✍️ एकेन्द्र ‘अछामी’ खड्का

 

देशको मेरुदण्ड मानीने युवाहरूले रोजगारीको सिलसिला दिनप्रतिदिन देश छोडीरहदा, हाम्रा गाउँका यी युवाहरू कोही बिदेशमा भएको लोभ लाग्दो जागीर छोडेर त कोही जागीरकै लागि गाउँ नछाडी गाउँमै जागिर र व्यवसाय गरि आफ्नो पारिवारिक जिम्मेवारीसँगै समाजिक जिम्मेवारी पनि सक्रिय रूपमा निर्वाह गरिरहेका छन् ।

समाज बिकास र सुधारका कार्यमा लागीपरेका यी युवाहरू समाजमा भएका गलत कार्यको वैधानिक निकास खोजी रहेका छन् । समाजमा उत्पीडनमा परेका र असहायको सहायता भैरहेका छन् । समाजमा हुने चोरी डकैती, लागुपदार्थ दुव्र्यसनीको वडा र प्रहरीसँग समन्वय गरी समाधान खोजिरहेका छन् । खाली समयमा गलत बाटोमा लाग्न सक्ने बालबालिकाहरूको लागि खेलकुद र शैक्षिक गतिविधिका लागि वातावरण सृजना गरि रहेका छन् ।

दिनभर पसलमा बसेर मदिरा र धूम्रपानसँगै जुवा तास खेलेर करोडका गफ हान्दै घण्टौ बिताउनेलाई म युवा त के मान्छे नि मान्दिन । मेरो बाल्यकालसँग जोडिएका केही सामाजिक प्रतिनिधि युवाहरूको बारे थोरै भए पनि जानुस् है त आज ।

साईनोले मामा अनि विचारले मेरो अभिन्न मित्र पर्ने राम बोगटी विगत ६ वर्ष देखी इम्याक्ट नेपालद्वारा सञ्चालित सुदूरपश्चिमको एकमात्र कान उपचार केन्द्र अत्तरियामा लेखापाल हुँदै विगत ३ वर्षदेखि प्रोजेक्ट अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।

दिनभर कार्यालयमा र कहिले फिल्डमा खटीरहने यिनी बिहान् र बेलुकाको समय सामाजिक कार्य र खेलकुद कार्यमा बेस्त रहन्छन् । सनिवारको दिन त झनै बेस्त विभिन्न सोसाइटी, क्लब र समूहका बैठक र समाजमा गर्नै पर्ने अति आवश्यक स–साना कामका लागि पनि समय छुट्याउन भ्याउनुहुन्छ ।

कसैको घरमा आपतकालीन समस्या पर्दा यिनी मोटरसाइकलवाला एम्बुलेन्स नै हुन् भन्दा फरक पर्दैन । बिहान् बेलुका घरकै खाना खाएर जागिर गर्ने अनि जागिरकै लागि गाउँ नछाड्ने पहिलो युवाको रूपमा लिन्छु म उहाँलाई । भलिबल खेलका कुशल खेलाडी यिनी औपचारिक र अनौपचारिक कार्यक्रम सञ्चालनमा पनि त्यतिकै दखल राख्नुहुन्छ । हाल गाउँकै युवा क्लबको नेतृत्व गरिरहनु भएका इमानदार र मेहनती राम बोगटीलाई समाजले समाजका लागि अझ धेरै प्रतिनिधि कामहरू गर्न सक्ने अब्बल नेतृत्वको रूपमा लिएका छन् । यीसँग मैले धेरै यात्रा तय गरेको छु र गर्नेवाला पनि छु । यिनीसँगका किस्सा र घटना धेरै छन् । कुनैदिन लेखौला अहिलेलाई यिनलाई शुभकामना मात्रै भन्छु ।

साइनोले भान्जा पर्ने बिनोद बोगटी एक जिम्मेवारी र इमानदार युवा हुन् । सानै उमेरदेखि समाजिक कार्यमा रूचि राख्ने यिनी, हाम्रो गाउँको क्लबको स्थापना कालदेखिका साक्षी हुन् । घरको माइलो छोरा यिनी समाजकै कडा मेहनती, सहनशील र नबिराउने–नडराउने प्रकृतिका व्यक्ति हुन् ।

सानै उमेर देखी अन्य भाइहरू भन्दा बढी पारिवारिक जिम्मेवारी निर्वाह गर्ने यिनलाई दिदिले यो मेरो माइलो छोरा हैन, घरको कामको हिसाबले माइली छोरी हो भाइ । भनेको मधुर आवाज अझै कानमा गुञ्जिरहन्छ । बिगत ५÷६ वर्ष वैदेशिक रोजगारीको अनुभव सँगाल्नु भएका यिनी अब गाउँमै केही गर्छु भन्ने योजना सहित गाउँकै समाजिक कार्यमा सक्रिय छन् । सानो छँदा र युवा अवस्थामा यिनीसँगका यी दुई घटना म बिरलै बिर्सन्छु होला ।

घटना – १

यिनी यस्तै कक्षा ६७ तिर पढ्दा होला, यिनको परिवार अछामबाट मालाखेती कैलाली बसाइँसराइ सरेर आयो । सम्भवतः अछाममा वर्षको अन्तिम परिक्षा दिएर चैत या बैशाख तिर आएका थिए यिनी र यिनका भाइ । यिनका दाइ भने एक वर्ष अघि नै अंकलको घरमा बसेर मसँगै कक्षा ९ मा भर्ना भएका थिए । भर्खर पहाडबाट आएर शुद्ध अछामी बोलेर यिनले र यिनका भनाइहरूले हामी अछामी हुँ भन्ने पहिले नै बसाइँसराइ आएकालाई भाषाको माध्यम र अन्य घरायसी कामबाट प्रभावित पारिरहेका थिए ।

एकदिन मोहन नदिको गहिरो तालमा हामी साथीहरू पौडी खेलिरहेका थियौं । यिनका भाइ र यिनी पनि नदि किनार फुत्त आइपुगे र पौडी खेल्ने भनेर हत्त न पत्त लुगा फुकाले । आफू भन्दा स साना केटाकेटीहरू गहिरो तलाउमा हाम फालेको देखेर यिनले पनि हाम फाले । अछाममा पौडी नसिकेका यिनी सुरुमै नदिको गहिरो तालमा हाम फाल्दा डुबे । केही बेर तलमाथी भएर आत्तिए पछि हामीले थाहा पायौं र हत्तपत्त झिक्यो । खासै पानी खाएन छन् । सायद यसै दिन थाहा पए यिनले नदिमा डुबिन्छ पनि भनेर । पहाडमा यिनको गाउँ मार्कुमा त्यस्तो नुहाउन मिल्ने नदि थिएन । पानीको अभाव भैरहने गाउँ हो मार्कु अहिले त एकघर एकधारो योजनाले भेट्यो होला । अलि तल साँफेबगरमा भएको बुढीगंगा पनि सायद बिरलै गए यिनी । गए पनि पहाडका नदि खासै गहिरो हुँदैन । सुसाउछन मात्रै बढी । तराईका नदि सुसाउदैनन तर गहिरा हुन्छन् भन्ने सायद त्यो दिन थाहा पाए । पछि यिनले पौडी जसरी नि सिकेरै छोड्ने अठोट राखेर त्यहीँ वर्ष पौडी सिकेरै छोडे ।

घटना – २
म काठमाडौं आएपछी पहिलो पल्ट गाउँ गएको थिए । घर छाडेर लामो समयपछि घर गएको मान्छेको मन कस्तो हुन्छ सयद त्यो काठमाडौं लामो समय बसेर पहिलो पल्ट घर फर्कनेले मात्रै अनुभव गर्छन् । सानो छदाँ मेरोस्गत राम मामा भन्दा जगतमामासँग बढी थियो । अचेल गाउँ फर्केपछि राम मामासँग जति स्गत हुन्छ, त्यति पहिलो र दोस्रो पल्ट काठमाडौँबाट फर्किदा जगत मामासँग भयो ।

यसपटक हामीले २ घरमा नक्कली बिहे गरेर दुई आमालाई नोभेम्बरमै अप्रिल फुल बनायौं । पहिले मेरो घरमा । म काठमाडौँबाट घर फर्केको दोस्रो दिन । यिनै बिनोद भान्जा, जगत मामा र मैले एउटा योजना बनायौं । कि केटोलाई बेहुली बनाउने घरमा भित्र्याउने र वरपर केटी भगाएर ल्याएको हल्ला फैलाउने ।

जगत मामाको घरबाट कैसीको कुर्था र पछ्यौरी लग्यौं । बिनोद भान्जालाई कपडा बाहिरबाट कुर्था लाउन लगाएर पछ्यौरीले घुटीमुटि बेहुलीले झैँ शिर देखि सकेसम्म खुट्टा सम्म छोप्न लगायौं । सबै तयारी भएपछि घरभन्दा अलि वर गोठ निर सल्लाह गर्यौ । घर भित्र बेलुही छिर्दा कसैले हिडाइको चालले वा अन्य कारणले केटो हो भन्ने शंका नगरोस् भनेर जगत मामा सुरुमा गएर विजुलीको मेन स्विच अफ गर्ने। सबैलाई लागोस् बत्ती गयो । केही सेकेन्ड पछि म बेहुली लगेर फटाफट अध्यारोमै घर भित्र आफ्नो कोठामा लैजाने र बेहुलीलाई सकेसम्म शरीर छोपिने गरि पछ्यौरी ओढाएर कुर्सीमा बसाएर राख्ने । जगत मामाले फेरि बिजुलीको स्विच अन गर्ने र एकेन्द्र भान्जाले केटी भगएर ल्याए भनेर घरकालाई भन्ने र सकेसम्म तल्लोमल्लो घरमा हल्ला फैलाउने र सबैलाई जम्मा गर्ने र एकछिन अभिनय गरेर भए पनि उल्लू बनाउने ।

योजना अनुसार जगत मामा गए । स्विच अफ गरे । घरकाले बत्ती गयो सोचे सायद एकछिन मतलब गरेनन् । म र बिनोद भान्जा फटाफट योजना अनुसार घरभित्र मेरै कोठामा पस्यौं भान्जा कुर्सीमा पछ्यौरीले सकेसम्म शरीर लुकाएर दुलहीले झैँ शिर झुकाएर बसे । जगत मामाले स्विच अन गरे । बत्ती आयो । उज्यालोमा मैले पछ्यौरी ओढेकी दुलही देखे । म हातमुख धुन बाहिर नल्कामा गएँ । । जगत मामा बहिनी, आमा हुँदै तल्लो मल्लो घर तिर हल्ला फैलाउन थाले । आमाले काँबाटी कइकी छोरी ल्यायो ?’ भनेर सोध्दा । “जगत मामा खै कलुवापुरबाट गंगा नाम गरेको साथी हो रे । कैकी पो छोरी हो थाहा भएन’ भन्दै अभिनय अब्बल बानाउने कोशिश गर्दै थिए ।

म नल्काबाट फर्किदा बहिनी तल्लो घर सीता अण्टीलाई बोलाउन गइसकेकी थिइ । सायद आमा आत्तिएर केही गर्ने मेसो नपाएपछि बहिनीलाई बोलाउन पठाएको हुनुपर्छ । ‘नान्दाइले भाउजू भगाएर ल्यायो, ममीले तम्लाई छोटो बोला छ ।’ बहिनीले सायद यहीँ भनी या अरु नै ।

म कोठामा छिर्दा आमाले “भर्खर काठमाडौं पढाउन पढाको मान्छे, केटी भगाएर ल्या हो के त ? मेरो अनुहारमा हेरेर भन्नू भयो । मैले आमाको अनुहार हेर्न सकिन । सायद यो अभिनय गर्न सकिन ‘अँ हो ।’ मात्रै भनेर भित्र कोठाम छिरे । आमालाई सायद के गर्ने गर्ने अलमल थियो । केटाले केटी भगाएर ल्याएपछि घरमा के के रित गर्छन् ? मलाई थाहा थिएन । सायद आमालाई थाहा थियो तर पहिले के गर्ने भन्ने अलमलमा पर्नु भयो होला ।

सीता अण्टी स्वाँ स्वाँ गर्दै मेरो कोठामा पस्नु भो । बहिनी भित्र छिरिन । ‘ओए बेहुली ल्या हो ?’ भन्दै एकछिन ढोका नजिकै उभिएर हेर्नू भो । हामी कोही बोलेनम् । हामीलाई अभिनय बिग्रेला भन्ने डर थियो । सायद सीता अण्टीले शंका मान्नुभो । ‘धैं कसी छ हेरु’ भनेर अनुहार हेर्न खोज्नु भएको थियो । भान्जाले बल गरेर दुई हातले घुम्टोको दुई छेउ जोडे झैं पछ्यौरीको छेउ कस्नु भो । अनुहार हेर्न दिनु भएन। झन् तल झुक्नु भयो । यत्तिकैमा जगत मामाले ूमाइजु त्यसो नगर्नु न, बाटोभरी रूदै रूदै आएको । विचरीलाई कस्तो लागेको होला । अनुहार त पछि हेरि त हाल्नु हुन्छ नि ।’ भन्दै थर्काए झैँ गर्नु भयो । सायद भान्जा निहुरिएर हाँस्दै हुनुहुन्थ्यो । सिता अन्टीको शंका झन्झन् बढ्दै थियो । उहाँको नजर भान्जाको खुट्टामा पर्यो । अलि कालो वर्णका भान्जाका काला खुट्टा देखेपछि ‘यति काला खुट्टा भएकी बेहुली ? अनुहार सधैँ कसो छ ? भन्दै अनुहारको पछ्यौरीको छेउमा झम्टिनु भो । कुर्था लाएका भान्जा आधा केटी आधा केटा जस्तो देखिए । सबै मरिमरी हाँस्न थाल्यौँ । ‘बिनोद पो हो ?’ भन्दै आमा न हाँस्न सक्नु भो, न रुन । अनि अछामी गाली खाइयो ।

हाम्रो नाटक सकियो ।

यहीँ नाटक अब जगत मामाको घरमा मञ्चन हुने भयो । मेरो घरमा जगत मामाले निर्बाह गर्नु भएको अभिनय मैले र मैले निभाएको अभिनय जगत मामा गर्नपर्ने भयो । बेहुलीको अभिनय बिनोद भान्जा नै गर्ने भए । सुरुमा म गएर जगत मामाको घरको स्विच अफ गरे । अनि सोही क्रमले हल्ला फैलाए । बज्यै ९ जगत मामाकी आमा ‘को ल्यायो बा को ?’ भन्दै सोध्न थाल्नु भो ।

मैले उनै हुन जोसँग मामाको हल्ला चलेको थियो, भनेर पल्ला घर लागे । बज्यैले सानी कैसीलाई तल्ला घर हंस अंकलकी आमालाई बोलाउन पठाइ सक्नु भएको थियो । जगत मामाकी आमा आफुले लगाउने तिलहरी नल्कामा गएर दाँत माझ्ने ब्रसले साफा गर्दै हुनुहुन्थ्यो । लाग्यो अब बज्यैले मामालाई यहीँ तिलहरी मंगलसुत्र बनाएर दुलहीलाई लगाइ दे भन्थिन होला । तल्ला घरबाट बज्यै बोलाएर कैसी आउनु भयो । कैसीले आफ्नै घरको कपडा बेहुलीले लाएको देखेपछि । नाटक अन्तिम दृश्यमा पुग्यो । थोरै गाली, धेरै हाँसोमा नाटकको दोस्रो शो पनि समाप्त भयो । मेरो घरमा जति, यो शो अलि हिट भएन ।

टोपराज सानै उमेर देखिको मेरो सुख दुस्खको साथी हो । अचेल मसँग भएका मोबाइल, क्यामेरा देखि अन्य ग्याजेट यसकै कृपाले अरबबाट पाएको हुँ । यसको बाल्यकाल पनि बिनोद भान्जा, राम मामा र मेरो जस्तै आधी अछाम र आधी कैलालीमा बित्यो । यसको बाल्यकाल हामी अरूको भन्दा अझै संघर्षपुर्ण रह्यो । पारिवारिक समस्याले विद्यालय जानपर्ने उमेरमा बिचमै पढाइ छोडेर परिवारको जिम्मेवारी काँधमा बोकेर कलिलो उमेरमै यिनी भारत लागे ।

