
✍️ सुशील अर्याल
मुक्तक – १
नगरी दया नराखी चेत कर लगाउ सरकार
बरु बेचौंला घरखेत कर लगाउ सरकार
अझै जनताको रगत चुस्न चाहान्छौ भने
पार्थिव शरीरमा समेत कर लगाउ सरकार
मुक्तक – २
कल्पनामा भौतारी रहने चञ्चल मन हो जिन्दगी
योग ध्यान साधनामा लागे सुन्दर उपवन हो जिन्दगी
मेटिनेछ भोकको तृष्णा, भेटिनेछ जीवनको गन्तब्य
विषयवासना र ईन्द्रियमाथीको अनुशासन हो जिन्दगी
मुक्तक – ३
मेरो कोमल मुटु छिया छिया भएको छ
खुसीहरु दुःख, पिडामा अधिया भएको छ
मैले प्रगति गर्नेबेला बाबाको काख छुटिगयो
र त जिन्दगी फूल बिनाको ढकिया भएको छ
मुक्तक – ४
ए कठै ! बिचरा भनेर सम्झिने कोही भएनन्
शोक मनाउँदै दुःखमा वहकिने कोही भएनन्
बिधवा आमाको एक्लो छोरो मर्यो परदेशमा
साथदिने कुरै छोडौं पिण्ड दिने कोही भएनन्
मुक्तक – ५
सिद्दान्त ब्यबहार भाषण जाली कहिले सम्म हो ?
सत्तामा कुर्सिकै लुछाचुँडी खाली कहिले सम्म हो ?
रोग भोकले ग्रसित हाम्लाई जवाफ देउ सरकार
अझै दुखित बन्ने नेपाली कहिले सम्म हो ?
प्रतिक्रिया
-
४
-
१०