– एकेन्द्र अछामी खड्का

मालाखेती हाट लाग्याको मोटा चावलको
मजसो अभागी कोही नाइँ मेरा दावलको

माथिको यो चर्चित देउडा गीतको हरफ अहिलेका चर्चित गायक चक्र बमको आवाजमा रहेको, उहाँले गाएको पहिलो देउडा गीत हो । बुढापाकाहरू भन्छन् “मालाखेती बजार अत्तरिया बजारभन्दा नि पुरानो बजार हो । अहिले पो अत्तरिया बजार बढ्दै गयो । यो मालाखेती बजार घट्दै गयो । “सानो छँदा अछाममा पहिलोपल्ट परिचय भएको हो साँफेको बजारसँग । त्यो पनि मामाघर गएको बेला, त्यसपछि बजारसँग सांक्षत्कार भने कैलालीको यहीँ मालाखेती बजारसँग भयो ।
घरबाट मोहना नदीको किनार किनार गएर उकालो चढेपछि आउँथ्यो मालाखेती बजार । तीनकुने चोकको पूर्व दक्षिण पश्चिम र उत्तरतिर बाटोको दुई छेउमा लहरै थरिथरिका सामान पाइने दोकानहरू । जहाँ ¥याकमा भन्दा सामानहरू बिस्कुन सुकाएझैँ कपडा ओछ्याएर भुइँमै राखेका हुन्थे । बजारको दक्षिणतिर पुर्व पश्चिम आयातकार चौर । चौरको पूर्व दक्षिण कुनमा बुढो पिपलको रुख । पश्चिमतिर झा सरको मेडिकल । झा सर जनकपुरका हुन् अरे । उहाँले हामी पढ्ने श्री ग्वासी स्कुलमा पढाउनुहुन्थ्यो । उमेरले पाको देखिनुहुने झा सरपछि कैलालीकै पहाडी इलाका बुढीतोलामा सरुवा हुँदा, स्कुलमा आन्दोलन भयो । धेरैको माग उहाँ उमेरले पाको हुनु भएकै कारण पहाडमा उकाली ओराली गर्न गाह्रो हुन्छ भनेर तराईकै स्कुलमा सरुवा हुनुपर्छ भन्ने थियो । आन्दोलनले केही दिन पढाइ भएन । आन्दोलन रोकियो, झा सरको सरुवा रोकिएन ।
झा सरको मेडिकलभन्दा पश्चिमपट्टि, हाम्रो घरबाट आउने उकालोको बायाँ मुखैमा थियो । लछ्छी ढोलीको टेलर । गाउँका तन्नेरीलाई थरिथरिका डिजाइनका लुगा सिलाएर सजाउनेदेखि गाउँभरिका विद्यार्थीका लुगा सिलाउने जिम्मा उहाँकै हुन्थ्यो । उहाँ सबै प्रकारका अनि महिला, पुरुष, केटाकेटी सबैका लुगा सिउन माहिर । एक हिसाबले उहाँ हाम्रो गाउँको फेसन डिजाइनर नै हो । एकपटक मेरो एक सर्ट नपुग्ने फाल्न लोभ लाग्ने सेतो कपडाको कलरमा पहेँलो रङ्ग मिलाए टिसर्ट बनाइदिनु भो । त्यो सर्टको कपडाको टिसर्ट लगाएर केही वर्ष मैले नि खुब बाहाड पाडे । उहाँको टेरलमा कपडा सिउनेको लाइन लाग्थ्यो । लामो समय कुरेपछि मात्रै पालो पाइने । गाउँमा त्यतिको लुगा