प्राथमिक शिक्षा फरक फरक विद्यालय पढे पनि कक्षा ६ मा एक वर्ष हाम्रै विद्यालयमा पढे यिनी ।तर कक्षा ७ मै पढाइ छोडेर काम गर्न थाले । स्कुलमा हाम्रो धेरै सँगत भएन तर गोठालो जादा भने हाम्रो भेट भैरहन्थ्यो ।

उमेरले सँगसँगैका हामी पछि हाम्रै परिवारको दाजु पर्नेको छोरीसँग बिहे गरेपछि साइनोले ज्वाइँ परे यिनी । यी मेरा मित्र बढी भए कहिल्यै ज्वाइँ भनिन् । पारिवारिक जिम्मेवारी बढेसँगै बिहे पछि यी दुबई लागे । लगभग ७ वर्षको वैदेशिक रोजगार अनुभव पछि यी नेपालमै केही गर्छु भनेर एक वर्ष अघि फर्किए । बिदेशमै बसेर कृषि व्यवसाय गर्ने योजना बनाएका यिनीले हाल गाउँमा कृषि व्यवसाय कुखुरा र बंगुर पालन तिर लागेका छन् । ब्रान्डेड बाइक चढ्न सौखिन यिनी समाजका अर्का मेहनती र ईमानदार पात्रा हुन । गाउँको क्लबका सक्रिय सदस्य यिनी हाल समाजिक कार्यमा पनि सक्रिय रूपमा सहभागी छन् । यिनीसँग एकपटक झगडा परेको एउटा मिठो याद छ ।

गड्गडे ढुङ्गाको पारीपट्टीको तप्पडमा गोरु चर्दै थिए । हामी मोहना नदिको किनारको बालुवामा खेल्दै थियौं । कुन पो कारणले हो यिनको मेरो कुरैकुरामा झगडा पर्यो । झगडा हात हालाहाल सम्म पुग्यो । शारीरिक रूपमा टोपराज म भन्दा अलि बलियो छ झैँ लाग्थ्यो । ठुलै झगडा परिहाले वरपर छुट्याउने कोही थिएन। मनमा अलि डर थियो । त्यतिबेला चेन र बेल्ट घुमाउन खुब रहर मान्थ्यौं हामी । लाग्थ्यो हातमा चेन वा बेल्ट भए खुकुरी हुनेसँग पनि युद्ध जितिन्छ । पाइन्ट त के हाफ पाइन्टमा भए नि बेल्ट लगाइ हिन्थेनम् । मैले कम्मरको बेल्ट दायाँ हातले स्वाट्ट फित्ता ताने र बायाँ हातले बेल्टको लक सर्र तानेर फेरि दायाँ हातकै हत्केलामा बेल्टको पुछरबाट एक फन्को बेरे । अब युद्ध ढुक्कले आफै जित्ने निश्चित भएझैं गरी ल आइजो भन्दै बेल्ट घुमाए । बेल्ट घुमाउँदाको आवाज घुइर्यातो घुमाएझैँ घ्वाइँ घ्वाइँ आउन थाल्यो ।

टोपराज झन् रिसले मुर्मुरिएर गाली गर्दै भागेर पर कुद्दै गयो र नदि किनारमा बाढीले बगाएर ल्याएको मान्छेको छाला जस्तै रङको रबर जस्तै लच्किने लठ्ठी आकारको मेरो बेल्टभन्दा दोब्बर लामो रुखको जरा ल्याएर आयो । ल आइजो भन्दै, मेरो बेल्टको भन्दा फरक र ठूलो आवाजमा भ्वाइँ भ्वाइँ टाउको माथी घुमाउँदै नजिक आयो । मेरो बेल्ट छोटो, तल माथी घुमाउन मिल्थ्यो । टोपराजको हातको जरा तलमाथि घुमाउदा भुइँमा टोकिन्ने तर मलाई दुई मिटर परैबाट भेट्ला जस्तो थियो । डर, बेल्ट हातमा लिनु पुर्वको भन्दा दोब्बर भएर आयो । टोपराजले जरा एक फन्को घुमाउदा म बेल्ट दुई फन्को घुमाइ सक्थे । जराले मलाई भेट्नु अघि बेल्टको लकलाई भेट्यो । लकबाट टिरिङ्ग आवाज आयो । जराको बोक्राको एक टुक्रा उछिट्टिएर बिस्तारै बग्दै गरेको मोहना नदिमा खस्यो ।

