✍️ जनक कार्की
सञ्जु अधिकारी पेशाले चाटर्ड एकाउन्टेन्ड हुन् । उनी नेपाली साहित्य क्षेत्रका विशेषगरी कथा, कविता, उपन्यासलगायतका विधामा कलम चलाउँछिन् । उनको ‘इन्द्रेणी स्पर्श’ उपन्यास नारीहरूको आफ्नो कथा हो । उनको सो उपन्यास पुनः प्रकाशन तथा ई–बुकमा प्रकाशन हुने तयारीमा रहेको छ । उनै उपन्यासकार अधिकारीसँग सेतोमाटो डटकमका लागि जनक कार्कीले गर्नुभएको कुराकानीको सारसंक्षेप यस्तो छ :
१. पेसाले सिए हुनुहुन्छ, उपन्यास लेख्ने रहर कसरी पलायो ?
सिए मन लागेरै पढेको बिषय हो । जस्तो मेरो स्वभाव छ, जुन पारिवारिक तथा सामाजिक परिवेशमा म हुर्किएँ । ती सबैले मेरो पेशागत व्यक्तित्वलाई सघाएकै छ । पढाई र पेशा मेरो दिमागसँग सम्बन्धित कुराहरू परे । आफ्नो पेशामा मन रमाएकै छ । तर साहित्य आफ्नै मनभित्रको पनि अत्यन्त निजी कक्षको तृष्णा हो ।
साहित्यिक कृतिहरू पढ्दा जुन सुख मिल्छ, त्यो तहको खुशी अरु कुनैमा पाएको छैन । होश सम्हालेदेखि नै अक्षरसँग साइनो गाँसियो । बिस्तारै अक्षरहरूसँगै हुर्किँदै गएँ । आफूले देखेका, भोगेका र नियालेका मानवीय संवेदनालार्ई गाँसेर कलम चलाउँदा ती अक्षरहरूमा मन बस्यो । लेख्न सुरु गरेपछि, लेखन मै हराई राखौं झैँ बनायो । सायद वाणिज्य संसार मेरो क्षमताको क्षेत्र हो, अनि कलासाहित्य भगवानको आशिर्वाद ।
२. इन्द्रेणी स्पर्शले कस्ता पाठको हृदय स्पर्श गर्न सक्ला ?
साहित्य एक कला हो, मन लोभ्याउने – रिझाउने अनि सन्तुष्टि दिने । इन्द्रेणी स्पर्श पनि कलाको एक उपहार नै बनाएका छौँ । पाठकहरूलाई पढुन्जेल रमाइलो महसुश हुनाको साथसाथै केहि यादहरू झझल्को बनेर सामुन्ने आउने छन् , केहि रहरहरु पलाउने छन्, केहो कल्पनाहरू तस्बिर बनेर आँखासामु छाउनेछन् । साहित्यको हरेक फूल सुन्दर अनि मिठो सुगन्ध दिने हुन्छ, इन्द्रेणी स्पर्श पढ्नु हुनेहरूले पनि यो रचनालाइ साहित्य बगैंचाको पुष्प कै रूपमा पाउनु हुनेछ ।
३. कथा कविता त लेखिरहनु भएको थियो, उपन्यास लेख्दाको अनुभव के कस्तो रहयो ?
मेसो मिलाउन जानिन कि भन्ने डर धेरै थियो । तर लेख्दै गएपछि आत्म विश्वास बढ्दै गयो । शैली र उपन्यासका नियम मिलेनन् कि भन्ने शंकाले धेरै अल्झायो । तीन उपन्यासँगै लेखें, जति मेहेनत गरें, त्यो भन्दा धेरै नै खुशी पाएँ ।
४. विशेष गरेर नारीको कथा समेटिएको यो उपन्यासले नारीको कुन पक्षलाई उतार्नु भएको छ ?
यो कृतिमा परिवार, साथीभाई, समाज अनि आफन्तको सम्बन्धहरुको जोडन खोजिएको छ । त्यो भन्दा धेरै त ‘स्वतन्त्रता’ को खोजी छ । सधैँ अरुको छत्रछाँयामा जिउने नेपाली नारी जीवनमा स्वतन्त्रताको खोजी । नारीका भावनाहरू निस्फिक्री हुर्किने स्वतन्त्रता, ती भावनालाई पछ्याउने स्वतन्त्रता, आफ्ना निर्णयहरूलाई आत्मसाथ गर्न सक्ने स्वतन्त्रता ।
छोरी मान्छेलाई आफ्ना रहर बुझ्ने स्वतन्त्रता, सपना देख्ने स्वतन्त्रता, माया गर्ने स्वतन्त्रता, मन बसेको सम्बन्ध सकार्न सक्ने स्वतन्त्रता, विषालु सम्बन्धबाट छुट्टिने स्वतन्त्रता अनि नितान्त व्यक्तिगत पक्षमा हुने हस्तक्षेप सहजै रोक्न पाउने स्वतन्त्रता । ‘आफु जे छु, त्यहि हुन पाउने’ स्वतन्त्रताको वकालत गर्ने उपन्यासमा स्त्रिमनको नजरबाट सम्बन्धहरुको सापेक्षता नापिएको छ ।
५. उपन्यास लेख्न भन्दा प्रकाशन गर्न गाह्रो अनि प्रकाशन गर्न भन्दा यसलाई बजारमा पाठकसम्म पुर्याउन गाह्रो छ भन्छन्, यसबारे तपाईंको के कस्तो अनुभव रहयो ?
लेखनको करिब ७ वर्ष पछि मैले टाईप गरें । आत्मविश्वास एकदम कम थियो, त्यसैले प्रिन्ट गरेर ५–७ जना अग्रजहरूलाई पठाए । धेरैजनाले खासै गहिरिएर पढ्नु भएन सायद, तर १–२ जनाले हौसला दिनुभयो । अनविज्ञ थिएँ, त्यसैले सुरुवाती हुटहुटी त प्रकाशन प्रकिया र समय प्रतिक्षाले गर्दा मर्यो ।
लेखनमा दोस्रो तर प्रकाशनमा पहिलो यो किताब ‘इन्द्रेणी स्पर्श’को लेखाई करिब दस दिनमै सकिए पनि टाईपिंग, सम्पादन अनि प्रकाशन तयारीको बाटो सोचेभन्दा लामो रह्यो । तर कलम प्रकाशनका साथीहरू एकदमै सरल, सहज र पारदर्शी हुनु भएकाले आत्तिने अवस्था आउदै आएन । मेरो कान्छी छोरी जन्मिनु र किताब बजारमा आउनु एकै समय परेकाले विमोचन पनि गर्न पाइएन । प्रोमोसन र वितरण सबै प्रकाशकले नै गर्नु भएकाले व्यक्तिगत रूपमा मैले दौड धुप गर्नु पाइन र परेन पनि ।
५. तपाईको विचारमा आजको डिजिटल युगमा साहित्य के कति महत्व छ ?
एकदमै धेरै महत्त्व देख्छु म त । पठन संस्कृति बिना सभ्यता परिपक्क हुनै सक्दैन । डिजिटल माध्यममा पनि साहित्य अट्छ तर हातमा किताब लिएर पढ्नु, अनि ति शब्दहरूमा डुबुल्की मार्नु अत्यन्त सुखदायी क्रिया हो । साहित्य भनेको मनोरञ्जन या ज्ञानको लागि मात्र हैन, संसारलाइ विभिन्न नजरबाट चिन्नु र त्यो संसारमा आफ्नो पहिचान खोज्नु पनि हो ।
६. एउटा असल साहित्यमा हुन पर्ने गुण के के हुन् ?
सरल हुनुपर्छ अनि स्वादिलो पनि । कलाका हर रूप सुन्दर छन् । साहित्यका पनि हर रचना एक पुष्प गुच्छा हो, सबैलाई हर रङ्ग र सुगन्ध मन नपर्न सक्छ तर हरेक फूलको सुन्दरता अमूल्य हुन्छ ।
७. ‘इन्द्रेणी स्पर्श’को रचना गर्भ बताउन मिल्ला ?