सिउने अरु थिएन । अँ साँच्चै, एक जना चेत दाइ हुनुहुन्थ्यो । लछ्छी दर्जीकै भतिज तर उहाँ कपडा सिउन त्यति पोख्त हुनुहुन्थेन । पाइन्टको चेन फेर्ने, लामो भएको सर्ट पाइन्ट घटाउने, पेटीकोट र ब्लाउजसम्म सिलाउनुहुन्थ्यो । लछ्छी दर्जीको एउटै खराब बानी भनेको समयमा कहिल्यै कपडा सिलाएर नदिने । यति झुलाउनुहुन्थ्यो कि कहिलेकाहीँ त कपडा नै फिर्ता लान्छु दिनुस् भन्नुपथ्र्यो अनि “सिलाउन पो पाएको छैन, काटकुट गरी ठिक्क पारेको छु । भोलि त पक्का सिलाएर दिन्छु ।” भनी फर्काउने । हामीलाई उनको कुरामा विश्वास हुन्थेन । हामी “भोलि हैन, बरु नि पर्सि आउँछौँ, सिलाएको छैन भने काटेको कपडा नै लगेर जाने हो भनेर फर्किन्थौँ ।
बजार चोकको पुर्वी उत्तर छेउमा थियो मन्दिर । मन्दिरअघि मन्दिरजस्तै सानो चिटिक्क परेको पिपलको रुख । मन्दिरभन्दा उत्तरपट्टि थियो गोमे राजाको मिल, जहाँ मैले पहिलोपल्ट धेरै कुरा देखेँ । मिल भएको लामो घर देखेँ । पहाडमा पानीले चल्ने घट्ट यति बिजुलीबाट चलेको देखेँ । पहाडमा कोलमा तोरी पेलेर निस्कने तेल यता बिजुलीबाट चल्ने मिलबाट झरेको देखेँ । अझ गज्जब त धान हालेर चामल निस्केको देख्दा गज्जब लाग्यो । अर्को नयाँ कुरा त गोमे राजा देखेँ जसको एउटा मात्रै हात थियो । एउटा मात्रै हात भएको व्यक्ति पनि पहिलोपल्ट मालाखेती बजारमा देखेँ । एउटा हात मिलकै पट्टिमा परेर काटिएको रे । सुन्दा पनि डर लाग्ने । हात नभएको सर्टको बाहुला झुन्डाएर हिन्ने अर्को हात खल्तीमा । कहिलेकाहीँ फटाफट हिँड्दा हात नभएको बाहुला हावाले पछाडि उडाउँथ्यो र कसैले पछाडिबाट हात ताने झैँ देखिन्थ्यो । मिलमा गोमे राजा देख्दा बेग्लै अनुभूति हुन्थ्यो । अनुहार हेर्दा डर लाग्थ्यो अनि हात सम्झिँदा माया लाग्थ्यो । अहिले मालाखेती बजारमा त्यो पुरानो बजार हुँदाको एक, दुई नयाँ पहाडी समुदायका पसल छन् र गोमे राजाको मृत्युु भइसकेको छ । त्यो मिल अर्कैले किनेर अर्कै ठुलो घरमा चल्दै छ ।
जिन्दगीमा हरेक वर्ष आउने इडिभीको नतिजाले त्यस्तो उत्साह र उमङ्ग ल्याउँछ कि ल्याउँदैन थाहा भएन तर बचपनमा बजार आउने केही चिठ्ठा कुपनको स्किमले भने किस्ता किस्तामा बाल्यकाल उत्साहपूर्ण र रमाइलो बनाएर गयो ।
कत्तिको याद छ ?
