✍️ जनक कार्की

 

उदय अधिकारी अङ्ग्रेजी विषयका प्राध्यापक हुन् । उनी नेपाली तथा विश्व साहित्यका गहन अध्येता,समालोचक र लेखक पनि हुन् । उनले आफ्नो पहिलो पुस्तक ‘प्रश्न’ सार्वजनिक गरेका छन् । यो कृति नेपाली साहित्यका मुर्धन्य ६ जना साहित्यिक श्रष्टाको प्रश्नोत्तरको सङ्गालो हो । आजको यस श्रृङ्खलामा उनी सर्जक उदय अधिकारीसँग सेतोमाटो डटकमका लागि जनक कार्कीले गर्नुभएको पुस्तक वार्ता प्रशस्तुत छ ः

१. मान्छे जिज्ञासाको सागर हो भनेर भन्छ्न्, जुनदिन जिज्ञासा सकिन्छ त्यो दिन मान्छे कि बुद्ध बनिसकेको हुन्छ वा डिप्रेसनको दिर्घ रोगी, प्रश्न हाम्रो जिन्दगीको अमूल्य पाटो हो भनेर नकार्न सकिन्न, एउटा असल प्रश्नले असल समाधनको बाटो पहिल्याउँछ, तपाईको विचारमा मानिसको जीवनमा प्रश्नको मूल्य के कति हुन्छ ?

मानव समाजको विकासमा प्रश्नको धेरै महत्व छ । गार्गीको प्रश्नले हाम्रो चिन्तन परम्परामा धेरै फेरबदल ल्याइदिएको छ । आदमको मनमा उठेको प्रश्नले पश्चिमी समाजलाई उत्तर खोज्ने हुटहुटी ल्याइदिएको छ । प्रश्नबिनाका उत्तरहरू सल्लाह मात्र हुन् ।

२. नेपाली साहित्यमा प्रश्नोत्तर कृति सायदै कम होलान् वा छैन पनि होला, प्रश्नोत्तर शैलीको यो कृति गर्नुपर्छ भन्ने आइडियाको विकास कसरी भयो ?

केही छन जस्तो: उत्तम कुवँरको श्रष्टा र साहित्य, देवेन्द्र भट्टराई, नेत्र एटम आदिले पुस्तक नै निकालेका छन् । मलाई मानिसलाई चिन्ने प्रयासमा गरिएको प्रश्नहरू मनपर्दछन । प्यारिस रिभ्युमा छापिएका लामा तर गहन संवार्ता तथा अन्तर्वार्ताबाट म अत्याधिक प्रभावित छु ।।

३. मान्छेमा एउटा अवगुण हुन्छ, उसको तन, मन र वचनले अलगअलग क्रियाकलाप गरिरहेको हुन्छ, एउटा प्रश्नको जवाफ ठ्याक्कै अपेक्षा गरे अनुसार पाउन कत्तिको सम्भव छ ?

प्रश्न सोध्नेको अपेक्षा अनुसार नै उत्तर आउने हो भने नसोधे भैहाल्यो, कमसेकम समयको त बचत भयो । सोचेको भन्दा फरक उत्तर आउँदा अरु प्रश्न सोधेर खोतल्न मन लाग्छ ।

४. ६ जना नेपाली साहित्यको पुरुष हस्तीलाई चयन गरेर यो कृति तयार पार्नु भएको छ, यसमा महिला साहित्यकार अटेनन् भन्ने आरोप पनि छ नि, के भन्नुहुन्छ किन अटाइएनन् नारी श्रष्टा ?

नारी श्रष्टाहरूसँग अहिलेसम्म मैले लिएका सबै अन्तर्वार्ताहरू अङ्ग्रेजीमा छापिएका छन् । कुनै दिन उहाँहरूसँग मात्रको किताब बजारमा आयो भने पुरुष किन अटाएनन भनेर प्रश्न नआउला कि !

५. दार्शनिक ओशोले भनेका छन, ‘मानिसको सबै प्रश्नको उत्तर ध्यान हो ।’ तपाईका प्रश्नहरूले ध्यानको अवस्थामा गएर गर्भधारण कत्तिको गरेका छन् ?

मेरा प्रश्नहरू छिपछिपे छ्न् । ध्यानमा जानुभन्दा पहिले गरिएका केही चटपटे प्रश्नले भरिएको पुस्तक हो यो ।

६. साधारण भाषामा भन्नुपर्दा, कुनै पनि सूचना वा जानकारी प्राप्त गर्न अथवा कुनै पनि सन्देहको समाधानको लागि भाषाको अभिव्यक्तिबाट गरिने छलफललाई प्रश्न भनिन्छ, के प्रश्नोत्तर प्रक्रिया भाषाको माध्यमबाट मात्र गर्न सकिने हो वा अभाषामा पनि प्रश्न र उत्तर गर्न सकिन्छ ?

प्रश्न इशारामा गर्न सकिन्छ र कहिलेकाही टेलिप्याथी जस्तो स्तरमा पनि गर्न सकिन्छ । मेरा लागि सबैभन्दा सजिलो भाषामार्फत नै हो र अहिले तपाईं पनि त्यहीँ गरिरहनु भएको छ ।

७. कुनै पनि प्रश्नोत्तर जिज्ञासा, शंका र समस्याको वरिपरि घुमेको हुन्छ, के यी पुस्तकमा गरिएका सबै प्रश्नोत्तरले यी तत्वहरूलाई समेटन सकेको छ ?

यसमा मात्र जिज्ञासा छ । यी ६ जना श्रष्टाहरू प्रति ममा केही धारणाहरू थिए र यी प्रश्नहरू मार्फत म मेरा धारणाहरूलाई मैले थाहा नपाएका सत्यहरूसँग साक्षात्कार गराउन चाहन्थेँ ।

८. सभ्यताको विकासमा प्रश्नको निकै ठूलो महत्व छ, केही विचारकले यसो पनि भन्ने गरेका छन् कि भाषाको विकास प्रश्नको लागि गरिएको हो, पूर्वीय दर्शनको उपनिषदमा ‘प्रश्नोपषिद’ पनि एउटा महत्वपूर्ण पाटो हो, कुनै पनि सत्यको खोजको लागि प्रश्न हतियार बन्न सक्छ कि सक्दैन ?

भाषाको विकास संवादलाई सजिलो गराउन भयो होला । तपाईँको पूर्वीय दर्शन प्रतिको प्रशंसनीय छ । प्लेटोको डायलगको रूपमा आएको संवादको कृतिले प्रश्नको नयाँ ढोका पश्चिमी समाजमा खोलिएकै हो । प्रश्न हतियार नै हो तर तपाईंले तपाईंको हतियारलाई कसरी साध्नु भएको छ त्यसमा भर पर्दछ र पर्दछ ति व्यक्तिहरूको चिन्तनमा जसलाई तपाईं सोध्नुहुन्छ । चिन्तन प्रक्रिया अपडेट नगर्नेहरूलाई प्रश्न सोध्नु बेकार छ । किनकी तिनीहरू अनावश्यक उत्तरले भरिएका हुन्छन् । असल प्रश्नहरू कब्जियत उत्तरहरूसँग खुसी हुँदैनन् ।

९. अष्टवक्र गीता, भागवत गीता आदि महान ग्रन्थ प्रश्नोत्तरमै सिर्जना भएका हुन्, के तपाईंले जनक र अर्जुन बनेर प्रश्न सोध्दा कृष्ण र अष्टवक्रको जस्तै अर्थपूर्ण जवाफ पाउनु भयो ?

यी दुबै ठाउँमा प्रश्न सोध्नेहरू पनि चिन्तनको परम्परामा निकै माथी उठेका व्यक्तित्वहरू हुन् । कहिलेकाही समान्य मानिसहरू बुझाउनका लागि विद्धानहरू संवादमा व्यक्त हुन रुचाउँछन् । कसलाई मन हुँदैन जनक ,अर्जुन र प्लेटो बन्न ? मैले प्रश्न गरेका सर्वश्रष्टाहरू म भन्दा बढी प्रश्नहरू बोकेर बस्नु भएका व्यक्तित्वहरू हुनुहुन्छ । वहाँका जवाफहरूमा तपाईं ति गहिरा प्रश्नहरू पढ्न पाउनुहुन्छ । प्रश्नवाचक चिन्हले मात्र सबै वाक्यहरूलाई प्रश्न बनाउन सक्दैन ।

१०. नेपाली साहित्यलाई दिशानिर्देश गर्न तपाईंका प्रश्न र नेपाली साहित्यका मुर्धन्य श्रष्टाले दिएको उत्तरले के कतिको सहयोग गरेको छ ?

देवकोटाले प्रश्न ‘के नेपाल सानो छ ?’भन्ने शीर्षक नै राखेर एउटा निबन्ध लेख्नुभयो । हामीसँग प्रश्नको लामो परम्परा छ । कहिकतै सानो रूपमा यो परम्परामा म पनि जोडिन पाएँ । यसले नेपाली साहित्यलाई दिशानिर्देश गर्दैन तर समकालीन लेखन परम्परामा चलिआएका केही झिल्काहरूलाई अगाडि ल्याएको छ ।

११. तपाईं आफै एउटा राम्रो पाठक र समीक्षक हुनुहुन्छ, तपाईलाई कृति लेखेन भन्ने आरोप पनि छ, यो कृति त्यो आरोपको प्रतिफल हो कि नेपाली साहित्यको आवश्यकता हो ?

कतिपय आरोपहरूको जवाफ दिएर समय खेर फालिरहनु पर्दैन । राम्रो पाठक र समीक्षक बन्न कसले कसलाई रोकेको छ र ? मलाई लाग्यो ६ जनाको विचारलाई एकै ठाउँमा ल्याउदा राम्रो हुन्छ होला र शिखाका पुष्पजीलाई पनि त्यस्तै लाग्यो होला ।

१२. मुर्दाहरू प्रश्न गर्दैनन्, जीवित हुनुको प्रमाण प्रश्न पनि हो, के तपाईंको प्रश्नको उद्देश्य नेपाली साहित्यलाई जीवित राख्ने प्रयास हो ?

कुनै पनि साहित्य जीवित र चलायमान नै हुन्छ । मैले त्यही चलाएमान साहित्यको हुनमा सानो एउटा उभिने ठाउँ खोजेको हो ।

१३. कुनै पनि प्रश्नको इमानदार जवाफको लागि के कुराको आवश्यकता पर्छ ?

इमान्दारिता र प्रश्नको गहिराइलाई अड्कल गर्न सक्ने कल्पनाकारिता आवश्यकता पर्दछ ।

१४. तपाईंले बुझे अनुसार यो पृथ्वीको मानवजातिलाई साहित्य किन आवश्यक छ र साहित्य के हो ?

साहित्यमा भन्ने कथा पनि यहि पृथ्वी कै हो । मानव जातिले सबैभन्दा सजिलोसँग संवाद गर्न पाउने विधा साहित्य पनि हो । अफ्रिकी महादेशसँग हामी चिनुवा, अचवी र चिमामान्नद अडिची र अरु थुप्रैका पुस्तक मार्फत संवाद गर्दछौँ भने हाम्रातिरका लेखकहरू मार्फत उनीहरूले हामीहरुसँग संवाद गर्दछन । मूलतः साहित्य संवाद हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर