मोरङमा जन्मेका शिव प्रकाश साहित्य दर्शन र राजनीतिक विषयमा कलम चलाउँछन् । अमेरिकामा बसोबास गरिरहेका उनको ‘जमैली’, ‘घागी’ (कथासङ्ग्रह) र ‘जय नेताजी’, ‘गोलमाल’ (हास्यव्यङग्य कवितासङ्ग्रह) प्रकाशित छन् । ‘समभोक’, शिव प्रकाशको पहिलो उपन्यास हो । सेतोमाटोका सहकर्मी जनक कार्कीले शिव प्रकाशको नवीनतम् उपन्यास ‘समभोक’मा आधारित भएर साहित्य र दर्शनका विषयमा गरेको कुराकानी प्रस्तुत छः

भोक, भोग र सम्भोग मरे भने संसारको अस्तित्व सकिने कुरा बताउनुभ एको छ । के यो संसार यही तीन कुराले मात्र चलेको हो ? यदि, हो भने कसरी ?

तपाइँको प्रश्न लामो छ तर मेरो उत्तर छोटो छ । भोक, भोग र सम्भोग सिर्जना र सृष्टिका सार हुन् । सारबिनाको संसार निसार हुन्छ । मेरो किताब ‘समभोक’ले त्यही सारको कुरा गरेको छ ।

यौन दर्शनमा आधारित उपन्यास भनेर पनि चर्चा गरिएको छ । यौन दर्शनमा पूर्वीय साहित्यमा कामशुत्रदेखि विभिन्न शास्त्रले व्याख्या गरेको छ । तपाईंको यौम दर्शनमा के फरक पाइन्छन् ?

कामसूत्रलाई हामीले कसरी बुझेका छौ ? कसरी ग्रहण गरेका छौं ? यसलाई म रति रहस्य पनि भन्छु । त्यसमाथि यौनलाई हामीले कसरी बुझेका छौं ? हलुका कुरा हैनन् यौनका कुरा । समभोग उपन्यासले समग्रलाई समाएको छ । यौनभन्दा पनि भोक दर्शनलाई अँगालेको छ । त्यो समग्रताभित्र यौन हैन यौनिकतालाई जीवनको केन्द्रीयतामा राखेर हेरेको छ । यौनिकता मान्छेको केन्द्रीय आयाम हो ।

भोकलाई नमार भनेर ‘संभोग देखि समाधि’मा ओशोले भनेका छन् । हुन त ओशोको प्रवचन ‘संभोग’देखि समाधि शिव शुत्रबाट लिइएको हो। तपाईंले शिव शुत्र र ओशोले दिएको प्रवचनलाई अनुशरण गर्नुभएको हो ?

विचार मस्तिष्कका पाहुना हुन् । मेरो मस्तिष्कमा बास बसेका ती पाहुना तपाईँको मस्तिष्कमा पनि बास बस्न आउन सक्छन् । यसको अर्थ मेरो विचार तपाइँले लिएको हो भन्न मिल्दैन । संयोगले तपाइँ र म कहीँ ठोक्कियौ भने झगडा गरेको हुदैँन । म आफूलाई ओशोसँग दाज्न सक्दिन, न कल्पना नै गर्छु । ओशोले कहाँबाट लिनु भो त्यो पनि मलाई थाह छैन । मेरो क्षमता जे हो त्यही लेखेको छु । कसैको अनुहार कोहीसँग मिल्न सक्छ । त्यसको मतलब त्यो हैन कि ती एकै बाबुआमाका सन्तान हुन् । समभोक पढे थाह हुन्छ । समभोक वस्तुतः यौन हैन भोक दर्शन हो भन्ने कुरा पाठक–समीक्षकले भन्दै आएका छन् । समभोकले भन्छ– ‘सबैकुराको जन्म भोकबाट हुन्छ ।’

तपाईको विचारमा यौन स्वतन्त्र हुनुपर्छ वा पर्दैन ?

फेरि पनि मेरो उही प्रश्न– यौन के हो ? हामी केलाई यौन भन्छौं ? यौनिकता के हो ? यौन र यौनिकतालाई हेर्ने दृष्टिकोणमा भर पर्छ । बुझाईमा भर पर्छ । सांसारिक आँखाले मात्र हैन दर्शनका दृष्टिले पनि हेर्नु पर्छ । उत्तर पाइन्छ । ‘समभोक’ले उत्तर खोज्ने प्रयास गरेको छ ।
मानिसलाई आफ्नो उर्जाले साथ दिँदासम्म दैनिक यौन चाहना हुन्छ । यो किन भएको होला ?

