तेह्रथुममा जन्मिएकी कवि सुष्मा दाहाल शिक्षण पेशामा आवद्ध छिन् । लेखन, भ्रमण र पुस्तक संकलनमा रुचि राख्ने सुष्माको पहिलो कविता कृति ‘मध्यान्तर’आज लोकार्पण हुँदैछ । उनै कवि सुष्मा दाहालसँग आँगनका लागि सेतोमाटोकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सम्पादित अंश यस्तो छः

आज तपाईंको पहिलो कृति ‘मध्यान्तर’ कविता सङ्ग्रहको विमोचन हुँदैछ । मध्यान्तर यस्तो समय हो जसमा आधा बाटो सकिएको हुन्छ र आधा बाँकी हुन्छ । त्यसैले यसलाई महत्त्वपूर्ण समय मानिन्छ । अतितका गल्ती सुधारेर वा दोहिर्‍याएर भविष्यको गर्भमा हामीले वर्तमानको कर्मले के उमार्ने भन्ने कुरा मध्यान्तरले संकेत गर्छ । यहाँले मध्यान्तर कविता कर्ममा के फुलाउए कोसिस गर्नुभएको छ ?

अवश्य पनि, मैले आधा जिन्दगी सकिनै लाग्दाका दैनिकी ,भोगाइ, सामाजिक, राजनीतिक विचलन, हाम्रो मनोदसा, आइमाई भएरै भोग्नुपरेका केही बढ्ता बेग्ला परिवेशहरू, देश र माटाको मायालगायत मध्यान्तरमा छन् । अबको समय लेखनमा एकदमै उर्वर बनाउने सोच राखेको छु ।

भनिन्छ, मोफसलमा बसेर साहित्यिक कर्म गर्न गाह्रो छ । परिचयको निकै खडेरी पर्छ । यद्यपि केही कवि/लेखकले मोफसलमा बसेर पनि आफूलाई दरिलो रूपमा प्रस्तुत गर्नुभएको छ । यहाँ पनि मोफसलमा बसेर साहित्यिक कर्म गर्दै हुनुहुन्छ, यहाँलाई के लाग्छ मोफसलमा बसेर स्थापित हुन के कस्तो संघर्ष गर्नपर्छ ?

मोफसलमा बसेर स्थापित हुन कठिन त छँदैछ, तर अहिलेको भर्चुवल वर्ल्डमा केही गर्छु भन्ने चेत भएको मान्छेले नसक्ने भन्ने चै होइन । कर्म गर्नु र स्थापित हुनु दुई अलग कुरा हुन् ।

एउटी नारीलाई जागिरे जीवन बिताएर, घरपरिवारलाई सम्हालेर लेखन कर्म गर्न कत्तिको कठिन देख्नुहुन्छ ?

कठिनाइ बिनाको मान्छे नै छैन । मेरो ब्यस्त दैनिकी नै लेखनमा विषयवस्तु उर्जा र खुराक हो । कठिनार्इ त छदैँछ जसलाई सहज बनाउने कला पनि हामीमा छ ।

आठ अरब मान्छे बस्ने पृथ्वीमा सिमितले मात्र कविता लेख्छन् । तपाईं त्यो सिमित मान्छे भित्र पर्नुभयो नै । कवितासँग यहाँको संगत कसरी भयो ?

कविता सङ्गको मेरो सङ्गत हजुरआमाको काख बाट भएको हो,मेरी हजुरआमाले औपचारिक शिक्षा हासिल गर्नुभएको थिएन,बाख्रा गोठालो जाँदा दाजुले पढिसकेको वर्णमाला लुकेर पढेर उहाँ रामायण, गीता, महाभारत, गुणरत्नमाला, स्वस्थानीलगायतका श्लोकहरू लयमा वाचन गर्नुहुन्थ्यो । मैले उहाँको काखबाट सुनेका श्लोकहरू नै पहिलो प्रेरणा हुन् । अरुचै समयले सिर्जिएका उपजहरू ।

हुन त प्रायः मान्छेले दुईवटा जीवन बाँचिरहेका हुन्छन्, एउटा देखिने गरी बाहिरको र अर्को नदेखिने गरी भित्रको । कविले दुईभन्दा पनि बढी जीवन बाँचेको हुन्छ भन्छन् । यहाँले काव्यिक संसारमा बाँचेको जीवन कस्तो हुन्छ ?

म त काव्यिक संसारमा पनि मैले बाँचेको वास्तविक जीवन नै बाँचिरहेकी हुन्छु । म पात्र भएर। शुरु भएका मेरा कविता ९५ प्रतिशत छन् । म केही मेरा र केही प्रतिशत मात्रै परिकल्पना हुन् । मलाई मैले जति चिन्ने अरु कोही छैन ।

यहाँलाई कविता भनेको के जो जस्तो लाग्छ ?

कविता जीवन हो । भोगाइ हो । साधना हो । तपस्या हो । समाजका सम्पूर्ण पक्षहरू प्रष्ट देख्न सकिने दर्पण हो ।

यो संसारमा कविता नभएको भए कस्तो हुन्थ्यो होला ?

संसार नै कविता सृष्टि नै रचना हो । यदि कविता नभएको भए….निरश र स्वार्थी हुन्थ्यो होला ।

यहाँको कविता सङ्ग्रहमा पाठकले के कस्ता विषयवस्तुलाई पढ्न पाउने छन् ?

मेरो कविता सङ्ग्रहमा पाठकले देश, समाज, माटो, माया, प्रेम, आक्रोश,स्वाभिमान, आशा, अपेक्षा, केही गर्ने हुटहुटीलगायतका विषयबस्तुहरू पाउनेछन्।

यहाँलाई मनपर्ने तीनजना कवि र तीनवटा कविता ?

कवि भूमि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, पारिजातको ‘मानुषी’ र रोशन परियारको ‘गोलो’ मेरा मनपर्ने कविताहरू हुन् ।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेका कुरा भन्न सक्नुहुन्छ ।

अन्त्यमा कवि जनक कार्कीज्यू प्रति धेरै धेरै आभारीछु । मेरो पुस्तक आज लोकार्पण हुँदैछ । मेरो पहिलो कृति हो पढेर सल्लाह सुझाव दिनुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर