ताप्लेजुङमा जन्मिएका कवि पराजित पोमु एघार वर्षदेखि कोरियामा कार्यरत छन् । उनले आफ्नो पछिल्लो कविताकृति ‘मद्वारा मेरो निर्माण’ कोरियाबाटै विमोचन गरेका छन् । उनी इतर अभियान नाम साहित्यका अभियन्ता पनि हुन् । यसअघि उनको पहिलो कविता कृति २०७३ सालमा ‘लेप्मुहाङको डुङ्गा’ प्रकाशित छ । सयुंक्त कवितासङ्ग्रहको रूपमा इतर कविता (आदिवासी सौन्दर्य कविता), यो मेसिनको सहर हो (नेपाली कोरियन दुई भाषाको कविता) र भुईमान्छेका आवाज (मातृभाषी नेपाली दुई भाषाको कविता) प्रकाशित छन् । आजको पुस्तक वार्तामा सेतोमाटो सहकर्मी जनक कार्कीले कवि पराजित पोमुसँग कविताका विविध विषयमा गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः

‘मद्वारा मेरो निर्माण’ कवितासङ्ग्रह लिएर नेपाली साहित्यमा उदाउनुभएको छ । कवितासङ्ग्रहको नाम नै एक लाइन कविता जस्तो छ । यो नामले आध्यात्मिक दर्शनलाई पनि प्रतिनिधित्व गर्छ भने भौतिक दर्शनलाई पनि समेट्छ । यो नामद्वारा तपाईंले कवितामा कस्तो विचारको स्वयंको ‘निर्माण’ गर्ने सन्देश दिन खोज्नु भएको छ ?

हामी भौतिकवादी दुनियामा बाची रहेको छौँ। भौतिकवादी दुनियाले हामीलाई यति शृङ्गारिक बनाएको छ कि हामीभित्रको मानवीय मूल्य मान्यता संवेदना, मानव अस्तित्व दिनानुदिन रित्तो हुदै गएको अवस्था छ । यसो हुनुको मुख्य कारण म को हुँ भनेर आफैँभित्र आफूलाई खोज गर्न नसक्नु हो । जसको खोज गर्न अध्यात्मकवादी दर्शनद्वारा मात्र सम्भव हुन्छ,र आफूद्वारा स्वयं आत्माको खोजी गर्न सकिन्छ।

भौतिकतवाद भनेको बाहिरको संसारको अन्तक्रिया हुन् भने अध्यात्मवाद अन्तर्मुखी प्रक्रिया हो । भौतिकवाद र अध्यात्मिकवादको सन्तुलित समायोजनबाट मात्र हाम्रो मौलिक मीमांसा र मौलिक सौन्दर्य चेत निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ।

माटो छोडेर जानेहरूलाई सबैभन्दा बढी याद केही कुरा आउँछ भने त्यो हो माटोको । तपाईं पनि माटो छोडेर कोरियामा रोजगारी गरिरहनु भएको छ। वितेका केही वर्षलाई हेर्ने भने कोरियाबाट नेपालमा रेमिट्यान्स मात्र होइन अब्बल कविताकृति पनि भित्रिरहेका छन्। परदेशमा त समयको अभाव हुन्छ भनिन्छ, यस्तो व्यस्त जीवनबाट कोरियामा कसरी अत्याधिक मात्रामा कविता सिर्जना भइरहेका छन् जस्तो लाग्छ ?

अवश्य हो, घरदेशदेखि छुटिदै गर्दा धेरै कुरा छुटिरहेको हुँदोरहेछ। छुटाईमा पिडा, छट्पटाई र एक्लोपनले मन नैरश्यता हुँदोरहेछ त्यसका कारण पनि सिर्जनात्मक कार्यमा लगाइएको पाइन्छ तर यस्तो मात्र पनि होइन् । कोरियाको सन्दर्भमा इतर अभियान तथा अन्य साहित्य संस्था समूहहरू पनि छन् जुन अभियानसित जोडिएर नेपाली तथा विश्व साहित्यको वहस छलफल हुने गर्छ ।

यस्ता वहस छलफलले सिर्जनात्मक माहोल निर्माण भएको हो। दोस्रो कुरो कोरियामा पछिलो पुस्ताका साहित्य लेखनमा चासो राख्ने युवा पिढीहरू बढी मात्रामा रोजगारको खोजीमा निस्किएका हुनाले पनि उनीहरूसँग सञ्चार माध्यमको पहुँचबाट विश्वलाई सजिलै चियाउन सक्छन् यसले पनि केही सहायक भुमिका निर्वाह गरेको हुन सक्छ। कोरिया ब्यास्तताको हिसावले मेक्सिकोपछि दोस्रो ब्यस्त श्रमशिविर ( रोजगार) स्थान मानिन्छ । तथापि व्यस्तताकाबीच पनि समयलाई उचित मेनेज गरेर बचेको समयमा साहित्य सिर्जनामा लागेको पाइन्छ। कोरियाको हकमा त्यसकै उपज पनि हुन सक्छ ।

खासमा कविता यस्तो कुरा हो जसलाई कसैले पनि कविता लेख भनेर अह्राउन्न । एउटा कविमा के त्यस्तो हर्मोन हुन्छ होला जसले आफैद्वारा आफैँलाई कविता लेख्न निर्देशन गरिरहन्छ ?

मानिस चेतनशिल प्राणी हो । चेतनाद्वारा मानिस सधैँ कहीँ कतै उद्धेलित भई रहेको हुन्छ।आममान्छेभित्र कवितात्मक भाव हुन्छ तर म के लेख्ने ,कसरी लेख्ने, सुरु के बाट गर्ने भनेर छटपटाई रहेको हुन्छ। जसले जीवन र जगतद्वारा देखाई र भोगाईको अनुभुतिलाई सिर्जनात्मक भावबाट अभिव्यक्त गर्न सक्षम हुन्छ । वस्तुतः कविताको सृजना हुन्छ कवि बन्छ । कविमा खास त्यस्तो कविता लेख्नै निर्देशन गर्ने हर्मोनचाहि हुन्छ जस्तो लाग्दैन् ।

यो संसारमा यति धेरै दुःख छन् । यति धेरै समस्या छन् । खुसीको खोजमा मान्छे दुःखको दलदलमा झन् फस्दै गइरहेका छन् । यस्तो अवस्थामा कविताले खुसी बाड्न सक्षम होला त ?

बुद्धले भन्नु भए जस्तै संसारमा दुःख छ । समस्या छ तर त्यसको कारण छ । हामीले कारण पत्ता लगाउन नसकेर हामी दुःखी बनिरहेको हुन्छौँ । समस्याको चङ्गुलमा फस्दै गइरहेका हुन्छौँ । कविताको सवालमा एउटा राम्रो कविताले मिठो सङ्गीतझैँ अन्तरमनमा झङ्कृत बनाउन सक्छ । सकारात्मक उर्जा दिन्छ । मेडिटेसन दिन सक्छ। राम्रो कविता लेखिसक्दा स्वयम् लेखकको मनमा जति खुशी हुन्छ । पाठकमा त्यही अनुभुत नगर्न सक्छन् । किनकी कविताको भाव, गहिराईअनुसार फरक पाठकको पठन र बुझाईमा निर्भर पर्छ ।

तपाईंको जीवनमा कविताले कस्तो अर्थ राख्छ ?

मानव जीवन नै सृष्टिको सुन्दर सिर्जना हो । त्यसर्थ, जीवन एऊटा सुन्दर कविता हो। कविता जीवनको एक सानो अंश हो । जीवनले देखेका, भोगेका समष्टिगत उतरदायित्वहरूलाई अभिव्याक्त गर्न र सबैको पहुँचसम्म सजिलो र छरितो बैचारिक संश्लेषण माध्यम कविता भएकोले पनि आममान्छेबीच खास अर्थ राख्छ जस्तो लाग्छ ।

कवितालाई गर्न नसकिने भनेको व्याख्या हो, त्यहीँ गर्न नसक्ने काम तपाईंलाई दिए भने कसरी भन्नुहुन्छ, के हो कविता ?

कविता के हो ? भन्नेबारे धेरै चिन्तकहरूले अनेकन परिभाषित गरिसकेका छन् । अब के होइन कविता ? यसमाथि वहसको विषय बनाऊन जरूरी देखिन्छ। किनकी बजारमा व्याप्त ग्लामर कविताहरूको हाऊँगुजी बढेको अवस्था छ । त्यसका सीमा, मापनबारे गहिरो नापतौल नगर्ने हो भने नेपाली कविताको अस्तित्त्व झन् कमजोर बन्दै जाने खतरा छँदैछ।

मेरो विचारमा चाहि कविता भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभुतबीच बिचारको मन्थनबाट सृजित काव्यात्मक अभिब्याक्ति कविता हो।

हामीले बाँचिरहेको समय मात्र होइन विगत र भविष्यको समयलाई पनि कविले दृष्टिपान गरिरहेको हुन्छ । खासमा कविभित्र के हुन्छ जो आममान्छेमा हुन्न ?

