✍️ एकेन्द्र अछामी

२०५४ सालको मंसिरमा अछामबाट कैलाली बसाइँसराई गरी आउँदा कक्षा २ दोहोर्‍याए । बहिनी स्कुलमा भर्ना भएकै थिइनन् । दिदी पनि पहाडमै बस्नु भयो । दिदीले औपचारिक शिक्षा लिनु भएन तर चेलीबेटी शिक्षामा अब्बल हुनुहुन्थ्यो । दाइ कक्षा ४ मा पढ्नुहुन्थ्यो वार्षिक परिक्षा सकेर मात्रै आउने कुरा भयो ।

पहाडी जीवन शैली तराईमा फेरियो । मेरो शैक्षिक वर्षको ४ महिना स्कुल नगई घरमै बित्यो । तराईको हावापानी र वातावरणमा घुलमिल हुन यी चार महिना पर्याप्त भए । पुस माघमा जाडो र चैत बैशाख गर्मी तराई आए पछी मात्रै थाहाँ पाए । तराई सरेपछी बुवा फेरि बिदा सकिएर परदेश लाग्नुभयो । यी ४ महिना मेरो आमा नै गुरुआमा घर समाज नै विद्यालय ।

वार्षिक परिक्षा दिएर जब दाइ तराई आउनुभयो अनि दाइ र म सँगै नजिकैको श्री ग्वासी माध्यामिक विद्यालय भर्ना भयौं । घरको अभिभावक कहिले अण्टी कहिले ममी । एकजना पहाड जानू पर्थ्यो । बुवा प्रायः परदेश हुने भएर होला हाम्रो प्रत्यक्ष रेखदेख बुवाले खासै गर्न पाउनु भएन । बेलाबेला पत्रबाट नै बुवासँग भेटघाट हुन्थ्यो । आकस्मिक काम परे मात्रै फोन गर्न ममी मालाखेती पिसिओ जानुहुन्थ्यो ।

दाइ किशोरावस्थामा टेकेसँगै बचपनको बदमासी अझ थपियो । ममीको अभिभावकत्वसँगै दाइ माथिको निगरानी कमजोर भयो । बुवालाई घर परिवारको भन्दा दाइको चिन्ता बढी भयो । दाइ तराईको विद्यालय भर्ना भएको २ वर्षमै मुम्बई तानियो । अब दाइले बुवाको निगरानीमा कक्षा ७ बाट मुम्बईमा पढ्नुपर्ने भयो ।

दाइ मुम्बई गएपछि दाइको घर प्रतिको जिम्मेवारी ममा आयो । घरको पुरुष मान्छे आवश्यक पर्ने सबै समाजिक कममा म जान पाउने भए । दाइ मुम्बई पढ्न गएपछि विद्यालयमा कसैले हेप्दा हप्काउने मान्छेको कमी भयो । खेतमा गोरु जोत्ने जिम्मेवारी मेरो हातमा आयो । अरु कुरामा दुख लागे नि एउटा कुरामा भने खुशी लाग्यो त्यो के भने अब गाउँमा कसैको बिहेमा पनि हाम्रो घरबाट जन्त जाने पालो मेरो आयो । खुब रमाइलो लाग्थ्यो कसैको बिहेमा अर्को गाउँ जान पाउँदा । पहिले सानो भएर अनि दाइ भएर पनि मैले यस्ता अवसर पाइन ।

दाइ मुम्बई पढ्न गए पछि बुवालाई चिट्ठी लेख्ने जिम्मेवारी मेरो काँधमा आयो । कक्षा पाँचमा पढ्थे म । बुवाको मुम्बईबाट आएको चिट्ठी पढे पनि अहिलेसम्म विद्यालयमा निवेदन बाहेक चिट्ठी लेख्न सिकेको थिएन ।

एक दिन गाउमै मामा पर्नेहरु मुम्बई जाँदै हुनुहुन्थ्यो । ममीले ‘तेरा बुवालाई चिट्ठी लेख्न सिकाइ दिउला तुँ लेखल्लाई’ भन्नूभयो । ममीले केहि कक्षा प्रौढ शिक्षा लिए पनि आफ्नो हस्ताक्षरको नाममा राजु बाहेक अरु आउदैन थियो । बाह्रखरीका ३६ वर्ण मध्य ममीसंग परिचित यी दुई अक्षर राजु मात्रै हुन् । बेलुका खान खाइ सकेपछि चुल्हो नजिक टुकीको उज्यालोमा चिट्ठी लेख्न कापी र मसी भर्ने फाउन्टेन कलम तयार पारे ।
सुरुमा बायाँ पट्टी आजको मिति लेखे । त्यसपछि सबै ममीले भन्नूभयो ।

मिति : २०५७/५/२६

आदरणीय श्रीमानज्यू,
हजुरकि प्यारी श्रीमतीकको तर्फबाट साष्टाङ्ग दण्डवत् ढोग छ, साथै छोरा जयन्द्रलाई शुभ आशीर्वाद छ । हजुरका प्यारा छोराछोरी एकेन्द्र र भाग्यश्वरीको तर्फबाट बुवा र दाइलाई शुभ ढोग छ । साथै खोलीमा बस्न्या सबैलाई नाता अनुसारको ढोग र आशीर्वाद छ । आराम छु, आराम चाहन्छु ।

हामी यहाँ आजको मिति २०५७ भाद्र २६ गते सम्म भगवानको कृपाले सन्चै छौँ । साथै हजुरको परानीमा पनि सञ्चै रहोस् भनी कुल देउता र भगवान पशुपतिनाथसँग दिनरात हात जोडेर प्रथना गर्दछु ।

पत्र लेख्नाको खास कारण त केही छैन तर पनि सन्चो बिसोन्चो खबर पठाउन र हजुरहरूको यादले यो पत्र कोर्दैछौं । यहाँ सबै ठिकठाकसंग चलिरहेको छ । त्यहाँ के कस्तो छ ? जयन्द्रको स्कुल भर्ना भयो कि नाइँ ? जयन्द्रले त्यता अर्काको ठाँउ राम्रोसंग स्कुल जानू । स्कुलमा कसैसँग झगडा नगर्नु । अर्काको देशमा कस्ता कस्ता मान्छे हुन्छन् ख्याल गरि सात हर्नु । बाटोमा सुनको फाल्स्या भिट्या पन नटिप्नु । बुवाले भनेको मान्नु । तम्ले असारका महिना मामासंग पठाएको पाँच हजार भारु, एक पाकिट चकलेट एक किलो नरिवल हात पर्यो। छोराछोरीको स्कुलको परिक्षा फिस तिर्न बाँकी छ । दशैंमा घर आउनेहरुसात पत्र सातै दशैं खर्च पठाइ दिनु होला ।

गीत

१. बाल कोर्न्या कागियो छैन क्याहरु ऐनाले ।
दिउँस भिट होइ जाला सुच्तो रातका सैनाले ।

२. राम बनै लछिमन बनै सीता पन बनै ।
कैकी भनी क्या हुन्या हो मनका कुरा मनै ।

३. नदिका किनार बसी मुट्टो कोर्दी लछी ।
मुखथी झगडा हुदो सौराइ लाग्दी पछी ।

४. बेलाबेला चिट्ठी पठाउदै हर्या । अहिलेलाई गीतसँगै यो पत्रबाट बिदा माग्दछु । अर्को पत्रमा भेटौला ।
हजुरकी प्यारी श्रीमती राजु देवी खड्का ।

चिट्ठी लेख्दा ठिक तरिकाले लेखे नलेखेको थाहाँ पाउन पनि हरेक वाक्य पछि र अन्तिममा एक पल्ट पढ्न लगाउनुहुन्थ्यो । भाषा नमिलेको फेरि काटेर त्यहीँ नजिक लेख्न लगाउनुहुन्थ्यो । चिट्ठीमा भनेका कुरा लेखेपछि ‘त्यै पछी क्या’ भनी म सोध्थे अनि ममी ‘त्यै पछि यसो लेख’ भनेको वक्य कानमा अझैं गुन्जीरहन्छ । ममीले यो पत्र लेख्न सिकाएपछि फेरि पनि पत्रको आधारभूत बेहोरा नजान्दा सम्म सिकाउनुभयो । पछि पत्रहरूमा खबर, कुराकानी र गीत मात्रै भन्नूहुन्थ्यो बेहोरा म आफैँ लेख्थे । चिट्ठी लेख्ने जमाना अहिले कम भयो । पहिले चिट्ठी पत्र लेख्दा सधैं ममीले भनेको र मैले लेखेको यो पत्रको खुब याद आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर