✍️ रिपन गौतम

मलाई हतार थियो।
स्टेशन पुगेर हुड्टा सिटीसम्म पुगेर फर्किनु छ। मलाई। एम्स मेट्रो स्टेशन पुगे म। गोबिन्द पनि मेट्रो पर्खेर उभिएको मैले देखे।त्यसले देख्यो मलाई। हाँस्दै आयो र हात मिलायो अनि औपचारिक कुराहरू भए।

उत्तराखण्डको‌ यो केटो राम्रो लाग्छ मलाई। हेर्दा झल्याँस्स नेपाली जस्तै देखिन्छ यिनीहरूलाई देख्दा। म पनि झुक्किएको थिए। त्यसले मलाई अहिले के गर्दै छौ ? सोध्यो। मेलै केही छोटकरीमा बताएँ। तिमी के गर्दैछौ ? मैले सोधे। इफ्को चोकमा नयाँ रेस्टुरेन्ट खोलेको छु भन्यो उसले।

पहिला सँगै बस्थ्यौँ हामी। त्यसले जहिले पनि मलाई नेपालको हो भन्थ्यो।म केही पार्थक्यका कुरा गरिदिन्थे। थाहा छैन उसले बुझ्यो या बुझेन। निकै भिड जम्मा भइसकेको थियो।अब। स्टेशन भित्र। मेट्रो आएर हाम्रो अघि बिस्तारै रोकियो। सबैलाई हतार र होडबाजी छ।

मेट्रोमा जसको शक्ति उसको भक्ति। गोबिन्द कता गयो मलाई पनि मतलब रहेन। अलिक खाली डब्बा हेरेर म पनि भित्र पसे। खाली सिटमा हतारको साथ बसे। मेट्रो चढ्दा सबभन्दा इरिटेट चै मलाई यो बोली रहने स्वर लाग्छ र रिस उठ्दो यो ट्वाँ ! ट्वाँ !! बजिरहने एलर्ट ट्युन !! तर यो सबै यात्रीहरू झेल्नु नै पर्छ।

एम्सबाट हुड्डासम्म पुग्नु पन्द्रबटा स्टेशन नाघ्नु पर्छ। ग्रीन पार्क, होसखास, कुतुब मीनार, गुरू द्रोणाचार्य, एमजी रोड अरू थुप्रै।एकैगतिमा मेट्रो चलिरहन्छ। अलार्म ट्युन र अपरिचित गह्रौ स्वर बजिरहन्छ।

मेरो‌ छेउ एक ग्रुप बिदेशी केटा केटी बसेका थिए।अब लस्ट हाम्रो टुर गोवा ! एउटाले निकै गम्भीरले अरूलाई भन्दै गरेको मैले पनि सुने।सबैले हो ! हो !! भन्दैथिए। मिनि बिदेश भईसकेको गोवा यी कुइरेहरूले के छोड्थे। मन मनै आफैसँग गोप्य गफ गरे मैले।

मेट्रोमा प्राय यात्रीहरू मोबाइल र हेडफोनमा व्यस्त हुन्छन्। तर मलाई भने मोबाइल हेर्यो की टाउको दुख्छ। म गुमसुम एक्लै चुप बस्नु मन पराउँछु। त्यसैले प्याट ! प्याट !! बोली रहने त्यो गोबिन्ददेखि पनि अघि नै छुटेको छु।त्यो अर्कै डब्बामा मलाई खोज्दै होला।

मेरो सिधा अघिल्लो सिटमा एक व्यक्ति देखेर म निकै सोचाइमा परे। कहाँ देखे जस्तो।कतै चिने जस्तो। अनि कहि बोले जस्तो।

यो व्यक्ति ग्रीन पार्कबाट चढेको हो। म उसलाई हेरिरहन्छु।फ्यालटर टोपी लगाएकोले होला उसको अनुहार म आधा मात्रै देख्छु। तर घरि घरि पुरा नै पनि देख्छु। लुगा र जुत्ता पनि ब्राइड कम्पनी कै देखे मैले। दाहिने हातको दुई औँलामा ठुल्ठुला सुनको औँठी स्पष्ट देखिरहेको थियो। तर बहुत दोधारमा म परे। दिमागमा नै आएन उसको परिचय।

बिचमा आईरहने स्टेशनमा मेट्रो रोकिने र यात्रीहरूको चढ्ने र ओर्लने क्रम जारी नै छ।

त्यो व्यक्तिको छेउमा सिट खाली भयो। मलाई त्यहाँ गएर बस्नु मन छ।र उसलाई सोध्नु मन छ–मैले हजुरलाई कतै देखे जस्तो लाग्छ। मलाई चिन्नुहुन्छ ??

तर मभन्दा पहिल्यै एक युवती गएर त्यहाँ बसि हाली।मेरो छेउका कुइरेहरू पनि एमजी रोड स्टेशनमा ओर्ले। मतिर तर त्यो व्यक्तिले एकपटक पनि हेरेन। औँलामा दुईवटा सुनको औँठीमा मेरो नजर घरि ! घरि !! पुगिरहयो।

अब केही क्षण पछि मेट्रोको अन्तिम स्टेशन हुड्डा सिटी आइपुग्छ। इफ्को चोकमा रोकियो मेट्रो। गोबिन्द ओर्लियो होला।सोचे। त्यो व्यक्ति यहाँ पनि ओर्लेन। हुड्डा सिटीदेखि उता हरियाणा शुरू हुन्छ। मलाई पनि हरियाणाको बाटिका चोक पुगेर एक मिटिङ एटेण्ड गरि फर्किनु छ।

म आफैँमा बडो असमञ्जसमा परे।
को हुन त यी व्यक्ति ??
मलाई आपत पर्यो।
यो निश्चित हो मैले उसलाई देखेको हो। तर कहाँ ? कहिले ?? याद आएन। पटक्कै।

मेरो नजर उ माथि निरन्तर परेको छ। तर त्यो व्यक्तिले मतिर एकपल्ट पनि हेरेन।उ छेउको युवतीसँग गफ गर्दै थियो। कुन भाषामा ? मैले पत्तो नै लगाउन सकिन।घरि घरि उ निक्कै हाँस्यो।

छ्याङ्ग देखे उसको अनुहार मैले। उ दार्जिलिङमा निकै चर्चित नेता थियो जो अहिले दिल्लीमा बिस्तापित जीवन बिताइरहेको थियो।

मेट्रोबाट झरेर म आफ्नो गन्तव्य तिर लागे। मलाई थाहा छैन ती हाम्रा नेता कता गए।

प्रतिक्रिया

सम्बन्धित खवर