मायोज चाउचाउमा पर्ने मायोज सुपर च्यालेन्जको कुपन ।
गोलमोल चाउचाउमा पर्ने गोल+मोलको कुपन ।
रमपम चाउचाउमा पर्ने विभिन्न देशका खेलाडीको फोटोसहित फुटबल टिमको कुपन ।
फटाफट चाउचाउको निखिल दाइको एक्सन वाला “फटाफट खाऊँ, बेग्लै पहिचान बनाऊँ विज्ञापन अझै आँखामा झलझली आउँछ । स्किमचाहिँ बिर्सेँ ।
यो त भयो रु. १० र १२ सम्मको स्किम, जो हप्तामा मुस्किलले आउँथ्यो महिना अवसरले ।
यी चाउचाउका स्किमभन्दा गाउँ बजारमा अझै ठुलो तरङ्ग ल्याउने र केही महिना खुब चर्चा बटुल्ने स्किम हुन्थे, इन्डियन माल सामानका स्किम । जुन एक दुई रुपैयाँमै सीमित समयसम्म पाइन्थे र दालमोटको भरमा बाँचिरहेको स्थानीय बजारमा तहल्का पिटेर जान्थे । जसको चर्चा गाउँको बजारमा कुनै सुपरहिट चलचित्र सिनेमा हलमै लागेझैँ हुन्थ्यो । पारि नाका गौरीफन्टाबाट भारतीय व्यापारीले भित्र्याउने त्यो सानो प्याकेटमा भित्र खासै मीठो र ठुलो केही हुन्थेन । ससाना चकलेट, चुरन र बलगम तर त्यसै प्याकेटको भित्रपट्टि प्रिन्ट हुने अङ्क र त्यो खानेकुरासँगै आउने कुपनले हाम्रा लागि बहुत खुल्दुली बोकेर आउँथ्यो । लाग्थ्यो, अब यसले मेरा लागि ठुलै चिठ्ठा बोकेर ल्यायो ।

हामी विद्यालय जाने दुई बाटा थिए । एउटा खेतको बाटो, अर्को सडकै सडक हुँदै मालाखेती बजारको बाटो । प्रायः हिउँदमा खेतको बाटो हिँडे पनि बर्खामा बजारकै बाटो निर्विकल्प हुन्थ्यो ।
हिउँदमा स्कुल जान अबेर भएको दिन खेतको बाटो हिँडे पनि चाँडै खाना खाएर विद्यालय जान तयार भएको दिन बजारको बाटो जान्थ्यौँ भने बजारका पसलमा नयाँ स्किम आएको बेला र खल्तीमा पाँच दस रुपैयाँ भएको बेला मालाखेती बजारको बाटो प्राथमिकतमा पथ्र्यो ।
म २०५९ तिर कक्षा ७ मा पढ्थेँ । मालाखेती बजारमा मालामाल र मुम्बैया नामक साना प्याकेटमा आउने सिमा पारिका स्किमले तहल्का पिट्दै थियो । मुम्बैया सानो पाकेटमा आउने धुलो जसको स्वाद र सुगन्धले अहिले पनि जिब्रो रसाउँछ । अर्को ससाना पाकेटमा आउने ससाना चकलेटजस्ता रंगीबिरंगी गुलिया दाना । मुम्बैयामा त्यस्तो स्किम थिएन तर स्वाद र सुगन्धले बजार लिएको थियो । मालामालको प्याकेटको भित्रपट्टि कालो अक्षरमा अङ्कमा नम्बरहरू प्रिन्ट भएका हुन्थे जुन प्याकेट खोलेपछि मात्रै हेर्न मिल्थ्यो । मालामालको ठूलो प्याकेटसँगै एउटा कुपनमा पर्ने नम्बर र उपहारको सूची आउँथ्यो, जसमा निश्चित अङ्कका पछाडि सामानको नाम लेखिएको हुन्थ्यो । जस्तो कि खेलौना, साइकल, बन्दुक, फुटबल, क्रिकेट ब्याट यस्तै यस्तै बालबालिकाहरूलाई मनपर्ने सामान र खेलौना ।
एकदिन छिटै स्कुल गएको दिन खल्तीमा १० रुपैयाँ कताबाट आइपुगेको थियो । म घरबाट एक्लै गए पनि बिचबाटोमा दिलुवालाई बोलाएर अलि छिटै घरबाट निस्कियौँ । दिलुवा पहिले बोर्डिङ स्कुल पढ्थ्यो । पछि आफ्नो दिदीसँगै कक्षा छ देखि हामी पढ्ने स्कुलमा पढ्न आयो । दिलुवा मानसिक रूपमा जति बलियो थियो, त्योभन्दा बढी शारीरिक रूपमा । कुस्ती अनि किक बक्सिङ मन पराउनेले पनि दिलुवासँग जो कोही भिड्ने आँट कमै गर्थे । ऊ कराँते पनि सक्थ्यो नि त । मीत साइनोले म अङ्कल परे पनि मेरो नाम र थरको अगाडि दुई अङ्ग्रेजी अक्षर जोडेर मलाई एके भनेर बोलौथ्यो । बेला बेला भन्थ्यो, “म पनि पछि ठुलो भएसी एके म आर्मी बन्ने हो अनि एके ४७ चलाउने हो ।” दिलुवा पछि आर्मी नि भयो तर दुर्भाग्य आर्मीको आधारभूत तालिममा नै पारिवारिक दुर्घटनाले गर्दा आर्मी बनेर एके ४७ चलाउने उसको सपना पूरा भएन ।
त्यही समय बजारमा मालामालको स्किमले मालाखेती बजार तताइरहेको थियो । दिलुवाको घर मोहना नदीनजिकै । मोहना नदी किनार हुँदाहुँदै उकालो चढेपछि जब मालाखेती बजार आइपुग्यो । बजारमा सबैभन्दा स्किमवाला समान ल्याउने दोकान हो सात चेलीवालाको दोकान । बजारको तीनकुने चोकबाट पूर्व लाग्दा दायाँतिर । त्यो लहरमा बिचतिर पर्ने जस्ताको २ वटा लहरै थियो सात चेलीको दोकान ।
दोकानको साहुको सात वटा चेली थिए । यान कि छोरीहरू तबैन उहाँको दोकानको नाम नै सात चेलीवालाको दोकान थियो । दस रुपैयाँको ५ वटा मालामाल आउने मालामाल भित्रको मालको कलाई पो चासो थियो र ? हामीलाई मालामालभित्र प्रिन्ट भएको नम्बरको बढी चासो । पाँच वटा मालामाल एउटै लहरमा किन्यौँ । सुरुको प्याकेट दिलुवाले म लक्की छु भन्दै जय जय काली महाकाली भन्दै मन्त्र जपेर स्वाट्ट च्यात्यो ।
मालामाल भित्रका सबै रङ्गीबिरङ्गी दाना भुइँमा छरिए ।
झन्नै नम्बर लेखिएको भाग च्यातिन । भुइँमा छरिएका ठुलठुला दाना टिप्दै गोजीमा हालेँ । प्याकेटमा भएको नम्बर कुपन चार्टको सूचीमा हेर्यौं, भेटिएन । केही परेन, पहिलो प्याकेटको आधी दाना भुइँमा आधी गोजीमा गए । अर्को प्याकेट पक्कै पार्छु भनेर दिलुवाले नै च्यात्ने निधो ग¥यो । मैले आनाकानीमै मानेँ । “ल अब चैँ अलि विस्तारै मिलाएर च्यात्, पोखिन भएन ।” मैले भनेपछि उसले विस्तारै साइडबाट च्यातेर मालामालका दाना मेरो अञ्जुली खन्यायो । मैले आफ्नो गोजीमा । यसमा भएको नम्बर नि मेन्युमा भेटिएन । अब भने बाँकी ३ प्याकेट मैले किनेको भएर नि मै फोड्छु दिन्न भनेर एउटा प्याकेट विस्तारै त्यही फेमस मन्त्र “जय जय काली महाकाली” जप्दै फोडेँ । दाना खल्तीमा खन्याएँ, भित्र नम्बर हेरेँ अङ्ग्रेजी उनान्सत्तरी नम्बर देखेँ । पूरै प्याकेट च्यातेर सिधा पारेँ 69 नम्बर थियो । भित्तामा टाङिएको कुपनको लिस्टमा हेरेँ । 69 नम्बर छ अनि परेको चिठ्ठा “चाइनाकी गेँद” एउटा चित्र बलको जस्तै छ तर प्रस्ट छैन । हामीहरूमा अहिलेको डिभी परेकै उत्साहमा थियौँ तर दोकानमा भएका सात चेलीवालाको छोरीहरूमा र उसको श्रीमतीमा हाम्रो उत्साह र चिठ्ठामा मतलब थिएन ।
दिलुवाभन्दा मै लक्की ठहरिएँ । बाँकी प्याकेट क्रमशः मैले नै फोडेँ तर केही परेन । अब हामी टढ नम्बरमा परेको चाइनाकाको गेँदका लागि दाबी गर्दै साहुनीलाई भन्यौँ । साहुनीले नम्बर हेरी । चिठ्ठा परेको हो, या हैन केही भन्न सकिन । त्यहाँ भएकी मध्येको जेठी छोरीलाई बोलाइन् । उसले चिठ्ठा परेको हो तर अहिले पसलमा ड्याडी हुनुहुन्न त्यसैले चिठ्ठा दिन सकिन्न भनी । हामी त्यतिकै मान्नेवाला थिएनौँ । हामी, हामीलाई हामीले जितेको समान अहिले नै चाहिन्छ भनेर जिद्दी गर्न थाल्यौँ । क्रमशः सात चेली मध्येका ४ चेली त्यहीँ जम्मा भए ।
सबैले मुख खोलेर चिठा परेको हो भन्न सकेनन् । सोझो नियमअनुसार भित्ताको लिस्टमा भएको टढ नम्बरअनुसार उपहार परेकै हो । “हामीसँग यो लिस्टको उपहार सामान सबै आइपुगेको छैन । ड्याडी अरु दोकानको सामान र त्यो छुटेको सामान लिन गौरीफन्टा जानुभएको छ ।” जेठी छोरीले भनिन् । वरपरका पसलेले र बजार आएकाले पनि थाहा पाए । सबैले मलाई बडा भाग्यशाली रहेछ भन्ने नजरले हेर्न थाले । “अभी यो कुपन नम्बर यहीँ छोडनु सामको यिस्को ड्याडी आएपछि उपहार ले के जाना ।” साहुनीले भनिन् ।
स्कुल जाने अरु साथीहरू पनि क्रमशः जम्मा हुँदै थिए । साथीहरूले अब स्कुल नहिँडे ढिला होला जाऔँ । पछि छुट्टी भएपछि आएर लगौँला, त्यो परेको कुपन भनेपछि हामी स्कुल हिड्यौँ । बाटोमा मालामालको प्याकेटमा परेका एक मुठी ससाना दाना थिए । बाँड्दै स्कुल पुग्यौँ ।

स्कुलमा मलाई परेको चिठ्ठाबारे थोरै हल्ला म पुग्नु अघि पुगेको थियो । बाँकी पूरै मेरो कक्षाले प्रार्थना सुरु हुनुअघि थाहा पाए र विद्यालयका आधा विद्यार्थीले हाफ छुटीको बेला । धेरैले विभिन्न प्रतिक्रिया दिइरहेका थिए । केही त्यो सब ठगी हो केइ दिन्न हेर्नू भन्दै थिए । धेरैले त भाग्यमानी रैछस् यार भनेर हौसला दिँदै थिए । शिक्षकहरूले कक्षामा पढाउनु भएको विषयमा खासै ध्यान गएन । हेर्दा बलजस्तो देखिने चाइनाको गेँद भनेको के हो ? त्यो सात चेलीवालाले आज गौरीफन्टाबाट ल्याउँछ कि ल्याउँदैन अनि मलाई सजिलै दिन्छ कि दिँदैन । दिनभर कत्ति बेला छुट्टी होला र कुदेर मालाखेती बजार पुगौँला लागिरह्यो । दिलुवालाई अन्तिम पिरियड नपढी जाम् भनेको थिएँ तर उसले हैन अब छुट्टीपछि नै जाउला भन्यो । अशान्त मनको शान्त शरीर बनाएर अन्तिम पिरियडसम्म बसियो ।
संयोगले छुट्टीको घण्टी बज्नु भन्दा केही मिनेटअघि नै सर “घण्टी बजेपछि मात्रै जानू है ।” भनेर कक्षाबाट निस्कनुभो । सर निस्कनेबित्तिकै दिलुवालाई आखाँले सङ्केत गरेँ । चल्दिने हो ? उसले पनि उसैगरी सङ्केत गरेर हो भन्यो ।
किताब कपीको बण्डल च्यापेर पछाडिको ढोकाबाट सुटुक्क निस्क्यौँ । अरु केटाहरू ओए ओए ! भाग्यो भाग्यो भन्दै थिए, हामी कसैको कुरा नसुनी पछाडि नफर्केर विद्यालयको पछाडि गेटबाट टाप ।
बाटोमा कतै कुद्दै त कतै लम्कदै हामी मालाखेती बजार आइपुग्यौँ । सात चेलीवालाको दोकानमा सात चेलीकी आमा अर्थात् साहुनी थिइन् । “साहुनी ! दुकानदार साहुजी आया कि नही ! हमरा कुपनका क्या हुवा? हमारा ओ प्राइज दो ।” दिलुवाले यतिबेला हिन्दीमै ३ वाक्य दियो ।
हाँ आया हे रुको अभि नास्ता कर रहेँ हे अभि ५ मिनेट रुको साहुनीले भनिन् ।
स्वाँ स्वाँ गर्दै दोकान पुगेका हामीलाई पाँच मिनेट कुर्न पर्ने भो । हामी भित्तामा भएको कुपनको लिस्टमा अरु के के उपहार रहेछ पढ्दै हेर्न थाल्यौँ तर बेला बेला नजर पसलको भित्रको ढोकामा गइरह्यो । जहाँबाट हाम्रो कुपन बोकेर दोकानको साहुजी आउनेवाला थियो । विद्यालयबाट एक घण्टी अगाडि छुट्टी भएका ससाना विद्यार्थीहरू बजार डुल्दै थिए । कोही अझै विस्तारै स्कुलको बाटोबाट आउदै थिएँ ।
एकछिनमा हाम्रो खुसीको मालिक भर्खरै मुख चुठेर तर मुखवरिपरि पानी नपुछेर दोकानको भित्री ढोकाबाट दोकानको मुख्य भागमा हाम्रो कुपन ल्याएर आइपुग्यो ।
“साहुजी चाइनाका गेँद ल्याया?“ दिलुवाले नै पहिले सोध्यो । हामी आतिँदा दुकानको साहुजी शान्त थियो । उसले शान्तले तरिकाले भन्यो, “कुपन त परेकै छैन, त्यसै किन आत्तेको ?”
“किन परेको छैन हाम्रो कुपनको नम्बर देखो ।” त्यै नम्बर त मिलेन । कुपन नम्बर मिले न पथ्र्याे । साहुजी फेरि बोल्यो । अनि देखो ना त्यो उनान्सत्तरी नम्बर (69) नम्बर छ त लिस्टमा ? अनि साहुजीले शान्त स्वरमा भन्यो, “बेटो सुनो ! कतिमा पढ्नुहुन्छ ?” “सातमा” दुवैले एकैपटक भन्यौँ । अनि अझै नम्बर चिन्नुहुँदैन ? यो उनान्सत्तरी (69) हो कि, छयानब्बे (96) हो ? खल्तीबाट त्यो मालामालको प्याकेट झिकेर दुई हातले पुस्तक उल्टो पारी देखाएजस्तै देखाएँ । बिहान् उनान्सत्तरी भएको नम्बर अहिले छयानब्बे कसरी हुन सक्छ ? यो कुपन नम्बर हाम्रो हैन भन्यौँ । “यो बिहान् तिमीहरूबाट लिएकै कुपन छ भनेर“ साहुनीले भनी । हामीले कुपन मागेर नम्बर र त्यो कुपन ओल्टाइपल्टाइ फेरि हेर्यौं । कुपन पेपर बिहानकै जस्तो थियो तर कताबाट उल्टा कताबाट सुल्टो ठ्याक्कै छुट्याउन मिल्ने थिएन । हामीले उनान्सत्तरी (69) भनेर जिद्दी गर्यौं । दोकानका साहुहरूले छयानब्बे (96) भनेर जिद्दी गरे । छयानब्बे अङ्कमा केही थिएन । उनान्सत्तरीमा नम्बर चाइनाको गेँद थियो । अन्तमा हाम्रो केही हाम्रो जिद्दीको हार भयो उनीहरू जीत । कुपन पनि साहुजीलाई नै छोडेर निराशा हुँदै घर तिर लाग्यौँ ।
***

प्रतिक्रिया

सम्बन्धित खवर