✍️ जनक कार्की
शरद पोख्रेल दाङका कवि हुन्, हाल वैदेशिक रोजगारीको सिलसिलामा जापान बस्छ्न् । जापान बसेर पनि उनी नेपालको बेथिति , विसङ्गति, अराजकता, समाज र राजनीतिक दाउपेचका विषयमा निरन्तर कलमका निबलाई सक्रिय बनाउँदै आएका छन् । विश्व समस्याको रूपमा देखापरेको जलवायु परिवर्तनलाई पनि यस कृतिमा अटाएका छन् । उनी किनारमा बसेर यो समयको कविता लेख्छन् । व्यस्त जापानी समयलाई चोरेर कविताको भुड्कीमा कविता सञ्चय गर्दागर्दै एउटा सङ्ग्रह नै तयार पारेका छन् । उनको उक्त कृति गत साता मात्रै लोकार्पण भएको थियो । आजको आँगनमा सहकर्मी जनक कार्कीले उनै कवि पोख्रेलको सोही कृतिमा आधारित भएर गरेको पुस्तक वार्ता यस्तो छः
कति दिनको विदामा नेपाल आउनुभएको हो, यो विदा निकै व्यस्त बितेको अनुमान लगाउन सकिन्छ । नेपाल आएपछि पुस्तक छाप्नु भएको कि जापान हुँदै काम पूरा भएको थियो ?
खासमा म १० दिनकै लागि भनेर नेपाल आएको थिएँ । नेपाल आउनुमा मुख्य कारण पुस्तक प्रकाशन थिएन। पाण्डुलिपि प्रकाशनगृहमा अलि पहिले नै पुगिसकेको थियो तथापि यो विदामा पुस्तकको काम सम्पन्न हुने सम्भावना न्यून देखेको थिएँ। यता आएको केही दिनमा प्रकाशन गृहबाट काम लगभग सकिनै लागेको तर त्यसका लागि मैले थोरै बिदा थप्नुपर्ने भएपछि टिकटलाई एक हप्ता पछाडि सारेर यो काम भएको हो। विदा निकै थोरै भएकाले सबै काम हतार हतारमा भइरहेको छ।
‘मरुभूमिमा डुङ्गा’ कविता सङ्ग्रह गएको हप्ता विमोचन भयो, नाम काव्यिक लाग्यो मलाई । पानीविनाको डुङ्गा कसरी खियाइएला है ! अनि यो मरुभूमिको डुङ्गालाई जन्माउन कति पहिलेदेखिको तयारी थियो ?
पानीविना मरुभूमिमा डुङ्गा खियाउनु पक्कै पनि असम्भव नै छ सोझो अर्थमा। खियाउने प्रयास गरेको छु। हेरौँ कति सम्भव हुन्छ। नामको सोझो अर्थ बुझ्न उज्वेकिस्तान तथा कज़ाख़िस्तानतिर पुग्नुपर्ने हुन्छ, जहाँ जलवायु परिवर्तनको असरले सुकेको अरल सागर र सुकेको सागरबाट बनेको मरुभूमिमा बिरूप पानीजहाज र डुङ्गाका भग्नावशेष दृश्यहरूको प्रभावले यो नाम जन्मिएको हो। मरुभूमिमा डुङ्गा जन्माउन मलाई लगभग एक वर्ष लाग्यो। सोँचाइ अलि पहिलेदेखि नै थियो तर अब काम सुरु गर्नुपर्छ भनेर कस्सिएर लागेको करिब करिब एक वर्ष पहिलेबाट हो।
तपाईं समसामयिक विषयमा आफ्ना कविताहरूलाई बलियो आवाज बनाएर प्रस्तुत गर्नुहुन्छ, यस सङ्ग्रहमा के कस्ता कवितालाई समेटनु भएको छ ?
धन्यवाद ! यस सङ्ग्रहमा कविताहरूलाई मुख्यतः तीन खण्डमा विभाजन गरेको छु। सम्बन्ध र समवेदना, देश र दृष्टि, आवरण र पर्यावरण गरी यी तीन खण्डभित्र ५५ वटा कविताहरू छन्। मानवीय समवेदनासँग जोडिएका कविताहरू, सामाजिक, राजनीतिक मुद्दामा केन्द्रित भएर लेखिएका कविताहरू छन्।
आजको विश्वको टडकारो समस्याको रूपमा उदाएको पर्यावरणीय प्रदूषणका सम्बन्धमा पनि केही कविताहरू छन्। लामो समय आफन्त र प्रियजनहरूसँग टाढिएर बस्नुपर्यो। तिनै पीडा र छटपटीहरू पनि छन्।
जापानमा बसेर देखेको नेपाल र नेपालमा बसेर देखेको नेपालमा के फरक हुने रहेछ ?
