✍️ अजित क्षेत्री

सन् २०२१ को कुनै दिन, भबितब्यले हो या कुनै भुमण्डलीय विशिष्ट तत्वका प्रभाबले हो, नेपाली पात्रोमा त्यो दिन अङ्कित नै छैन ।

(निर्मल निबासमा कुनै एक साँझ ।)

“बुबा हजुर, माथि खोपिमा सुकला होइबक्सनु हुन्थ्यो कि ?”

“होइन मलाई ठिकै छ, तिमिहरू सुत”
– बुहारी हिमानीलाई यति भनेर ज्ञानेन्द्र बाहिर बरण्डामा निस्किन्छन् ।

कोरोनाले थला पारे देखि उनी उति बाहिर निस्केर टहल्ने बस्ने गरेका थिएनन् । बेलुका प्रायः दुई गास भात, दुई रोटि र थोरै दहि खाएपछि सहयोगिले ल्याईदेको एक ग्लास तातो लेमन पानी पिएर उनी सुत्न गैहल्थे । आज उनलाई बाहिर टहल्न मन लाग्यो ।

पत्नी कोमल बरन्डाको पल्लो छेउमा पहिल्यै देखि एउटा लामो सोफामा बसि रहेकी छन् । नातिनी कृतिकाले मोबाईलमा आफ्ना फोटा र टिकटक भिडियो देखाउँदै छिन् ।

“जिजुमुवा हेर्सियो त मेरो नयाँ भिडियो कस्तो छ ?”

मन्द मुस्कानका साथ कोमल एकटकले नातिनिको भिडियो हेरिरहन्छिन् अनि मायाले नातिनिको कपाल मुसार्छिन् ।आफ्नो भिडियो हजुर मुवाँले मन पराएको उनलाई औधि रमाईलो लाग्छ ।

नातिनी हजुरआमा भिडियोमा रमाई रहेछन् । अर्की नातिनी ट्याबलेटमा पब्जी खेलिरहेकी छन् । लामो लकडाउन भएपछि बिद्यालय बन्द भएको अवस्था पारेर उनिहरु बैंककबाट अघिल्लो साता मात्र नेपाल आएका हुन् ।

नाति हृदयेन्द्र पनि आइपोडमा गेम खेलिरहेका छन् । खाना खाएपछि एकाध घन्टा उनी मोबाइलमै हराउँछन् । हजुरआमा र दिदी सुत्न जाँदा सँगै जान्छन् ।

भित्रबाट कोहि आएको आवाज सुनिन्छ । भान्साकी सहयोगिले एउटा रिकापिमा लेमन मिसाएको तातो पानी ल्याएकी हुन्छिन् । एक ग्लास तातोपानी ज्ञानेद्रको अगाडि र अर्को कोमलको अगाडि टेबलमा राखिदिन्छिन् ।

“मुईयालाई दूध ल्याएकी छु,”

सहयोगिले दुधको ग्लास कृतिकाको छेउमा राखिदिन्छिन् र जान्छिन् ।
हृदयन्द्र चाहिँ दूध पिउन मन पराउँदैनन् ।

ज्ञानेन्द्रलाई कुर्चिमा बसिरहन मन लागेन । किन किन आज छटपटिले सताए जस्तो भएको छ । कुनै समय यो सिंगो मुलुकको हर्ताकर्ता थिए उनी । दरबारभरी नोकरचाकर थिए, चारैतिर सयौं सैनिक थिए, यस्तो लाग्थ्यो समय उनको आदेशमा चल्छ । यस्तो लाग्थ्यो आकाश उनको आदेशमा खुल्छ अनि झरी पर्छ । एक समय थियो उनको आदेश पाउन मान्छेहरू घन्टौं उनको दरबार बहिर लाम लाग्थे । सचिबालयमा दिनहुँ देशी विदेशी पाहुनाहरू भेट्न आउँथे, कार्यब्यस्तताले उनी आफ्नो नियमित औषधि खान पनि बिर्सिन्थे ।

समयभन्दा बलवान् कोहि रहेनछ, समयको सामु सबै शक्ति क्षीण हुँदो रहेछ । समयको परीक्षामा उनी फेल भए, त्यसैको परिणाम आज उनी यो साँघुरो आँगनमा साँघुरो परिधीमा बाँचिरहेछन् ।

