
समकालीन नेपाली कवितामा सुपरिचित नाम हो कवि अमृता स्मृति । धादिङ् जिल्ला ज्वालामुखी ४ ढोलामा माता गीता अर्याल र पिता हरिप्रसादबाट जन्मिएकी कवि अमृताका दुई कवितासङ्ग्रह ‘स्मृतिका आवाजहरू’ र ‘नदीको तिर्खा’ प्रकाशित छन् ।
उनकै लेखन/सङ्कलन तथा सम्पादनमा ‘लक्ष्मण राजवंशी स्मृतिग्रन्थ’ पनि प्रकाशित छ । राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकामा उनका कविताहरू पढ्न पाइन्छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४’ र २०७९ मा कास्यपदक र रजत पदक प्राप्त गर्नुका साथै महामण्डल साहित्य सम्मानबाट सम्मानित समेत भएकी उनी विइस्नस्पायर र युनेस्को नेपालले गरेको ‘देशव्यापी खुला कविता प्रतियोगिता’मा प्रथम भएकी थिइन् । प्रस्तुत छ, उनै कवि अमृतासँग सेतोमाटो डटकमका सहकर्मी जनक कार्कीले आँगनका लागि लिएको अन्तर्वार्ताको सम्पादित अंश
कविता सङ्ग्रह ‘नदीको तिर्खा’ केही महिनाअगाडि लोकार्पण गर्नुभयो । कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ ?
पाठकको प्रतिक्रिया र स्नेह नै ‘नदीको तिर्खा’ कृति सफलताको साँचो हो । उहाँहरूको अचुक प्रेमले सिर्जनात्मक जीवन पल्लवित–पुष्पित–फलित भएको महसुस गरेकी छु । आभारी छु !
कविताकृति पनि लोकार्पण हुनु र तपाईं विदेसिनु एकैपटक भएको छ । कस्तो छ अमेरिकाको जीवन ?
‘नदीको तिर्खा’ पाठकलाई सुम्पिएलगतै म अमेरिका आउनुपर्यो । नयाँ परिवेश, नयाँ मान्छेहरू, नयाँ दिन, नयाँ रात, नयाँ जीवनशैली र फरक–फरक अनुभूतिहरूमा आफूलाई घोल्ने प्रयत्न गरिरहेछु ।
मानिसको जीवन निकै अस्तव्यस्त बन्दै गएको छ । प्रतिस्पर्धा, सपना, प्राप्ति, खुसी जस्ता कुरामा मान्छे यति व्यस्त छ कि उसले कलालाई जोगाउने कला नै बिर्सिसक्न थाल्यो । यस्तो अवस्थामा कवितालाई जोगाइरहन, कवितालाई फैलाइरहन के गर्नपर्छ जस्तो लाग्छ ?
मानिस व्यक्तिगत प्राप्तिका विषयमा धेरै लिन भएको समय हो यो । सच्चा कलाप्रेमीहरूले कलालाई जोगाउने कला भने विर्सेका छैनन् । आज पनि उत्तिकै सुन्दर कविताहरू लेखिएका छन् । उत्तिकै सुन्दर चित्र कोरिएका छन् । गीतहरू परिमार्जन र नविनशैलीको मार्गमा छन् । अन्नबाली लगाएको ठाउँमा गन्धे पनि उम्रन्छ । कहिले धेरै गन्धे उम्रन्छ त कहिले धेरै अन्न ! कुनैकुनै झार र साग उस्तै देखिन सक्छन्, एउटा सचेत पाठकले त्यसलाई सहजै छुट्याउन सक्छ ।
तपाईंको कवितासङ्ग्रह ‘नदीको तिर्खा’मा अटाएका कविताको आवाज के-कस्ता हुन् ?
कविता भनेको मुठ्ठीमा बन्द गरिएको या कुनै लम्बेतान जुलुसमा गर्जिएको कर्कस आवाज होइन । कविता समाज र प्रकृतिको पुजारी हो । भक्त हो ! हृदयमा उम्रेर धर्तीमा हुर्केर आकाशमा उड्ने अद्भूत तरङ्ग हो कविता । जसले जीवनलाई जीवनजस्तै बाँच्न सिकाउँछ । मेरा कविताले यिनै पेरिफेरी समात्छन् । दोस्रो कवितासङ्ग्रह ‘नदीको तिर्खा’ आएपछि यसभित्र रहेका ५० कविताहरूले के भन्छन् ? कस्ता छन् ? यो नियाल्ने जिम्मा अब पाठकको भएको छ ।
दुनियाँ डिजिटल बन्दै गयो । आजभोलि किताबलाई उपेक्षा गर्न पनि थालियो । यस्तो अवस्थामा पठन संस्कृति जोगाउन र बढाउन के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
डिजिटल दुनियाँका आफ्नै किसिमका फाइदा र बेफाइदाहरू छन् । पठन संस्कृति जोगाउन र बढाउन पुस्तकालय निर्माण व्यवस्थापन र पहुँचमा ध्यान दिनुपर्छ । डिजिटल माध्यमबाट पनि पठन संस्कृतिको विकास गर्न सकिन्छ ।
संसारका विभिन्न कुनामा रहेका लेखकहरूका सिर्जना अनलाइनबाट किनेर पढ्न पाइनु पनि पठन संस्कृतिको विकास नै हो । नजिकका पुस्तकालय र पुस्तक पसलहरूमा पाठकले चाहेका सबै पुस्तक उपलब्ध नहुन सक्छन् । प्रविधिको विकासले पठन संस्कृतिलाई फरक तर विस्वव्यापीकरण गरेको छ । पाठक तथा स्रोताका आआफ्नै खाले रूची हुन्छन् । मलाई भने पुस्तक काखमा राखेर पढ्न प्रचुर आनन्द लाग्छ ।
यो समाजलाई कविता किन चाहिन्छ जस्तो लाग्छ ?
कविता कवि बाँचेको समयको चित्रण हो र भविष्यको मिठो सपना पनि हो । हामीले अग्रज कविहरूका कविताबाट हिँजोको समाज नियाल्यौँ । भोलिका मानिसले आजको समाजलाई हेर्न कविता चाहिन्छ !
यहाँको जीवनमा कविताले कसरी प्रवेश गर्यो, कविताले यहाँलाई भेट्टाएको कि यहाँले कवितालाई ?
थाहा छैन कविताले भेट्टायो वा कवितालाई भेट्टाएँ ! कविता मेरो जीवनको उज्याला-अँध्यारा पाटाहरूको साक्षी हो ! दश वर्षको उमेरमै घरबाट टाढिनु र फोन सम्पर्कको जमानासमेत नहुँदा म कवितामा पोखिन पुगेँ । पछि प्रकृति, समाज र देश मसिमा घोलिँदै गयो ।
एउटा कविले हरेक क्षण बाहिरको दृश्यलाई हेरेर आफू भित्र कस्तो खालको संसारको निर्माण गरिरहेको हुन्छ ?
आममानिसको हेराइ र कविको हेराइमा फरक हुन्छ । शितको थोपामा पनि कविले सागर देख्न सक्छ । सागरमा पनि आममानिसले पानी देख्ला तर कवि यसको लय समात्दै गहिराइमा डुब्दै उत्रिदै गर्नसक्छ ।
विभिन्न कविता प्रतियोगितामा विजयी हुनुभएको छ, प्रतियोगिताले कवि फुल्न फुलाउन कत्तिको सहयोग गर्दो रहेछ ?
प्रतियोगिता भनेको एउटा जन्मिसकेको कविताको मुल्याङ्कन हो । उम्रिसकेको कविलाई प्रतियोगिताले तिमी जन्म्यौ भन्छ । जसबाट एउटा कविलाई उत्साह मिल्छ । सिर्जनशिल जाँगर चल्छ । फुल्न फुलाउन प्रेरणा दिन्छ ।
हामी नेपाली कविको परिवार कस्तो पाउनुभएको छ ?
परिवारको कुन पाटो भन्न खोज्नुभएको प्रष्ट भएन । कोही लेख्नका लागि लेखिरहेछन् । कोही नामका लागि लेखिरहेछन् । कोही जीवनलाई नै कविता बनाएर यसमै समर्पित छन् । यसक्रममा पारिवारिक जिम्मेवारीबाट कवि भाग्न सक्दैन । आर्थिक, जातीय तथा धार्मिक असन्तुलनका बाबजुद् नेपाली कविहरू लेखिरहेछन् । सिर्जनाकर्मप्रतिको मोह लोभ लाग्दो छ । कविता नै कविहरूको आर्जन हो ।
तपाईंको लागि एउटा कविता सुन्दर हुन के(के हुनुपर्छ लाग्छ ?
