
चन्द्र कटुवाल दैलेखमा जन्मिएका हुन् । सशस्त्र द्वन्दकालमा आठ वर्षसम्म नेपाली सेनामा कार्यरत पूर्व जवान कटुवाल अहिले योग, आध्यात्म र प्राकृतिक चिकित्साको क्षेत्रमा काम गर्छन्। योग र महिला सशक्तीकरणमा विद्यावारिधि गर्दै छन् । पहिलो उपन्यास ‘सिपाही डायरी’ हुँदै अहिले उनले दोस्रो उपन्यास ‘बेपत्ता सिपाही’ लिएर उपस्थित भएका छन् । द्वन्दकालमा घटेका घटनाको रोचक प्रस्तुति दिन खप्पिस कटुवालसँग उनको नयाँ उपन्यास र साहित्यको विविध विषयमा आधारित रहेर सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले गरेको कुराकानीको सारांश प्रस्तुत छः
केही साताअघि यहाँको दोस्रो आख्यानात्मक कृति ‘बेपत्ता सिपाही’ लोकार्पण भएको छ, यसको लागि यहाँलाई बधाई तथा शुभकामना छ । यहाँको पहिलो कृति ‘सिपाहीको डायरी’ र अहिलेको उपन्यासको विषयवस्तु सशस्त्र द्वन्द्वकालसँग सम्बन्धित हो भनेर अड्कल काट्न सकिन्छ । यो उपन्यासले के कस्ता विषयवस्तुलाई समेटेको छ ?
धन्यवाद यहाँलाई । यहाँको प्रश्नमै उत्तर समाहित छ । लेखन पनि हाम्रै वरिपरीकै बिषयबस्तु हो । बाँकी कुरा पाठकलाई छोडि दिउँ कि । उहाँहरूकै पर्खाईमा छु म पनि ।
तपाईं आफै नेपाली सेनाको तर्फबाट सशस्त्र द्वन्दमा होमिएको मान्छे । विद्रोहीको पक्ष र सर्वसाधारण गरेर धेरैजना बेपत्ता भएका छन् । सेनाबाट बेपत्ता हुनेको सङ्ख्या के कति हो प्रोटोकल अनुसार लुकाइन्छ । यहाँ भुक्तभोगी भएको कारणले बताउन सक्नुहुन्छ के कति सेना कसरी बेपत्ता भएका छन् ?
जहाँसम्म मलाई थाहा भएको त्यहीँ एउटा लडाँईको मात्रै हो । पिलिको लडाईमा १४ जना बेपत्ता थिए सुरुमा । पछि कोहि पत्ता लागे । अझै पनि ति मध्यबाट धेरै जना बेपत्ता छन।
युद्धकालमा एउटा सेनाले विद्रोही पक्ष माओवादीलाई कसरी अध्ययन गर्यो ? एउटा सेना मर्न र मार्न कसराी तयार हुन्छ ? के कस्तो कुराले मोटिभेट गर्छ ?
आजसम्म मसँगमात्रै सिमित भएका कुराहरू पब्लिकेशनले तपाईहरू समक्ष ल्याईसकेको छ । कलम चलाउने मान्छेलाई लोभ लाग्दो रहेछ, सकेसम्म पुस्तकबाट नै यी सबै कुराहरू जानकारी होउन् ।
तपाईं सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । धेरै दोहोरो भीडन्तमा पनि पर्नुभयो । भिडन्तका कुनै स्मरणीय घटना सम्झना पर्दा के याद आउँछ ?
अहिलेको राजनैतिक अवस्था देख्दा बेकार लडिएछ जस्तो लाग्छ । तर जीवन अनुभवको सङ्गालो रहेछ । आफ्नै नाम मरेको सिपाहीको लिष्टमा आएको त्यहि पिलिको घटना नै सम्झिदा रोमान्चित बनाउछ ।
यहाँको पहिलो उपन्यास ‘सिपाहीको डायरी’ सशस्त्र द्वन्दमा आधारित छ । यसमा कति काल्पनिक र कति यथार्थ घटना समेट्नुभएको छ ?
पाठकलाई युद्दको मात्र नभएर केहि साहित्य रस मिलोस् भनेर लेख्दै जाँदा अलिकति काल्पनिक तर धेरै जसो यथार्थ नै आएको छ।
यहाँले आफ्नो जीवनकालको उर्जाशील समय नेपाली सेनामा आवद्ध भएर द्वन्दमा बिताउनुभयो । आठ वर्षको सेवालाई विश्राम दिएर यहाँ योग तथा आध्यात्मिक क्षेत्रमा लाग्नुभयो । बन्दुक समाउने मान्छे कसरी अचानक फूल सुमाउन आइपुग्नु भयो ?
समय, परिस्थिति, घटना, समाज र समग्रमा जीवनले नै सबै कुरा सिकाउदो रहेछ ।
युद्ध कत्तिको जायज लाग्छ यहाँलाई ? महाभारतमा कृष्णले पनि धर्मको लागि युद्ध आवश्यक छ भनेका छन् । के युद्ध आवश्यक छ ?
कुनै समयमा युद्ध पनि जायज थियो होला । तर जतिसुकै ठूलो युद्ध भए पनि त्यसको समाधानको पाटो त शान्ती नै हो तसर्थ आजको समयमा युद्ध जरुरी छ जस्तो लाग्दैन ।
आध्यात्मिक यात्रामा प्रेम र करूणालाई बढी प्राथमिकता दिइन्छ भने युद्धमा मनलाई कठोर बनाउन पर्छ । युद्ध गरेको एउटा कठोर मनलाई करुणामयी बनाउन कसरी सम्भव भयो ?
मानिस भित्रका रहेका हरेक गुणहरू बिभिन्न परिस्थितिका उपज हुन्। सिपाही कठोरमात्र हुदैनन्। फराकिलो छातिभित्र कोमलता पनि लुकेको हुँदोरहेछ ।
तपाईंसँग युद्धका धेरै संस्मरणहरू पनि छन् होला । संस्मरणात्मक कृतिबारे सोच्नुभएको छैन ?
पाठकको प्रेममा भर पर्छ ।
अहिले यहाँको जीवन आध्यात्म,योग र प्राकृतिक चिकित्सामा बितिरहेको छ । अब आध्यात्मसँग सम्बन्धित उपन्यासको बारेमा के सोच्नुभएको छ ?
यसको लागि थुप्रै साधना चाहिन्छ । अहिलेनै त्यता तिर सोच्न भ्याएको छैन ।
के कुराले लेख्नको लागि प्रेरित गरिरहन्छ ?
पाठकको माया र हौसला । त्यसपछि अनुभव आफूसँगै सकिन्छ कि भन्ने डरले ।
नेपालको पठन संस्कृतिको अवस्था कस्तो देख्नुभएको छ ?
यो त तपाई हामी सबैलाई अवगत भएकै कुरा हो । हाम्रो समाज अलि बढी भाग्यवादी नै छ ।
स्कुल पढ्दा एउटा विषयमा खुब वादविवाद कार्यक्रम आयोजना हुन्थ्यो, ‘कलम बलियो कि हतियार ?’ तपाईंसँग दुबैको अनुभव छ कलम र बन्दुकको । वास्तवमा कुनचाहिँ बढी बलियो लाग्यो हजुरलाई ?
दुबैको आफ्नै बिशेषता छ र बन्दुक भन्दा कलम नै बलियो लाग्छ मलाई ।
योग र आर्मीमा एउटा कुरा कमन हुन्छ । त्यो हो शारीरिक व्यायाम । योग र सैनिक संस्थामा हुने कसरतमा के फरक छ ?
योग कसरत भन्दा धेरै माथि छ । कसरत गर्नेलाई योगको थाह नहुन सक्छ । तर योग गर्नेलाई कसरतबारे प्रष्ट हुन्छ ।
युद्धका सबै कुरा जायज हुन्छ भनिन्छ । सशस्त्र द्वन्दकालमा युद्ध बाहिर बसेका सर्वसाधारणले पनि मर्नु पर्यो, प्रभावित हुनुपर्यो । के यो पनि जायज हो ?
त्यो कसरी जायज हुन्छ ? युद्धको पनि नियम हुन्छ । युद्धरत पक्षलाई त छोपेपछि मार्न पाईदैन भने सर्बसाधारणलाई किन दुःख दिने ।
यहाँको उपन्यास सेनाहरूले पनि अध्ययन गर्नुभएकै होला । सेनाहरूबाट कस्तो प्रतिक्रिया पाउनु भएको थियो ?
सबै कुरा सबैलाई चित्त नबुझ्न सक्छ । कतिपयलाई एकदमै मन छोयो र कतिपयबाट सुझाव पनि पाएको छु ।
जुनसेनाले एकाअर्कालाई ताकेर गोली हान्थे आज एउटै सङ्गठनमा छन् । आखिर समय नै त रहेछ । समयलाई कसरी व्याख्या गर्नुहुन्छ ?
हामी त कहिले पो लडेका हौ र । लडाईएको पो थियो । सिपाही आफ्नो देशमा लड्ने भनेर तयार गरेकै हुदैन । यी त सबै फोहोरी राजनीतिको खेल हो ।
तपाईं ध्यान गर्ने मान्छे । एउटा सुन्दर लेखनलाई ध्यानको उच्चतम विन्दु हो भनेर भन्न सकिन्छ वा लेखन ध्यान नलागेपछि गरिने कर्म हो ?
जे काम हामी तन मन लगाएर गर्छौ त्यहि नै ध्यान हो जस्तो लाग्छ मलाई त ।
आध्यात्मिक जीवनमा सबै कुराबाट मोह छुट्दै जानुलाई सफलता भनिन्छ । के लेखनको भोकले आध्यात्मिक यात्रामा असर पुर्याउन्न ?
मेरो बिचारमा सबैसँग आध्यात्मिक र भौतिक दुबै पक्ष हुन्छन जस्तो लाग्छ । जुन पक्षलाई अजमाय पनि हामी बाँचेको दैनिकी सहज हुनेसम्म त हो । कसरी असर पुर्याउला र ’
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको जवाफ दिन सक्नुहुन्छ
मेरो बिचार राख्ने अवसर दिनुभएकोमा धन्यवाद । युद्दले गर्न नसकेको कुराहरू ज्ञानले गर्न सक्छ । त्यसैले अध्ययन गर्ने बानी बसालौं । ताकि भोलिका सन्ततिले कलमनै रोजुन् ।
प्रतिक्रिया
-
४
-
१०