जापानमा बसेर देखेको नेपाल निकै प्रेममय छ। उसो त घर छोडेर हिँडिसकेपछि घर जस्तो सुकै होओस् निकै नै यादिलो रहने गर्छ। घरमै रहँदा बस्दा थाहाँ हुदैन अभिभावक र घरको माया। देश छोडेर परदेशिएको परदेशीलाई मात्र थाहा छ देशप्रतिको प्रेम । पराइको माटो टेक्दामात्र थाहा हुन्छ आफ्नो माटोको मूल्य।
वालकृष्ण समले आफ्नो नाटक मुकुन्द इन्दिरामा एक ठाउँमा भनेका छन्ः
पतिभक्ति ता मर्दैन पापी पति भए पनि
देशभक्ति ता मर्दैन चुत्थै देश भए पनि
जापानको त्यो अति अनुशासनयुक्त र व्यवस्थित व्यवस्थाबाट प्रभावित भएर नेपाल आउँदा भने हाम्रो बेथिति देख्दा निक्कै नमज्जा लाग्छ। देशको माया त अलग ठाउँमा छ तर हरेक काममा, कार्यालयमा, ठाउँमा भएका ढिला सुस्ती तथा कामप्रतिको गैरजिम्मेवारपनले निकै नै फ्रस्टेड बनाउने गर्छ। नेपालमै आएर यतै बसेर देखेको नेपालले भने निकै निराश बनाउँछ।
समाजमा कविताको आवस्यकता किन छ होला, किन कविताहरू लेखिनुपर्छ जस्तो ?
कविता सभ्य समाजको लय हो। सुसंस्कृत समाजको धुन हो। कविताले सन्तुलित र व्यवस्थित समाजको परिकल्पना गरेको हुन्छ। कविता, जसको बोल्ने मुख हुँदैन त्यसैको आवाज हो। कविता, जसको दौडने खुट्टा हुँदैन उसको गति हो।
कविता, जसको उठाउने हात हुँदैन उसको पाखुरा हो। जसका इन्द्रियहरू निष्क्रिय या शिथिल छन् उसको इन्द्रिय कविता हो। त्यसैले समाजलाई सुन्दरतम् तरिकाले गतिशील बनाउन कविता लेखिनुपर्छ। समाजमा भएका नसुहाउँदा काला मैला हटाउन कविता लेखिनुपर्छ। भएका अन्धकार चिर्न कविता लेखिनुपर्छ। निरन्तर लेखिनु पर्छ।
कविता आफ्नो खुसीको लागि लेख्ने कि अरुका खुसीका लागि लेख्ने, के लाग्छ तपाईंलाई ?
मेरो अनुभवमा चाहिँ कविता आफ्नै खुशीका लागि लेख्ने हो। पहिले त आफ्नै मनको सन्तुष्टि खोजिन्छ।पछि अरूलाई पनि मन पर्नु दोस्रो कुरा भयो। आफूमा भएको उत्तेजनालाई शव्दका माध्यमले कलाकारिता प्रकट गर्नु कविता लेख्नु हो।
जो आफ्नै मनजस्तै सरल र स्वाभाविक हुनु जरूरी छ। आफू उक्त भावनामा समाहित नभएर अरूको खुशीका लागि मात्र लेखियो भने त्यो कविता भन्दा पनि भजन या आरती गान होला। राजनीतिक नारा होला।
कवितासँग तपाईंको प्रेम कसरी बस्यो ?
कविता मेरो हाँसोको पनि साथी हो। आँसुको पनि साथी हो। एकदमै खुशी हुँदा कविता लेख्छु र एकदमै दुखी हुँदा पनि कविता लेख्छु। सुरुवाती दिनहरूमा गजल र मुक्तक पनि लेख्ने गर्थेँ। तर मलाई मेरो समवेदना अभिव्यक्त गर्न अन्य विधाभन्दा कविता विधा अलि स्वाभाविक लाग्ने गर्छ। हरेक व्यक्तिसङ्ग आफ्नो भावना प्रकट गर्ने आ आफ्नै माध्यम हुन्छन्।
कसैले गाएर, कसैले लेखेर, कसैले बोलेर, कसैले चित्र बनएर, कसैले, संगीतका माध्यमबाट या अन्य कुनै तरिकाले आफूलाई विरेचित गर्ने गर्दछ। त्यही माध्यम मेरो कविता बन्यो। कवितासङ्ग प्रेम कहिले र कसरी भयो भन्ने ठोस उत्तर त छैन तर म कवितासङ्ग गहिरो प्रेममा छु।
कहिलेकाहीँ एक्लै बसेर घोत्लिएर सोच्नुभएको छ, म कविता किन लेख्छु भनेर ?
सोचेको छु। मैले कविता कुनै ठूला ठूला योजना बुनेर या उच्च महत्वाकांक्षा बोकेर पनि लेख्दैन। कसैलाई खुशी बनाउन या कसैलाई दुखी बनाउन पनि लेख्दैन। उसो त कविता लेख्छु भनेर पनि लेखिदैन । आफैलाई सान्त्वना दिन कविता लेख्छु। कति कविता हाम्रो अव्यवस्थित सामाजिक परम्पराबिरूद्ध असहमति जनाउन लेख्छु। कति कविता विकृत राज्य व्यवस्थासङ्ग आक्रोश पोख्न लेख्छु। जस्तो लाग्छ त्यस्तै लेख्छु। सकेसम्म कसैको प्रभाव र पूर्वाग्रह नराखेर लेख्ने प्रयास गर्छु। विभिन्न समस्याले प्रताडित भएको बेला आफूलाई हलुङ्गो बनाउन कविता लेख्छु ।
वैदेशिक रोजगारीको सिलसिलामा जापान हुनुहुन्छ, जापानमा बसेर पनि विभिन्न साहित्यिक संघसंस्थासँग आवद्ध भएर साहित्यसँग निरन्तर जोडिनु भएको छ, जापानको व्यस्तताभित्र कविताको लागि समय निकाल्न कत्तिको गाह्रो हुँदो रहेछ ?
गाह्रो त छ नै। जापानको जीवनशैली निकै महङ्गो छ र जीवन यापनका लागि निकै कडा मिहिनेत गर्नुपर्छ। व्यस्त जीवनशैली हुँदा हुँदै पनि विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरूमा भने जोडिइरहेको छु। साप्ताहिक बिदालाई यसैमा लगाउने गरेको छु। जुम तथा फेसबुकबाट हुने कार्यक्रमले केही सहज बनाएको छ। मुख्य कुरा रूचिको हो रूचि भयो भने समयको व्यवस्थापन जसरी पनि भइहाल्दोरहेछ। रूचि भयो भने जस्तोसुकै व्यस्ततामा पनि स्वतः जीवनशैलीमा आएर मिसिदो रहेछ।
तपाईंलाई मनपरेको पाँचवटा कविता सङ्ग्रह ?
पढिएका मध्ये मन परेका कविता सङ्ग्रहहरू धेरै छन्। नामै लिनु परे,
घुम्ने मेचमाथि अन्धो मान्छे
यो जिन्दगी खै के जिन्दगी
घर फर्किरहेको मानिस
करोडौँ सूर्यहरूको अन्धकार
तपाईंलाई मनपरेका पाँचजना कवि ?
कवि मन पर्ने र नपर्ने भन्दा पनि खासमा मन पर्ने र नपर्ने कविता नै हुन्। कुनै पनि कविले लेखेका सबै कविता मन पर्छन् भन्ने हुँदैन। मनपर्ने मान्छेले लेखेका कविता मन नपर्न पनि सक्छ, मन नपर्ने मान्छेले लेखेको कविता चै मन पर्न पनि सक्छ। यद्यपि, नाम नै लिनुपर्छ भन्नुहुन्छ भने भूपि शेरचन, तुलसी दिवस, श्रवण मुकारुङ, मनु मञ्जिल, बिमल निभा, विप्लव प्रतीक लगायत थुप्रै हुनुहुन्छ ।
प्रतिक्रिया
-
४
