✍️ जनक कार्की
नाडीमा करिब एक दर्जन चुरा छ्न् होला जो विना अनुमती छिनछिन बजिरहेछ्न् । हत्केलाको भाग्य रेखालाई बुट्टेदार मेहन्दीले ढपक्कै ढाकेको छ । पसिनाले मुहारको फाउन्डेसन चुहिएर आधादिन आधा रात जस्तो अनुहार भएको छ । गर्मीको यो मौसममा कडाइवाला सारीले शरीरको कम्मर देखि तिघ्रामा घोचिरहेछ । बसको पछिल्लो सिटमा मास्क लगाएर कसैले देख्ला कि झै गरेर बसिरहेकी छु । सायद अन्य यात्रीहरू सोच्दै होलान् ,दुलहीको भेषमा कता हिँडेकी छे यो युवती ? म पूर्णरूपमा दुलहीको आभुषण र श्रृङ्गारमा सजिएकी छु । तर दुलही भने भैसकेको छैन ।
अझै पनि मेरो सिउँदो खाली नै छ । दुलहीको लायसेन्स पाइसकेकी छैन् । ट्रायल हुँदै थियो तर म जानीनाजी अनुत्तीर्ण हुन चाहेँ । बसको कन्डक्टरले एक्कासी सोध्यो , “कहाँसम्म दिदी, भाडा दिनुस्।” म आफ्नै मनसँग संवाद गरिरहेकी थिएँ । झसङ्ग भए । आफैलाई सोधेँ साच्चै म कता जाने कहाँ जाने हो । कुनै यात्राहको गन्तव्य नहुने रहेछ । एउटा यात्राको गन्तव्य जहाँ म पुग्न चाहिँन । त्यसैले अर्को यात्रा गर्नको लागि यसरी यो बसमा बसेकी छु । मैले भने , “भाइ यो बस जहाँ जान्छ म त्यही पुग्ने ।” कन्डक्टरले आश्चर्य भाव देखाउँदै पैसा लियो ।
+++
आज भन्दा २७ दिन पहिले मेरो भिनाजुको कल आएको थियो । हामी आमाबुवा र म रात्री भोजन गरिरहेका थियौ । उहाँले फोनमा , “अनर्थ भयो जया तिम्रो दिदीले आत्महत्या गरिन्।” यो सुन्न नपाउँदै मेरो मोबाइल खाना खाएको थालमै खस्यो । त्यो दिन हामीले करेलाको सब्जी खाएका थियौ । त्यो करेला यति तितो लागेर आयो । तितो समाचारले मेरा नयनबाट कति बेला आँसु चुहिएर दालको कचौरामा छप्लङ गर्यो , पत्तै भएन । मैले भनेछु चिच्चाएर , “आमा दिदीले के गरि । आफैलाई खत्तम गरिछे ।” आमा पुर्पुरोमा हात राखेर , “हे ! भगवान मायाले के गरि यस्तो ।” भन्दै छाती पिटिपिटी रुन थाल्नु भयो । बुवाको मुहारबाट एक्कासी जून खस्यो । केही बोल्नै सक्नु भएन । हातमा एक गाँस भात लिएर बसेको मूर्ति झैँ बन्नुभयो ।
हतारहतार खाँदै गरेको खानालाई विश्राम दिएर । जुठै हातले कारवालालाई रिजर्भको लागि बोलाएको थिएँ । १० मिनेटमै गाडी आइपुगेको थियो । म आमाबुवा भएर दिदीको घरतर्फ लाग्यौ । दिदीको घर हामीबाट करिब ४५ किलोमीटर टाढा पर्छ ।
+++
करिब दुई घण्टापछि दिदीको घरमा पुग्यौँ । आँगनामा भीडभाड थियो । दिदीलाई पोस्टमार्टमको लागि लगिसकिएको थियो । भिनाजु हस्पिटलबाट फर्किदै हुनुहुन्थ्यो । मैले भिनाजुसँग गुनासो गरे , भिनाजु हामी नआइकन किन दिदीको शवलाई लैजानु भयो । कमसेकम हामी आउन्जेल त कुर्नु पर्ने थियो । भिनाजु डराए जस्तो भावमा , “जया , उनी तिम्रो दिदी मात्र होइन ,मेरी श्रीमती पनि हो । मेरी श्रीमतीलाई के गर्दा राम्रो हुन्थ्यो , त्यो मलाई पनि थाहा छ ।” अक्मकाएर जवाफ दिँदै जानुभयो । मेरो आँखा दिदीका जुम्ल्याहा छोरीहरूमा पर्यो । उनीहरू पिढीमा उभिएर सुकुसुकुर रुँदै थिएँ । करिब तीन वर्षका भए उनीहरू। आमा गुमाउनुको पीडा उनीहरूलाई थाहा नभए पनि आमाको न्यानो काखको अभाव भने महसुस गर्दै थिएँ । उनीहरूलाई देखेर मेरो मन चुक भन्दा अमिलो भएर आएको थियो । भोलिखेर पोस्टमार्टम रिपोर्ट आयो । दिदीको दाहसंस्कार सकिएर हामी घर फर्कियौ ।
माया दिदी मलाई एकदम साहसिली लाग्थ्यो । उसले भन्थी । जीवनमा हरेक कुरालाई स्वीकार भावले हेर्न जान्नुपर्दछ । अपेक्षाले हामीलाई दुख दिन्छ । अपेक्षाको जीवन मलाई मन पर्दैन । यो कुरा बुद्धले भनेको हो बुझिस् भन्थी मैले बुझे दार्शनिक भनेर जिस्काउँथे । त्यस्तो मान्छेले कसरी आत्महत्या गरि होला म निकै दिनसम्म सोचेर बसिराखे ।
+++
बसचालकले एक्कासी ब्रेक हान्यो । म अगाडिको सिटमा गएर ठोक्किएँ । यात्रीहरूको हल्लीखल्ली भयो । कसैले , “रक्सी खाएर चलाएको हो क्या” भन्दै थिए ।
कसैले , गुरूजी आरामसँग हामीलाई स्वर्ग जाने हतार छैन । भनिरहेका थिए। कसैले होइन खाल्डो रहेछ बाटोमा । यो सरकारले आफ्नो मात्र भुँडी टाल्छ । यसो यो सडकको भुँडी पनि टाल्दे हुने नि भनिरहेका थिएँ ।
बस रोकेको समयमा सिटको झ्यालबाट एउटा फेन्सी पसलमा मेरो आँखा पर्यो । ढोकाको दायाँतर्फ एउटा पुत्ला थियो । त्यो पुत्लाको कपडा परिवर्तन गर्दिदै थिए । मेरो मनमा त्यो पुत्लाई हेरेर अनेक कुरा खेल्न थाल्यो । त्यो पुत्ला जसको इच्छाको कुनै कदर हुन्न । आज एउटा वस्त्र भिर्याइन्छ भोलि अर्को । साच्चै त्यो पुत्लालाई पनि त आफ्नो मनपर्ने वस्त्र पहिरिने मन होला । तर विचारा पुत्ला विवस छ अरुको इच्छाको भारी बोक्न । ल ठीक छ त्यो त पुत्ला हो । सहिदिन्छ । बेजान छ । निमुखा छ । तर म त मान्छे हुँ । मेरो पनि इच्छा छ । चाहना छ । त्यसको त अर्थ छैन । जाबो यो पुत्लाको इच्छाको कदर के गरोस् । म र त्यो पुत्लामा केही भिन्नता भेटिन । जो अरुको आदेशमा कठपुतली बन्न परेको छ ।
+++
दिदीको पूण्यतिथिको दिन थियो । हामीहरू गहुत ग्रहण गर्न दिदीको घरमा गएका थियौ । मेरा भतिजीहरु आमालाई खोजिबस्थे । भन्थे “सानिमा , ड्याडीले भनेको मामु उ त्यो आकाशमा जानुभएको छ रे हो । अनि हाम्रो मामु त स्टार बन्नुभएको रे । म पनि आकाशमा जान्छु न । कसरी जाने त्यहाँ ?” मैले मलिन हुँदै भनेको थिएँ, “त्यहाँ जान त रकेट चाहिन्छ।” जूनले भनेको थिइन, “सानिमा हजुरले हामीलाई दुईटा रकेट किन्दिनु न हामी पनि जान्छौ ।”
म कहि बोल्नै सकिन । बस् भिजेका परेलाले लिएर हुन्छ भन्ने भावमा टाउको हलाए । हामीले केही दिनलाई जुनतारालाई लिएर जाने अनुमती मागेर घर फर्किएका थियौ । जूनताराले त्यसदिन घरमा आएपछि मसँग धेरै कुरा गरेका थिए । जूनताराले भनेकी थिइन् “मामुलाई आज भोलि त आकाशमा जून मामाले पिटनु हुन्न होला नि है । घाम मामाले चुरोटले पनि पोल्दिनुहुन्न होला है।”
