✍️ जनक कार्की
शिक्षण पेसामा आवद्ध कवि लिली अधिकारी कविता लेखनमा सक्रिय छिन् । पोखराकी नारी हस्ताक्षर अधिकारी कविता र महाभारतका श्लोक सुन्दा सुन्दै कविता लेख्ने हुटहुटी लागेको बताउँछिन् । उनै कवि अधिकारीसँग सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले गर्नुभएको पुस्तक वार्ताको सारांश यस्तो छ :
१. पोखरा वाङ्मयको राजधानी मानिन्छ, यसपालि ‘पहरामा फूल फुलेको छ’, यो फूल फुलाउँदा के कस्तो सिर्जनात्मक मालीको काम गर्नु भएको छ ?
बिना स्याहारसुसार फूल फुल्न गाह्रो हुन्छ।पहरामा फूल फुलाउन मैले परिश्रमी मालीको काम गर्नु पर्यो।हुन त कुनै पनि सिर्जना लेख्न सजिलै सकिँदैन त्यसमा पनि एउटा नारीलाई घरपरिवार ,बच्चा अनि जागिर धान्दै रचनात्मक कार्य गर्नु कठिन कुरा हो। एक्लै गोडमेल ,मलजल गर्दै फुलाएकी छु । पाठकहरूको प्रतिक्रियाको अपेक्षामा छु।
२. तपाईंलाई कविता के हो जस्तो लाग्छ, कविताको महत्व के छ र कविता किन लेख्न वा पढिन्छ होला ?
कविता मस्तिष्कमा मुस्कुराएर फुल्ने उच्चतम चेतनाको शाब्दिक फूल हो। कविताले असहज परिस्थितिलाई अँगालेर भावना उमार्दै आत्मिक सन्तुष्टि प्रदान गर्नुका साथै व्यक्ति ,समाज र राष्ट्रको ऎनाको काम गर्ने हुनाले यसको ठूलो महत्त्व छ ,त्यसैले लेखिन्छ र पढिन्छ।
३. भनिन्छ कविताको बजार छैन रे, कवितालाई मञ्चमा सुन्न मन पराइन्छ तर पुस्तक किनेर कमैले पढछ्न्, यस्तो अवस्थामा पनि कविता सङ्ग्रह प्रकाशित गर्नु भएको छ, कविताकृति बिक्रीमा बढि जोड दिनुभएको छ कि बढीभन्दा बढी पाठकसम्म कविता पुगोस् भन्ने चाहनु भएको छ ?
कविताको बजार नभएको होइन, कविताको मर्म बुझ्न सक्ने पाठकको बजारमा कमी भएको हुन सक्छ।मौलिक नेपालीपन हराउदै गएर भाषामा समस्या भएको छ। मैले कविता लेखेर कृति बिक्री गर्न जोड दिएकी छैन, असल पाठकसमक्ष पुर्याउन खोजेकी छु।
४. तपाईंलाई के कुराले कविता लेख्न प्रेरित गर्यो ?
मैले सानै उमेरदेखि कविता मन पराउँथेँ र नमिले पनि कोर्थेँ ।पछि कविताले विविध पक्षलाई एकै ठाउँमा जोडेर विविध भाव प्रदान गर्न सक्ने हुनाले पनि म कविताप्रति आकर्षित भएँ। म साहित्यको विद्यार्थी हुँ।कविता लेख्न प्रेरित गर्ने मेरो इच्छाशक्तिले नै हो।
५. कविता साहित्यको मुटु हो भनिन्छ, साहित्यको कुनै पनि विधा कविताविना अपुरो हुन्छ, तर कविता भन्दा कथा उपन्यासकै बढी माग हुनुको कारण के हो जस्तो लाग्छ ?
कथा र उपन्यास सबै पाठकले सजिलैसँग बुझ्ने हुनाले कविताभन्दा बढी माग भएको हो कि जस्तो लाग्छ। कवितामा रस बसेपछि कविता मह जस्तै मिठा लाग्छन् ।
६. वरिष्ठ साहित्यकार सरुभक्त तपाईको कविता विमोचन कार्यक्रममा सहभागी भएर हौसला जनाउनुभएको थियो, उहाँले कस्तो प्रतिक्रिया दिनुभएको छ ?
उहाँ सबैलाई हौसला दिनुहुन्छ।उहाँले समाजसापेक्ष बिम्ब टिपेर कविता लेख्ने लिलीका कविता सुन्दर छन् र आगामी दिनमा पनि अझै सुन्दर सिर्जना आउने छन् । पहराका फूलहरू जीवनका फूलहरू हुन् ,समयका फूलहरू हुन् र निश्चय पनि एक जागरुक अनि क्रियाशील कविका सिर्जनधर्मिताका फूल हुन् भनेर आफ्नो प्रतिक्रिया दिनुभयो।
७. कविता पनि एउटा नसा हो भन्छ्न्, यहाँलाई कविताको एडिक्सन कतिको छ ?
कविता पढ्न र लेख्न त समय मिलेसम्म मन लाग्छ,भेटे जति पढ्न मन लाग्छ। केही घटना देखे ,सुने जानीनजानी कविता कोर्न मन लाग्छ।
८. गद्य कविताको कुनै नियम त छैन तर यसमा अलिखित नियम भने पक्कै छ, जुनकुरा कविता लेख्दै गएपछि बोध हुने कुरा हो, यहाँलाई चाहिँ आजसम्म गद्य कविता के हो भन्ने बोध भएको छ ?
गद्य कविताको पनि आन्तरिक लय हुन्छ। भन्नेले त गद्य कवितालाई निबन्ध पनि भन्छन् त्यसो भन्दैमा निबन्ध भने कदापि होइन। लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’, रिमालको ‘आमाको सपना’ कविता हेरौँ न यी कालजयी कविता हुन् । गद्य कवितामा भावपक्ष बलियो हुन्छ । मलाई गद्य कविता एउटा शक्तिशाली विधा हो जस्तो लाग्छ।

८. यहाँलाई मनपर्ने पाँचवटा कविता कृति ?
डा. बिन्दु शर्माको ‘ओक्कल दोक्कल पीपल पात’
सरुभक्तको ‘प्रयोगशालाभित्र’
रमेश श्रेष्ठको ‘कविताको उज्यालो’
गोपालप्रसाद रिमालको ‘आमाको सपना’
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’
९. तपाईंलाई मनपर्ने पाँचजना कवि ?
महाकवि लक्ष्मीप्रसाद देवकोटा
भूपी शेरचन
गोपालप्रसाद रिमाल
पारिजात
माधवप्रसाद घिमिरे
१०. तपाईंलाई मनपर्ने तीनवटा कविता ?
धेरै छन् मनपर्ने कविता । जसमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’, गोपालप्रसाद रिमालले लेख्नुभएको ‘आमाको सपना’ र भूपी शेरचनको ‘मेरो देश’ कविता रहेका छन् ।
११. पहाराको फूल भित्र समाविष्ट एउटा मन पर्ने कवितांश भन्न मिल्ला ?
आफ्ना रचना सबै मन पर्छन् प्यारा लाग्छन् ।
लाभाको बाफ बोकेर तरङ्गित भइरहने मन
कहिले त
हिउँ झैँ सिरानीमा जमिरहँदो रहेछ।
१२. कविता साधना हो र ध्यानको उच्चविन्दुमा निक्लने विचारको उदघाटन हो भन्छ्न, तपाईंले कवितालाई जन्माउँदा त्यस किसिमको ध्यानको चरमविन्दुलाई कत्तिको महसुस गर्नुभयो ?
साधना नभए सिर्जना हुँदैन जस्तो लाग्छ। कविता जन्माउँदा त्यस्ता किसिमका चरम बिन्दुलाई अन्तरहृदयदेखि नै महसुस गरेकी छु।
१३. पहराको फूल शीर्षकले के अर्थ दिन खोज्नुभएको हो ?
यो त पाठकले जसरी बुझ्नुहुन्छ त्यो नै अर्थ हुन्छ। मैले त व्यक्ति ,समाज,राष्ट्र सबैको उद्देश्य प्राप्तिका लागि पहरा फोरेर बिरुवालाई फूल फुलाउन जति गाह्रो हुन्छ त्यस्तै सफलता प्राप्त गर्न पनि गाह्रो हुन्छ अनि कति आफ्ना चाहना पूरा हुनै सक्दैनन् त्यो अवस्थालाई नि संकेत गरेकी हुँ।
१४. अन्त्यमा पाठकवर्गलाई पहराको फूलको बारेमा केही भन्न चाहनुहुन्छ कि ?
यो मेरो पनि प्रयास हो यसलाई माया गरी पढिदिनुस्,प्रतिक्रिया जनाइदिनुस्,अगाडि बढ्ने हौसला दिनुस् भन्न चाहन्छु।
प्रतिक्रिया
-
४