आज दरबार छोडेको डेढ दशक हुन लागेछ । निर्मल निबास नारायणहिटी दरबारको तुलनामा एकदम सानो छ । अहिले भने उनलाई यहि घर पनि निर्जन र विशाल लाग्न थालेको छ । सचिवालयमा निजी सचिब सागर तिमिल्सिना र आफ्ना केही निजि सुरक्षाकर्मी र बाहिर घरको सुरक्षा दिएका केही सरकारी सैनिक बाहेक यो घरमा अचेल बिरलै नयाँ मान्छे आउँछन् । कोहि नयाँ मान्छे आइहाले पनि उनी भेट्नलाई रुचि राख्दैनन् ।

अचेल कसैसँग आशा र भरोसा छैन उनको ।

बारम्बार पशुपतिनाथलाई सम्झिन्छन् । सबैसँग भरोसा टुटेपनि पशुपतिनाथ प्रति उनको अटुट भरोसा र विश्वास छ । जब जब एक्लो महसुस गर्छन् तब उनी पशुपतिनाथको नाम लिन्छन् ।

“अहो धेरै दिन पो भएछ मुवाँलाई नभेटेको !
कस्तो होइबक्सेको होला ?”

आफ्नी बृद्ध आमाको यादले उनी छटपटाए । हुन पनि उनले चौरानब्बे कटेकी आमालाई नभेटेको महिनौ भैसकेछ । मुवाँ आफ्ना केही धाई सुसारेका साथ महेन्द्र मन्जिलमा बस्छिन् । आमाको यादले एकछिन टोलाउँछन् अनि फेरि पूर्बबत स्थितिमा फर्किन्छन् उनी ।

पन्ध्र बर्ष पहिलाको उत्साह छैन अब उनमा । बुढ्यौली, रोग, शारिरिक कमजोरी र राजनितिप्रतिको बितृष्णाले उनी निरुत्साहित देखिन्छन् । दरबार छोड्दाको त्यो उज्यालो अनुहार आज बिस्तारै बिस्तारै धमिलिंदै जान लागेको छ । दरबार र राजकाज छाडेकोमा उनलाई पश्चाप कहिल्यै भएन बरु जनताको अवस्था आजसम्म ज्युँका त्युँ देख्दा भने आफ्नो बलिदानी खेर गएको हो कि भन्ने लाग्छ उनलाई ।

श्रीमतीतिर हेर्छन् । नातिनिको मुख हेर्छन् । एउटा चम्किलो बिगत क्रमशः उदास वर्तमानमा परिणत भैराखेको थियो । त्यो रवाफ, त्यो क्रान्ति, त्यो जाजोल्यता सबै गुमेर कोमलको मुहार चाउरिएर बुढ्यौलीले निलिसकेको थियो । नाति नातिनिको निर्दोश चुलबुले आँखामा उनले शाह वंशको गर्विलो इतिहास खोजे ।

एकाएक उनलाई आफ्नो बाल्यकाल पो याद आयो आँखैमा ।

उनी केबल पाँच बर्षका मात्र थिए जब उनका बाबु त्रिभुवनले उनलाई दरबारमै छाडेर भारत निर्वासित भएका थिए, बालकको टाउकोमा गरुङ्गो श्रीपेचको भारी बोकाइएको थियो । श्रीपेचको भारीले टाउको थिचेर गर्धन दुखेको त्यो बाल्यकालीन सम्झना उनको मानसपटलमा कताकता धुमिलो गरि आउँछ अझै पनि ।

साँझ क्रमशः निरबतातिर लम्किरहेछ । बाहिर ट्राफिक लाईटको उज्यालो उस्तै बलिरहेछ निरन्तर, शहरको सन्नाटाको र्‍याई र्‍याई उस्तै एकतमासले आईरहेछ । एक्कासी कतै दूरबाट एम्बुलेन्सको साईरन एकतमासले आयो अनि हावामै हरायो । ज्ञानेन्द्रका आँखा शहर छिचोल्दै पर पर पुग्न खोजे । तर परेला धमिलिएर उनको नजर निर्मल निवासको गेट र बढीमा त्यो भन्दा बाहिर सडकभन्दा टाढा पुग्न सकेन ।

सिमसिम पानी पर्ला जस्तो भयो । बिजुली चम्केजस्तै बाईक आयो अनि गेटमा रोकियो । उत्तिखेरै गेट खोलियो अनि एउटा नेपालमै दुर्लभ बाइकमा सवार छोरा पारस गेटभित्र प्रवेश गरे । घर अगाडि वाइक रोकियो । कताकति टेक्दै पारस निवास भित्रतिर लागे । आमा कोमलले छोरो गएतिर हेरिन् तर कुनै प्रतिक्रिया जनाइनन् । बाउ आउनासाथ छोरीहरू कृतिका र……..आफ्नो कोठातिर लागे ।

लामो समय पछि छोरा पारस आज अचानक निर्मल निबास प्रबेश गरेका थिए । उनी केही आत्तिएका र हतास जस्ता देखिन्थे । तर उनिप्रति चासो राख्नु न बाउले जरुरी देखे न आमाले । ज्ञानेन्द्रले छोरो गएतर्फ एकतमासले हेरे अनि सुस्तरी बोले ‘कुलङ्गार’ ।

उनले यसो भनेको उनको नाकमाथी ठडिएको चश्माले बाहेक कसैले सुनेन ।

नातिनी गएपछि कोमल उठेर ज्ञानेन्द नजिकै आएर बस्न खोज्छिन् । ज्ञानेन्द्रले उनको हात समातेर बस्न सहयोग गर्छन् । मायालु नजरले उनको मुहारमा हेर्छन् ।

“औषधि खायौ ?”
“खाएँ”
“कस्तो छ तिम्रो स्वास्थ्य ?”
“मलाई एकदम राम्रो छ । हजुरको छहारीमा रहुन्जेल मेरो माथमा कहिल्यै चर्को घामले पनि पोल्दैन।”
“हजुर आफ्नो स्वास्थ्यको ख्याल गरिबक्सन्न । जहिल्यै मेरो चिन्ता मात्रै ।”
“श्रीमान् तिर हेरेर मायालु भावले कोमल बोल्छिन्।”
“को छ र तिमी बाहेक मेरो ?”
“मेरो राज्य तिमी नै हौ, मेरो धर्म, मेरो सरकार, मैले जिउने जिन्दगी तिमी नै त हौँ”
“मेरो श्रीपेच तिमी नै हौ”
“भो भो महाराजा धेरै भावुक नहोइस्यो।”
“म त एक योगि जस्तो भएको छु, सबै छोडेको छु, सबैलाई छोडेको छु, सबैले छोडेका छन् । एक तिमी छ्यौ जो मेरो अन्तिम साससम्म साथमा रहनेछौँ ।”
“एकाएक ज्ञानेन्द्र भावुक हुन्छन् ।”
“महाराज कम्पनिहरु सुचारु भए ?”
“भएका छैनन्”
होटल बन्दै छ,
चिया उधोगसम्म सञ्चालनमा आएको छ भनेर अस्ति भन्दै थिए,
“चुरोट कम्पनी र बियर कम्पनिले २५ प्रतिश त मात्र उत्पादन गरेका छन् । कोरोनाले सबैतिर तहसनहस छ ।” – ज्ञानेन्द्र एकैसासमा बोल्छन् ।
“न आत्तिस्यो सबै ठिक हुन्छ।”
“त्यत्रो राजकाज सुम्पिदा त हाँसेर निस्केको म, अहिले दुःखी हुँला त ?”
“हजुरको यहि आत्मबिश्वासले त म गोलि खाएर पनि बाँचिरहेकी छु महाराज आजसम्म।”
“जय पशुपतिनाथ, प्रभुकै कृपा ।” भगवानको नाम लिंदै परपरसम्म नजर लगाउँछन् । कोमल एकोहोरो उनलाई हेरिरहन्छिन् । उनलाई आफ्ना पति युद्ध जितेर फर्केको कुनै युद्धबिर जस्तो लाग्छ ।

ज्ञानेन्द्र बाहिर सडकतिर आँखा पुर्याउने कोसिस गर्छन् । हेर्दाहेर्दै आँखा धूमिलो हुन्छ अनि फेरि उज्यालिन्छ ।

एकाएक उनको आँखा अगाडी अनौठो तमासा देखिन्छ ।

घरै अगाडि ठूलो नाराजुलुस आएको छ । जनताका हातहातमा प्लेकार्ड छन् । नाराजुलुस र माईकिङ भैरहेको छ । ठमासेर हेर्छन् ( काँग्रेसको बिजय जुलुस रहेछ । सत्ता पक्षलाई घुँडा टेकाएर सत्ताकब्जा गरेकोमा बिजय उत्सब मनाउँदै रहेछन् काँग्रेसका नेता कार्यकर्ता । जुलुसमै कसैले गेटै नेर आएर भित्र चियाउन सम्म भ्याए ।

