✍️ रामगोपाल आशुतोष

 

गजल – एक

म हाँस्न चाहन्छु तिमी रुवाउन चाहन्छ्यौ रे !
कुन जुनीको बदला हो चुकाउन चाहन्छ्यौ रे !!

म नै हुँ त्यो मान्छे हिँड्न सिकाउने तिमीलाई
अब तिमी मलाई नै लडाउन चाहन्छ्यौ रे !!

बिर्सियौ कि तिमीलाई जिताउन म हारेको
जितेपछि आफू मलाई हराउन चाहन्छ्यौ रे !!

एक्लै थियौ मेरो साथ नछोड है माया भन्थ्यौ
छाती पायौ अर्कै मलाई हटाउन चाहन्छौ रे !!

गजल – दुई

हेरिरहेँ कोही देखिएन ।
मन मिल्ने साथी भेटिएन ।।

यस्तो पनि होला जिन्दगीमा
सपनामा पनि सोचिएन ।।

खोज्या भए द्यौतै भेटिन्थ्यो कि
मान्छे खोजेँ द्यौता खोजिएन ।।

मेरो भूल यति मात्र थियो
साथी छोडी कतै हिँडिएन ।।

एक्लै थिएँ एक्लो पृथ्वीजस्तै
धर्ती मैले आकाश हेरिएन ।।

प्रतिक्रिया

सम्बन्धित खवर