खजुरगाछी झापामा जन्मिएका नबिन प्राचीन हाल क्यानडामा बस्छ्न् । ‘उभिएर एक्लै’ (२०७३)मा प्रकाशित पहिलो कृति हो । पछिल्लोपटक उनको नवीनतम् कविता सङ्ग्रह ‘प्वाँख’ लोकार्पण भएको छ । आजको आँगनको उनै कवि नवीन प्राचीनसँग सहकर्मी जनक कार्कीले गरेको पुस्तक वार्ताको सारसंक्षेप प्रस्तुत छः

बिहानै सुर्यको झरीमा नुहाउनु, पवनका साबुनले तन मिचिमिचि रगेड्नु, बगैँचामा पसेर फूलका अत्तर छर्किनु, हिमालमा ऐना हेर्ने, झरनाले शृङ्गार गर्नु, चराले गाएको गीत सुन्नु आदि प्राकृतिक सौन्दर्यलाई प्रकृतिकै एउटा अंश कवि हृदय बिकेर बाँचेको मान्छेले अभाषलाई भाषा दिनु नै कविको काम हो एकथरी भन्छ्न्, तपाईंको हकमा के छ ?

कविको काम त मलाई अझै थाहा भईसकेको छैन । कसोकसो श्रृष्टीमा सबैले कुनै न कुनै रूपमा आफूलाई व्यक्त गर्न खोजिरहेको हुन् कि झैँ देख्छु । कुनै कुनै चित्त यस्ता हुँदा हुन् कि उनीहरूलाई सबै थोक वाचाल लाग्दा हुन् । त्यहि ‘लाग्नु’ले कविता उत्रँदो हो कि भन्छु ।

संसार छ, संसार भएकाले नै दुःख छ, असमानता छ, विभेद छ, शक्तिको दुरुपयोग छ, हिंसा र बलात्कार छ । यी सबै कुरा किन छ भनेर प्रतिरोधमा कविले कविता जन्माइरहन्छ । यो कविको जिम्मेवारी कि आदत से मजबुर ?

संसार छ, संसार भएकाले नै दुःख छ, असमानता छ, विभेद छ, शक्तिको दुरुपयोग छ, हिंसा र बलात्कार छ र सँगै संसारमा यो सँधै यस्तै रहनुहुन्न भन्ने चेतना छ, प्रतिरोध पनि छ । कवि एक मानव हुनुले यो उस्को ‘हुनु’ होला । यसलाई आदत मान्नुस् या जिम्मेवारी ।

कुरुपभन्दा कुरुप वस्तुलाई पनि कविले सौन्दर्यशास्त्रको प्रयोग गरेर प्रस्तुत गर्छ भनिन्छ, के कुरुपता भन्ने साच्चै छ कि कुरुपता मान्छेले बनाएको हो ? नत्र गुहुलाई अत्तर छर्किएर गुहुको अस्तित्व नै मेटाउन कविले मिल्ला ?

सौन्दर्य र कुरुपता सापेक्षिक कुरा हुन् जस्तो लाग्छ । मलामीको भीडमा नृत्य कतै कुरुप भनिदेलान्, कतिले मृत्युलाई उत्सव झैँ मनाउलान् ।
अस्तित्व मेटाउने चेतना त ‘कवि चेतना’ नै नहुनु पर्ने । कवि रूपान्तरणको पक्षपाती चाहिँ हुन्छ कि ?

कविले गुहुलाई अत्तर छर्कने भन्दा गुहु कुनै बिरुवाको लागि सबैभन्दा पोसिलो खान्की पनि हो है पनि भनिदिने होला । समष्टीको परिपोषक चेतना कवि हो कि !

एउटा जिन्दगीमा दुईवटा पृथ्वी बाँचेको हुन्छ मान्छेले, एउटा संसार बाहिरी जसमा परिवार,समाज,मान मर्यादा,संघर्ष आदि हुन्छ्न् । अर्को संसारमा अदृश्य पृथ्वी हुन्छ जो कुनै अभिलेखमा हुँदैन । एउटा कविको जिन्दगीमा हुने अदृश्य संसार कस्तो हुन्छ ?

सायद एक आम मान्छेको जस्तै, असन्तोष, छटपटी, विद्रोह,कल्पना, प्रेम ,आनन्द, शान्ति, मौनता, शुन्यता सबै सबै अलिअलिले भरिएको ।

कविता लेख्ने भन्दा बढी जिउने कुरा हो भन्छ्न्, कविता जिउने भनेको कसरी हो, तपाईले कविता जिइरहेको मान्छे देख्नुभएको छ ?

कविता,साहित्य,दर्शन,अध्यात्म, विचार यि सबै अमूर्त कुरा होलान् । तपाईं कल्पनामा एकदम असल मान्छे हुन सक्नुहुन्छ, तर दैनिक जीवनमा त्यो सबै असलपन उतार्न, अभ्यास गर्न सहज हुन्न । कविता जिउने भनेको कविता जस्तै प्रतिबद्ध,कोमल र सुन्दर जीवन बनाउन, आफूलाई बनाउन प्रयास गर्ने हो होला । मैले कविता जिउन ‘प्रयास’ गरिरहेका केही मान्छे देखेको छु ।

कविताको अखडामा पनि वादवादविचमा कुस्ती चलिरहन्छ । कवितामा वादविवाद भन्दा पर रहेर निर्वाद हुन सक्दैन ?

कविता आफैँ पनि यो अस्तित्वसँग वादविवाद (अन्तर्कृया) होला हैन र ? हरेक वादविवाद (अन्तर्कृया) स्वस्थ बनाउन प्रयास गर्ने पो हो कि भन्छु है ।

कवितालाई ध्यानसँग पनि तुलना गरिन्छ । कविता ध्यानको उच्चतम् विन्दुमा पुगेर जन्मिने हो कि ध्यान लाग्न असमर्थ भएपछि कविता जन्मने हो ?

सायद दुवै हो ।

के मान्छेले भन्न नसकेका सबै कुरा कविता हुन् ?

अव्यक्त रूपमा त सबै विचार,भावना, संवेग कविता नै होलान् । सबै सृष्टी, अस्तित्व नै कविता होला । शब्द र संरचनामा नबाँधिएका कविता ।

कतै पनि नगएर यहाँ पनि नबसी कहाँ नजान र कहाँ पुग्न सकिएला ?

सायद त्यहाँ, जहाँ हामीलाई पुग्नुपर्नेछ, तर हामी बाटो अल्मलिएर बरालिएका छौँ ।

आजका अधिकांश मानिस लामखुट्टे जस्तै छन् । जो भोकाएका छन् । तर, झुल, मच्छड धुप, गुड नाइट आदिद्वारा मारिएका छन् रोकिएका छन्, विस्थापित गराइएका छन् । कति त हत्केलामा मिचिएका छन् । लामखुट्टेको गीत कर्कश लाग्छ मालिकलाई । यस्तो अवस्थामा लामखुट्टेको कविता कसले सुन्ने ?

कसैले नसुने पनि भनिरहने । के थाहा कुनै दिन कोहि गुज्रदैँ गर्दा उसको हृदयले सुन्ला कि ।

झिसिलकिराको झुस परेको वदनमा अचाक्ली चिलाएको अवस्थामा प्वाँखले कन्याउँदा आन्नद लाग्ला, कुनै प्रेमिल हत्केलाले प्वाँखको नरम स्पर्श वदनमा पार्दिदा परमानन्द आउला । अस्तित्वको विराट प्याँखबाट खसेको पखेटाको चाहिँ अस्तित्व के होला ?

ऊ यतैकतै कुनै यात्रीको सहयात्री बन्ला ,
कुनै हृदयमा अल्झिएर खुसी खुसी बस्ला
या फेरि बतास सँगै बत्तिएर बतास भई जाला ।
कतै अल्झेला !

प्रतिक्रिया

सम्बन्धित खवर