कवि विष्णु पादुकाको कविता सङ्ग्रह ‘बिन्दुको वृत्त’माथि पोखरामा विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी शाखाको आयोजनामा सम्पन्न भएको हो ।

विमर्श कार्यक्रममा बोल्दै प्राज्ञ रमेश श्रेष्ठले पादुकाको कविताको सुन्दर पक्षहरूको तारिफ गरे। कविता हेर्दा, सुन्दा र पढ्दा आनन्द आउने खालकै भयो भने मात्र सुन्दर कविता बन्ने जिकिर गर्दै उनले पादुकाको कवितामा पाठकलाई तान्न सक्ने खुबी भएको बताए ।

कृतिको बारेमा बोल्दै समिक्षक भुमीराज बस्ताकोटीले बिन्दुको बृत्त कविता संग्रहले राज्यले नदेखेका बिषय र मुद्दालाई उठान गरेको भन्दै प्रशंसा गरेका थिए ।

हिमालयन रिडर्स कर्नर,न्यूरोड पोखरामा सम्पन्न भएको कार्यक्रमको संचालन आयोजक सगरमाथा साहित्य प्रतिष्ठानकी गण्डकी शाखा सचिब लिलि अधिकारीले गरेकी थिइन् भने शाखाका अध्यक्ष शम्भु अर्यालले कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए ।

उपाध्यक्ष छन्दिका त्रिपाठीले स्वागत मन्तब्य र कवि माधव खतिवडाले लेखक परिचय दिएको उक्त कार्यक्रममा कवि लक्ष्मी थापा र रोशन तिमिल्सिनाले कविता संग्रहबाट कविता वाचन गरेका थिए । त्यस्तै, शाखाका सल्लाहकार मिलन समीरले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर