✍️ सुनिल अधिकारी

 

मुक्तक – एक

सही गलतको भेद बुझ्नू, सत्यको निकटता अधिक रहोस्
अक्सर शब्दले चिढ्याउँछ, अर्थपूर्ण मौनता सटिक रहोस्
चिप्लिने त चिप्लेहरू मात्र न हुन्, खस्रो भए पो टिक्थे
प्रशंसकलाई टाढै राख्नू, बरु आलोचक तिम्रो नजिक रहोस्

मुक्तक – दुई

हर युद्ध स्वीकार छ मलाई, मेरो अस्तित्व नकारेसम्म
झुक्ने छैन मन, आफैँले यसलाई कमजोर नपारेसम्म
तनको हैन मनको सिकन्दर, यही नामले चिन्छन् मलाई
मेरो जीत निश्चित छ, मैले आफ्नै मनसँग नहारेसम्म

मुक्तक – तीन

‘चोरलाई चौतारी’ चरितार्थ पार्नेहरू, उनै बहुरूपी सन्त थिए
साथीको भेषमा मसान पुर्‍याउने, मलाममा सामेल जन्त थिए
धागो बनेर मैन पगाल्यो, स्वार्थको निम्ति शत्रु अँगाल्यो
दुश्मनले चिता सजायो मात्रै, आगो लाउने त आफन्त थिए

मुक्तक – चार

अनमोल उपहार हो हरेक जीवन, आफैंमा खास हुन्छ
भार नठान जीवनलाई, त्यसमा ईश्वरको बास हुन्छ
बोझ के हो कस्तो हुन्छ, त्यो बुढो बाबुलाई सोधी हेर्नू
जसको काँधमा उसको, जवान छोरोको लास हुन्छ

मुक्तक – पाँच

लडाएको समयले नै उठाउने छ, धैर्य गर्नू पालो पर्खिन
बरु सङ्कल्प लिनू संसार जित्ने, नसोच्नू जित्न सक्दिन
पढ्छौ भने पढ मेरो जिन्दगी, हारेका ए मनहरू हो
हिम्मत मिल्ने छ तिमीलाई, पछारिएकै ठाँउमा उभिन

प्रतिक्रिया

सम्बन्धित खवर