लाग्यो अब अर्को राउन्ड जराले मलाई भेट्नेछ जराको बोक्रा उछिट्टिए जसरी मेरो कानको टुक्रा उछट्टिएर मोहना नदिमा बग्नेछ । त्यो कानको टुक्रा जोगाउन भए पनि मैले त्यो भन्दा अघि नैं हार स्विकार गर्दै भाग्नुपर्छ ।

म बेल्ट घुमाउँदै पछाडी सर्दै गए । टोपराज जरा घुमाउँदै अगाडि बढ्दै आयो । म पछाडि फर्केर बेल्ट हातमै बेरेर नदिको किनारै किनार टाप कसेँ, जसरी गोरु जुद्दा हार्ने गुरू टाप कस्छ र जित्नेले केही पर लखेट्छ । सायद टोपराजले पनि मलाई केही पर लखेट्यो होला १ म युद्ध हारेको सिपाही झैं फर्की नहेरी भागेको थिए । लाग्यो बेल्टले मात्रै युद्ध जित्न नसकिने रहेछ । युद्ध जित्न अरूको भन्दा लामो हतियार चाहिने रहेछ । पछि म अर्कैबाट गोरु आउने बाटोमा गोरु पर्खेर बसें । सायद गोरु छिटो घर फर्किदा मेरो गोरु रोक्ने कोही नभएर होला, मेरो गुरू अरूको भन्दा चाडैं आए र म अरू दिन भन्दा चाँडो गोरु घर लगेर गएँ । यो झगडा देखी टोपराज र मेरो बोल्ती बन्द भयो । हामी दुबैको एक एक साथी घट्यो । लगभग एक वर्ष लाग्यो होला, हामी बोल्न सुरु गर्न । बोल्न सुरु गरेकै महिना टोपराज काम गर्न सुरत गयो । बोल्ने केही शब्द र कुराहरू मनमै रहेँ ।

सानोमा हाम्रो घरको सबैभन्दा नजिक घर भएको मित्र हो दिपक बोहरा । अझै भन्दा बाल्यकालमा भौतिक र मानसिक रूपमा सबैभन्दा नजिकको मित्र । घरमा म एक्लै पर्दा राती मसँगै सुत्ने होस् या खेतमा एक्लै काम गर्दाको सहयोगी हात हुन यिनी। घर नजिक भएसँगै खेतबारी त झन् सँगै जोडिएको पनि छ ।

दिपक ६ महिनाको हुँदा यिनको परिवार बझाङबाट बसाइँसरी मालाखेती आएको हो रे । बाटोमा डोकोको भारीको समान माथी राखेर ल्याएको रे यिनकी आमाले यिनलाई । उमेरले म भन्दा थोरै मात्रै कान्छा यिनी घरका सबै भन्दा कान्छा सन्तान हुन् । यिनकी कान्छी दिदि दिपा मेरो सहपाठी हुन् । हामी कक्षा २ देखि ८ सम्मसँगै पढ्यौं। जेठी दिदि र दाइ त हामी भन्दा धेरै कक्षा अघि । यिनको परिवारसँगै बेग्लै आत्मीयता थियो हाम्रो । घर नजिकका छिमेकी भएर होला। आफन्तहरूबाट नपाईने सहयोग यिनको घरबाट पाउथ्यो हामी । रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ भन्ने सुनेको कुरा यिनकै परिवारले प्रमाणित गरेको हो हाम्रा लागि ।

यिनका दाइ दिदिहरू नाच्न र अभिनयमा खप्पिस । घरममा बेलुका प्राय टेपमा नेपाली चलचित्रका सदाबहार डान्सिङ गीत बजि रहने । हाम्रो घरमा धान कुट्ने ढिकी थिएन । यिनकै घरमा बेलुका खाना खाइ सकेपछि दाइ दिदिबाट ढिकी चलाउदै कयौँ नयाँ कथा सुनेको थिए मैले । बेलुका नाचगान गर्न केही अवसर कुर्न पर्थेन । यिनका जेठा दाइ इन्द्र दाइको बयान यी थोरै शब्दमा गर्दा अन्याय हुन्छ । अरू भन्दा फरक क्षमताका इन्द्र दाइ, मेरो पहिलो राजेश हमाल हुन् । यिनको कपल देखेपछि मात्रै म राजेश हमालको झ्याप्ले कपालसँग परिचत भएको हुँ । नाच्न र भलिबल खेल्नमा त्यतिकै माहिर इन्द्र दाइ । अप्ठ्यारो पर्दा हरेक घरका धेरै कामका स्वयंसेवक हुन् । यिनलाई न आउने पनि केही थिएन ।

दिपकका अरु सबै दिदीभाइ सरकारी स्कुल पढे पनि बोडिङ स्कुल पढ्थे । निलो सर्टमा टाइ लागएर झोला बोकेर स्कुल जान्छे । हामी सरकारी स्कुल जाने सेतो सर्टमा किताब बोकेर जान्थ्यो । सानोमा यिनको धेरैलाई थाहा भएको गज्जबको बानी थियो । मट्टीतेल खाने। हावाले टुकी निभ्दा सलाई ल्याउदासम्म बातीबाट सोसेर टुकी खाली पारी सक्थे यिनी । एक दिन मैले सोधेको थिए ूदिपक मट्टितेल खादा घाटीमा पोल्दैन ? मिठै भएर खान्छौ कि यत्तिकै ? दिपक भन्थे ‘पिउदा घाटीमा पोलेको थाहै हुदैन, मीठो पनि लाग्छ तर खाली पेटमा खायो भने पेट चैं लास्टै पोल्छ यार ।’ सानैमा जिज्ञासु स्वभावका यिनी केही न केही नयाँ नयाँ काम र स सानो आविष्कार गरि रहन्थे । मेसिन, मोटर, गाडी, साइकल, टर्च, लाइट, ब्याट्री, रेडियो, क्यासेट, रिल, क्यामेरा यस्तै विद्युतिय समाग्री यिनका साथी हुन्थे । यिनको लगाब नि यस्तै समाग्री मर्मत र जोडजाडमा हुन्थ्यो ।

यिनीसँग म जति मिल्थे त्यति झगडा र मनमुटाव नि भै रहन्थ्यो । अरुका लागि लोग्ने स्वास्नीको हुने परालको आगोझैँ झगडा, अपवादमा यिनका र मेरा लागि भै रह्यो । यिनको क्षमताले यिनी कम्युटर इन्जिनियर अथवा इलेक्ट्रोनिक्स इन्जिनियर भएर देशको सेवा गरिरहेका हुनपर्ने हो, संयोगले गाउँका लागि अहिले पनि यी इलेक्ट्रोनिक्स इन्जिनियर नै भएर समाजको सेवा गरिरहेका छन् ।

माध्यमिक शिक्षा सकेपछि यिनी मोबाइल सम्बन्धि काम सिक्न भारतको बङ्लोर गएका थिए । बङ्लोरमा केही बर्ष काम सिकेर केही अनुभव लिइ यी नेपाल फर्के । यिनीले हाम्रो गाउँमा पहिलो पल्ट अंशु मोबाइल ग्यालरी खोलेर, गाउँमा वाइफाइसँगै प्रीन्टर ल्याउने पहिलो व्यक्तिमा पर्छन् ।

गाउँमै इन्टरनेट, फोटोकपी प्रीन्ट र मोबाइल मर्मतको सेवा दिने पहिलो ब्यक्ति हुन् दिपक । यिनीसँगका पनि मेरा धेरै किस्सा र याद छन् कुनै प्रसँगमा आए लेखौला । बाल क्लब गठन गर्दा यिनको आफ्नै संसार हुन्थ्यो आफ्नै धुन र काममा बेस्त हुन्थे । अहिले युवा क्लबमा सक्रिय सदस्य भएर गाउँमा हुने अवैधानिक र असामाजिक कार्यका विरूद्धमा लागि परेका छन् । साथै समाजिक बिकास र खेलकुद बिकासका लागि दिनहुुँ केही समय छुट्याइ रहेका छन् । यिनलाई पनि समाजिक कार्यबाट सन्तुष्टि मिलोस । हाम्रा गाउँका यी समाजिक युवाहरूलाई हार्दिक शुभकामना । समाज सुधारमा तपाईहरूला पाइलाहरू सदा लम्किरहुँन ।

प्रतिक्रिया

सम्बन्धित खवर