✍️ सुनिल अधिकारी

 

मुक्तक – एक

तड्पिएर नजिकिँदा, मर्यादित सीमाको धर्को रहोस्
प्रेमका मीठा बातसँगै, घुर्की अनि झर्कोफर्को रहोस्
यति उदाङ्गो पनि नहोस् सम्बन्ध, कथाले माग्यो भन्दैमा
स्वादिलो लाग्छ हरेक पल, थोरै लाजको बर्को रहोस् १

मुक्तक – दुई

म लज्जित छु प्रिय, न तिमीले चाहेको जस्तो हुन सकें
सच्चा प्रेमी हुनुको ढोँग गरें, न मायाको उचाई छुन सकें
हुँकार गर्ने पुरुषत्वको दम्भ मभित्रै स्खलित भयो आज
आफ्नै विवशतामा, न खुलेर हाँस्न न त लुकेर रुन सकें !

मुक्तक – तीन

आफ्नो भागको खुशीहरू त्यता सार्न जति कठिन भो
तृष्णामा लुट्पुटिएको मनलाई मार्न त्यति कठिन भो
आफ्नो जीतमा खुशी मनाऊ, त्यो हक छ तिमीलाई
नसोध मलाई बिन्ती, आफैँसँग हार्न कति कठिन भो !

मुक्तक – चार

मभित्रको चेतन अनि अवचेतन मनभित्र तिमी रहुञ्जेलसम्म
तिम्रै अस्तित्व ओढेर बाँचीरहन्छु, मनले सक्ने सहुञ्जेलसम्म
यादलाई मनको चिहानमा गाडुँ या सल्काएर धुवाँ बनाई उडाउँ
निर्विकल्प ज्यूँदै रहन्छ, म आफैं धुवाँसँगै विलिन नहुञ्जेलसम्म !

मुक्तक – पाँच

म टेढो छु, अप्ठ्यारो छु वा घमण्डी, खै कस्तो छु
आ-आफ्नै ढङ्गबाट परिभाषित व्याख्या जस्तो छु
मेरो अनुहारमा ऐना हेर्दै मलाई अर्थ्याए सबले
देख्नेले जेजस्तो देख्छ आफूलाई, म त्यस्तो छु !

प्रतिक्रिया

सम्बन्धित खवर