वि.सं. २०३९ साल कार्तिक १९ गते खोटाङमा जन्मिएका सुविन भट्टराईको हालसम्म ‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’, ‘मनसुन’, ‘प्रिय सुफी’ र पछिल्लो पुस्तकको रूपमा ‘इजोरिया’ गएको हप्ता मात्र लोकार्पण भएको छ । युवा पुस्ताको ढुकढुकीका रूपमा स्वीकार्य सुविनका आख्यानमा पाइने प्रेम र सम्बन्धको गुलिया अभिव्यक्तिलाई पाठकले अधिक मन पराउँछ्न् । ‘प्रिय सुफी’मा उनले प्रेरणादायी जीवन दर्शनको कथा लेखेर पाठकलाई अघिल्ला कृतिको भन्दा फरक स्वाद चखाएका थिए । ‘इजोरिया’ले पछिल्लो समय राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ । सोही सन्दर्भमा सेतोमाटोका लागि सहकमी जनक कार्कीले ‘इजोरिया’मा आधारित भएर गरेको पुस्तक वार्ताको साराशं यस्तो छः
चार वर्षपछि ‘इजोरिया’ लिएर दशैँको सङ्घारमा पाहुर स्वरूप नेपाली पाठक माझ आउनुभएको छ । तपाईंको यस उपन्यासमा प्रेम त पक्कै छ होला भन्ने अनुमान लगाउन सकिन्छ । प्रेम बाहेक के छ ?
चार वर्षपछि आएको छ ‘इजोरिया’ । यति लामो समय लगाएर आएको पुस्तक पक्कै निम्कै मिहिनेत लगाएको छु भन्ने पाठकहरूले बुझ्नुभएको छ । तर, यसमा के छ भनेर म अहिले केही भन्दिनँ । यत्ति हो ‘इजोरिया’ ‘समर लभ’ वा ‘मनसुन’ होइन । नपढीकनै ‘समर लभ’ वा ‘साया’ वा ‘मनसुन’ भनेर भन्नेहरूलाई त मेरो केही भन्नु छैन । मैले मिडियामा यसको कथावस्तु अहिलेसम्म केही खोलेको छैन । पाठकले पढेरै थाहा पाउन्, के हो कथा भनेर । यसको पाठकीय रिभ्यू भटाभट आउन थालेको पनि छ । नपढ्नेहरूले सामाजिक सञ्जाल आदिबाट के रहेछ कथावस्तु भनेर अलिअलि अनुमान पनि लगाउनु भएको होला ।
इजोरिया नामलाई धेरै मिठासपूर्ण भएर लिएका छन् । यो नाम जुराउँदाको केही रोचक सम्झना छ कि ?
‘इजोरिया’ मैथिली शब्द हो । यसको अर्थ जूनको उज्यालो हो । यो शब्द पुस्तकभित्रै प्रयोग पनि भएको छ । एउटा पात्र विशेषको प्रसङ्ग ‘इजोरिया’ भन्ने शब्दसित अलिकति गाँसिएको छ । अलिक प्रतीकात्मक रूपमा यो प्रयोग भएको छ । सुन्दै जाँदा श्रुतिमधुर लागेर पनि यो शब्दबाट शीर्षक बनाएँ ।
तपाईंले नेपाली टिनएजर पाठकलाई किताब पढ्ने बानी लगाइदिनुभयो भनेर तारिफ गरेको सुनेको छु, कतिले साहित्यमा रुचि राख्न सुरु गरेका पाठकलाई तपाईको किताब पढ्ने सल्लाह गरेको पनि देखिन्छ । तपाईंलाई आरोपचाहिँ प्रेम मात्र बढी लेख्छ भन्ने छ । यस विषयमा केही भन्न छ ?
प्रेम मात्र लेख्छ भनेर आरोप लगाउनेहरूले चाहिँ ‘समर लभ’को अत्याधिक लोकप्रियताको कारण हो । म ‘कथाकी पात्र’ नाम गरेको कथासङ्ग्रहबाट आएको हुँ । जहाँ प्रेममात्र होइन धेरै विषवस्तु, विशेषगरी मनोवैज्ञानिक कथाहरू बढी लेखेको थिएँ । त्यो कथा भएकाले र पहिलो भएकाले अलिक ओझेल परेको पुस्तक हो । साहित्यको सानो घेरोले पढेर राम्रो समीक्षा पाएको पुस्तक थियो त्यो । समर लभ आएपछि त्यो सबैले बिर्सिए । समर लभ जे हो मेरो परिचय त्यहिँ भयो । ‘साया’ र ‘मनसुन’ले पनि ‘समर लभ’कै कथावस्तुलाई निरन्तरता दिएको चाहिँ म स्वीकार्छु । तर मेरा सबै पुस्तक नपढ्नेहरूले मैले चालीसवटा कृति लेखिसक्दा पनि ‘समर लभ’कै परिचयले मूल्याङ्कन गर्नेछन् भन्नेमा म ढुक्क छु ।
नेपालमा थोरै पूर्णकालिक लेखक मध्य तपाईं पनि एक हो । एउटा पूर्णकालिक लेखक भइरहन कतिको गाह्रो छ ?
गाह्रो त छैन । अहिलेसम्म पूर्णकालीन लेखक भएरै धेरै कुरा पाएको छु । समग्र जीवन धानेको पनि छु । तर निरन्तरताको विषयमा चाहिँ अहिले केही भन्न सक्तिनँ । भोलि कहाँ पुगिन्छ, के हुन्छ, नेपाली साहित्यको बजार कति फैलिन्छ, त्यसैमा निर्भर रहन्छ ।
तपाईंका पाठकलाई तपाईंको जीवनशैलीबारे जान्ने रुचि हुनसक्छ । तपाईंको जीवनशैली संक्षेपमा बताइदिनु न ?
मेरो जीवनशैली बडो सामान्य र नीरस छ जस्तो लाग्छ । अधिकांश समय लेखन र पठनमा बित्छ । यसर्थ घरमै बित्छ धेरै जसो समय । किताब र ल्याप्टप अगाडि धेरै समय बिताउने मान्छेको जीवनशैली कस्तो छ भनेर त अनुमान गर्न सकिन्छ नि । तर दुवै चीजमा म रमाउँछु पनि । अलिअलि घुमफिर पनि हुन्छ र त्यो बेलाचाहिँ जिन्दगी निरस लाग्दैन । उर्जावान् महसुस हुन्छ ।
तपाईंलाई मन पराउने एउटा ठूलो जमात छ । यो जमात प्रत्येक नयाँ किताबसँगै बढेको पाउनु भएको छ वा घटेको छ । यसलाई तपाईले आफ्नो किताबको बिक्रीका हिसाबले भन्न सक्नुहुन्छ । अर्थात हरेक नयाँ किताबसँगै विक्री घटदो छ वा बढ्दो छ ?
प्रत्येक किताब आउँदा नयाँ पाठक पनि थपिन्छ । केही पाठक गुमिरहेका पनि हुन सक्छन् । बिक्रीका हिसाबले भन्दा चाहिँ सबै किताबहरू उस्तै उस्तै आँकडामा छन् । अब पछिल्ला प्रकाशित भन्दा अघि प्रकाशित त पक्कै बढी बिक्री भएका छन् । समय बित्दै जाँदा बिक्री पनि बढ्दै जाने कुरा हो । सामाजिक सञ्जाल सरसरती हेर्दा पाठक चाहिँ निरन्तर बढेका छन् जस्तो लाग्छ ।
तपाईंको किताब धेरै बिक्ने सूचिमा पर्दछ । एकथरी भन्छन् किताब बिक्नुले मात्र पुस्तकको गुण मापन हुँदैन । यहाँलाई के लाग्छ किताब धेरै बिक्नु भनेको गुणवान् किताब हो वा होइन ?
धेरै बिक्दैमा राम्रो हुने भन्ने त होइन । तर धेरै बिक्ने सबै नराम्रो पनि हुँदैन । म नराम्रो लेखक भएको भए अथवा मेरो लेखाइ खराब भएको भए पाठकले यसरी निरन्तर मलाई प्रेम गर्नुहुन्थेन् । पक्कै केही होला र वहाँहरूले यति धेरै मन पराउनुहुन्छ जस्तो लाग्छ । र मलाई पनि म सबैभन्दा धेरै राम्रो लाग्छु । म आफूलाई मन पराउँछु । म आफूले लेखेको कुरा मन पराउँछु । मजस्तै स्वाद भएका पाठकले त्यसलै मलाई र मेरो लेखाइलाई मन पराउनुभएको होला ।
एकथरी लेखकले तपाईंलाई सस्तो विषयमा लेख्ने लेखक भन्छन् । खगेन्द्र सङ्ग्रौलाले आफ्नो ट्विटमा तपाईंमाथि व्यङ्ग्य पनि गरेका थिएँ, उनले आफ्नो ट्विटर एकाउन्टमा “चाबहिलको एक पुस्तक पसलमा एक मनुवाले अत्ताल्लिँदै आएर भनेछन्,’ यो पुस्तक कडा रहेछ, पढ्न सकिनँ, पैसा फिर्ता दिनोस्। ‘समर लभ’ र ‘साया’ टाइपका पुस्तक पढेर विद्वान कहलिएका जीवातको रूचि र बौद्धिकताको स्तर उकास्नु पुस्तक कर्मको धर्म होला कि नहोला ?” गम्भीर लेखकलाई एक गम्भीर प्रश्न, यस्ता प्रतिक्रियालाई कसरी लिनुभएको छ ?
खगेन्द्र सङ्ग्रौला पढेर हुर्किएको मान्छे म । वहाँलाई यति भन्न छुट छ । सम्मान गर्छु वहाँको । यत्ति मात्रै थप्छु, धेरै थरीका साहित्य अटेको ठाउँमा मेरो सानो ठाउँ पनि अटोस् । म अरुको ठाउँ खोस्न आएको होइन । आफ्नो ठाउँ बनाउन मात्र आएको हुँ । सबै किसिमका साहित्य हुनुपर्छ हाम्रोमा । अट्नुपर्छ । एउटा बिधाले अर्को बिधालाई तान्ने हो । साहित्य यसैगरी फराकिलो हुन्छ ।
यहाँले ‘इजोरिया’लाई कसरी भेट्नु भयो, फुलाउन के कस्तो मलजल गर्नुभयो र इजोरियाको केही रचन गर्भ सेयर गर्न मिल्ला ?
सधैँ काठमाडौँको परिवेशमै लेख्दा लेख्दा दिक्क भएकाले काठमाडौँ बाहिरको परिवेश टिप्न जनकपुरतिर लागेँ । केही फरक विषयमाथि लेख्नुपर्छ भन्ने लागिरहेको थियो । दिमाग धेरै महिनासम्म चल्यो । कथा बिस्तारै आफैँ हुर्किँदै गयो । जनकपुर पुगेर केही सुन्दर मन भएका मानिस भेटेपछि उपकथाहरू जन्मिए । पटक पटक जाँदै आउँदै गरेपछि झन् कथाको क्यानभास ठूलो हुँदै गयो ।
यहाँको पछिल्लो उपन्यास ‘प्रिय सुफी’मा जीवनप्रतिको चिन्तन, दृष्टिकोण र स्वप्रेमको महत्त्वपूर्ण विषय उठेको छ । आत्महत्या जस्तो गम्भिर विषयलाई पनि स्पर्श गरेर एउटा प्रेरणादायी सन्देश प्रवाह गरेको छ । साहित्यले कस्तो समाजिक जिम्मेवारी बोक्नुपर्छ जस्तो लाग्छ ?
साहित्यले सामाजिक जिम्मेवारी बोक्यो भने त त्यो अझ राम्रो हो । तर, जिम्मेवारी बोकाउने नाममा साहित्यमा अनावश्यक नारा, अर्ती र उपदेशको भद्धा बोझ साहित्यलाई बोकाउनु हुन्न । नभए हाम्रोमा भएका पाठक पनि गुम्ने खतरा हुन्छ ।
विशिष्ठ शैली र शिल्प चाहिन्छ । समाजका बिसङ्गतिलाई सम्बोधन गर्नु पनि कला हो । नभए त समाचारमा हरेक दिन आइ नै रहेका हुन्छन् सब सामाजिक गतिविधि र बिसङ्गतिहरू । घुमाइ फिराइ, अझ मिठा बिम्वमा, चोटीला वाक्यमा, सुन्दर कथानक सिर्जेर समाजमा विद्यमान असन्तुष्टिहरूलाई साहित्यमा ल्याएर राख्नु सक्नु राम्रा साहित्यिकहरूको गुण हो ।
यहाँले पछिल्लोपटक पढेर मनपराएको कुनै पुस्तक ?
पछिल्लोपटक मैले दोहो-याएर भवानी भिक्षुको आगत पढेँ । यो नेपाली साहित्यको विशिष्ठ कृति हो । आगतले मदन पुरस्कार पनि पाएको छ । तर, पाठकमाझमा जति फिँजिनु पर्ने थियो, त्यति भएको देख्दिनँ । जति चर्चा गरिनु पर्ने त्यति भएको देख्दिनँ । झन् आजको पुस्तालाई कतिलाई थाहै छैन । बजारमा छैन पनि जस्तो लाग्छ । कतिलाई सिफारिस गरेँ, कतै पाइएन भने । अहिले के छ कुन्नि तर म आफ्नो बलबुताले जति सक्छु, यो किताबलाई धेरै भन्दा धेरै पाठकमाझ फिँजाउन चाहन्छु ।
प्रतिक्रिया
-
४