धेरै कुरा हाम्रा बुझाई भन्दा बाहिर छन् । तीमध्ये भोक, भोक र सम्भोग पनि हुन् । हामीले यी तीन कुरासँग सधैँ यौनलाई जोडेर हेरेका छौँ कि जस्तो लाग्छ । समभोगले यिनै तीन कुरालाई हाम्रो बुझाईभन्दा माथि राखेर हेर्न खोजेको छ कि ? पाठक–समीक्षकले खुट्याउनु हुनेछ । म बोल्नुभन्दा पनि मेरो किताब ‘समभोक’ बोल्छ ।

तपाईं उपन्यासमार्फत एउटा दर्शन स्थापित गर्न भन्नुहुन्छ । यो दर्शनले समाजलाई कस्तो खालको चेतन दिन सफल होला ?

मान्छेले भोकलाई कसरी व्यक्त गर्छ ? भोजनलाई कसरी ग्रहण गर्छ ? समभोकको सारलाई पाठकले जसरी बुझ्छन् त्यसरी ग्रहण गर्छन् । म कुनै ‘मिस्टिक‘ हैन । सामान्य लेखक हुँ । दर्शन भनेको दृष्टि हो । भोकप्रतिको मेरो दृष्टि ! समभोकले यी सबैमाथि दार्शनिक दृष्टि राख्न खोजेको छ । कति सफल भयो ? समभोक आफैँ बोल्छ ।

आधारभूत आवश्यकताको भोकलाई भोग गरिसकेपछि मात्र अन्य शौखिन भोकको जन्म हुन्छन् । भोकको यात्रा कहिले समाप्त नहुने हो ?

हामी भोक केलाई मान्छौँ ? समभोकले त्यसको उत्तर खोज्ने प्रयास गरेको छ । किताब पढ्न सुझाउँछु ।

सबै भोकलाई पूरा गर्न पर्ने हो र, केही कुराको त त्याग पनि गर्न जान्नुपर्छ भनिन्छ नि ?

भोग गर्ने भोक पनि भोकबाटै जन्मिन्छ । त्याग गर्ने भोक पनि भोकबाटै जन्मिन्छ । ‘समभोक’मा भोकदेखि भोग हुदै सम्भोगसम्म पुग्दा त्याग र समपर्णका कथा पनि भेटिन्छन् । फेरि पनि सुझाउँछु– समभोक पढेर मलाई फेरि पनि प्रश्न गर्नु होला ।

भोक असल वा खराब कस्ता हुन्छ्न्, अथवा भोकलाई भोग गर्नेमा भर पर्छ ? भोक विनाको मानिस हुन्छ भने त्यो कस्तो मानिस हो ?

कुन असल कुन खराब कसरी छुट्याउने ? तपाइँलाई खराब लागेको मलाई असल लाग्न सक्छ । आमालाई आफ्ना सन्तान सधैं असल लाग्छन्, ती जस्तासुकै हुन् । चोरलाई चार्ने र ठगलाई ठग्ने पेशा नै असल लाग्छन् । यी सबै भोकबाट जन्मिन्छन् । चोरले चोर्न पायो भने उसले भोग ग¥यो तर फेरि भोक बढेर आउँछ । भोगको भोग झन् बढ्छ । भोकबिनाको मानिस हुदैन । भोक सार्वभौम छ । भोक नैसर्गिक रुपमै मानिसभित्र निहित छ । मानिस जन्मदै भोकाएर जन्मिएको हुन्छ । त्यसैले रुन्छ । आमाको दूध खोज्छ ।

अन्त्यमा, तपाइँको उपन्यास ‘समभोक’मा पाठकले के पाउँछन् ?

एकमा नयाँ ‘जिनिस’ । अर्थात नयाँ ‘कन्टेन्ट’ । दुईमा त्यो नयाँ जिनिसभित्र खुसी । तीनमा त्यो खुसीसँगै मनोरञ्जन । साहित्य पढेपछि पाठक खुसी हुनु पर्छ । पाठकले मनोरञ्जन गर्नु पर्छ । पाठकले केही नयाँ कुरा पनि पाउँनु पर्छ । पाठकले पैसा खर्चेको हुन्छ । पाठकले समयल खर्चेको हुन्छ । पाठकले मस्तिष्क पनि खर्चेको हुन्छ । छोटोमा भन्न पर्दा पाठकलाई समभोकले निराश बनाउँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर