सोल, दक्षिण कोरिया – रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाको आयोजनामा आज (सेप्टेम्बर २४) दक्षिण कोरियाको राजधानी सोलमा ‘रामेछाप सांगीतिक साँझ तथा रात्रीभोज कार्यक्रम–२०२६’ आयोजना हुँदैछ।

‘प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’ तथा ‘दुर्गम भेगको स्वास्थ्य क्षेत्रमा सहयोगार्थ’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रम सोलको जोंनो–गु, जोंनो ६३–८ स्थित पानोरोमा (दोस्रो तला) मा साँझ ६ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

कार्यक्रममा नेपालबाट तथा दक्षिण कोरियामा रहेका नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रममा चर्चित गायिका स्मृति गौतम, गायिका उमा श्रेष्ठ, गायक तीर्थ पाख्रिन, गायक सुनिल दोङ लामा तथा मनीषा खाँजा मगरको प्रस्तुति रहनेछ। त्यसैगरी द एजानी ब्यान्ड (The Aagani Band) ले पनि सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ। कार्यक्रममा डिजे DJ NWEEN को प्रस्तुति पनि रहनेछ।

सांगीतिक प्रस्तुतिसँगै कार्यक्रममा रात्रीभोज तथा खानाका विभिन्न परिकार र पेय पदार्थको व्यवस्था गरिएको छ। आयोजकका अनुसार कार्यक्रममा १३ प्रकारका खाना तथा पेय पदार्थ उपलब्ध हुनेछन्।

कार्यक्रमको प्रवेश शुल्क एक जनाका लागि ६० हजार कोरियन वन र दम्पतीका लागि १ लाख वन तोकिएको छ। कार्यक्रमबाट संकलित सहयोग दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाका लागि उपयोग गर्ने उद्देश्य रहेको आयोजक रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले जनाएको छ ।

रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले विगतदेखि नै प्रवासी नेपालीबीच आपसी एकता, सामाजिक सहयोग तथा मातृभूमिसँग जोडिएका सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको जनाएको छ। यस कार्यक्रममार्फत मनोरञ्जनसँगै दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने उद्देश्य लिइएको आयोजकको भनाइ छ।

कार्यक्रम विवरण
📅 मिति: सेप्टेम्बर २४, २०२६
🕕 समय: साँझ ६ बजे
📍 स्थान: 서울시 종로구 종로 63-8, 2층 파노라마 (Panorama)
🎟️ प्रवेश शुल्क: एकल ६०,००० वन / दम्पती १,००,००० वन
🏛️ आयोजक: रामेछाप सम्पर्क समिति, दक्षिण कोरिया

 

(जीवन खत्री)

प्रतिक्रिया

सम्बन्धित खवर