मैले जवाफामा, “जून मामा कति शीतल हुनुहुन्छ । अनि घाम अंकल पनि निकै प्यार हुनुहुन्छ पोल्नुहुन्न बरु न्यानो दिनुहुन्छ ।”
ताराले भनेकी थिइन्, “ए ओके त्यसो भए त ठीक छ । ड्याडीले त कति कुटनु हुन्थ्यो मामुलाई । मामुलाई त अहिले कति रमाइलो होला है ।”
यो सुनेर म झसङ्ग भए कतै दिदीले आत्महत्या गर्नुमा हिंसाको हात त छैन । मैले अचानक एकदिन दिदीसँगको वार्तालाप सम्झिएँको थिए । सधै हिम्मतिलो कुरा गर्ने दिदी त्यो दिन भन्दै थिर्इ । जिन्दगी आखिर सम्झौताको । सहनै पर्ने जिउनै पर्ने भोग्नै पर्ने मैले । दिदीको यस्तो कुरा सुनेर म दङ्ग परे । दिदीले यति हारेको कुरा कहिले गरेकी थिइन । मैले माहोललाई शान्त बनाउने हेतुले भने , अनि जिन्दगीमा हर कुरा स्वीकार गर्नु पर्छ अपेक्षा गर्नु हुन्न भन्या होइन ।
हो, तर किताबी ज्ञान र व्यवहारमा धेरै फरक हुने रहेछ । स्वीकार गर्नुको पनि सीमाना हुने रहेछ कति स्वीकार गर्ने ? कति सहने । भिनाजु प्राय जाँड खाएर आउछ्न । अनेक केटीसँग हिँडेको सुन्छु । मेरो मनमा खिन्नता आउँछ । यो कुरा आमालाई भनेकी थिइन्। दिदीलाई समय आएपछि सब ठीक होला भनेर स्मझाएक थिएँ । आज छोरीहरूको कुराले मलाई किन किन दिदीलाई आत्महत्या गर्न दुरुस्सान गरेको लागिरहेको थियो ।
+++
अधिकतम यात्रु खाना खानुको लागि होटेल छिरे । मलाई यात्रामा खान खानु मनपर्दैन । लोकमार्गमा रेस्टुरेन्ट हाइजेनिक लाग्दैन । होटलको छेउमा एउटा बुढी आमाले मकै पोलेर बेँच्दै हुनुहुन्थ्यो । मैले एउटा पोलेको मकै मागेर छोड्याउन थालेँ । मकै छोडाउँदौ गर्दा । त्यो पोलेको मकै र स्त्रीको जिन्दगी कल्पना गरे।
कति जतनले माटोमा विजारोपण हुन्छ – मकै को दाना । त्यसलाई गोडमेल गरेर, झारपात उखलेर डल्ला फुटाएर घोगा लाग्छ । त्यसपछि बादरको आक्रमणबाट झम्टाइ खानुपर्छ, चुलीमा खप्टिएर बस्नुपर्छ, छोडाइएर भुटिनुपर्छ तातो हाँडीमा, अनि कलिला मकैहरू आगोको भुग्रोमा सेकिनुपर्छ । अन्त्यमा दुधिला मकै चपाइसकेपछि नारीको जिन्दगी पनि डाठ झै कुनै नालीको हिलोमा वास बस्नपर्छ ।
+++
जङ्गलले सिउँदो कोरेको जस्तो बाटोमा बस हावा बेगलाई छिचोल्दै कुदिरहेको छ । यतिकैमा बसले आफ्नो गति नियन्त्रण गर्छ । प्रहरी चेकिङ पोस्टको लागि । दुई जना प्रहरीले हातमा एउटा फोटो लिएर कसैको खोजी गरे जस्तो लाग्यो । प्रहरीले अगाडि सिटमा बसिरहेका मान्छेलाई सोधिरहेका छन्, “यो केटीलाई कतै देख्नुभएको छ ? टाउको हल्लाएर अगाडिका यात्रीले नाइँ भन्ने भाव प्रकट गरिरहेका छन् । प्रहरीको आँखा ममा आएर अडियो । एकपटक निहालेर फोटो हेरे । अनि मलाई हेरे । प्रहरीले आफ्नो सहकर्मीलाई कोट्याउँदै,“केटी भेटियो । उ त्यहाँ भएको केटी होइन त ?” भन्दै म तिर आए । मलाई तस्बिर देखाउँदै, “यो तस्बिरको केटी तपाईं होइन ? ल हामीसँग हिँडनुस त” तानेर लगे ।