कविताहरूमाथि विभिन्न धारणा बनाउँदै भत्काउँदै फेरि बनाउँदै गर्दा, मलाई लाग्छ कविता विचार र कलाको सम्मिश्रणबाट उचित बिम्बको सहि प्रयोग पश्चात् जन्मने एउटा आविष्कार हो । कविले कविताको आविष्कार गर्छ । कविताको सौन्दर्य सधैँ मौलिकतामा हुन्छ ।
हामी सिमान्तकृतका कविता लेख्छौ तर ती कविता सिमान्तकृतसम्म कहिल्यै पुग्दैन । यस्तो खाडल पुर्न के गर्नुपर्ला ?
एउटा कविले यसका लागि लेख्छु, उसका लागि लेख्छु भनेर लेख्छ जस्तो मलाई लाग्दैन । बरू देखेभोगेको परिवेशले जब उसलाई बेस्सरी हिर्काउँछ, जब उसलाई दुःखले चिमोट्छ र खुसीका उन्मादले करेन्ट दिन्छ तब कविताको झिल्का उत्पन्न हुन्छ । कविताका पाठक विशेष खालका हुन्छन् । सबैले पढ्नुपर्छ बुझ्नुपर्छ भन्ने पनि छैन । सिमान्तकृतका दैलामा अक्षरको उज्यालो लालटिन बाल्ने कवि होस् या लेख डाडाँको झरनामा झर्झर् कविता लेख्ने कवि होस् एउटा कविले त लेख्ने हो ।
कविता लेख्ने मात्र होइन जिउने कुरा पनि हो भन्छन् । कविता जिउन के गर्नुपर्छ जस्तो लाग्छ ?
एउटा कविता कल्पनाको उडान भर्दै सत्यको जरासम्म पुग्नुपर्छ भन्ने लाग्छ । उडानमा होस् या बिस्राममा होस् एउटा इमानदार कवि सधैँ कवितामा बाँचेको हुन्छ । कविता जिउन नाराजुलुस गर्नुपर्दैन, ढोङ्ग र विज्ञापनका कलेवर पहिरिएर ठाँटिनु पर्दैन । बस् सत्य, इमान्दार र कल्पनामा जिउन सकिन्छ कविता ।
कवितासङ्ग्रह आउने र तपाईं जाने सँगसँगै हुँदा जति पाठकसम्म पुग्न पर्ने हो त्यति नपुगेको महसुस गर्नुभएको छ ?
पुस्तक प्रकाशित भएको दुई महिना नबित्दै पुस्तक राम्रो बिक्री भएको छ । सकारात्मक प्रतिक्रियाहरू आएका छन् । म आफैँले बजार व्यवस्थापन गर्ने होइन । प्रकाशकले गरिरहनुभएकै छ । त्यसैले म हुनु र नहुनुले खासै फरक नपर्ला । म भनेकै ‘नदीको तिर्खा’ हो जुन मैले उहाँहरूको पिँढीमा राखेर आएको छु, काखमा राख्ने पालो पाठकहरूको । सम्पूर्ण व्यवस्थापनका निमित्त प्रकाशक फिनिक्स बुक्सलाई धन्यवाद !
तपाईंलाई मनपरेका चारवटा कविताहरू कुनकुन होलान् ?
मलाई मन परेका कविताहरू धेरै झन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘भिखारी’ कविता मलाई अहिले पनि मुखाग्र छ । कवि भूपि शेरचनको ‘नयाँ वर्ष’ कवि वैरागी काइँलाको ‘एकान्तको अजिङ्गर’ र तुलसी दिवसको ‘बाटो’ जति पढे पनि पुग्दैन । यस्ता धेरै कविताहरू छन् जसलाई पढेर म हुर्किएँ।
अन्त्यमा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको कुरा भन्न सक्नुहुन्छ ।
अन्तर्वार्ता लिनुहुने र पढ्नुहुने दुवैमा हार्दिक धन्यवाद !
प्रतिक्रिया
-
४
-
१०