काठमाडौँ – डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृति ‘छायल’माथि राजधानीमा विमर्श गरिएको छ । काठमाडौँ, बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित एक कार्यक्रमकाबीच उपन्यासको विमोचनसहितको विमर्श कार्यक्रम सम्पन्न भएको हो ।
उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार तथा समिक्षक राजकुमार बानियाँ र लेखक भट्ट स्वयंले गरेका हुन् ।
एक महिना अघि नै बुक्स हिमालयले बजारमा ल्याएको उपन्यासमाथि वक्ताहरू साहित्यकार अभय श्रेष्ठ र मानव अधिकारकर्मी मोहना अन्सारी र लेखक स्वयं लोकराज भट्ट विमर्श गरेका थिए । कार्यक्रमको सहजकर्ताको रूपमा पत्रकार तथा समिक्षक राजकुमार बानियाँ थिए भने कार्यक्रम सञ्चालन सुमन थापाले गरेका थिए ।
साहित्यकार अभय श्रेष्ठले उपन्यासले सुदूरका मौलिक कथाहरुको ‘छायल’ प्रष्ट रूपमा प्रस्तुत गरेको बताए । उपन्यासको मीठो भाषा शैलीले पनि पाठकले उपन्यास एक पल्ट पढ्न सुरु गरेपछि पुरै पढी नसकेर नरोकिन विश्वास व्यक्त गरे ।
यसका साथै उनले द्वन्दकालको कथा, बाल्यकालदेखि युवा अवस्था सम्मको प्रेम, समाजको यथार्थमा जोडिएका सम्पुर्ण कथाहरूमा संघर्षको कथा जोडिएको पक्ष बढी मन परेको बताए ।
त्यसैगरी माओवादी द्वन्दकालको कथाले माओवादीको न्याय र अन्यायको कथा सन्तुलन रूपमा प्रस्तुत नभएको र माओवादीले गरेको अन्यायको सन्देश मात्रै जोडिएको द्वन्दकालको कथा लघुरुपमा मात्रै समेटेको हुँदा उपन्यासमा द्वन्दकालको कथा कमजोर रहेको बताए ।
त्यस्तै, मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालको पुर्वी भागको कथाले नेपाली साहित्य बजार छोपी रहदा बजारमा सुदूरपश्चिमको मौलिक कृती आउनु आफैमा सुखद भएको बताइन् ।
अन्सारीले लोक कथा माथि लोक भाषा शैली र स्थानीय देखि अग्रेजी शब्दहरु जादुमय प्रयोगले लेखनमा एउटा नयाँ आयाम थपेको र यो नै उपन्यासको बलियो पक्ष भएको बताएकी छिन् । साथै उनले द्वन्दकालको कथा सहित डोटेली सभ्यता पनि उपन्यासमा ‘छायल’को रूपमा प्रस्ट आएको बताइन् ।
सुदूरपश्चिम परिवेशमा आमाबुवाको संघर्ष समान रुपमा भएता पनि लेखकले एउटा आइडल आफ्नो बुवालाई मानेको हुँदा बुवाकै कथा र संघर्षमा उपन्यास बढी घुमेको यसमा आमाको संघर्षको कथालाई पनि समानन्तर रूपले जोडेको भए उपन्यास अझ सशक्त हुने उनले बताइन् ।
सहजकर्ताको ‘बाल्यकालकै प्रेम प्रसंगमा घुमेको प्रेम कथा युवाले किन पढ्ने’ भन्ने प्रश्नमा लेखक भट्टले यसमा प्रेम बाल्यकाल हुँदै युवा अवस्था प्रवेश गर्ने हुँदा युवाहरूले पनि भोगेको र जान्नु पर्ने कथा यस उपन्यासमा समेटिएको बताए ।
त्यस्तै, लेखकले उपन्यासमा आफ्नो भन्दा बढी कथा डोटीका भुइँमान्छेहरूको कथा ल्याएको र तत्कालीन परिवेश अनुसार नै कथा समेटेको हुँदा जानाजान कुनै पक्षलाई तल र कुनै पक्षलाई माथि नपरेको प्रस्ट पारे ।
भर्खरै उदयीमान राम्रो कवि कविता कृति प्राकशनमा नल्याएर चर्चा र उपन्यास लोभकै लागि अलि हतार गर्नु भएको हो भन्ने पाठकका प्रश्नमा लेखक आफुले अग्रज साहित्यकारहरूसँगको लामो छलफल र परामर्श पछि मात्रै उपन्यास बजारमा ल्याएको बताए ।
स्थापनाको ६ महिनाको अवधिमा बुक्स हिमालयले प्रकाशन गरेका २ दर्जन पुस्तकहरू मध्य उपन्यासको रूपमा ‘छायल नै पहिलो रहेको संख्यात्मक भन्दा गुणात्मक पुस्तकहरूको प्रकाशनमा जोड दिने लक्ष्य रहेको बुक्स हिमालयका सञ्चालक पवन शाक्यले बताए ।
प्रतिक्रिया
-
४