मैले मनमनै सोचेँ, “पक्कै पनि म विहेको मण्डपबाट भागेर आएकोले मलाई पत्ता लगाउन प्रहरीमा उजुरी गरेको हुनुपर्छ।”
म प्रहरीसित चौकीतर्फ लागे । बसमा भएका सबैजनाले तन्कितन्की मैतिर हेर्दै छन् । उत्सुकताको नजरले मेरो दुलहीको भेषलाई अनेक अडकल अन्दाजी गरेर नजर फ्याँकिरहेका छन् ।
+++
दिदीको मृत्यु भइसकेपछि केहिदिनपछी भिनाजुले आमाबासँग रुँदै, “म अब एक्लो भए । दुईवटा छोरी । घरधन्दा । एक्लै मेरो काँधमा भयो । मलाई अर्को बिहे गर्नैपर्ने बाध्यता छ । फेरि विहे गरेर ल्याएको श्रीमतीले मेरा छोरीहरूलाई उस्तै माया र ममता पक्कै दिने छैनन । यतिबेला सबैभन्दा उत्तम सालीलाई नै श्रीमती देखिरहेको छु । आखिर उनीसित मेरा छोरीहरू पनि खुसी हुनसक्छन् ।”
आमाबालाई पनि यो कुरा सायद ठीक लागेछ । मसँग, तैँले जसरी भए पनि भिनाजुको घर सम्हाल्न पर्छ भनेर निर्णय सुनाउनु भयो ।
मलाई यो निर्णयले मन मस्तिष्कमा ठूलो आँधीबेहरी ल्याइदियो । भिनाजु जसको व्यवहारबाट म पहिल्यै देखि आजित थिएँ । उनको मलाई हेर्ने कामुक नजर पटक्कै मनपर्थेन । अनि त्यसमाथि छोरीहरूको कुरा अनुसार दिदीलाई हिंसा पनि गर्थे । म कसरी त्यस्ताको श्रीमती हुनसक्छु ।
छोरीको जीवनको निर्णयको ताल्चा आफ्नो हातमा नहुने रहेछ । यसमा अरुकै स्वामित्व हुने रहेछ । छोरी भनेको त कुनै टेलिभिज जस्तै रहेछन । जसलाई रिमोट लिएर बसेकाहरूले आफ्नो इच्छा अनुसार फेर्ने बदल्ने गर्दा रहेछ्न् ।
मैले नमान्दा नमान्दै विहे तय भयो । किनकिन जग्गेमा बस्दा मलाई चितामा जिउँदै जल्न बसेको अनुभूति भयो । हामी नारीहरू कतिञ्जेल अरुको इशारामा । अरुको निर्णयमा चलिरहने । चुपचाप रहने सहनसील नारीको स्वभावले नै हामीहरू अन्यायमा परिरहेका छौँ । विद्रोह गर्ने हिम्मतको अभावले नै हामी शोषित हुनु परेको छ । अत्याचार गर्ने भन्दा सहने मान्छे बढी दोषी हो भन्ने मलाई लाग्यो ।
म ट्वाइलेट जाने बाहाना गरेर घरबाट यहि दुलहीको भेषमा भागेर यहाँसम्म आए । चिलले हामी जस्ता चल्लालाई आक्रमण गर्न के पो छाडथ्यो र रु यहाँसम्म भागेर आउँदा पनि आफ्नो पञ्जामा पारिहाल्यो । प्रहरी लगाएर ।
+++
प्रहरीले मलाई घरमा लगेर जिम्मा लगायो । बुवाआमा मदेखि रुष्ट हुनुहुन्छ ।
बुवा आक्रोसमा, “समाजको अगाडि कसरी मुख देखाउने हामीले, एउटी छोरीले झुण्डिएर प्राण फाली अर्कीले विवाह मण्डपबाट भागेर इज्जत फाली । हामी बुढाबुढीलाई जिउँदै मार्ने भए यी छोरीका जातले ।”
कस्तो इज्जत होला । कस्तो प्रतिष्ठा होला । जो हामी छोरीहरूले नै अग्निदाह गरेर बचाइदिन पर्ने । छोरीको आफ्नो सपना र इच्छाको कदर नहुने कस्तो समाज होला यो ?
बुवा भन्दै हुनुहुन्छ, “अब यसलाई ज्वाईँसँग फेरि साइत हेरेर पठाइदिऊ ।”
आमाले पनि यहि भाव देखाउनु भएको छ । मेरो मनभित्र यस्तो ज्वाला दन्किरहेको छ कि जसले मेरो सबै चाहानालाई जलाइरहेको छ । मन जलिरहेको यो दृश्यमा आमाबाले मट्टीतेल छर्किरहनु भएको छ । एकदम रिगंटा लागेर सारा पृथ्वी घुमिरहेछ ।
म अचानक आफूलाई सम्हाल्न नसक्ने स्थितिमा पुगेँ । मलाई भिनाजुसँग कदापी विहे गर्नु छैन । म भान्सा कोठामा छिरेर सारा भाडाकुडा भुइँमा लथालिङ्ग पारेर फाल्दिन्छु । बैठक कोठामा आएर सोफाको कभर भताभुङ्ग गराइदिन्छु ।
आमाबाले मलाई सम्हाल्न आउनुहुन्छ । म आमाबालाई पनि धक्का दिएर भित्तामा लडाइदिन्छु । मैले लगाएको कपडालाई च्यात्न थाल्छु । अर्थनग्न हुन्छु । अनि घरबाहिर निक्लन्छु । सारा बजार म अर्थ नग्न भएर घुम्छु । बजारहरूको आँखा मेरो अव्यवस्थित क्रियाकलाप हेरेर माउरी झैँ भुनभुनाउन थाल्छ्न् ।
चिन्नेहरूले फल्नालाई पनि ग्रहै लागेको रहेछ । एउटी मरि अर्की बहुलाएर हिँडिछ भने । नचिन्नेहरूले यस्तो तरुनी मान्छेलाई के भएछ भनेर अडकल काटे । कोहि प्रेममा धोका पाएर फल्नाको छोरी पागल भै भनेर मौखिक हस्ताक्षर गरे । कोहि भिनाजुसँग जबर्जस्ती बिहे गराइदिन खोज्नुले जिन्दगी बर्बाद भयो भने ।
म यो सभ्य सहरमा आज यसरी असभ्य भएर अर्थनंग्न भएर हिँडेकी सबैको जिब्रोको तातो पकौडा बन्ने गरि । म बहौलाएको खबर हावामा यसरी फैलिएछ कि कुनै भाइरल टिकटक भिडियो जस्तरी ।
भिनाजुले त्यस्ती बौलाहीसँग के विहे गर्ने भनेर निर्णय वदर गरेछ्न् ।
+++
करिब एक साता म सहरको गल्लीमा धुवाँ धुलोको पाउडरले सजिएर हिँडे । फोहोरको थुप्रामा सुतेँ । मलाई यो सहरको फोहोर मस्तिष्क बोकेको डम्पिङ साइट भन्दा यो धेरै सफा लाग्यो ।
एकदिन बाआमाले मलाई भेटेर पागलखानामा लगेर छोडनुभयो ।
पागलखानामा आएको एक महिना बितिसकेको छ । साच्चै भन्नुपर्दा मलाई पागलखाना बस्नेहरू भन्दा पागलखाना बाहिर बस्ने कथित सभ्य समाजका मान्छे पागल लाग्न थालेको छ । पागलहरूसँग बस्दा पागल जस्तै व्यवहार गरिएन भने पागलले अर्को सद्धे मान्छेलाई पनि पागल नै देख्छ । आज म यो पागलखानामा आफूलाई सुरक्षित महसुस गरेकी छु ।
वास्तवमा म त्यसरी अर्थनग्न भएर नहिँडेको भए मेरो सपना र इच्छा मरिसकेको हुने थियो । म अपराधी भिनाजुको श्रीमती बनेर काडा बिछ्याइएको बाटोमा जिन्दगीभर हिँडन बाध्री हुन्थेँ । मैले यो पागल समाजको अगाडि आफूलाई बचाउन जे गरेँ त्यसको पछुतो मलाई छैन । पागलको अभिनयले मेरो चाहनाको हत्या हुनबाट बचायो ।
म केही वर्षमा यो पागलखानाबाट निक्लने छु । एउटा नयाँ संसारको सिर्जना गर्नेछु । जूनताराले भरिएको आकाश बनाउने छु ।
प्रतिक्रिया
-
४
