साहित्यकार प्रभा बराल नेपाली साहित्य क्षेत्रमा स्थापित नाम हो । बनस्थली, काठमाडौँकी साहित्यकार बराल पेशाले प्राध्यापक हुन् । उनले नेपाली साहित्यका कविता, गजल, नियात्रा, उपन्यासलगायतका विधाहरूमा कलम चलाएकी छन् । उनको हालसम्म ‘शब्दहरू अविराम यात्रामा’ संयुक्त कविता सङ्ग्रह (२०५७), ‘तृष्णाको पहाड’ गजल सङ्ग्रह (२०७०), ‘असिनाको कथा’ बालकविता सङ्ग्रह (२०७१), ‘आत्महत्याको जंगल’ नियात्रा सङ्ग्रह (२०७२) र ‘फिलिङ्गो’ उपन्यास (२०७७०) कृतिहरू प्रकाशित छन् । उनको ‘फिलिङ्गो’ उपन्यास २०७७ को मदन पुरस्कारका लागि छनोटसमेत भएको थियो । उनै साहित्यकार बरालसँग सेतोमाटो डटकमका सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सारांश यस्तो छ :

१. जब मदन पुरस्कारको लागि तपाईंको उपन्यास सर्ट लिस्टेड भयो, पहिलो सूचना कसरी प्राप्त भयो र कस्तो महसुस गर्नुभयो ?

म एकजना साथीसँग मेसेन्जरमा गफिइरहेकी थिएँ, साहित्यिक साथीहरूले लगातार मोबाइलमा फोन गर्नुभयो अनि थाहा पाएँ । यति छिटै मदन पुरस्कारको छनौट पुस्तक सूची आउँछ भन्ने लागेकै थिएन । अचानक ‘फिलिङ्गो’ पनि प¥यो भन्ने सुुन्दा खुशी लाग्यो ।

२. अहिले मदन पुरस्कारको नतिजा आइसकेको छ, तपाईंलाई उक्त पुस्तकले मदन पुरस्कार पाएकोमा कस्तो लागेको छ ?

साहित्यिक पुस्तकलाई मात्र नभई नेपाली भाषा र वाङ्मयका क्षेत्रमा पनि मदन पुरस्कार दिइन्छ भन्ने थाहा थियो त्यसैले नौ कृतिमध्ये जुनले पनि पाउन सक्छ भन्ने लाग्थ्यो । समाचार सामान्य नै लाग्यो ।

३. मदन पुरस्कारले आख्यान, गैराख्यान र काव्य रचनाहरूलाई एकैठाउँमा प्रतिस्पर्धा गराउँछ, तपाईँलाई यस्तो लाग्दैन कि आख्यान, गैराख्यान र काव्यलाई अलगलग प्रतिस्पर्धा गराउनुपर्छ ?

मदन पुरस्कार व्यक्तिगत तवरबाट दिइने पुरस्कार हो, हामीले सोच्ने कुराले त्यहाँ केही अर्थ राख्छ भन्ने लाग्दैन ।

४. ‘फिलिङ्गो’ उपन्यासको रचना गर्भ बताउन मिल्ला ?

मिल्छ । जापानमा डिपेन्डेन्ट भिसामा जाने नेपाली दिदीबहिनीको कारुणिक कथा सुनेपछि र आँखैले देखेपछि एउटा आख्यानमा ती कुरा समेट्न मन लाग्यो । मूल रूपमा फिलिङ्गोले महिलाको विषय समेटे पनि उपकथाका रूपमा पनि अन्य थुप्रै कुराहरू समेटिएका छन् ।

५. ‘फिलिङ्गो’ उपन्यासको तीनवटा कमजोरी के लाग्छ तपाईँलाई ?

यो पाठकले बताउने कुरा हो, म त सन्तुष्ट भएर नै कृति प्रकाशन गरेकी हुँ ।

६. तपाईंलाई मनपरेका पाँचवटा उपन्यास कुन कुन ह्न ? जसले तपाईंको मनमुटुमा राज गर्न सफल भयो ?

थुप्रै छन् ती मध्ये माधवी, घामका पाइलाहरू, सुम्निमा, कारागार र द गुड्स अर्थ मलाई विशेष मन पर्छन् ।

७. नव लेखकहरूलाई पाँचवटा टिप्स के दिनुहुन्छ जसले उपन्यास लेख्न खोज्दै छन् ?

खासमा त म पनि उपन्यास लेखनमा शिशुवस्थामा छु, टिप्स दिने हैसियतमा छैन । यही शिशुवस्थाकै अनुभवका आधारमा भन्नुपर्दा सर्वप्रथम लेख्नुभन्दा पनि पढ्नमा रुचि जागृत गर्नुपर्यो । पढ्न थालेपछि विषयवस्तुको पनि ज्ञान हुन्छ अनि लेख्न सकिन्छ । लेख्दै, पढ्दै, पढ्दै लेख्दै गर्ने अभ्यास कायम भइसकेपछि लेख्न सकिन्छ । विशेषतः कथाहरू लेखेर लेखन सीप हासिल गरेपछि उपन्यासमा आउँदा आत्मविश्वास बढ्ला । उपन्यास लेखनमा जति बुझ्यो उति गहन कुरा थाहा हुँदै जाने रहेछ । वास्तवमा उपन्यास लेख्नु भनेको चानचुने कुरा होइन भन्ने कुरा उपन्यास लेखेपछि नै बोध गरेँ ।

८. साहित्यको आधुनिक विधा उपन्यास हो, अहिले उपन्यास जस्तै वेबसिरिज पनि धेरै बन्न थालेका छन्, वास्तवमा उपन्यासको शक्ति के हो र आजको डिजिटल संसारमा उपन्यास किन पढ्ने ?

आम पाठकका माझमा उपन्यास लोकप्रिय हुनाका कारण छन् । त्यहाँ एउटा रचनात्मक संसार निर्माण गरिन्छ । शब्दहरूको रङ्गीचङ्गी पूmलहरू फुलाएर कल्पना शक्तिको सुवास फैलाएर एउटा रचनात्मक बगैँचा तयार गरिएको हुन्छ । उपन्यासबाटै पाठकले एकभन्दा बढी जीवन बाँच्न पाउँछन् । एउटा अभिनेता सरह फरक फरक भूमिकामा पाठक बाँच्न पाउने भएकोले उपन्यास लोकप्रिय भएको होला । यही लोकप्रियता नै उपन्यासको शक्ति हो भन्ने लाग्छ । समय अभावका कारण विशेषगरी विदेशमा अडियो बुकको चलन बढ्दै गइरहेको छ । समयको माग हो यो । जसरी पढे पनि पढ्नु प¥यो त्यही ठूलो कुरा हो ।

९. पाउनुपर्ने जति चर्चा नपाएको कुनै उपन्यास छ, हजुरको विचारमा ?

ठयाक्कै यही भनेर नाम त लिन्न, तर केही राम्रा कृतिले चर्चा नपाएका कुरा सुन्नमा आइरहन्छ ।

१०. गएको वर्ष प्रकाशित कुनै एउटा यस्तो पुस्तक छ, जुन पुस्तक तपाईंको नजरमा मदन पुरस्कारमा सर्ट लिस्टेड हुनपर्ने थियो ?

गएको वर्ष कोरोना अभिघातसँग मुकाबिला गर्दै लेखकहरूले आफ्नो लेखकीय धर्म पूरा गरे । धेरै पुस्तक पनि छापिए । सर्ट लिस्टमा एउटा मात्र किन धेरै पुस्तक बाँकी छन् । मदन पुरस्कारको सूचीमा छनौट पर्नु मात्र उत्कृष्टताको मापन होइन नि ! कतिले पुस्तक दर्ता नै गराउँदैनन् ।

११. साहित्यकारले मार्केटिङ कत्तिको जान्न पर्ने हुन्छ ?

साहित्यकारले होइन बरु प्रकाशकले मार्केटिङ जान्नु पर्ने हुन्छ होला ।

१२. तपाईको उपन्यास फिलिङ्गो मदन पुरस्कारमा शर्ट लिस्टेड भएपछि किताबको व्यापारमा के कस्तो फरक पर्यो ?

‘फिलिङ्गो’ सर्ट लिस्टमा परेपछि बजारमा अलि बढी बिक्री भयो । सर्ट लिस्टमा परेको एक हप्तामै दोस्रो संस्करण प्रकाशित गर्नुपर्यो ।

१३. तपाईंको उपन्यास ‘फिलिङ्गो’ पाठकले किन पढ्ने, के छ यसमा छुटाउनै नहुने कुरा ?

जापान र नेपालको परिवेशमा लेखिएको यो किताब केही विशेष छ र नै प्रकाशन गर्ने सोच बनाएँ नत्र पाठकलाई शब्दको भारी बोकाएर उहाँहरूको समय बरबाद गर्ने रहर मलाई किन लाग्थ्यो र ? जापानका बारेमा नियात्रा कृतिहरू प्रशस्तै आएको देखेकी छ, तर आख्यानको कृति आएको थाहा पाएकी छैन, त्यसैले पनि ‘फिलिङ्गो’ लेख्न उत्साहित भएँ । फेरि वर्षौदेखि जापान बसेका दिदीबहिनीका मार्मिक कथाहरू सुनेपछि यसबारेमा केही लेख्नै पर्छ भन्ने मलाई लाग्यो । ‘फिलिङ्गो’मा उठाउन खोजेको मूल विषय महिलाको आत्मसम्मान र आत्मनिर्णय भए पनि विविध आयामहरू यसमा समेटिएका छन् । केके छन् भनेर पढ्नका लागि त पाठकले पुस्तक पढ्नै पर्ने हुन्छ ।

१४. कसैले भन्छ्न साहित्य स्वान्तसुखायको लागि लेखिन्छ, कसैले समाजिक रूपान्तरणको लागि लेखिन्छ र कसैले बौद्धिक मनोरञ्जनको लागि लेखिन्छ पनि भन्छन्, तपाईंलाई के लाग्छ ?

मेरो विचारमा त साहित्य समाज रूपान्तरणका लागि लेखिनुपर्छ भन्ने लाग्छ ।

१५. साहित्यमा श्वैरकल्पना वा समाजिक यथार्थवाद, कुन कुरा हजुरलाई बढी मनपर्छ ?

मलाई यथार्थको नजिक लेखिएका साहित्य बढी मन पर्छ । यो आआफ्नो लेखनसीपमा भर पर्ने कुरा हो । लेखनकला पनि हो । प्रयोगवादी लेखन पनि अर्को पाटो हुन सक्छ ।

१६. नेपाली आख्यानमा कला र विचारको तालमेल कत्तिको पाउनुहुन्छ ? एउटा यस्तो उपन्यास जसमा कला र विचारको तालमेल प्रचुर छ ?

लेखनमा स्रष्टाको विचार सम्प्रेषणले प्राथमिकता पाएको हुन्छ तर त्यो विचार रुखो र भद्या प्रस्तुतिको छ भने त्यसले पाठकको मनमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न उब्जिन्छ । कलाले लेखनलाई सजाएर पढ्न लायक बनाउँछ । तसर्थ विचार र कलाको संयोजन सिर्जनाका क्षेत्रमा अति नै महत्त्वपूर्ण हुन्छ । त्यसैले त शैली, शिल्प, कलात्मक भाषा, शब्द छनौट आदिको कसरतमा लेखकहरू लागिरहेका हुन्छन् । भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइरालाका लेखनमा कला र विचारको प्रचुरता भेट्न सकिन्छ ।

१७. अब तपाईंको साहित्यिक यात्रा कसरी अगाडि बढछ ?

अब मेरो लेखन आख्यान र नियात्रामा अघि बढ्छ ।

१८. यसपालि मदन पुरस्कारको लागि छनोटमा परेका सबै पुस्तक पढ्नु भएको छ ? यदि छ भने तपाईंले कुन पुस्तकले पुरस्कार पाउला भन्ने अनुमान लगाउनु भएको थियो । त्यी पुस्तक मध्य आफ्नो पुस्तकलाई कुन स्थानमा राख्नुहुन्छ ?

मैले पढ्न बाँकी नृत्याक्षर विज्ञान र लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह थियो । यी विधा गैरसाहित्यिक भएकोले हत्तपत्त मन गएको थिएन । ‘फिलिङ्गो’ले पनि सत्वको विषयमा आवाज उठाएको हुनाले पुरस्कारको हकदार बन्न सक्छ भन्ने आशा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर