के.बी. पारखी स्याङ्जामा जन्मिएका हुन् । हाल वैदेशिक रोजगारीको क्रममा जपानमा बस्ने उनी मुक्तक, कविता, गीत, कथा हाइकु आदि विधामा कलम चलाउँछन् । उनका रचनाहरू फुटकर रूपमा विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । आजको आँगनमा उनको नयाँ मुक्तक सङ्ग्रह ‘मनको मन्दिर’मा केन्द्रित भएर सेतोमाटोका सहकर्मी जनक कार्कीले पुस्तक वार्ता गरेका छन् । यस्तो छ वार्ताको सम्पादित अंश

‘मनको मन्दिर’ मुक्तक सङ्ग्रह केही महिनाअघि मात्रै लोकार्पण भएको थियो । यस मुक्तक सङ्ग्रहभित्र के कस्ता विषयवस्तुलाई अटाउनु भएको छ ?

‘मनको मन्दिर’ मुक्तकसङ्ग्रहभित्र जीवन दर्शन,मानवीय जीवनका आरोह–अवरोह,सामाजिक विकृति विसङ्गति ,प्रेम विछोड, देशप्रेम, प्रवास पिडा, राजनितिक विकृति, मानिसका प्रवृति, वर्तमान समाजको यर्थाथ चित्रण सहित मैले देखेका, भोगेका र बुझेका विषयबस्तुलाई आफ्नोपन दिदै मुक्तक मार्फत समेटन खोजेको छु। जसमा १५२ मुक्तकहरू समावेश गरिएका छन्।

यहाँको जीवनलाई साहित्यले कसरी प्रभाव पार्‍यो ?

साहित्य प्रतिको रूची मेरो सानैदेखिको हो। यस बाहेक म नाँच्ने र गाउने रहर पनि गर्दथे। स्कुल स्तरमा विशेष अतिरिक्त कार्यक्रमा भाग लिने गर्दथे। कविता निबन्ध प्रतियोगितामा भाग लिने र पुरस्कृत हुने भए पछि एकपछि अर्को हौसला बढदै गयो।पुस्तकालय जाने पाठ्यपुस्तक भन्दा बाहिरका किताब पढने र आफुलाई मनमा केही प्रभाव पर्यो। केही चीजले छोयो भने जानीनजानी लेख्ने बानी थियो।

रेडियोबाट आउने साहित्यिक कार्यक्रम नियमित सुन्ने, ठूला ठूला साहित्यकारले लेखेका पुस्तकहरू पढने,पत्रपत्रिका पढने बानीले पनि साहित्यप्रति झुकाव बढ्यो। साहित्य लेख्छु भनेर मात्र हुँदो नरहेछ। प्रतिभा भन्ने चीज गर्भबाट लिएर आउनु पर्नै रहेछ। म भित्र त्यो गुण प्रतिभा रहेछ भन्ने लाग्यो। अध्ययन र अभ्यासले खारिदै छु। साहित्यमा नै साधनारत छु।

साहित्यका धेरै विधा छन् मुक्तकसँगै कसरी प्रेम भयो ?

साहित्यका अन्य विधा कविता, कथा, गीत र हाइकुमा पनि मेरो रूची छ र लेख्दै आएको छु। मुक्तक मेरो प्रिय विधा हो। रेडियोमा मुक्तक प्रधान कार्यक्रम सुन्दासुन्दै मुक्तकप्रतिको प्रेम बढेको हो। वरिष्ठ मुक्तककार स्व. चेतन कार्कीसँगको भेटघाट र आवतजावतले साथै मुक्तक लेख्ने साथीहरूसँगको निरन्तर संवाद र छलफलले मुक्तकमा रस बस्यो । अन्य विधाका पुस्तकहरू प्रकाशन गर्न तयार हुँदाहुदै पनि मेरो सुखद संयोग नै मान्नु पर्छ। मुक्तक सङग्रह ‘मनको मन्दिर’ अगाडि प्रकाशनमा आयो।अहिले त झन पाठकहरूको प्रतिक्रिया र सुझावले मुक्तक लेख्न छोड्नै नसक्ने भएको छु।

मुक्तकको शक्ति कत्तिको प्रभावकारी हुन्छ जस्तो लाग्छ ?

