कफी कविता र पदयात्राका अम्मली नदीश पेशाले डेटा आर्किटेक्ट हुन्। ८ वर्षअघि हाँगामा झुण्डिएको आत्मकथा कविता सङ्ग्रह प्रकाशित गरेका उनको भर्खरै हिउँद कविताकृति बजारमा आएको छ । यसैको सेरेफेरोमा सम्पादक जीवन खत्रीले कवि नदीशलाई राखेका पाँच प्रश्न र कविको जवाफ;
१, हिउँद कविता कृतिका बारेमा छोटकरीमा बताईदिनुहोस् न ।
विगत ८ वर्षयताको अन्तरयात्रा हो हिउँद।
२, कविहरूले फरक बिम्ब र प्रथिकमा कुरा गर्छन् हिउँद शब्दले कृतिलाई समेट्ने कुरा के हो ?
समग्र कविताहरुले बोक्ने भाव अथवा टोन चाहिँ हिउँद हो। हिउँद सम्झँदा तपाइँमा के घट्छ? के महसुस हुन्छ? मुटु छुने चिसो मात्र हैन हिउँद, प्रकृतिको सबैभन्दा शान्त अवस्था, घामको सबैभन्दा मीठो पहार, एैकान्तिकता, आफूभित्रको यात्रा। हिउँदको कठोर याम धेरै अर्थमा ध्यानको याम पनि हो। हुस्सुभित्र लुकेको रहस्य पनि हो।
३, हाँगामा झुण्डिएको आत्मकथा पछि ८ वर्ष बढि लागेछ हिउँद आउन । यो बीचको समयलाई कसरी सम्झिनुहुन्छ?
यो बीचको समय नै हिउँद हो। किताबमा यही ८ वर्षको हिउँदलाई सँगालेको हुँ।
४, तपाईँ नेपाल बाहिर अमेरिकामा हुनुहुन्छ र नेपाली कविता लेखिरहनुभाछ । अमेरिकामा नेपाली साहित्यको अवस्था के छ ? हाम्रा कविता नेपालीभाषी बाहेक अमेरिकनको नजरमा किन पर्दैन् वा अवस्था के छ? कसले के के गर्न सकिएला?
अमेरिकामा नेपाली साहित्यको अवस्था झन् झन् राम्रो हुँदै गइरहेको देख्छु। यता आइपुगेका युवापुस्ताको सृजना पढेर चकित भएको छु। उनीहरुले एकदमै ताजा लाग्छन्, वर्तमान नेपाली साहित्यमा दोहोरिरहने एकखालको स्वादबाट मुक्त छन् उनीहरु।
हाम्रो कवितालाई बाहिर पुर्याउनको लागि पहिले हाम्रो कोशिस् अनि समयको लगानी कसरी राम्रो श्रृजना गर्ने अनि हाम्रै माझमा कसरी राम्रोसँग पुग्न सकिन्छ भन्नेतिर हुनुपर्छ होला। राम्रो सृजनाका साथ हामी हाम्रोमाझ राम्ररी पुग्यौँ भने त्यो बाहिर त पुगिहाल्छ एक न एक च्यानलबाट।
५, हिउँद पाठकले किन पढ्नुपर्छ ?
हिउँदलाई अपनाउन पाठको हृदय कत्तिको तैयार छ, त्यसमा भर पर्छ।
झरी पर्दा माटोको बास्ना किन मन पर्छ? वरन्डामा बसेर एक डालीबाट अर्को डाली भँगेरा उफ्रेको हेर्न या अस्ताउँदै गरेको सुर्यतिर किन टोलाइबस्न मन लाग्छ? वृक्षका हाँगाहरु सुम्सुम्याउन, हिमाल देखेर मुस्कुराउन किन मन लाग्छ? जङ्गलमा आगो सल्किँदा या वस्तीमा बम पड्किँदा किन रुन मन लाग्छ?
प्रतिक्रिया
-
४
