुटिगो
तिम्रो एक ठहरले जोगिन्थ्यो,तिम्रो एक कदमले टुटिगो

होला कोही दु:खी मै जस्तो त्यसैले मेरो गीत सुन्दियो
होला कोही प्रेमी मै जस्तो मेरो कहानीमा रोइदियो

गीत २,
अन्धकारमै राख यस्तरी कि मलाई
कहिले ब्युँझिने मौकै नदेऊ
बाहिर घाम पनि लाग्दछ भन्ने
उज्यालोको कुनै इशारै नदेऊ

धोकामै राख निद्रामै राख
बेहोसीको हालमा राख
भ्रममा राख झूटमा राख
कैले नटुट्ने जालमा राख

आफू महान उदार देखिन
भो घरीघरीको माया नदेऊ
बाहिर घाम पनि लाग्दछ भन्ने
उज्यालोको कुनै इशारै नदेऊ

मै नरहे या मै मरिगए
बिचरा तिम्रो के हुन्छ होला !
पीर लाग्छ तिम्रै म नहुँदामा
को तिम्रो लागि ठगिन्छ होला !

मुटु भए झैँ भावना भए झैँ
भो अभिनय सब छोडिदेऊ
बाहिर घाम पनि लाग्दछ भन्ने
उज्यालोको कुनै इशारै नदेऊ

अन्धकारमै राख यस्तरी कि मलाई
कहिले ब्युँझिने मौकै नदेऊ
बाहिर घाम पनि लाग्दछ भन्ने
उज्यालोको कुनै इशारै नदेऊ

***

प्रतिक्रिया

सम्बन्धित खवर