ज्ञानेन्द्र डराए ।

काँग्रेसको जुलुस गयो ।

अर्को दिशाबाट उत्निखेरै विशाल जुलुस आयो । त्यहाँ नयाँ सरकार बिरुद्ध नाराबाजी भैराखेको थियो । हातहातमा लौरी थिए, ढुङ्गा थिए, टायर बालिएको थियो सडकमा अनि राता फेटा लगाएका हुल्लडको भिड थियो । भिड निर्मल निबास नजिकै आयो । भिडबाटै कसैले ढुङ्गा हान्यो निर्मल निवासको आँगनमा ।

ज्ञानेन्द्र फेरि तर्से ।

एकैछिनमा फेरि अर्को जुलुस आयो । जुलुस केहि शान्त देखिन्थ्यो । उनीहरूले ज्ञानेन्द्रकै तस्बिर बोकेका थिए, राजा आऊ देश बचाउको चर्को नारा लगाउँदै जुलुस निर्मल निवास नजिकै आयो । टाढा हुँदासम्म सौम्य रहेको आफ्नै फोटो आफ्नो घर नजिकै आउँदा अट्ठास गरेर हाँसेको देखे उनले । आफ्ना फोटोमा आफु आकृती आईरहेको थियो । एकाएक मानिसहरूका हातहातबाट उनका फोटो सहितका ब्यानरहरू आफै भुईमा झरे र फोटोहरू आफैं हिंडेरै निर्मल निवासको गेटभित्र प्रवेश गरे । यतिखेर उनका तस्बिरमा उनको शिर थिएन केवल शरीर थियो ।

यो देखेर ज्ञानेन्द्र फेरि तर्से ।

आँखा मिचेर उनले फेरि सडकतिर हेरे, सडक बिल्कुलै सुनसान थियो । सडकमा कुकुर भुकिरहेका थिए । कता कता झ्याउँकिरी कराए जस्तो, कतै बास बसेका चरा कराएजस्तो सुनिंदै थियो । अघि आँखामा देखिएको कुनै दृश्य त्यहाँ थिएन । पाँछ दस मिनेट पहिला जस्तो थियो आँखा अगाडिको दृश्य, अहिले पनि उस्तै नै थियो । यो उनको दृष्टिभ्रम पो रहेछ !

उनलाई त्यहाँ बसिरहन मन लागेन । मनमा छटपटिले डेरा जमाएको थियो । चिडचिड पसिना छुट्यो ।

“हिँड जाउँ ।”
“हवस्, हजुर सुकला होस म पछि पछि आइहाल्छु ।”
“होइन आज तिमी अगाडी हिंड।”

हात समाउँदै बुडा बुडि आफ्नो खोपितिर लागे ।

सुत्ने बेला ज्ञानेन्द्रको नजर भित्ताको घडिमा पुग्यो । रातको १० बजेको रहेछ । घडी आज उल्टो घुमिरहेको थियो ।
टिभी खोले
टिभिमा ब्रेकिङ समाचार आईरहेको थियो–
“पूर्व युवराज पारसको वाइकको ठक्करले भर्खरै एक जवानको मृत्यु ।”

आज फेरि एउटा सनकले एउटा सुन्दर बगैँचा उजाडियो ।

अचानक ज्ञानेन्द्रलाई चक्कर लाग्छ र भुईँमा ढल्छन् । उतिबेलै पत्नी कोमलले नातिनी र बुहारीलाई बोलाउँछिन् ।

एम्बुलेन्स आउँछ । एकैछिनमा ग्यानेन्द्र, कोमल, हिमानी, कृतिका र नाति लिएर एम्बुलेन्स सैनिक अस्पताल छाउनितिर हुइकिन्छ ।

सैनिक अस्पतालमा बाक्लो सैनिक उपस्थिति भएको छ । सरकारका उच्च पदस्थ कर्मचारी र नेताहरू आउने जाने क्रम बाक्लिएको छ । कुनै दुखद् घटना सुन्न पर्ने हो कि भन्ने भय उनका शुभचिन्तकमा छ ।

बजारमा हल्ला यो पनि भयो कि छोरा पारसलाई सम्झाउन लाग्दा पारसले बाबुलाई कुटे । हल्ला यो पनि भयो कि पारस त्यो दिन घर बाहिर निस्केकै थिएनन् उनी घरै झगडा गरी बसेका थिए । हल्ला यो पनि भयो कि ज्ञानेन्द्रले आत्महत्या प्रयास गरे ।

यो हल्लै हल्लाको देश हो । भए पनि हल्ला फैलिन्छ, नभए पनि हल्ला फैलन्छ ।

सायद भएको थियो कि त्यो साँझ निर्मल निबासमा एक दुश्वप्न आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर