‘रहर’ कथा सङ्ग्रह पहिलो साहित्यिक कृतिबाटै पाठकको मनमा बस्न सफल सुरेश बडालले अनुवाद कृति ‘हिप्पी’ पनि आफ्नो कर्ममा समावेश गरिसकेका छन् । फुड माइक्रोबायोलोजीमा सनातकोत्तर गरेका उनी परम्परागत नेपाली खानेकुरामा शोधअनुसन्धान र शिक्षण पनि गर्छन् । मौलिक कृतिका हिसाबले दोस्रो र उपन्यास विधाका हिसाबले ‘मायाका मसिना अक्षर’ उनको पहिलो उपन्यास हो । गएको हप्तामात्र लोकार्पण भएको सो पुस्तक र लेखनसँग सम्बन्धित भएर सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको साराशं प्रस्तुत छः

‘मायाका मसिना अक्षर’ उपन्यास सार्वजनिक गर्नुभयो । यो उपन्यास सुटुक्क ल्याउनुभयो, भागेर विहे गरेजस्तै । विमोचनलाई मसिनो गरेर कुनै तडकभडक नगरिकन सम्पन्न गर्नुभयो । तडकभडक आउने दिनको लागि तय भएको हो कि वा यसलाई शान्त रूपमा अवतरण गर्न रुचाउनु भएको हो ?

खासमा तडकभडक पहिलो पुस्तक आउँदा पनि गरेको थिइनँ । त्यतिबेला एउटा सामान्य विमोचन समारोह राखिएको थियो । यसपालि त्यो पनि गरिनँ । सामाजिक सञ्जालमा पुस्तकका बारेमा पाठकहरूले दिनुभएका प्रतिक्रियालाई शेयर गर्नेबाहेक अरू केही गर्ने गरेको छैन मैले । पुस्तकले आफू सुहाउँदो पाठक आफैं खोज्दै जान्छ भन्ने कुरामा मलाई विश्वास छ ।

यहाँको रहर कथासङ्ग्रहमा हेर्दा साना लाग्ने तर मान्छेको जीवनमा ठूलो अर्थ राख्ने विषयवस्तुलाई उठाउनु भयो । जसले राम्रो पाठक पनि कमायो । यो उपन्यास के कस्ता विषयवस्तुलाई समेट्नुभएको छ ?

यस पुस्तकलाई मैले माया गराउने हैन माया बुझाउने कथा भनेको छु । यसर्थ यसमा युवापुस्ता, त्यसमा पनि पछिल्लो सामाजिक सञ्जाल पुस्ताका आकर्षण, भ्रम, महत्त्वकांक्षाका विषयहरू केलाउने प्रयत्न गरेको छु ।

‘मायाका मसिना अक्षर’मा प्रेमको विषयलाई नै प्रमुख बनाइएको छ । दिवस र रुबाको प्रेमको उतारचढाव, रहस्य र पवित्रको प्रेमको वोधलाई उजागर गर्न खोज्नुभएको छ । भन्छन् कुनै पनि पुस्तकको टार्गेट ग्रुप हुन्छ । यो उपन्यास निश्चित पाठकको लागि मात्र हो कि सबैका लागि होला ?

आख्यान पढ्नु भनेको कहिलेकाहिँ आफूलाई कथासँग जोडेर, कुनै पात्रको ठाउँमा आफूलाई राखेर एउटा भिन्नै यात्रा तय गर्नु हो भने कहिलेकाहिँ परबाट कथा नियालेर केही नयाँ खालको जीवनका पाटाबारे बुझ्नु पनि हो । यसर्थ युवापुस्ताले आफूलाई पाउन र अन्यले अरूका भोगाई नियाल्न सकिने भएकाले पुस्तक सबैका लागि नै हो । अहिलेका युवाको दैनिकी के कस्तो छ, मनोविज्ञान कस्तो छ, यी कुरा सबैले बुझ्नु जरूरी छ जस्तो लाग्छ ।

भन्छन् कुनै पनि सिर्जना गर्नुभन्दा गाह्रो प्रकाशन गर्न हुन्छ भनेर तर तपाईं यो मामिलामा भाग्यमानी देखिनुहुन्छ । पहिलो पुस्तक नै देशको उत्कृष्ट मानिएको प्रकाशनबाट आयो । अब दोस्रो उपन्यास पनि सजिलैसँग सोही प्रकाशन गृहबाट आयो । यसमा तपाईंको संघर्षको कथा पनि होला । यो सब कसरी सम्भव भयो ?

संघर्ष त अवश्य पनि छ नि । यदि पाण्डुलिपि तयार हुनासाथ प्रकाशित हुन सकेको भए मेरो पहिलो पुस्तक ६ वर्ष अघि नै आउँथ्यो । तर जति ढिला भयो, उति नै प्रकाशनगृहहरू र यस क्षेत्रसँग सम्बन्धित कुराहरूबारे जान्न पाएँ । विभिन्न प्लेटफर्महरूमा आफूलाई प्रमाणित गर्दै आएको हुँ । महान पुस्तक नै लेख्न नसकिएला तर लेखनमा लगनशील र इमानदार छु भनेर प्रमाणित गर्दै आएको हुँ ।

नेपालमा पूर्णकालिन लेखक कमै मात्रामा छन् । तपाईं पूर्णकालिक लेखक बन्ने मार्गमा हुनुहुन्छ भनेर हामीले अनुमान लगाउन सक्छौँ । ‘रहर’, ‘हिप्पी’ (अनुवाद) र अहिले उपन्यास लगातार काम गरिरहनु भएको छ । तपाईं लेखिमात्रै रहनुभएको छ वा अरु पनि केही गर्दै हुनुहुन्छ ?

म अरू कामहरू पनि गर्दै छु तर ती कामहरू लेखनबाट अलग भने छैनन् । म पुस्तक लेखनबाहेक अन्य कर्महरू पनि गर्छु ।

मैले लेख्नुपर्छ भन्ने बोझले कत्तिको सताउँछ ?

त्यस्तो त हुँदैन । बाध्यता छैन लेख्नलाई । मेरा लागि लेखन स्वान्तसुखाय पनि हो । लेख्दा मजा लाग्छ । मनमा उठेका केही भावहरूलाई शब्दमा उतार्न मजा लाग्छ त्यति नै हो ।

यहाँको मनमस्तिष्कमा कुनै पनि विषयले कसरी लेख्नको लागि प्रेरित गर्छ ?

कुनै विषय दिमागमा मडारिइरह्यो भने त्यसलाई कुनै स्वरूपमा लेखेर पन्छाउनु पर्छ भन्ने लाग्छ अनि लेख्छु र आफू पनि फुक्का हुन्छु ।

यहाँ लेख्न बाहेक पक्कै पनि टन्नै पढ्नुहुन्छ होला । पछिल्लो समय के कस्ता साहित्यिक कृति पढ्नुभयो र कुनै मनपरेको कृति छन् भने साझा गर्दिनु न ?

साँच्चै भनौँ भने पहिलेजस्तो लगातार पढिराको छैन म । दराजभरि पढ्न भनेर ल्याएका तर नपढेका किताब धेरै छन् । हप्तामा एउटा किताब पढ्ने मान्छे, महिनामा एउटामा पुगेको छु । पछिल्लो समय पढेर मन परेकै कृतिचाहिँ हाङ काङको भेजिटेरियन हो ।

एउटा लेखकको भित्री संसार कस्तो हुन्छ ?

अरू लेखकहरूको त थाहा भएन मेरोचाहिँ सामान्य नै छ । कामकै कारण पनि हरेक दिन केही न केही लेखिरहेकै हुन्छु । सानो साथी सर्कल छ जसमा साहित्य र किताबसँग नजोडिएका व्यक्तिहरू हुनुहुन्छ । यस्तै छ ।

साहित्यिक लेखनले समाजलाई योगदान दिने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?

समाजमा हरेक क्षेत्रले केही न केही प्रभाव पारेकै हुन्छ । साहित्यले त झन् अग्रपङ्क्तिमा बसेर योगदान गर्छ । ईतिहासको विवेचना, वर्तमानको मुल्याङ्कन गर्दै भविष्यको बाट‍ो देखाउने काम नै साहित्यको हो । विचार र चेतना भर्ने काम पनि साहित्यकै हो । शोध अनुसन्धानले नसक्ने कुनै पनि समस्याको उजागर साहित्यले गर्न सक्छ ।

लेखन भनेको आफ्नो रुचि, आनन्द, परिचय र अस्तित्व मात्र हो कि अरु पनि केही हो ?

यो लेखकको नितान्त व्यक्तिगत छनौटको कुरा हो । कसैले रूचिले लेख्लान्, कसैले आनन्दका लागि अनि कसैले परिचयका लागि । कसैले केही नयाँ कुराको ज्ञान दिउँ भनेर पनि लेख्लान् । लेखनको दायरा फराकिलो र महत्ता बृहत् छ ।

तपाईंको दैनिकी कसरी बित्छ ?

मेरो सामान्य छ दैनिकी । केही एजेन्सीहरूसँग जोडिएको छु । उनीहरूका लागि म प्रचार सामाग्रीहरू लेख्छु, अनुवाद गर्छु । साथीसँग मिलेर आफ्नै एउटा प्रडक्सन हाउस चलाएका छौँ । हामी कन्टेन्ट बनाउने, इभेन्ट प्रोमोसनका काम गर्छौँ । यस्तै यस्तै गरेर दिन बित्छ ।

अन्त्यमा केही छ ?
केही सुझेन यस विषयमा । यति नै गर्दा ठिक होला ।

प्रतिक्रिया

सम्बन्धित खवर