कास्कीमा जन्मेका कवि विष्णु पादुकाको स्थायी ठेगाना हो कोहलपुर बाँके । शिक्षण पेशामा आवद्ध पादुकाले हाल डोल्पा जिल्लामा कार्यरत छन् । २०७६ सालमा ‘साइनो’ कविता सङ्ग्रह प्रकाशित गरेका पादुकाले अहिले ‘बिन्दुको वृत्त’ कविता सङ्ग्रह लिएर आएका छन् । आजको पुस्तक वार्तामा सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले कवि पादुकाको कविता र नयाँ पुस्तक सङ्ग्रहमा आधारित भएर गर्नुभएको कुराकानीको सारांश प्रस्तुत छ :

एउटा मान्छेले बाहिरी मात्र होइन भित्री संसार पनि बाचिरहेको हुन्छ, कविता लेख्ने मानिसले बाहिरी संसार त आम मान्छेले जस्तै बाँचेको हुन्छ तर, भित्री संसार एउटा कविको कस्तो हुन्छ, जसले गर्दा उ कविता जन्माइरहेको हुन्छ ?

नमस्कार जनक जी ! कविता लेख्ने मानिस बाहिरी संसारमा आम मानिस झैं देखिए पनि ऊ भिन्न नै हुन्छ । आम मान्छेको जीवनशैलीलाई भिन्न नजरले नियालिरहेको हुन्छ । आम तिक्तता भित्र पनि नयाँ कुरा खोजिरहेको हुन्छ । मलाई कविको बाहिरी र भित्री संसार अलग हुन्छ जस्तो लाग्दैन । चिनिन या देखिनका लागि कवि हुने कविता लेख्नेहरूको हकमा मेरो खास टिप्पणी छैन जनक जी ।

भारतका एकजना वरिष्ठ कवि अशोक वाजपेयीलाई एउटा किस्सा सुनाएका थिए । एउटा कवि गोष्ठीमा जाँदा त्यहाँ कविता सुन्न आउने श्रोताले कविता सुन्न भन्दा चिया पिउन बढी उत्सुकता देखाएछन । त्यतिबेला ती व्यक्तिले अशोक वाजपेयीलाई भनेछन् ‘पोएट्री इज गूड बट टि इज बेस्ट’ यहाँलाई के लाग्छ के कविता भन्दा चिया नै मीठो हो ?

वाजपेयी सावको भनाई जोडिनु स्वभाविक होला । कति कविहरू मञ्च पायो कि छोड्न सक्दैनन् । कविताको स्वाद दिन नसक्दा चिया स्वादिलो हुनु नौलो कुरै होइन । कविताको बेइज्जत कसैबाट भएको छ भने पनि केवल कविबाटै भएको हो ।

कविता कलात्मक प्रस्तुतिको विधा हो, एउटा कला र समाजको सम्बन्ध कस्तो हुनुपर्छ ?

आँखा र कानको बाटो भएर हृदयमा एउटा स्पष्ट आकृति दिनु कविताको गुण हो । कलारहित समाजको कल्पना गर्न सकिन्न । जस्तोसुकै समाजमा पनि कला भर्नु कविताको कर्म हो कि । कविताले बिग्रेर फालिएको मूर्तिलाई पनि कलात्मक पार्नुपर्छ ।

कविताले समाज बदल्ने कुरा पनि सुनिन्छ, यहाँलाई के लाग्छ साच्चै कविताले समाज रूपान्तरणको लागि भूमिका खेल्न सक्छ ?

कविताले समाज बदल्ने भन्दा एउटा समाज बनाउँछ होला । बदल्नु र बनाउनुमा अलिकति फरक छ । कविताले व्यक्तिमा बदलिन दवाव चाहिँ दिन्छ जस्तो लाग्छ । कविता लेख्छु भन्नेले एउटा संकुचित घेरा त तोड्नैपर्छ कम्तिमा । यसरी नै परिवर्तन हुँदै जाँदा समाजमा केही फेरबदल त आउँछ नै । भावनात्मक कुराले ल्याउने परिवर्तन पनि अनुभव गर्न सकिने हुन्छ होला प्रत्यक्ष देख्न नसके पनि ।

विन्दुको वृत्त कविता सङ्ग्रह लिएर नेपाली साहित्यमा आउनुभएको छ, विन्दुको वृत्तभित्र कस्ता कविताले स्थान पाएका छन ?