कहिले, किन र कसरी यो पुस्तक लेखियो भन्ने प्रश्नहरूको उत्तर दिनका लागि ‘रचना गर्व’ तयार गरेको छु । अन्नपूर्ण पोस्टमा प्रकाशन पनि भयो । नारी जीवनको भाव, यात्रा तथा नारी संवेदनाका रङ्ग समेटेर लेखिएको यस उपन्यासमा बदलिँदो परिवेशमा समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउन खोजिएको छ । पात्रको व्यक्तिगत भोगाई र प्रतिक्रिया सबै कथा परिस्थितिअनुसार झल्किएका छन् । मानव जीवनका अनेकौँ सम्बन्धहरूको रङले अन्तर्मनसम्म छुँदै रंगीन इन्द्रेणी स्पर्शलार्ई अनुभव गर्ने कथा हो ‘इन्द्रेणी स्पर्श’ । उपन्यासमा प्रेमको स्पर्श छ ।
८. इन्द्रेणी स्पर्शको केही मनपरेको अंश यहाँ प्रस्तुत गर्नपर्यो भने कुन अंश राख्नुहुन्छ ?
सपना पात्रलाई प्रेमको आभाष भएको पुस्तक अंश ।
९. नयाँ लेखकलाई यो साहित्य फाँटमा गाह्रो हुन्छ भन्छ्न, तपाईको अनुभव के कस्तो रहयो ?
रहरदेखि लगावसम्मको यात्रा कठिन छ, हतास नभई हिडीरहनु पर्छ । सन्तुष्टि प्राप्त गर्दै जाँदा सफलता आफै आइहाल्छ ।
१०. नेपाली साहित्यका मनपर्ने पाँच साहित्यकारको नाम लिनु पर्दा कसलाई सम्झिनुहुन्छ ?
बिपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, शैलेंदु प्रकाश नेपाल, निलम कार्की, अमर न्यौपाने ।
११. नेपाली पाँचवटा मनपर्ने उपन्यास ?
सुम्निमा, कर्णाली ब्लुज, मुना मदन, योगमाया र मन्जरी ।
१२. उपन्यासमा कला र विचार, कुन कुराको बढी महत्व हुन्छ जस्तो लाग्छ ?
कला
१३. उपन्यासको भीडमा ‘इन्द्रेणी स्पर्श’मा के कस्तो फरक स्वाद पाइएला ?
साँच्चै यो मेरो किर्ति भाव स्वतन्त्रताको उडान थियो, तर यसमा अनेक रङ्गहरू भरिएछन् । जीवनका पहेलीमा गाँसिने मनको रङ्ग, मुक्ति खोज्ने आत्माको रङ्ग, रहरहरुका रङ्ग, सम्बन्धहरूको गाँठोको रङ्ग, चाहनाका रङ्ग, उन्माद प्रेमको रङ्ग, बिरक्तिएको मनको रङ्ग आदि सबै सजिएछन् । पढिसक्दासम्म पाठकलाई – ओहो यो त रङगहरूको कथा रहेछ, अनि यी सबै रङ्गले कुनै न कुनै समयमा आफुलाई छोएको पाउनेछन् ।
१४. उपन्यास लेख्न कति समय लगाउनुभयो ?
नौ रात अनि आधा विहान ।
१५. उपन्यास लेख्दा के कत्तिको विषयको अध्यान गर्नुभयो ?
लेख्न बस्नुअघि नेपाली समाज र नारी मनोभावको अध्ययन गरें । अवलोकन र विश्लेषणका सिलसिला चलि नै रहे ।
१६. एउटा त्यस्तो उपन्यास जसमा फिल्म बने हुन्थ्यो भन्ने लागेको छ ?
योगमाया

१७. पाठकबाट के कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ ?
मिस्रित नै छ । धेरै जसोले पठन अनुभव मनोरञ्जित भएको बताउनु भएको छ । कतिले ‘वाह, क्या लेखिछौ !! अत्यन्त मिठो किताब बनाएछौ’ पनि भन्नुभएको छ । केहि पाठकहरूले चाहिँ ‘एक–दुई पात्रलाई न्याय भएन, केहि परिमार्जन गर्नु पर्यो’ भनेर सुझाव पनि दिनु भएको छ ।
१८. आलोचनात्मक टिप्पणीलाई कसरी लिनुहुन्छ ?
आभारी छु । फरक नजरधारबाट आफ्नै रचनालाई बुझ्न सहयोग पुगेको छ ।
१९. लेखक बन्नको लागि पाँचवटा टिप्स दिनुपर्यो भने ?
लेखनसीप हो, निरन्तर अध्ययन र लगन अपरिहार्य छन् । तर सिर्जना भनेको चाहिं धेरै मात्रामा आशिर्वाद जस्तो पनि लाग्छ । यदि तपाइको मनमा रचनाहरू कोरिन खोज्दै छन् भने, कलम लिएर कोर्न थाली हाल्नुस् ।
मूल फुटेपछि बाटो बनाउन समय लाग्दैन । अक्षरको संसारलाई हामी भगवान सरस्वती भन्छौं । त्यसैले यो पवित्र क्षेत्रलाई पैसामा मूल्य नापिदैन । सिर्जनाको यात्रा कायम राखिराखे सफलता मुस्किल छैन ।
२०. तपाईंलाई के कुराले लेख्न प्रेरित गर्छ ?
म नियमित लेख्दिन, धेरैजसो शनिबार बिहान लेख्ने गर्छु । मलाई के लाग्छ भने – कला, रचना अनि नविनतम् सोचहरू चलायमान छन् । तिनीहरू मानव मस्तिष्कहरूलाई घुमिघुमी छोई रहन्छन् । सुन्यतामा होस् या केहि घटनाहरूको उल्झनमा, शब्दका गुच्छाहरू मेरो मनमा आइरहन्छन् । कत्ति धेरैचोटी त केहि कल्पना गर्छु, मनमनै केहि सिर्जना गर्छु, तर कहीं लेखेर साँच्ने मेसो नमिल्दा नमिल्दै बिर्सिएर जान्छ ।
आफ्नो सिर्जना मनमा च्यापेर निदाउनु अनि बिर्सिनु पनि सन्तोषजनक नै रहन्छ । मैले समाएर अक्षरका रूपमा नकोरेका भावहरू, मलाई छोडी उडेर गएका पनि छन् । तर लेखेर, केहि मिलाएर पूर्ण गर्न सकियो भने झनै धेरै खुशी पाएको महसुश गर्छु ।
२२. आजको दिनको सञ्जु बन्नुमा कोकोसको हात छ जस्तो लाग्छ ?
वास्तवमा भन्ने हो भने सञ्जु पूर्णरूपमा बनिसकेको छैन, केहि बन्ने प्रक्रिया मै छु । आज जे जतिसम्म आकार कोरिएको छ । त्यसमा सबैभन्दा ठुलो भूमिका मेरो आफ्नै छ । अनि त्यसपछि समयको । साथ सहयोग महत्त्वपूर्ण हुन्छन् तर आफ्नो जिन्दगीको जिम्मेवारी त आफ्नै हुन्छ नि । मेरी दिदि एकदम स्वच्छ मनको हुनुहुन्छ, उहाँको सामिप्यताले सधैँ सकारात्मक सोच दिन्छन् ।
अनि मेरो श्रीमानसँग म धेरै नजिक छु । धेरैवर्षको सम्बन्ध भएर पनि होला, सबैभन्दा मिल्ने साथी उही जस्तो लाग्छ । कहिले काहीं त यो नाता केहि वर्षको नभएर जुनीजुनीको जस्तो नै लाग्छ । जस्तोसुकै कठिन विषयमा कुरा गर्न, छलफल गर्न या असहमत नै हुन पनि हामी बिचमा सहजता सिर्जना भएको छ ।
आफ्नै काममा एकदम व्यस्त हुनुहुन्छ, त्यसैले घरव्यवहारमा सघाउन उहाको दैनिकीले समय दिंदैन तर पनि घरपरिवार अनि बचाहरूको स्याहारको लागि सहज व्यवस्थापन गर्नुभएको छ । त्यसैले खुशी पछ्छ्याउँदा तगारोहरु पन्छाइदिने उहाँ भएकाले ठुलो आत्मविश्वास पाएको छु । त्यसपछि कर्मक्षेत्रमा मेरो कौशलता र क्षमताको आधारमा अवसर र प्रोत्साहन दिनुहुने अग्रजहरुप्रति पनि संधै कृतग्य छु ।
२३. अबका योजना के छन् ?
खुशी रहन सकूँ, कर्ममा रमाइरहन सकूँ । देश र समाजका लागि केही योगदान दिन सकूँ । खासै एजेन्डा नबोके पनि निरन्तर कर्मक्षेत्रको यात्रा निरन्तर चलोस् भन्ने आशा छ । जिन्दगी प्यारो छ, बाँच्न सकुँ ।
प्रतिक्रिया
-
४
