✍️ सुनिल अधिकारी

मुक्तक – १
कलियुगमा दुर्जनबाट सज्जनहरू शासित छन्
गीताका उपदेश पनि कौरवबाट अनुवादित छन्
विद्वानहरूको सभामा मूर्खले प्रवचन दिँदै थियो
वेद पुराण आदि सब, बाइबलबाट प्रभावित छन !

मुक्तक – २
नलिउँ चिन्ता नगरुँ वास्ता भनेर मन कहाँ रहला
तिम्रै पीरमा हरदम रहने मनको जतन कहाँ रहला
मेरो गुनासोमा प्रति–गुनासो गर्नु अघि सोचेर त हेर
भोलि म नै रहिनँ भने, मेरो गुनासो झन् कहाँ रहला !

मुक्तक – ३
धरातल बिर्सनेले ‘म आफैं फल लागेको हुँ नि’भन्छ
उनान्सय गुन बिर्सन्छ, एक अवगुनमा ‘बैगुनी’ भन्छ
पोखिने त आधा भरिएकै हो, अपेक्षा पनि गरिएकै हो
म आधा खाली देख्छु, उ ‘आधी त भरिएकै छु नि’ भन्छ !

मुक्तक – ४
शिखरमा हुँदा ‘आफन्त’बन्नेहरू पनि छन् यहाँ
ईष्र्याबस कोही दुश्मनमा गन्नेहरू पनि छन् यहाँ
अभिलाषा थियो म चन्दन बनेर सर्वत्र मग्मगाउँ
तर बनमारा बनेर जरा खन्नेहरू पनि छन् यहाँ !

मुक्तक – ५
उज्यालोको निम्ति मनमा नअस्ताउने बिहानी राख्न सिक
सुख केवल मृगतृष्णा हो, दुःखलाई सदा सिरानी राख्न सिक
कतैबाट काटिएका चङ्गा मात्रै आउँदैनन् तिम्रो छतमा
खुशी मिल्छ, भोका प्यासा पन्छीलाई चारापानी राख्न सिक !

प्रतिक्रिया

सम्बन्धित खवर