मुक्तक अत्यन्त शक्तिशाली र प्रभावकारी विधा हो। जसरी मुक्तकका चार हरफहरूमा पहिलो हरफले विषयवस्तुको उठान, थालनी, दोस्रो हरफले उठान भएको विषयवस्तुलाई समर्थन, गति दिइ उत्सुकता बढाउने, तेस्रो हरफ स्वतन्त्र वैचारिक निष्कर्षको लागि परिवेश खडा बनाउने, चौथो हरफले प्रहार गर्नै,मार हान्ने काम गर्दछ।

यसरी चार हरफभित्र विषयवस्तुको सम्पूर्णता हुने गर्दछ।मुक्तकलाई गागरमा सागर तथा विन्दुमा सिन्धु अटाउने विधा भनिएको हो। यसैले पनि नेपाली साहित्यमा चोटिलो ,पोटिलो र बान्किलो विधा मुक्तक स्थापित भएको छ।

नेपालमा मुक्तकको इतिहास लामो छ । भुपी शेरचन, हरिभक्त कटुवाल, सरुभक्त, तिर्थ श्रेष्ठ, उषा शेरचन आदि साहित्यका धरोहर मानिने व्यक्तित्वहरूले पनि मुक्तकमा कलम चलाएका छन् । यति हुँदाहुँदै पनि अहिलेसम्म एउटा पनि मदन पुरस्कार मुक्तक विधाले पाउन सकेको छैन । अझ भनौ मुक्तक सङ्ग्रह त छोटो सूचिमा पनि परेको देखिन्न । यसरी मुक्तकलाई किन उपेक्षा गरिएको होला ?

नेपाली साहित्यमा मुक्तक भनेरै मुक्तक लेख्ने पहिलो मुक्तककार भीमदर्शन रोकादेखि मुक्तकलाई यहाँसम्म ल्याउन योगदान दिनुहुने अग्रजप्रति मेरो सम्मान छ। केही बर्ष अगाडि मैले एउटा सानो अनुसन्धान गर्दा नेपाली साहित्यमा बार्षिक रूपमा ४० देखि ५० को हाराहारीमा मुक्तक कृति प्रकाशित भएको पाइयो।

यो क्रम अहिले पनि निरन्तर छ नै। मुक्तक कृति प्रकाशित हुँदै गएका छन्। फेरि सबै मुक्तक कृतिहरू पुरस्कार प्रयोजनको लागि भनेर दर्ता नगरेका पनि हुन् सक्छन्।

छनौट समितिको बर्गीकरण क्षेत्रभित्र मुक्तक कृति नपरेका हुन् कि ? उसका केहि मापनभित्र मुक्तक नपरेको हो कि ? यदि प्राप्त भएर पनि छनौट समितिले मुक्तकै भनेर उपेक्षा गरेको हो ? आकारको हिसाबले भेदभाव गरेको हो ? चार हरफ भनेर साहित्य मानिएकै हैन ? भने यो दुखद कुरा हो ।

मुक्तक लोकप्रिय र गहन विधा हो। हरेक विधालाई समान दृष्टिकोणले हेरिनु पर्छ। लामो छोटो त संरचनागत कुरा हुन।आशा एवम् विश्वास छ भोलि त्यो ठाउँमा मुक्तक पनि पुग्नेछ।

भारतमा मुक्तक शैलीका विविध रचना वाचन गर्नेहरू स्टार कवि छन् । मुक्तक वाचन गरेर करौडौँ आर्जन गर्छन् । तर नेपालमा मुक्तकको अवस्था दयनीय हुँदै गएको छ किन होला ?

नेपाली मुक्तकको अवस्था दयनीय छ जस्तो त मलाई लाग्दैन।मुक्तकको लोकप्रियता बढदै गएको छ। मुक्तकारले आफ्नै खर्चमा मुक्तक सङ्ग्रह प्रकाशन गर्नु पर्नै, प्रकाशकले वेवास्ता गरिदिने र मुक्तकको बजार हुँदाहुदै पनि बजारसम्म पुर्याउन मुक्तककारले नसक्ने स्थितिचाँहि दयनीय हो। मुक्तक लेखनमा नयाँ पुस्ताको आगमन र अग्रजहरूको लेखन निरन्तरता नेपाली मुक्तकको उचाई चुलिदै गएको छ।

यति हुँदाहुँदै पनि मुक्तकलाई अझै पनि साहित्यको मूल धारमा ल्याउन नसक्नु दुखद कुरा हो। २०३५/०३६ बाट सुरु भएको ‘सडक कविता’मा मुक्तकको लोकप्रियता उल्लेखनीय रहेको थियो।

अर्कातिर त्यसै समयबाट पोखरेली युवा सांस्कृतिक परिवारले ‘टिकटमा मुक्तक’वाचनको परम्परा थालनी गरेको थियो।पचासको दशकपछि झनै मौलाउदै गयो।

अहिले त मुक्तकको बहार आएको छ। हामीले टिकटमा मुक्तक जस्ता कार्यक्रमलाई निरन्तरता दिन नसक्नु कमजोरी हो। अतः यी र यस्ता कार्यक्रम हुनु पर्छ। मुक्तकको महोत्सव हुनु पर्दछ।आयोजकले मुक्तकको यो लोकप्रियतालाई बुझेर विशेष हेरेर अगाडि लैजान सक्नु पर्दछ। पक्कै पनि केही समय लाग्ला तर पनि मुक्तकका ती दिन आउनेछन्।

एउटा सफल मुक्तकमा हुनपर्ने गुण के के हुन् ?

मुक्तकको सामान्य संरचना (ए,ए,बी,ए)को सुत्र प्रयोग गरेर मुक्तकले उठाउन खोजेको विषय स्पष्ट पार्दै, मौलिक, विचारप्रदान, पूर्ण भावयुक्त, सरल शब्द भाषाशैली, विषयको गहनता, कलात्मकता, प्रभाव पार्नै गरी चोटिलो प्रहार भएका मुक्तकहरू नै सफल मुक्तक हुन्।

मुक्तक विधाको सम्मानजनक उपस्थितिको लागि मुक्तककारले र सम्बन्धित निकायले के कस्ता कुरामा ध्यान दिनुपर्ला ?

नेपालमा मुक्तक विधाको विकास,विस्तार,संरक्षण सम्बद्वन र उन्नयन को लागि भनेर आधिकारिक रूपमा दर्ता भएका ५ संस्थाहरू छन्। यी संस्थाहरूबीचको आपसी छलफल र सहकार्य गरेर मुक्तक विधाभित्र देखिएका अन्योल र समस्याहरूको समाधान गर्नु जरूरी छ। अहिलेको चुतुष्पदीय शैली शिल्पको मुक्तक लेखन पोखरा घोषणा पत्र २०७० मा उल्लेख भएका पाँच बुँदालाई मानेर यहाँसम्म आइपुगेको हो । यो ‘मुक्तक रचना विधान’लाई समय अनुसार परिमार्जन गर्दै लैजानु पर्छ।

मुक्तक सम्बन्धी, गोष्ठी सेमिनार बहस छलफल अन्तरक्रिया गर्दै अब मुक्तकको सर्वमान्य ‘मानक सिद्वान्त’प्रतिपादन गर्नु पर्दछ। त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले गर्दै आएको कविता महोत्सव, गजल महोत्सव जस्तै मुक्तक महोत्सव पनि गर्नु पर्दछ।

सम्बन्धित निकायले त्यससम्बन्धी आफ्नो अवधारण बनाएर प्रस्ताव पेस गर्नै र कार्यान्वयन गर्न तर्फ लाग्नु पर्दछ। मुक्तकलाई साँच्चिकै माया गर्नै मुक्तककारले म मुक्तककार हुँ । गर्व गर्दै, मुक्तकको धर्मभित्र रहेर मुक्तक लेख्ने, अरूका पनि मुक्तक पढने, आवश्यक परे सल्लाह सुझाव दिने गर्नु पर्दछ यसले गर्दा मुक्तकारको समिक्षात्मक दृष्टिकोण फराकिलो हुँदै जान्छ। केही मुक्तककारले व्यक्तिगत रूपमा अभियान चलाएर मुक्तक क्षेत्रमा उदाहरणीय कार्य गरेका पनि छन्। हरेक मुक्तककारले मुक्तक विकासको लागि जहाँबाट, जस्तो किसिमले जे गर्न सकिन्छ त्यो गरौँ।

साहित्य सिर्जनाले एउटा व्यक्तित्व र समाजमा के कस्तो योगदान गर्छ जस्तो लाग्छ ?

साहित्य जीवन, दर्शन र समाजको ऐना हो। जहाँ समाज हुन्छ त्यहाँ साहित्य हुन्छ नै। साहित्यले समाजका हरेक चित्रलाई प्रतिबिम्बित गरेको हुन्छ। साहित्यभित्र समाज बोलेको हुन्छ। देश काल समयलाई समाएर साहित्यले समाजलाई उचित मार्गदर्शनको बाटो देखाउनु पर्छ। साहित्यको कारणले समाजमा धेरै परिवर्तन आएको इतिहास छ। समाजका विकृति विसङ्गतिलाई केलाएर समाधानको उपाय पनि साहित्यले दिन सक्नु पर्दछ। साहित्य र समाज एक अर्काका परिपुरक हुन नै।

हरेक साहित्यकारले आफुलाई आफ्नो असल ब्यक्तितव कायम राख्न अनुशासनमा रही इमानदारी पूर्वक सत्य तथ्य सृजनामार्फत बोल्नु पर्छ। ता कि समाजले साहित्य सिर्जनाको सर्जकलाई इज्जत दिन सकोस्।

अन्त्यमा, के भन्न चाहानुहुन्छ ?

सर्वप्रथम त सेतोमाटो मिडिया मार्फत मेरो मुक्तक सङग्रह मनको मन्दिर,मेरो साहित्य विचार र केही मुक्तक विधाको बारेमा केही कुराहरू राख्ने अवसर दिनु भो। सम्झिदिनु भो। तपाई लगायत सम्पूर्णप्रति हार्दिक धन्यवाद ! अक्षरको यात्रामा छु। सधैँ सल्लाह, सुझाव, माया, प्रेम गाली ताली जेजे दिनु हुन्छ स्वीकार छ। सधैँ सचेत रहन खबरदारी गरिदिनुहोला । धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर