
✍️ कुँवर नारायण
अनुवाद : जनक कार्की
आजभोलि एउटा अचम्मको दुविधामा छु
मेरो भरपुर घृणा गर्न सक्ने ताकत
दिनदिनै क्षीण हुँदैछ ।
मुसलमानलाई घृणा गर्छु भनेर हिँडे
गालिब आएर सामुन्ने उभिइदिन्छन्
अब तपाईं नै भन्नुस्
कसको के लाग्छ, उनको सामु
अङ्ग्रेजलाई घृणा गर्छु भनेर हिँडे
जसले दुई शताब्दी हामीलाई राज गरे
त्यतिबेला शेक्सपियर आडमा आउँछन्
थाहा छैन
उनले मलाई कति उपकार गरेका छन् ।
अनि त्यो प्रेमिका
जोसँग मेरो पहिलो बिछोड भएको थियो
सोच्छु भेटे भने उसको हत्या गरिदिन्छु
भेटघाट पनि हुन्छ
तर, कहिले मित्र
कहिले आमा
कहिले बहिनीजस्तै भएर
अनि मायाको घुटकी पिएर बिर्सन्छु
प्रत्येक पल
पागलजस्तै भट्किरहन्छु
कोही त यस्तो मिलोस्
जसलाई भरपुर घृणा गरेर
मेरो मन हल्का गर्न सकूँ
तर, हुन्छ ठिक उल्टो
कोही न कोही, कहीँ न कहीँ
कुनै न कुनै यस्ता भेटिन्छन्
जसलाई प्रेम नगरिरहन सक्दिन् ।
दिनदिनै मेरो यो प्रेम रोग
बढ्दै जाँदैछ
अनि यो भ्रमले, बलियो जरा गाडेको छ
यो प्रेमले कुनै दिन मलाई स्वर्ग देखाएरै छोड्छ।
प्रतिक्रिया
-
४