✍️ जनक कार्की
कृष्ण आचार्य पेसाले पत्रकार हुन् । उनले कान्तिपुर, नयाँ पत्रिका लगायत दर्जनबढी मिडियामा आबद्ध भएर काम गरिसकेका छन् । हाल उनी इन्जिनियर्स पोष्टको सम्पादक हुन् । बि.सं. २०७५ मा पहिलो उपन्यास ‘अप्रिल फुल’ प्रकाशित गरेका आचार्यको ‘ब्लु डायरी’ दोस्रो उपन्यास हो । सेतोमाटो डटकमका लागि सहकर्मी जनक कार्कीले उपन्यासकार आचार्यसँग उनको नयाँ उपन्यास ‘ब्लु डायरी’मा आधारित भएर गरेको पुस्तक वार्ताको सारांश :
१. ‘ब्लू डायरी’ अङ्ग्रेजी नाम हो , नेपाली भाषा साहित्यिक कृतिको नाम अङ्ग्रेजीमै राख्नु पर्ने के बाध्यता आयो ?
पुस्तकको विषयवस्तु के छ भन्ने कुरामा नाम निर्भर हुन्छ । एउटा गाउँको, एउटा झोपडीको, कुनै संस्कृति वा सम्भ्यता सम्बन्धि पुस्तक लेखेको भए नाम पनि सोही अनुसार हुन्थ्यो होला । यो त वर्तमान समय र त्यसमाथि पनि युवा पुस्ताको कथा हो । त्यसैले नाम पनि कथा अनुसारकै रहन गयो । नामका कारण कुनै समाज संस्कृति र सभ्यता माथी प्रहार भएको छैन । त्यसले असर गरेको छैन भने हामीले गर्नुपर्ने बहस नाममा नभएर कन्टेन्टमा हो जस्तो लाग्छ मलाई । त्यसैले मैले निलो नोटबूक नाम राखिन ।
२. ‘ब्लु डायरी’ उपन्यास भित्र के छ ? यो उपन्यास कुन उमेरका पाठकको लागि हो ?
साहित्य र संगीतले उमेर चिन्दैन । सायद मानिसको जीवन, समाजिक चरित्र पढ्न उमेरको हदबन्दी नलाग्न पर्ने हो । तर नेपाली साहित्यमा गुट-उपगुटले गर्दा साहित्य पनि उमेर र वर्गमा विभाजन हुँदैछ । ब्ल्युडायरी युवा पुस्ताको कथा हो । उनीहरुको संघर्ष, प्रेम,असफलता अनि सफलताको कथा हो । पुस्तको जीवनदेखी हारेका या हार्दै गरेकालाई उत्साह,हौसला,प्रोत्साहन, प्रदान गर्दै अघि बढ्न प्रेरित गर्छ भन्ने मेरो विश्वास हो ।
३. ‘ब्लु डायरी’ उपन्यासको सानो अंश यहाँ राख्न मिल्ला ?
लजताको आँखाभरी आँसु छ । शरीर थरर काँपेको छ । ऊ पश्चातापको भावमा मलाई नियालिरहेकी छे । मेरो उसलाई मौन समर्थन छ । तर, शब्दमार्फत माफी भने दिन सक्दिनँ ।
श्रीमान्बाट पाएका चोटहरु उसले नदेखाए पनि उसका आँखाले संकेत गरिरहेका छन् । एकदिन लजताले फोन गरेर भनेकी थिई, “उसले मलाई धेरै कुट्छ अविरल ।”
“तिमीले मेरो मनलाई कुट्यौँ, उसले तिम्रो शरीरलाई । कुट्नेहरु कुटिन्छन् पनि लजता” मैले यत्ति भनेर फोन राखिदिएँ ।
उसले केही दिनपछि फोन गरेर फेरि भनी, “उसले मलाई चुरोटको ठूटाले डोबिदिन्छ अविरल ।”
“तिमीले मलाई प्रेमको ठूटाले डोब्यौ, उसले तिमीलाई चुरोटको । डोब्नेहरु डोबिन्छन् लजता” मैले उत्तर फर्काएँ ।
फेरि उसले एक दिन फोन गरेर भनी, “उसले मेरो हात तातो पानीमा डुबाइदियो अविरल ।”
“तिमीले मेरो मन डुबाइदियौ, उसले तिम्रो हात । डुबाउनेहरु डुबिन्छन् लजता” मैले फोन राखिदिएँ ।
“आज त उसले मलाई शरीरभर नीलडाम हुनेगरी कुट्यो अविरल” एक सातापछि फोन गरेर लजताले भनी ।
मैले जवाफ फर्काएँ “तिमीले मेरो मुटुमा हिर्कायौ, उसले तिम्रो शरीरमा । चोट त तिमीलाई भन्दा मलाई नै बढी लागेको छ लजता ।”
त्यसपछि उसले लामो समय मलाई फोन गरिन । एक महिनापछि फोन गरेर भनी, “उसले मलाई यसरी पिट्यो कि म बेहोस भएछु । दुई साता अस्पताल बसेर आएकी ।”
अब भने मसँग उसलाई दिने कुनै उत्तर थिएन । किन कि उसले मलाई जति चोट दिए पनि म भट्टी भने पुगेको थिइन । नत्र भनिदिन्थेँ होला, “उसले दिएको चोट पखाल्न तिमी अस्पताल पुग्यौ, म भट्टी पुगेँ लजता ।”
४. ‘ब्लु डायरी’ बजारमा सार्वजनिक भइसकेको छ, पाठक प्रतिक्रिया के कस्तो पाउनु भएको छ ?
राम्रो आइरहेको छ । पुस्तकसँग तस्वीर खिचेर पठाउने र पुस्तकवारे प्रतिक्रिया दिनेहरु दिनप्रतिदिन बढिरहनु भएको छ । म निकै उत्साहित छु ।
५. किताब लेख्न भन्दा छपाउन गाह्रो भन्छन्, तपाईंले यो उपन्यास छपाउन कत्तिको सकस गर्नुभयो ?
मेरो पहिलो उपन्यास ‘अप्रिल फुल’का कारण मेरो पाठक र साहुत्यिक सर्कल बनिसकेको थियो । प्रकाशन गृहलाई ममाथि लगानी गर्दा लगानी डुब्दैन भन्ने विश्वास थियो सायद त्यसैले गाह्रो भएन तर नयाँ लेखकलाई धेरै गाह्रो छ । यसबारे मैले ‘ब्लु डायरी’मा पनि केही कुरा लेखेको छु ।
६. एउटा किताब जो पाठकले पढ्नै पर्ने हुन्छ ?
जीवन काँडा कि फूल, यो पुस्तकले मानिसलाई मको हुँ, मैले के गर्नपर्छ, र कसरी गर्नुपर्छ भन्ने पाठ सिकाउँछ । सायद यस पुस्तकले धेरैलाई सफलताको मार्ग निर्देश गरेको पनि छ ।
७. तपाईंले लेख्दै गर्दा बिचमै छाडिदिएको सिर्जनाहरु कत्तिको छ ?
मैले दुई उपन्यास लेखेँ, दुबै पूरा गरेँ । मैले गतवर्ष लकडाउनमा एउटा वेबसिरिज लेखेँ । पूरा गरेरै छाडेँ । सुरु गरेका कथा पनि पूरा छन् । मलाई कुनै सिर्जना सुरु गरेपछि त्यसलाई बिचमै छाड्नु पानीमा डुबिरहेको मानिसलाई देखेर वेवास्ता गर्दै, बाटो मोड्नु जतिकै अप्रिय लाग्छ ।
८. तपाईंलाई के कुराले लेख्न प्रेरित गर्छ ?
मैले लेख्नुपर्छ भन्ने भावना, अर्को पाठक माया, अनि मैले देखेका र भोगेका समाजका चित्र–चरित्रलाई उतार्ने हुटहुटी । यस्तै त हो नि !
९. उपन्यासमा कला र विचार दुईमा के धेरै हुनुपर्छ ?
विचार आदर्श हो । यो दर्शन पनि हो । उपन्यास भनेको काल्पनिक हुन्छ । कल्पना जब सुन्दर हुन्छ । तब त्यहाँ कला हुन्छ । कलालाई पनि सुन्दर बनाउने पक्ष भनेको भाषा हो । विम्बको संयोजन, म पात्रको प्रस्तुति, पात्रहरुको संयोजन र भूमिका निर्धारण घटनाक्रम, फ्युजन, ह्युमर, रोमान्स आदि उपन्यासका विशेषता हुन् । अर्थात यो सबै लेखकको कलामा भरपर्ने भएकाले कलाले नै उपन्यास सुन्दर बनाउने हो । म भन्छु उपन्यासमा विचार मात्र खोज्ने हो भने दार्शनिक किताब लेखे हुन्छ ।
१०. ‘ब्लु डायरी’ लेख्दा दिनमा कति घण्टा लेख्नुभयो ?
मैले दैनिक रुटिङ बनाएर लेखेँ, दैनिक एक घण्टा लेख्नै पर्छ भनी मान्यता राखेर लेख्न सुरु गरेको हुँ । आफ्नो संकल्पबाट कहिले पछि हटिन ।

११. चाहिनेभन्दा बढी चर्चित भएको किताब र पाउनुपर्ने भन्दा कम चर्चा भएको कुनै पुस्तक ?
नाम नै नतोकौ तर धेरै छन् । हाम्रो पठन संस्कृति नै चर्चा र भाइरलको पछि लाग्न थालिसक्यो । त्यसले साहित्यमा भुमरी पैदा गरेको छ ।
१२. एउटा लेखकलाई विपरीत लिङ्गको बारेमा लेख्न कत्तिको गाह्रो हुन्छ ?
निकै ग्राहो हुन्छ । ‘ब्लु डायरी’मा कथा वाचन स्त्री विपरीत लिङ्गी छिन् । केही महिला पाठकवर्गले यस्ता–उस्ता कुरा आएको भए अझै राम्रो हुन्थ्यो भनेर प्रतिक्रिया दिनुभयो ।
केहिले विपरीत लिङ्गी बनेर कसरी लेख्न सकेको पनि भन्नुभएको छ । मैले श्रीमती, प्रेमिका, आमा, दिदीबहिनी, साथी आदिको सहयोग लिने नि भनिदिएँ । तर भनेजस्तो सजिलो छैन । सबैभन्दा आफू पात्रमा डुब्नुपर्छ । हरेक पात्र अनुसारलो भूमिका निर्वाह गर्न सक्षम भएको आभाष नहुँदा सम्म पाठकले न्यान पाउदैनन् ।
१३. तपाईं केका लागि लेख्नुहुन्छ ?
मलाई लेख्दा आनन्द आउँछ । जसरी पाठकलाई पढ्दा आउँछ । म समाज परिवर्तनका लागि लेख्छु, मेरो लेखाईँले मानिसको जीवन परिवर्तन हुन्छ भनेर म गफ लाउँदिन पनि । बस् मलाई यति थाहा छ कि मेरो लेखाइले मलाई लेख्दा र पढ्दा पाठकलाई आन्नद आउँछ । त्यसैले म त्यहीँ आनन्दका लागि लेख्छु । फेरि यो संसारमा आनन्दभन्दा ठूलो सन्तुष्टि अरु के मा नै छ र ?
१४. तपाईँले पढेको यस्तो उपन्यास जसले तपाईँलाई फरक सोच्न सहयोग गर्यो ?
जीवन काँडा कि फूल । यो पुस्तक पढेपछि मैले जीवनमा फूल नै फूल देख्न थालेँ । आफ्नो अस्तित्व स्वीकारेर सफलताको मार्गमा कसरी हिँडने भन्ने कुरा मैले पुस्तकबाट सिकेँ ।
१५. आलोचनात्मक टिप्पणीलाई कसरी लिनुहुन्छ ?
सकारात्मक लिन्छु । यसले आफ्ना त्रुटिलाई सच्चाएर अगाडि मौका प्रदान गर्छ ।
१६. आख्यानको भीडमा ‘ब्लु डायरी’मा के फरक पाइएला ?
सबैभन्दा पहिलो कुरा त पुस्तक पढेपछि पाउने सन्तुष्टि पाइन्छ । ३५० रुपैयाँ खेर फालेको अनुभूति हुँदैन । अर्को कुरा पुस्तकमा मैले नयाँ विषय (लेखक र पाठकको कथा) उठान गरेको छु । जसकारण लेखकले आफ्नो र पाठकले आफ्नो अनुभव गर्नुहुन्छ । यहाँ सम्बन्धको कुरा चाहे त्यो प्रेममा होस्, चाहे प्राकृतिक र पारिवारिक आफूसँग आफ्नो सम्बन्ध होस् या प्रकृतिसँग मान्य सम्बन्ध चाहे त्यो लेखक र पाठकको सम्बन्ध नै किन नहोस् । यस पुस्तकको नयाँपन भनेकै सम्बन्ध हो । सम्बन्ध बचाउनु छ भने सबैलाई पुस्तक पढ्न आग्रह गर्छु , त्यो आफैँसँगको सम्बन्ध होस् वा अरुसँगको ।
१७. तपाईंले पढेको ५ वटा मनपरेको उपन्यास ?
जीवन काडाँ कि फूल,लिखे, पागलवस्ती, घामका पाइलाहरू, आमा ।
प्रतिक्रिया
-
४
