✍️ रामगोपाल आशुतोष

कसैले सोधे बताइदिन्छु –
मसित
केवल कविता छ ।

बजारमा
कविहरू कवितासित भयभित छन् ।

मसित – केवल आवाज छ ।
मसित – केवल बाको पसिना र दर्शन छन्
छैन – बाले जोरिदिनुभएको सम्पत्ति ।

मलाई थाहा छ,
सन्तुष्टहरू, शासकहरू आवाजसित तर्सिन्छन् ।
मसित – केवल विश्वास छ ।
मसित – केवल आमाले चिनाउनुभएको देश छ
छैन – पुर्खाको सातपुस्ते जडौरी जायजेथा ।

मसित छन्
आफ्नै इमानले जोरेको सानासाना सपना ।

आँखा खोलेर हिँड्छु सपना देख्दै
आँखा खोलेरै हुन्छु खुशी आफ्नै सपनासित

परिश्रमले बनाइरहेछु खुशी हिँड्ने राजमार्गको सपना ।

सिधासाधा रैथाने मुटु
मुटुमा आशा – आफ्नै बर्कतले खोस्रेर
बनाइरहेछु खुशी फुल्ने माटो
आफ्नै चेतनाको इन्द्रेणीले मलजल गरेर
खनिरहेछु आफ्नै ओठ
र, फलाइरहेछु गुणकेशरी मुस्कान ।

थाहा छ
सिधासाधाको देश होइन यो
कमिलाजस्तै मिहिनेतीहरूलाई
आदिवासी खुशी पनि निकै धैर्यपछि प्राप्त हुन्छ ।

फलानाका बाउले –जग्गा किने, घर बनाए
ढिस्कानाका बाउले – छोराछोरी विदेश पठाए
तिलानाका नेताले अरबौँको बैङ्क कमाए
हजुरले हामीलाई के दिनुभयो !?

जोहो गर्नुछ आँखा जुधाएर
भाविपुस्ताले गर्ने
हर प्रश्नको उत्तर दिने साहस

भन्नुछ तिनलाई
–कसैले दिएको थिएन पूजा थालीमा सजाएर अवसर
–सत्ताले दिएको थिएन अनैतिक आर्जनका लागि छुट
बताउनु छ तिनलाई
–आमाको रगत र बुवाको पसिना टेकेर हिँडेको हुँ
– यो धरतीमा मेरा लागि
कहिँ थिएन रेड कार्पेट ओछ्याइएको ।

कसैको चित्त नदुखाई / कसैको केही नलुटी
कसैलाई नढाँटी / इमानलाई नबेची
भाइको अंश नमारी / दाइको सम्पत्ति नछली
पुर्खाको नासो नमासी
मैले गरेको क्रान्ति
र, भएको अपव्याख्याको पुनर्व्याख्या गर्दै
देखाउनु छ पल्टाएर –
थोपा थोपा बटुलेको – दृश्य
रगत –पसिना सुकाएको – चित्र
सङ्घर्षका प्रत्येक पलको – अभिलेख ।

इतिहासले
आकाशमा झुण्ड्याएको घटोत्कच,
औँला काटेर गुरु दक्षिणा दिने एकलव्य,
महावीर कर्णलाई साक्षी राखेर भन्नु छ
आफ्नै बर्कतले बनाउनुपर्यो सब
ढिला भयो –
तर भयो – सार्वभौम खुशीको बोध !

प्रतिक्रिया

सम्बन्धित खवर