पूर्वसञ्चारकर्मी तथा गुरुङ साहित्यिक मञ्चकी संस्थापक अध्यक्ष गौरी तमू बिशेषत गुरुङ भाषा साहित्यमा कलम चलाउने स्रष्टा हुन् । विभिन्न पुरस्कार तथा सम्मान रले सम्मानित तमूको समैँ दर्वानी मुक्तक सङ्ग्रह २०७४ प्रकाशित छ । भर्खरै सैँप्रोल कविता सङ्ग्रह प्रकाशन भएको छ । यसै सङ्ग्रहको सेरोफेरोमा सम्पादक जीवन खत्रीले स्रष्टा तमूसँग गरेका पाँच प्रश्न र कविको जवाफ;
१. सैँप्रोल कविता कृतिका बारेमा छोटकरीमा बताइदिनुहोस् न ?
– सैँप्रोल तमू महिलाको अस्तित्व, असन्तुष्टि र आक्रोसको प्रश्नसँगै आदिवासीय चेत, नारी चेत, देश, समाज, प्रकृति र प्रेम सम्बन्धका भावहरु समेटिएको कृति हो । महिला भएकै कारण सैँप्रोलको विद्वता र क्षमतामाथि गरिएको प्रश्नप्रतिको प्रतिरोध हो ।
२. स्रैपेल एउटा भिन्न नाम लाग्यो । खासमा यसको अर्थ हो हुन्छ ? र कृतिको नाम राख्नुमा यसले बोक्ने भार के हो ?
– सैँप्रोल तमू जातिको मिथकमा आउने महत्वपूर्ण महिला पात्रको नाम हो । जो आफ्नो अपा अर्थात् बाउ अपा पोर्लु पै पच्युको विद्या आफ्नो भाइमार्फत सम्पूर्ण तमू समुदायलाई हस्तान्तरण गर्ने र सिकाउने पात्र हुन् । कालान्तरमा तमू समुदायभित्र भित्रिएको पितृसत्ताले महिला भएकै कारण उनको विद्वता र क्षमतामा प्रश्न उठाएपछि उनले आफ्नो ढ्याङ्ग्रो र पच्यु विद्या आफ्नो भाइमार्फत तमू समुदायलाई हस्तान्तरण गरिन् । जसको सम्मानमा आज पनि तमू पच्यु (पुरोहित) ले हरेक कार्जे गर्दा उनै सैँप्रोल अर्थात सटला म्हिना दिदीको सम्मानमा प्रो अर्थात् घलेक लगाउने गर्छन् । वर्तमानमा तमू समुदायमा पुरोहितको काम पुरुषले मात्र गर्छन्।
सैँप्रोल नामले बोक्ने भार भनेको मातृसत्तात्मक गुरुङ समुदायमा जर्बजस्त भित्रिएको पनि पितृसत्ताप्रतिको प्रतिरोध हो । गुरुङ महिलाहरुले पितुसत्ताको विरुद्घमा आवाज उठाउनुपर्छ भन्ने नै हो ।
३. कृतिमा विशेषत गुरुड समुदायको मौलिक पहिचानलाई मुल मुद्घाकारुपमा उठाउने प्रयास गरिएको छ । यो कृतिले गुरुङ समुदायलाई कसरी समेट्छ ? र कवितामार्फत उठाउन खोजिएको उनीहरुको आवाजहरू केके हुन् ? छोटकरीमा बताइदिनुहोस् न ?
– यो कृतिले तमू(गुरुङ) जातिको उत्पत्ति कहाँ ? कुन ठाउँमा ? कसरी भयो ? आगो, मर्चा र जाँडको उत्पत्ति कहाँ कसले गरे ? मरेपछि तमूहरुको मृत्यु संस्कार कसरी गरिनुपर्छ ? आदिम कालमा तमू (गुरुड) जातिको पय(मृत संस्कार) कसरी गरिन्थ्यो ? तमूसँगै आदिवासी भूगोल र संस्कृतिमाथि राज्यसत्ताले कसरी आक्रमण गरिरहेको छ ? सत्ताले कसरी आदिवासी जनजातिका नैर्सगिकता विरुद्घको कानुन निर्माण गरी उनीहरुका जीवनदर्शनलाई अपदस्थ गरेको छ ? नेपालका तमू लगायत आदिवासी जनजातिका आ –ाफ्नै जीवनदर्शन, आदिवासीय दृष्टिकोण रहेका छन् । उनीहरुका भाषा, भूगोल र संस्कृतिमाथि अतिक्रमण भइरहेको छ । सैँप्रोलले उठाउन खोजेको आवाज भनेको यहाँका तमू लगायतका आदिवासी जनजातिहरुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार नगरियोस् भन्नु नै हो
४. गुरुड समुदायभित्र तमूको शास्त्र प्ये ताँ ल्हुँ ताँमा रहेका मिथहरुमध्ये मानव जीवनलाई हेर्ने दृष्टिकोणलाई छोटकरीमा बताइदिनुहोस् न ।
– तमू समुदायभित्रको प्ये ताँ ल्हुँ ताँ ले मानव जीवनलाई प्रकृतिको निकटतामा राखेर हेर्छ । तमू जातिको मिथले स्वर्ग, धर्म ,पाप या पुर्नजन्म हुन्छ भन्ने कुरामा विश्वास गर्दैन । मृत्युपछि पनि एउटा छुट्टै लोक छ जसलाई सिमीनासा भनिन्छ । जहाँ मृत पुर्खाहरु रहन्छन् र मृत्युपछि सबै पुर्खाहरुसँग भेट हुन्छ भन्ने विश्वास गर्छ । यसकारण पनि तमू जातिमा मृत्यु पनि उत्सवमय छ । तमूको मिथले मातृसत्तात्मक , सामूहिकता र समतामूलक समाजलाई प्राथमिकतामा राख्छ । प्रकृति, संस्कृति र मानव जीवनबिचको सन्तुलनलाइ विशेष महत्व दिन्छ ।
५. गुरुङ भाषा, संस्कृति मात्र नभएर राज्यका मूल भाषा संस्कृति इतरका लगभग सबै भाषा संस्कृतिले आफूमाथि विभेद भएको महसुस गर्छन् । स्वयं तिनै भाषा संस्कृतिका लागि भनेर आवाज उठाउनेहरुको कमजोरी चाहिँ के हो ? राज्यले के के गरिदिनुर्छ ? छोटकरीमा भनिदिनुहोस् न जुन गर्न पनि सकियोस् ।
– महसुस यसकारण गर्छन् कि राज्यसत्ताले यहाँका गुरुङ भाषा, संस्कृति मात्र नभएर राज्यका मूल भाषा संस्कृति इतरका लगभग सबै भाषा संस्कृतिमाथि अझै पनि विभेद गरिरहेकै छ । अब स्वयं तिनै भाषा, संस्कृतिका लागि भनेर आवाज उठाउनेको कमजोरी भनेको चाँहि आफूमाथि किन र कुन किसिमको दमन र विभेद भइरहेको छ भन्ने पत्तै नहुनु र आफैँ आफैँबीचको विवादमा फस्दै जानु हो । अब हेर्नुस् राज्यले त्यस्तो धेरै केही गर्नु पर्दैन बस् नेपालको संविधानको मौलिक हकमा उल्लेखित समानताको हक, शिक्षा तथा भाषा तथा संस्कृतिको हक मात्रै सम्बोधन गरिदिए हुन्छ ।
धन्यवाद ।
प्रतिक्रिया
-
४