यो सङ्ग्रह निकै ढिलो गरी आयो । बिन्दुको वृत्त भित्र बिन्दु खण्डमा बस्तुपरक र वृत्त खण्डमा कविता प्रतिको दृष्टिकोणमा केन्द्रित कविता छन् । बिन्दु र वृत्त जीवनका भोगाइका उहापोह नै हुन् । कवितामा अथवा विषयबस्तुमा विविधता दिन प्रयास गरेको छु । पेशा ,भूगोल र समाज नै हुन् मेरा कविताका श्रोत ।

हामीले बाँचेको परिवेश र समाजमा कविताहरू हावामा बहिरहेको हुन्छ तर कविताले बाहिर आउनको लागि एउटा कविलाई माध्यम बनाउने गर्दछ, कविता तपाईं समक्ष कसरी आउँछ र त्यसलाई सिर्जना गर्न तपाईं के कस्तो प्रक्रियाबाट गुज्रिनिहुन्छ ?

कवितालाई हावामा बहेको भन्दा कवि हृदयमा आउने एउटा कम्पन भनुँ होला । कुनै विषयमाथि लेख्ने मानसिकता सिर्जना हुँदा त्यही कुरा अर्को स्थानको कविमा पनि यहि कुरा उत्पन्न भएको हुन्छ । शब्द ढाँचामा तलमाथि भए पनि भाव मिल्न जान्छ ।

कवि हृदय पोखिन अवस्थाहरुले कवि मन खोजेकै हुन्छ । यो चेतनाको एउटा पुञ्ज हो । म कविता लेख्छु भनेर लेख्न सक्दिन । निबन्ध या कथा लेखेजस्तो सजिलो होइन मेरालागि कविता लेखन । तर कविता लेखिसकेपछि आउने आनन्दको ब्याख्या कतै गर्न सकिदैन । सानोतिनो प्रसव नै कविता लेखन । म कति रात सुत्न सक्दिन कति दिन खाइदिन मात्रै खाएका उदाहरण छन् । एउटा पूर्ण कविता लेख्नु कठिन कर्म हो । पूर्ण यस अर्थमा कि त्यसमाथि कसैको औंला न ठडियोस् ।

कवितालाई पुस्ताकारको रूप दिइसकेपछि यसलाई पाठकसम्म पुर्याउन विभिन्न माध्यमको आवश्यकता पर्दछ । यो व्यापारीक युगमा कविताकृति पनि बजारमा पुर्‍याउम विभिम्न रणनीति अपनाइन्छ । यसरी साहित्यिक कृतिलाई अचेल विभिन्न मार्केटिङ कला प्रयोग गरेर व्यापारको लागि तयार गरिन्छ । अलिकति पहुँच भयो भने एउटा समान्य कृतिले पनि चाहिनेभन्दा बढी चर्चा बटुल्छ भने बिज्ञापन गर्न सकिएन भने राम्रो कृति पनि ओझेल पर्न सक्ने सम्भावना प्रवल रहन्छ । यो अहिलेको माहोलको बारेमा के भन्नुहुन्छ तपाईं ?

यो युग वैश्य युग हो भनेर बिजय कुमारजीले भन्नू भएको छ । कविताका कृति मात्रै होइन हरेक विधा र हरेक उत्पादनमा यो कुरा लागू हुन्छ । तर कविता तात्तातै पाठक माझ नपुग्न सक्छ । उसो त यसका लागि लेखक वा प्रकाशकको आर्थिक हैसियत पनि जोडिएको हुन्छ । विशेषगरी हामी जस्ता जीवन धान्न धौधौ हुनेहरुका लागि मार्केटिङ फलामको च्युरा हो । रचनामा शक्ति भए फेरि पनि पाठकको रुचि र खोजीलाई रोक्न सकिन्न । ठूलो कुरा कविताको शक्ति हो । थोरै तर असल पाठक भेटिनु एउटा संग्रहका लागि हितकर हो । पाठकको हातमा पुगेर पनि त्यो थन्किनु , नपढिनु , र प्रतिक्रिया नपाउनु रचनाको मृत्यु हो । त्यो सम्भावना अधिक सङ्ग्रहको देखिन्छ । त्यसैले कवि होइन कविता शक्तिशाली हुनुपर्छ ।
ओझेलमा देखिए पनि कति पुस्तकको ढिलो गरि चर्चा भएको हुन्छ । त्यसैले हतारमा दगुर्न सक्दैन साहित्य , त्यसमाथि कविता । तर कितावको गुणबत्तालाई बिज्ञापनले नास गर्न सक्दैन । गरिनु हुँदैन पनि ।

अहिले कविताको विषयमा धेरै बहस हुने गर्दछ, विभिन्न वाद समातेर कविता लेखिन्छ्न् । कविता जुन वादमा लेखिएपनि कवितामा हुनपर्ने प्रमुख आवश्यकीय तत्त्व के हो जस्तो लाग्छ ?

मलाई एउटा सिङ्गो कविता या एउटा सङ्ग्रहमा विश्वास लाग्छ । जति तटस्थता देखाए पनि कवितामा बैचारिकता हावी भएको देख्छु म । सबैलाई पाच्य हुने कुरा पस्कनु नै सफल लेखक या कविको खुवी हो । किन कि उसका पाठक उसको बैचारिकी इतर पनि त हुन सक्छन् । मानवियताको पक्षमा विचारको वकालत पनि हो कविता । त्यसैले वर्तमान मात्रै होइन भविष्यमा समेत अर्थपूर्ण हुनु कविताको आवश्यकीय तत्त्व हो ।

तपाईं कविता लेख्न कसरी प्रेरित हुनुभयो, कविताले तपाईंलाई के दिन्छ ?

यात्री कविता हाइस्कुलमा पढ्दा कविताको बिबेचना र ब्याख्या गर्दा नेपाली गुरूबाट जुन प्रशंसा पाएँ त्यो मेरो लेखनको पहिलो चरण थियो । कविता बुझ्न सक्ने रहेछु भन्ने आत्मविश्वास जागेको थियो त्यतिबेला ।स्कुले उमेरमा मायाप्रेमसँग जोडिएका मुक्तक र सायरी लेखियो । तर कविता लेख्ने आँट आएन । पढ्न खोजी खोजी पढियो । बिरेन्द्र बहुमुखी क्याम्पस चितवन पढ्दा केही लेखियो तर ती पनि यथार्थमा कविता बन्न सकेका थिएनन् जस्तो लाग्छ अहिले । साहित्यका पुस्तक पढ्दा सबैभन्दा बढी कविता नै पढियो ।आफ्ना र अरुक पनि दुख कष्ट र संघर्षलाई नजिकबाट नियाल्ने बेला जब आयो अनि बल्ल लेख्न थालेँ भन्छु म । र त्यसपछि लेखिएका रचना बल्ल अर्थपूर्ण भए कि ।
कविताले मलाई केही आत्मसन्तुष्टि दिन्छ । विशेष क्षमताको एक प्रकारको आंशिक अपाङ्गताले जुन हिनताबोध थियो म भित्र त्यसलाई जित्ने आत्मबल दियो कविताले । त्यस भन्दा धेरै नेपाली साहित्यका तमाम हस्तिहरू माझ एउटा कविको परिचय दियो । सामान्य भुइमान्छेका लागि यो एउटा उपलब्धि हो ।

तपाईंलाई मनपर्ने पाँचवटा कविता सङ्ग्रह ?

उसो धेरै संग्रह छन् , रोज्जा कविता , क, अछुत जून ,बरफका कोइला, सुप्लाको हवाइजहाज… अन्य थुप्रै ।

तपाईंलाई मनपर्ने पाँचवटा कविता ?
छोरी तिमिलाई र बिमलाहरू – बिष्णु बिभु घिमिरे
आमा ! म जन्मूँ कि नजन्मू ? – कुमार नगरकोटी
दसैँ – राजा पुनियानी
मेरा गणितका गुरू – शरद पोख्रेल
तेस्रो लासको भनाइ – मौन आवाज ।
अन्य धेरै कविता अनि कविहरू ।

अन्तिममा एउटा स्वतन्त्र प्रश्न जसमा तपाईंले मन लागेको उत्तर दिन सक्नुहुन्छ ।

एउटा भर्खर भर्खर कविता सङ्ग्रह लिएर आउने मलाई एउटा अन्तरवार्तामा जोडिदिनु भएकोमा हार्दिक आभारी छु । कवि जनक पनि मेरा प्रिय कवि हुनुहुन्छ उहाँको कविता संग्रह छिटो पढ्न पाउँ । नयाँ बर्ष २०७९ को सबै लेखक कवि अनि पाठकहरूमा हार्दिक मंगलमय शुभकामना ।
धन्यवाद , नमस्कार ।

प्रतिक्रिया

सम्बन्धित खवर