कोरियामा कवि शब्द बुद्ध शब्दबाट लिएको मानिन्छ। बुद्ध भन्ने बित्तिकै ज्ञान, बुद्धत्व प्राप्त भएको मानिसलाई बुझिन्छ। जुन ब्यक्ति ज्ञान, साधनाबाट सत्मार्ग डोर्याऊन सक्षम बन्छ ऊ कवि बन्छ। सायद त्यसैले होला कवि आममान्छेले भन्दा ज्ञान, बिवेक र चिन्तनको कारण समयको वर्तमान र भविष्यको दृष्टिपान गर्न सक्छ मानिएको हुन सक्छ।

तपाईं पछिल्लो समय कुन कुन किताब पढ्नुभयो र मनपरेका केही पुस्तक ?

पछिलो समय म पढ्नमा अलि अल्छी र चुजी भएको छु । साथीभाइहरूबाट राम्रा किताबको नाम सिफारिस आए पनि आफ्नो आवश्यकता र समयको ध्यानमा राखेर बुकहरू पढ्ने गरेको छु। भर्खरै मैले हरारीको मानव जातिको इतिहास र डा. गोविन्द उपाध्यायको परिचयात्मक पाश्चात्य दर्शन पढिसकेको थिएँ । म पढ्दा लिष्ट बनाएर पढ्दिन तर पढेर मन परेको केही पुस्तकको नाम लिनु पर्दा, नेपालीमा ‘ पागल बस्ति’ ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’, विदेशी पुस्तकहरूमा द अलकेमिस्ट, र The old man and the Sea इत्यादि ।

‘मद्वारा मेरो निर्माण’ले कस्ता कविता बोकेको छ ?

जीवन र जगत बोधी, मन, मुटु र मष्तिक केन्द्रित बनाएर लेखिएको कविताहरू छन् जस्तो लाग्छ। बाँकी आम पाठकको माझ बजारमा छ फैसला गर्ने काम उहाँहरूकै जिम्मा छोडि दिने हो कि ?

कविताको पाठक कम छन् भन्छ्न् नि किन होला ?

म यो कुराप्रति असहमति छु किनकी सबैभन्दा बढी लेखिने र पढिने विधा नै कविता विधा हो। हरेक स्टेजदेखि लिएर सडकसम्म कविताले पाठक पाएकै हुन्छ। तर, अर्को कुरो बजारशास्त्रको हिसाबलेचाहिँ कविता विधा अलि कम बजारमा जान्छ भन्ने हल्ला छ त्यो पनि मिथ्या लाग्छ । किनकि राम्रो कविताको किताबहरूले राम्रो बजार पाएकै छन्।

पुनः लेखकले पाठकमाथि नजर अन्दाज गरेर सिर्जना गर्ने पनि होइन जस्तो लाग्छ मेरो विचारमा। तथापि वस्तुत् स्वयंम कवि÷लेखकको पनि कविता प्रति लेखकीय समिता,मर्यादा गौरजिमेवार प्रवृति देखिन्छ अर्को कवितामा गहनता, क्लिष्टता,ध्यान नदिनु परम्परारागत शैलीको निरन्तरता जस्ता कारण पनि घट्दो पाठक भएको हुन सक्छ।

एउटा कविता सिर्जना हुन के कस्तो प्रक्रियाद्वारा गुज्रिन्छन् यहाँको अनुभवमा ?

११औँ शताब्दीका प्रसिद्ध इटालियन ‘ द डिभाईन कमेडीका लेखक दान्ते को भनाई याद आयो। जब दान्ते कविता लेख्न सुरू गर्थे। आफूले लेख्दै गरेको कविता पढ्दै घुमी घुमी लेख्दै पढ्दै लेख्दै लेख्ने गर्थे रे। त्यस्तै, मलाई पनि कविता लेख्दा– विषय छनोट, शब्द चयनमा लेख्दै मेट्दै शब्दहरू उचित छाँटकाँट गर्दै केही नयाँ मिल्दो बिषय थप्दै गर्ने गर्छु। बडो सकसको छटपटाई हुन्छ । एकै बसाईमा कहिल्यै कविता लेखेर सक्दिन् । जब कविता तयार हुन्छ मनमा बेग्लै अनुभुति मिल्छ। त्यसपछि नजिकका साथीहरूसँग बसेर पढ्ने छलफल गर्ने गर्छु । प्रायः मैले कविता सिर्जना गर्दा यो प्रक्रियाद्वारा दोहोरी रह्ने गर्छु ।

अन्त्यमा के भन्नहुन्छ ?
भर्खरै मेरो ‘मद्वारा मेरो निर्माण’ कविता सङ्ग्रह बजारमा आएको छ। सङ्ग्रहभित्र केही फरक क्राफ्ट प्रयोग गर्न प्रयास गरेको छु। यहाँहरू सम्पूर्ण पाठकको अदालतमा उभिएको छ पढेर सुझाव प्रतिकृया दिन सक्नु हुने हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर